Skip to content

टीका ढुङ्गेलको यात्रा संस्मरण सर्सर्ती पढ्दा


परिचय

दुलियाजान कला–साहित्य मञ्च, असम, भारतद्वारा ३१ मार्च र १ अप्रेल २०१८मा आयोजित अन्तर्राष्ट्रिय नेपाली साहित्य समारोहमा टीकाढुङ्गेलसँग यात्रा स्मरण कृति सहित साक्षात्कार हुने सौभाग्य मिल्यो । यसै अवसरमा टीकाजीले यात्रा स्मरण उपहारस्वरूप प्रदान गर्नुभयो । साहित्यिक क्षेत्रका टीका ढुङ्गेलको प्रचलित नाम टीकाराम शर्मा ढुङ्गेल हो । उनका माता–पिताको नाम स्व.नरमाया ढुङ्गेल/स्व. महानन्द ढुङ्गेल हो । उनको जन्म ११ अगस्त १९६८मा साङ छलमाथाङ पूर्व सिक्किममा भएको थियो । हाल उहाँ नेपाली साहित्य परिषद् सिक्किममा कार्यरत हुनुहुन्छ । उहाँ प्रदीपिका, पूर्वधार र तीन थूम्का नेपाली साहित्यिक पत्रिकाहरूको संस्थापक हुनुहुन्छ । साहित्य क्षेत्रमा योगदान पुर्याए वापद त्रिफला राष्ट्रिय पुस्तकालय धुलाबारी झापा, नेपाल (वि.सं.२०६४), मायल्मु संघ सिक्किम (सन् २० मई २००८), मूल्याङ्कन (१६ सितम्बर, २०१०), लि आल (१२ दिसम्बर २०११), मुनालस्वय म सहायता समूह (१२ दिसेम्बर २०१५)बाट अभिनन्दित भै सक्नुभएको छ । साहित्य सेवाश्री १९७ औं भानु जयन्ती समारोह समिति (सन् २०११), आशा प्रतिष्ठान र पुष्पलता प्रोडक्सन प्रा. लि. काठमाण्डौ नेपाल (४ सितम्बर २०१६)आदि संस्थाबाट सम्मानित पनि भै सक्नुभएको छ । टीकाजी त्रिफला राष्ट्रिय पुस्तकालयका अन्तर्राष्ट्रिय संयोजक पनि हुनुहुन्छ ।

प्रकाशित कृतिहरू

टीका ढुङ्गेलका, पूर्वधार कवितासङ्ग्रह (सन् २००२), पुष्पलता सिक्किममा पनि व्यक्तित्व र कृतित्व (सन् २००६), पुष्पलता विषयक कृतिहरू समीक्षासङ्ग्रह (सन् २००७), समिक्षा साधना समीक्षासङ्ग्रह (२००८), जीवन मार्गका पाइलाहरू (सन् २०१०), समीक्ष कुञ्ज समीक्षासङ्ग्रह (२०१०), पत्र लहरी पत्र साहित्य (सन् २०१३), समीक्षाका तरेलीहरू समीक्षासङ्ग्रह (सन् २०१३), समीक्षाका रहरहरू समीक्षासङ्ग्रह (सन् २०१४), समीक्षाका रंगहरू समीक्षासङ्ग्रह (२०१५), पत्रका तरेलीहरू पत्र साहित्य (२०१६), यात्रा संस्मरण यात्रासङ्ग्रह (२०१७) आदि कृतिहरू, बजारमा आइसकेका छन् । उनका विभिन्न पत्रपत्रिकामा लेखहरू प्रकाशन भै राखेका छन् । बहुआयमिक साहित्यिकार हुँदाहँदै पनि टीकाजी कृति प्रकाशनको हिसावले वरिष्ठ समालोकको रूपमा आफूलाई स्थापित गराइ सक्नुभएको देखिन्छ ।

