भाग्यले नि ठगेको मान्छे


जीवनमा कति तड्पिनु । कति रुनु । तर पनि रोए, कराए गुहार मागें, म दोषी हैन हुँदै होइन भनेर; मेरो एकोहोरो आवाज कसैले सुनेनन्, सुन्दै सुनेन् । निर्दोषलाई दोषी ठहर्याउने दोषीलाई निर्दोष ठहर्याउने यो मानवता, कानून नै नभएको शहरमा चुपचाप सहरे बस्नु बाहेक अरु कसको के नै लाग्छ र ! यहाँको कानून त पैसाले बिक्छ अरुको त झन के कुरा गरौ र झनै हामी गरिबले ? निर्दोष छु तर चुपचाप बन्द कोठाको जेल भित्र थुनिएको छु । आफन्तहरू भए पनि छैनन् नभए पनि छैनन् ।

यो संसारमा जन्मदिने आमा र बाबा जति ठुलो अरु केही ठान्दिन म । बाबा आमालाई बृद्धाआश्रममा छोडेर हरेक दिन फुलपाती समातेर मन्दिरमा धाउने सन्तानहरू धेरै छन् आज हाम्रो समाजमा । ती नालायक सन्तान हुन जसले तिनै बाबा आमाको हड्डी र रगत निचोरेर आफू सुख सग बस्न चाहन्छन् । भुल्छन् बाबाको डायरी । भुल्छन् आमाको ममतामय काख । तर मैले त बाबा आमाको माया नै पाउन सकेन छोडेर गए । म टुहुरो भए । एक्लो भए । कति अभागी रहेछु कसैको माया पाउन नै लेखेको रैनछ भाग्यमा ।

२०७० साल जहाँ म आफ्नो बस्ने घरै नभएर सौतेनी आमाको छोरा दाइको घरमा बस्न थाले । साथीहरू पढ्न जादा मलाई पनि पढ्न जाने रहर कति थियो । कतिरहर जाग्थ्यो कापीको पानामा क, ख, ग, घ लेख्न । तर म गरिब अभागीको भाग्यमै रैनछ पढ्न पनि । त्यसैमाथि म अबुझ । जसले जे भन्छ त्यसैको विश्वासमा हिड्ने अल्लारे उमेर । भर्खरै १६ वर्ष पार गरेर १७ वर्षमा प्रबेस गरेको थिएँ । एक दिन घरमा सबैले भने दाइले पनि भन्नू भयो ।

“ए रुद्रे तेरा पछाडिका सबैको बिहे भैसक्यो अब बिहे गर्ने हैन ?”

यति सानै उमेरमा ? मेरो त बिहे गर्ने उमेरमै भएको छैन, मेरो घर धान्ने परिवार बनाउने केही मेलोमेसो छैन । न त पढ्न न लेख्न नै पाए न त राम्रो सहारा सहयोग नै । मेरो अभिभावक भन्ने कोही भएन । घरमा त सौतेनी आमाको छोरा र दाइको भाइ भन्ने एउटा बाहना, म नोकर थिएँ । मैले काम नगर्दा सौतेनी आमा, दाइको यातना सहनुपर्यो । पढ्न जाने उमेरमा सधैं घाँस दाउरा गाइबाख्रा चराउनु पर्यो । यस्तो अवस्थामा झेलिएको म टुहुरोले कसरी बिहे गर्ने ! कमाइ नि केही छैन ? कयौं दिन भोकै पनि बस्नु परेको छ । सम्झे सायद मलाई यो घरबाट लखेट्न को निम्ति यो निर्णय गर्दै होलान् ।

म यतिबेला दाइले र आमाले यसोभन्दा तीन छक परे । र दाइलाई भनें, “ह्या दाइ पनि बिहे गर्ने उमेर नि भएको छैन भर्खर सत्र वर्षको त भए नि आजै के बिहे गर्ने कुरा गरेको ।”

“हैन भर्खर आफूलाई छ-सात वर्षको छु भन्ने लागेको छ के हो हँ ? मैले त झन तेह्र वर्षमा गरेको हु बिहे ।”

समय पनि कति निष्ठुरी, जसको त केही छैन उसैलाई अघि सार्छ ।

त्यसपछि म त्यो घरबाट २०७०/९/३ गते रुकुमको कोटजाहरीतिर लागे । कोटजाहरीमा त मेरो एक जना साथी थियो मैले उसलाई फोन गरे । फोन उठ्यो ।

“हेलो … मोहन त कहाँ छस् ?”

