मेरो अफिसको टाइम र उनको गुम्बा जाने टाइम एउटै भएकोले दुवै जना सार्बजनिक यातायात प्रयोग गर्थ्यौ । सधैं जसो भेट हुन्थ्यो । उनी बौद्धी नान {गेरु बस्त्र लगाउने साना नानीहरु} हरुलाई पढाउँथिन्, म भने बोर्डिङको शिक्षक थिए । उनी धर्मले बौद्ध थिइन्, पहिरन पनि त्यस्तै । नाम भनेकी थिइन् ‘आनी लामा’ ।
उनी राम्री थिइन्, र म पनि लक्का जवान, मन पराउनु त स्वाभाविक नै थियो । बिस्तारै मेरो लागि गाडीको सिट पनि रोकेर ल्याउन थालेकी थिइन् । कहिलेकाहीं उनीलाई गाडीमा नदेख्दा मन खल्लो हुन्थ्यो । सायदै माया बसिसकेको थियो । यसै बीचमा उनी हराएकी थिइन् ।
उनी धेरै दिनदेखि गायब थिइन् । अहिले म गाडीमा एक्लै थिएँ । मैले खोजी नगरेको पनि हैन, तर पत्तो लगाउन सकेको थिइन् । बिस्तारै उनीलाई बिर्सदै गएको थिएँ ।
एक दिन अचानक सानेपा चोकमा उनीलाई भेटें । मण्डली चर्चबाट हातमा बाइबलको ठुलो ठेली बोकेर अरु अनुयायीहरूसँगै निस्कदै थिइन् । एक आपसमा नमस्कार फर्काउदै कुशल मंगल साटासाट गर्यौं । उनी त अहिले इसाई धर्म अंगालीसकेकी रहिछन र आमाहरुको अगुवा {शिक्षिका } पो भइछन् । परिवर्तित नाम भने ‘इभा’ राखेकी रहिछन । पुन हाम्रो मायाले निरन्तरता पाएको थियो । यसै बीचमामा उनी फेरि हराइन ।
आज १० वर्ष पछि उनीसँग फेरि अचानक भेट भयो, त्यो पनि खाडी मुलुकको मेट्रो ट्रेनभित्र । उनी कालो बुर्कामा पुरेई छोपियेकी थिइन् र हातमा थियो अरबीबाट लेखिएको कुरानको किताब । उनी आफै मेरो नजिकै आएर “आसालाम वालेकुम सर” भनेर सम्बोधन गरिन । मैले पनि अरुलाई फर्काए जस्तै “वालेकुम आस्सलम” भनी दिएँ । त्यस्तो कपडामा मैले चिन्ने त कुरै भएन । उनले परिचय दिदै भनेकी थिइन्, “म के बौद्ध कि ‘आनी लामा’, अँझै चिन्नु भएन, त्यही के सानेपाकी ‘इभा’ तर अहिले मलाई सबैले ‘मिस आयेसा’ भनेर चिन्छन । अहिले म ऊ त्यही सुन्नी मस्जिदमा साना बच्चीहरुल्लाई कुरानको तालिम दिन्छु ।
बिरानो मुलुकमा पुरानु मायाले निरन्तरता त पाउने नै भयो । तर म अँझै पनि असमन्जसमा छु कि उनीलाई के नामले बोलाउ, ‘आनी’, ’इभा’ या ‘आयेसा’।