कृतिकार र यात्रा संस्मरणप्रति साहित्यकारहरूको धारणा

यात्रा संस्मरणकै सम्बन्धमा शीर्षक दिई एन.पि.एस. निरौलाले टीका ढुङ्गेलको सम्बन्धमा लेख्नुहुन्छ– ‘‘ उनले साहित्य सेवामा अक्षुण लागेर, दिन–रात एक गरेर आफूलाई एक सम्मानित स्थानमा पुर्याउनु भनेको एउटा उदाहरणकै रूप हो । लगनशीलताको परिचायक हो अनि निरन्तरताको प्रतिरूप पनि हो’’ । (पृष्ठ ग) । प्रेम प्रकाश फलहारीले पूर्वधार, प्रदीपिका र तीन थूम्कामा प्रकाशित रचनाहरूले त्रिफला राष्ट्रिय पुस्तकालय र साहित्यकारहरू प्रभावित भएको भन्दै हार्दिक शुभकामना व्यक्त गरेका छन् (पृष्ठ घ) । टि.पी. अधिकारीले बाह्रौ कृति प्रकाशन गर्न पुगेकोमा टीकाजीलाई ‘अपार शुभकामना’ व्यक्त गरेका छन् (पृष्ठ ङ) । टीकाजीको यात्रा संस्मरण बारे् शीर्षकमा रवि पौड्याल ‘अदृश्य’ले लेख्नुहुन्छ –‘‘आधुनिक नेपाली साहित्यका एक योद्धाकारूपमा परिचित हाल सालै सिक्किमदेखि नेपालसम्मका कतिपय साहित्यिक कार्यक्रमको अनुभव बटुल्दै आफ्नो यात्रा संस्करण, यात्रा स्मरणको रूपमा पाठक समक्षमा पस्कनु हुने साहित्यका सर्जक हुन् टीका ढुङ्गेल’’ (पृष्ठ च) । प्रकाशकको कलमबाट शीर्षक दिएर प्रकाशक हरिभक्त शर्मा लेख्नुहुन्छ –‘‘उनको अहिलेसम्मको साहित्यिक देन हेर्दा सानै उमेरमा उनले नेपाली साहित्य जगतमा धेरै लामो यात्रा गरिसकेका छन् । साहित्यका विभिन्न क्षेत्रमा उनको दखल भए तापनि समालोचना क्षेत्रमाथि नै उनी विशेष अग्रसर रहेका देखिन्छन् ’’ (पृष्ठ छ) ।

नियात्राकारलाई यो कृति लेख्ने इच्छा आशा प्रतिष्ठान र पुष्पलता प्रोडक्सन प्रा.लि.ले सम्मान गरेपछि पलाएको भन्दै यो ‘‘यात्रा संस्मरण’’को सिर्जना गरेको देखिन्छ ।

कृतिको संरचना

यो कृति आवरण पृष्ठ सहित ६८ पृष्ठमा सिर्जना गरिएको छ । ‘राधा महल’ प्रकाशन तथा राधा उपाध्याय स्मारकगुठी राउते–रुम्तेक,पूर्व सिक्किमले प्रकाशन गरेकोछ । कृतिको मूल्य सहयोग भेटी भनी १०० रुपियाँ राखिएको छ । यस कृतिमा यात्रा, साहित्यकारहरूको संक्षिप्त परिचय, सम्मानका खबरहरू पत्र–पत्रिकामा र यात्राको क्रममा उपहार स्वरूप पुर्याइएका पुस्तकहरूका्े विवरण समावेश गरिएका छन् ।