“ए रुद्र कहाँ छस् ? त आज कताबाट सम्झिस त ?”

“मोहन सुन न आज म तेरो गाउँ आउँदैछु ।”

“मेरो गाउँ आउदैछु रे ! हैन के भनेको ? जिस्किएको तँ !”

“हैन कहाँ जिस्केको यार आउदै छु के । भन न कसरी आउने मैले बाटो नै चिनेको छैन । त चौरजाहरीसम्म आईज न है ?”

मोहनलाई यति कुरा बताएपछि उसले नाइ भनेन । हुन्छ आउछु नि आइसकेपछि फोन गर्नु नि फेरि भनेर उसले फोन राख्यो ।

हिडिरहे खोलानाला उकाली ओराली जङ्गलहरू छिचोल्दै अनन्तहिन बटुवा झैँ । म त्यो गाउँ पहिलोपटक जादै थिए । चौरजाहारीसम्म जाने बाटो थाहा नपाएपछि म नार्जि भन्ने ठाउँसम्म गएँ । त्यहासम्म मेरा साथीहरू पनि आएका रहेछन् । हामी सरासर मोहनको घरतिर लाग्यौ । भोलिपल्ट बिहान गाउँतिर घुम्न जाने कुरा भयो । बिहान रोटी नास्ता खाएर गाउँतिर लाग्यौ । बाटोमा हिंड्दै थियौ एक जना रश्मिकै गाउँको मान्छे भेटिए । हामी तिनै जना भएर कुरा गर्दै हिंड्यौ । केही समय हिडिसकेपछि । मोहनले चिनेको एउटा घरमा पस्यौ ।

हामीलाई बस्न आग्रह गरे हामी बस्यौं । एकछिनपछि एकजना केटीले हामीलाई खाजा लिएर आइन हामीले खाजा खायौँ । मोहन त्यही घरको परिवारसँग कुराकानी गर्दै थियो । म बाहिर आए आगनीमा अघि हामीलाई खाजा लिएर आउने केटी भाडाँ माझ्दै रैछिन । गाउँकी साधारण केटी कति सुहाएको राता कुर्ता सुरुवालमा त्यसै माथि टाउकोमा रुमाल बाधेको । उनलाई मैले पहिलो नजरमै मन पराइसकेको थिए । मनले मानेन र म उनको नाम थाहाँ पाउने, कुरा गर्ने बाहानामा उनको नजिकै गएर सोधे ।

“आहा ! कति सुन्दर गाउँ रहेछ । सुनन तिम्रो नाम थाहाँ पाउन सक्छु म ?”

“संगीता हो,” उनले भनिन् ।

“आहा ! कति राम्रो नाम !”

उनले जिस्कदै भनिन्, “नाम मात्र राम्रो भएर के गर्नु मान्छे राम्रो छैन क्यारे !”

कसरी भनु उनलाई मन पराएको कुरा सोच्दै थिएँ । अलिअलि डर पनि लागेको थियो तर उनले त बाटो खुलाई दिइन, म खुशी भए र भनें, “कोही होलान् नि ।”

“खै !” उनीले उत्तर दिइन् ।

मैले कुरा नघुमाइ नलुकाई भनिदिए, “म छु नि तिमीलाई मन पराउने । मलाई त सारै मन पर्यो तिमी । अनि तिमीलाई नि ?”

“कसरी मन पर्यो भन्नू कहिल्यै नदेखेको नचिनेको मान्छेलाई ? फेरि मेरो मन जाँचेको पो हो कि ?”

“हैन हैन कसम त्यस्तो हैन म त्यस्तो झुठ बोल्ने मान्छे होइन,” मैले फेरि भने ।

“के म तिम्रो फोन नम्बर पाउन सक्छु ?”