कृतिभित्र प्रवेशगर्दा

यस कृतिलाई यात्रा, साहित्यकारहरूको संक्षिप्त परिचय, सम्मानका खबरहरू पत्र–पत्रिकामा र यात्राको क्रममा उपहार स्वरूप पुर्याइएका पुस्तकहरूको विवरण गरी चार तरिकाबाट अध्ययन गर्न सकिन्छ । यात्रा ११ ओटा समावेश गरिएका छन् । पहिलो यात्रामा नियात्राकार ३१ अगस्त २०१६को विहान ६ बजे त्रिफला राष्ट्रिय पुस्तकालयमा मोती जयन्तीको कार्यक्रममा सहभागी हुन घरबाट रमाना हुनु, सिलिगुडी पुग्दा त्रिफला राष्ट्रिय पुस्तकालयका उपाध्यक्ष रामप्रसाद दाहालको फोन प्राप्त हुनु, मानव्रजाचार्यले काकाडभित्तामा पर्खेर बस्नु, मानव्रजाचार्यसँग कृति साटासाट, विभिन्न साहित्यकारसँगको भेटघाट, सितम्बर ३ तारिकमा काठमाण्डौमा आशा प्रतिष्ठानले टीका ढुङ्गेललाई सम्मान गर्ने पत्र टीकाजीले प्राप्तगर्नु, निकै रातमा पुष्पलता आचार्य सन्ध्या सुवेदीको आगमन र वार्तालाप पछि सभाहलमा सुत्ने काम भएको धारणा आएको छ । यस यात्रामा धेरै साहित्यकारहरूसँग भेटघाट भएको र कृति साटासाटका विवरणहरू पनि समावेश गरिएका छन् ।

यात्र दुईमा वि.सं. २०७३/५/१६को कुसे औँसीका दिन कवि मोतीराम भट्टका १५१औं मोती जयन्तीको प्रमुख आतिथ्य प्रा. डा. गोविन्दराज भट्टराईले गर्नुभएको, संंस्थाका अध्यक्षको सभापतित्वमा सिक्किम, दार्जीलिङ, खरसाङ, नेपालका विभिन्न क्षेत्रका साहित्यकारहरूको जमघटमा कार्यक्रमको व्यानर र प्रतिमा शालिकको व्यानर खोलेर कार्यक्रमको उद्घाटन गरिएको, दीप प्रज्ज्वलन गरी कार्यक्रमको थालनी गरिएको, मोती पुरस्कारले उपेन्द्र पागललाई पुरस्कृत गरिएको, छत्रबहादुर बस्नेत समाज सेवा पुरस्कारमा चन्द्रमान श्रेष्ठ सम्मानित भएका, भवन निर्माणमा विशेष सहयोग गरेवापत, लटकू राजवंशीलाई कदरपत्रले विभूषित गरिएको साथै पुस्तकालयलाई विशेष सहयोग कर्ताहरू (कृष्ण प्रसाद पाठक/हरिभक्त बुढाथोकी, सोमनाथ फूयाल/ टीकाराम अर्याल, पुष्पलता आचार्य, मोहनकुमार भेटवाल/गोमा देवी भेटवाल, गणेश बहादुर पोखरेल / तुलसा पोखरेल)लाई पनि सम्मान गरिएका विवरणहरू यात्रा दुईमा समेटिएका छन् ।

टीकाजीले लेख्नुहुन्छ – ‘‘मोती जयन्तीको अवसरमा सिक्किमबाट धेरै कृतिहरू विमोचन भए ती हुन– पत्रका तरेलीहरू पत्रसाहित्य टीका ढुङ्गेल, पूर्वाधार ‘साहित्यिक पत्रिका’ २०१६, चक्रपाणी/टीका ढुङ्गेल, जिन्दगीका पलहरू जगलसङ्ग्रह सीता शर्मा दवाडी, लहड अनि तरङ्गहरू कथासङ्ग्रह विमल काफ्ले, भानु स्मारिका नेपाली साहित्य परिषद सिक्कम, भुइँमा भ्यागिने अक्ष्रहरू कवितासङ्ग्रह पूर्ण योञ्जन, उल्का कवितासङ्ग्रह उदयनारायण शर्मा, जीवनका रङ्गहरू कवितासङ्ग्रह शेरबहादुर कार्की’’

यात्रा तीनमा टीकाजी र अरू साहित्यकारहरू २०७३ /५/१७मा झापाबाट बद्रीवास सिन्धुली हुँदै ८.३०बजे रातीमा काठमाडौ आसाको घरमा पुग्नु,विहान विमारी मदन ढकाललाई भेटन जानु, कृतिहरू आदान प्रदान गर्नु, आशा प्रतिष्ठान र पुष्पलता प्रोडक्सन प्रा.लि.बाट कलमकार र फलहारी सम्मानित हुनु र प्रेम प्रकाश फलहारीको प्रमुख आतिथ्यतामा श्याम बहादुर भावुक, सुशीला घिमिरे टीका ढुङ्गेल सन्मानित भएका र यो कार्यक्रमपछि साहित्यकार खोल्साघरेको कार्यालयमा आफ्ना भारीहरू बिसाएर जोरपाटीतिर लाग्ने धारणा सहित यो लेख समाप्त हुन्छ ।

यात्रा चारमा जोरपाटीमा सुदर्शन र लाजुले स्वगत गर्दै खुट्टा पखाल्न लगाएर शिष्टचारका साथ टीका लगाई खादा लगाइदिनु, टीकाजीलाई धाममा पुगेको महसुस हुनु, विहान खाजा खुवाएर फलहारी बाबालाई पहेंलो साल र टीकाजीलाई उपहार दिएर सम्मान गरेर बिदा गरिएको, टीकाजीले कृतिहरू उपहारस्वरूप दिदै पुस्कालयहरूमा र भक्तपुको साहित्यिक कार्यक्रममा जाने धारणा सहित यो याात्रा समाप्त हुन्छ ।

यात्रा पाँचमा यो दिन तीजको ब्रत रहेको तर वरिष्ठ साहित्यकार पुष्पलताले टीकाजी फलहारी बाबा,सन्ध्या सुवेदीलाई गाडमिा लिएर डिल्लीरमण रेग्मी प्रतिष्ठान, डिल्लीरमण कल्याण रेग्मी स्मारक पुस्तकालय, केशर पुस्तकालय, शिक्षा परिषदको पुस्तकालय, नेपाल राष्ट्रिय पुस्तकालय हरिहर भवन, मदन पुरस्कार पुस्तकालय, काठमाडौ उपत्याका सार्वजनिक पुस्तकालय, कानून पुस्तकालय रानी पोखरीमा प्राय टीकाजीले सिर्जना गरेका कृतिहरू वितरण गरको र पुष्पलता आचार्यले दिएका पुस्तक लिएर भक्तपुरजाने बाटोमा पुष्पलताले छाडेको विवरण आएको छ ।

यात्रा छमा २०७३/५/१९ को चारबजेतिर योग तथा प्राकृतिक चिकित्सालय वाराही पीठ १४ भक्तपुरमा एक विशेष स्वागत सम्मान साहित्यिक व्यक्तित्वहरूको भेटघाट कार्यक्रममा टीकाजीलाई खादा ओढाइएको श्रीबरादी देवीको प्रसाद खाने, साहित्यकारहरूका कृतिहरूको आदानप्रदान र परिचयात्मक कार्यक्रममा टीकाजी सहभागी भएको, त्यसपछि नेपाल भारतका साहित्यकार अभिनन्दित व्यक्तित्व त्रिफला राष्ट्रिय पुस्तकालयका अन्तराष्ट्रि संयोजक टीका ढुङ्गले प्रमुख आतिथ्यमा कार्यक्रम सञ्चालन गरिएको, उक्त कार्यक्रममा फलाहारी बाबाले अन्तर्राष्ट्रिय संयो्जक टीका ढुङ्गेलजीको परिचय तथा बहुआयमिक व्यक्तित्व र स्वभावबारे चर्चा गर्नु, टीकाजीले सिक्किमबाट प्रकाशित हुने पत्रपत्रिकामा प्राप्त भएका रचनालाई प्रकाशित गरेर भक्तपुरमा एक एक प्रति चढाउने प्रतिबद्धता जाहेर गर्दै, यस कार्यक्रममा सहभागी गराउन ठूलो योगदान गरेका डा. इन्दुल के.सी.लाई आभाार व्यक्त गर्दै यो लेख समाप्त हुन्छ ।

यात्रा सातमा डा.इन्दुल के.सी.ले फलहारी बाबा, रामप्रसाद दाहल र टीकाजीलाई भक्तपुरको धर्म स्थलको दर्शन गराउने, भजन किर्तन (गभग २० ठाउँमा एकै चोटी हुने) स्थल श्रीश्याम सुन्दर राम भमजन मण्डल, श्रीमुलाखु गणेश ढाल्चा भजन घर, वाराही पीठ मन्दिर, वत्स गोपाल तोल तेखाचो, बार देवीको मन्दिर, नासमना तोल ब्रह्मपुर, मंगलकुण्ड नाथ मन्दिर, गोल्डेन गेट, गेट सूवर्ण द्वार, तलेजो जाने भवानी मन्दिरको मूल गेट, वर्षला मन्दिरको दर्शन तथा अवलोकन गर्दै डा. इन्दुल के.सी.को घरमा जानु आतिथ्य स्वीकार्नु र विहान डा. के. सी.ले चियापान गराएर भक्तपुरबाट माइक्रोबसमा चढाएर धुलावारीतिर पठाउनु जस्ता धारणा आएका छन् । यस लेखमा टीकाजीले काठमाडौको यात्रा, सम्मान कार्यक्रम, भक्तपुरको साहित्यिक कार्यक्रम, इन्दुल के.सी.को घरको बसाई, पुष्पलता आचार्य र सन्ध्या सुवेदीको आतिथ्यबाट प्रभावित भै टीकाजीलाई काठमाडौ बसौं बसौं लागेको धारणा सहित यो लेख समाप्त हुन्छ ।

यात्रा आठमा यस यात्रामा काठमाण्डौदेखि धुलावारी सालिको घरमा पुग्नु, डा. इन्दुल के..सी.को ‘एक व्यक्ति अनेक दृष्टि’ को निम्ति डी.टी.पी.पठाउनको लागि सौजन्य डेस्टप बिर्तामोडमा गएर पठाउनु, वरिष्ठ पत्रकार/साहित्यकार मदन ढकालको व्यक्तिगत परिचय लिनु, सिक्किम छाडेका नौ दिन भएकोल अँझै एकदिन झापा बसेर वरिष्ठ साहित्यकार तेराख( तेजराज खतिवडा) कोमा पुग्नु, तेराखका बुढेसकालका तीन आवश्यक्ता (सुविधा जनक घर,छेउमा सच्चा सहयोगी र संचित रकम साथै मानव जीवनका तीन आवश्यक्ता (स्वआर्जन, स्वाभिमान र स्वतन्त्रता¬)का धारणा सहित मान जीवनको दर्शनको अभिव्यक्ति सहित तेराखका भनाईलाई टीकाजीले यसरी प्रस्तुत गर्नुभएको छ–‘ जीवन एउटा प्रयोग हो जसले राम्रो नराम्रो कहाली लाग्दो जीवनमा सकरात्म सोचमा बाँचिरहेको छु अँध्यारो बाटोमा उज्यालो प्रकाशले ’’ । यहाँबाट फलहारी बाबा र टीकाजी रामप्रसाद दाहालकोमा बास बसेर भोलि पल्ट टीकाजी सिक्किम फिर्ता भएको धारणा यस यात्रा संस्मरणमा आएको छ ।

यात्रा नौमा ७ अगस्त २०१६का दिन त्रिफला राष्ट्रिय पुस्तकालयको आगमी कार्यक्रम (मोती जयन्ती) को सरसल्लाहको लागि गरिएको यो यात्रामा त्यहाँका साहित्यकार र पुस्तकालयका कर्मचारीसँग भेटघाट परिचय साटासाट, वरिष्ठ साहित्यकारसँग टेलिफोनबार्ता, योगप्रशिक्षण कार्यको गहिरो चिन्तन र त्रिफला केन्ट्रीय पुस्तकालयले सञ्चालन गर्ने कार्यक्रमको विवरणको जानकारी सहित नवौं यात्रा स्मरण समाप्त हुन्छ यात्रा दशमा आफन्तको मरौमा श्रद्धाजञ्जली दिन धुलावारी जाने सोचमा टीकाजी र मनालका सम्पादक कृष्णिजी झापा आउनु, त्रिफलामा सामग्री दिएर फलहारी बा र दिल थापाको मोटर साइकलमा मरौ स्थल पुग्नु, श्रद्धाञ्जलिदिनु, धेरै साहित्यकारहरूसँग भेटघाट हुनु, लीला दिदीको घर पुग्नु, फर्कने वेलामा दिल थापाका कृतिहरू लिनु र टीकाजीले ‘‘पूर्वाधार’’ दिनु र रम्फूतिरको रमाना, सीता भान्जीकोमा बास, भोलि पल्ट भान्जाको विवाहमा सहभागी हुनु आदि काम सकेर छलमथाङ घरमा पर्किनु र व्यस्ततालाई सम्झँदै समयको महत्वलाई बुझ्नु पर्छ र समयलाई खेरजान दिनहुँदैन भन्ने धारणा सहित यो नियात्राको बिट मारिन्छ ।

यात्रा एघार यस कृतिको यो नै अन्तिम यात्रा हो । सुरुङ्गा झपामा तिलक शर्मा र दिलकुमारी शर्माको छोराको विवाहमा सहभागी हुने उद्देश्यको साथै झापामा फलहारी गुरुमार्फत विभिन्न ठाउँका साहित्यकारलाई वितरण गर्नको लागि ‘तीन थुम्का’ कोसेलीको रूपमा दिनु पर्ने भएता पनि फलहारी गुरुको व्यस्तताको कारणले कोसेली रामप्रसाद दाहालको श्रीमती देवीमाया दाहाललाई दिँदै विवाहमा सहभागी हुनु रातको विवाह, विवाह ३ बजेतिर सकिनु, विवाहको व्यवस्थापन राम्रो, यसै अवसरमा कृष्ण प्रणामी मन्दिर र माइधामको अवलोकन र दर्शन गर्नु साथै गौशालाको पनि अवलोकन गर्नु, जन्ती विर्तामोड अगैसेन भवनमा आउनु, भोज विहानैदेखि सुरु भएता पनि वेहुला वेहुली भने १२ बजेमात्र आसनमा बस्नु र टीका लगाउने काम र आशीर्वाद दिने कामको थालनी हुनु, यस अवसरमा वैद्य भक्तिप्रसादले विभिन्न रोगको उपचारको बारेमा जानकारी दिने काम हुनु, त्यसपछि पुस्कालयमा गएर विभिन्न साहित्यकारहरूलाई भेट्नु साहित्यिक छलफल गर्नु र सिक्किमतिर प्रस्थान गरेपछि यो यात्रा समाप्त हुन्छ । यस लेखमा सिक्किम दार्जिलिङ लगायत विभिन्न स्थानबाट विवाहमा सहभागीको विवरणहरू टीकाजीले राम्रोसँग प्रसतुत गर्नुभएको छ । यस यात्रा संस्मरणले नेपाल, सिक्किम र दर्जिलिङका साहित्यकारहरूका विवरण, टीकाजी लगायतका सिक्किमका साहित्यकारका कृतिहरू नेपाका विभिन्न पुस्तकालयमा टीकाजीले प्रदान गर्नुभएकोहुँदा हामीले पनि अध्ययन गर्न पाइनु, नेपालमा साहित्यिक गतिविधि, अभिनन्दन तथा सम्मानको महत्त्व आदिको बारेमा यस कृतिले सन्देश प्रवाह गरेको छ । साहित्यि गतिविधि र साहित्यकारका नामहरू यस्मा ठूलो संख्यामा प्रस्तुत भएका छन् ।

साहित्यकारहरूको संक्षिप्त परिचय

यस शीर्षकमा टीकाराम अर्याल, तोयनाथ फूयाल, बाबुराम श्रेष्ठ, दया माता, रामप्रसाद दाहाल, प्रेमप्रकाश फलहारी, डा. इन्दुल केसी, श्रीप्रसाद उपाध्याय घिमिरे र पुष्पलता आचार्यको बारेमा यस कृतिले छोटो मीठो तर यी साहित्यकारको साहित्यिक क्षेत्रमा पुर्याएको योगदान, यिनको समाजसेवा, साहित्यिक संस्थामा आवद्धता, पुस्तकालयको स्थापना र सम्वर्धन आदिको बारेमा प्रकाश पार्नुभएको छ । टीकाजीले यी लेखकसँग पुस्तक साटासाटी पनि गर्नुभएको छ । यी वरिष्ठ साहित्यकारको चिनारीले यस कृतिमा महत्त्वपूर्ण स्थान लिएको छ ।

सम्मानका खबर र पत्रपत्रिका

यस खण्डमा आशा प्रतिष्ठान र पुष्पलता प्रोडक्शनले टीका ढुङ्गेललाई एस.पी. आशा र पुष्पलता आचार्यको बाहुलीबाट सम्मान गरेका र यही अवसरमा भक्तपुरमा डा. इन्दुल के.सी.को नेतृत्वमा गरिएको साहित्यिक कार्यक्रममा मुख्य अतिथिको रूपमा टीका ढुङ्गेल उपस्थित रहेको खबर, नेपालका (हिमालय दर्पण र पुस्तकालय आवाज काठमाडौ) र गान्तोक सिक्किम (मिरमिरे कञ्चनङ्गा, हाम्रो प्रजाशक्ति, समय दैनिक र हिमाली बेला)का पत्रपत्रिकाले प्रकाशन गरेको विवरण समावेश गरिएको छ । यी कार्यक्रममा राष्ट्रिय त्रिफला पुस्तकालय धुलावारी झापाका प्रेमप्रकाश फलहारीले ‘सिक्किम निवासी श्रीटीका ढुङ्गेललाई ‘‘आधुनिक मोतीराम भट्ट’’को उपाधीले स्म्मान गरेको धारणा पनि पुस्तकालय आवाज का्ठमाण्डौंले प्रकाशन गरेको छ ।

यात्राको क्रममा उपहार स्वरूप पुर्याइएका पुस्तकहरू

यस खण्डमा टीकाजीले त्रिफला पुस्तकालय धुलाबारीलाई १६ थान विभिन्न साहित्यकारहरूका सिर्जनाहरू, प्रेमप्रकाश फलहारी धुलाबारीलाई पत्रपत्रिका सहित आठ थान, गंगा ओडारी धुलाबारीलाई पत्रपत्रिका सहित सात थान, पुष्पलता आचार्य काठमाण्डौंलाई पत्रपत्रिका सहित आठ थान, एस.पी. आशा सितापाइला काठमाण्डौंलाई विभिन्न लेखकका कृति र पत्रिका गरी ७ थान, गोपी कृष्ण खनाल, झापालाई छ थान, विनोद खनाल धुलाबारीलाई छ थान, चन्द्रभण्डारी कञ्चन्जङघालाई पाँच थान, देवीचरण भण्डारी ‘सरोज’ धुलाबारीलाई पाँच थान, कृष्ण प्रकाश ‘सुमार्गी’ धुलाबारीलाई सात थान र खगेन्द्र खोल्साघरेलाई छ थान, टीका एव म अन्य सिक्किमे साहित्यकारहरूका कृतिहरूलाई टीकाजीले वितरण गरेको यसखण्डमा समावेश गरिएको छ । यस अलवा आशा प्रतिष्ठान र पुष्पलता प्रोडक्सन्द्वारा सम्मान कार्यक्रमका मुख्य अतिथिले टीकाजीका कृतिहरू (पत्रका तरेलीहरू पत्र साहित्य, समीक्षाका तरेलीहरू समीक्षासङ्ग्रह, समीक्षा कुञ्ज समीक्षासङ्ग्रह, समीक्षाका रहरहरू समीक्षासङ्ग्रह, जीवनमार्गका पाइलाहरू विविध,पुष्पलता सिक्किममा पनि व्यक्तित्व र कृतित्व,पत्र लहरी पत्र साहित्य, श्रद्धाञ्जली महानन्द ढुङ्गेलप्रति, श्रद्धाञ्जली नरमाया ढुङ्गेलप्रति, श्रद्धाञ्जली ढुङ्गेलप्रति, श्रद्धाञ्जली सासू खडादेवी भट्टराईप्रति र समीक्षा साधना समीक्षासङ्ग्रह)लाई सबै सहभागीलाई दर्शाउँदै कृतिको बारेमा चर्चा गरेको धारणा कृतिले प्रष्ट्याएको छ । टीकाजीले आफ्नामात्र नभै अन्य साहित्यकारहरूका कृतिहरू पनि नेपालका साहित्यकारहरूको साथै नेपालका विभिन्न पुस्तकालयमा पनि वितरण गर्नु एक प्रशंसनी काम भएको महसुस गर्न सकिन्छ । टीकाजीले सिक्किमका मात्र नभै नेपालका साहित्यकारका कृतिहरू पनि सिक्क्मिमा लगेर नेपालका साहित्यकारलाई चिनाउने काम पनि भएको छ । टीकाजीको कृति साटासाट र साहित्यकारहरूका कृतिलाई उपहार स्वरूप पुर्याउने कामले दुवै देशका साहित्यकार एव म पुस्तकालयहरू लाभान्वित भएका छन् ।

भाषा शैली सरल छ । मिठो प्रस्तुति छ । उखानटुक्काको (जस्तै धन भनेको खाक हो, इष्ट भनेको लाख हो) यथास्थान र प्रसँग अनुरूप प्रयोग भएको पाइन्छ । अग्रज स्रष्टाप्रति, उच्च आदरभाव छ । धार्मिक स्थल र पुस्तकालयको अवलोकन भ्रमणको जानकारी दिइएको छ । प्राकृति सौन्दर्यता, मानवीयव्यवहार, आदर सत्कार, आदिलाई पनि समेट्ने प्रयास गरिएको छ । यस कृतिले नेपालका र सिक्किमका धेरै स्रष्टाहरूलाई परिचय गराएको छ । साहित्यिक यात्राको उद्देश्य बोकेर लेखिएको यो यात्रा संस्मरण छोटो रूपको प्रस्तुति भए पनि साहित्यकारको भावनात्मक अभिव्यक्ति समेट्न भने सफल देखिन्छ । अन्त्यमा टीकाजीको अग्रगामी कलम अँझै तीखारिँदै जावस् सुन्दर कृतिहरू सिर्जना हुँदै जाउन् भन्दै बिदा चाहन्छु ।

धन्यवाद

सदानन्द अभागी
कावासोती न.पा. वडा नै ७,नवलपुर, प्रदेश नं ४ नेपाल,

Leave a Reply

Your email address will not be published. Required fields are marked *