उनले भनिन्, “मेरो मोबाइल त भाउजूले लाग्नुभएको छ । बरु तपाईंको नम्बर दिनुहोस् न म गरुला नि ।”

कुरा यति नै भयो मैले संगीतालाई मोबाईल नम्बर दिएँ । र मनमा केही खुशी र केही संगीताको माया लिएर मोहनसँगै आफ्नो बाटो लागेँ ।

त्यो दिन साँझ रश्मिको घरमै बस्यौ । खान खाइसकेपछि म आफू सुत्ने कोठातिर लागे । मोबाईल हेरिरहेको थिए दिउँसो संगीताको घरमा खाजा खाएको, संगीतासँग कुराकानी भएको सम्झिरहेको थिएँ । कताकता संगीतालाई मनमा सजाइसकेको रहेछु पत्तै पाएन । त्यतिकैमा संयोगवस संगीतालाई सम्झिरहेकै बेला संगीताको फोन आयो र उठाएँ ।

मैले थाहाँ नपाएझै बोले, “अँ संगीता किन फोन गरेको ?”

संगीताले भनिन्, “के मैले फोन गर्न हुँदैन र ?”

मैले अरु कुरा केही नगरी संगीतालाई सोधें, “त्यसो हैन नि भन म तिमीलाई मन पर्यो कि परेन ?”

“के गर्नु छोरी मान्छेको नियम र नियति नै यस्तै एकदिन जन्मघर छोडेर पराई घर जानै पर्ने । भनिन्छ भाग्यमा लेखेको पाइन्छ रे कतै हजुरकै हुन लेखेको छ कि भाग्यमा ।”

माया पनि कस्तो माया जोसँग कहिल्यै भेट भएको थिएन । न त फोनमा नै कुरा भएको थियो । एकैछिन भेटेको देखेको मान्छे कति छिटै मनमा बस्दो रहेछ । संगीताको माया पाउने भएपछि मन खुशीले नाच्न थाल्यो । संगीताको माया मनमा झन, झन भरिन थाल्यो । जीवनका मिठा-मिठा सपना देख्न थाल्यौं । फोनमैसँगै मर्नेसँगै बाँच्ने कसम खायौ दुस्ख सुखमा एक अर्कालाई साथ दिने कुरा गर्न थाल्यौ ।

त्यही क्रममै संगीताले सोधिन्, “तपाईंको घरमा को को हुनुहुन्छ ?”

मैले उत्तर दिएँ, “मेरो घरमा छ न त सबै छन् तर पनि कोही छैनन् । सौतेनी आमा छन् । सौतेनी दाइ छन् उनैसँग बस्छु । बाबा सानै छदा यो संसार छोडेर जानू भो । अनि आमा अहिले मामाको घर बस्नुहुन्छ । तर भएनि नभएझै भएको छ । अब तिमी आएपछि तिमी हुन्छ्यौ नि । हैन र ?”

“ए, हो र हुन्छ नि, ” संगीताले भनिन् ।

संगीताको घरमा बा-आमालाई थाहा नदिएरै अर्कोदिन संगीता र म भागेर जाने अनि बिहे गर्ने दुवैको सहमति पनि भयो ।

म त्यही दिनको प्रतीक्षामा बसिरहेको थिए । भोलिपल्ट साँझ संगीताले फोन गरिन् र डराउँदै भनिन्, “हामी भागेर जानेकुरा मेरो बालाई कसैले भन्दिएछ । बाले मलाई निकै गाली गर्नुभो अब के गर्ने ?”

मैले भने, “मैले कसैलाई त भनेन फेरि कसले भन्दिएछ ? उसो भए अब हामी भोलि नै भागौ न त ।”

संगीताले पनि हुन्छ भनिन् ।

फेरि अर्को दिन मेरो साथी मोहनसँगै संगीतालाई लिन भनेर गयौं हामी । तर संगीताको घर जान सकेनौ र मैले आधा बाटोमै फोन गरें, “हेलो ! संगीता हामी तिमीलाई लिन भनेर तिम्रो घर नजिकै छौ । अब हामी घरमा त आउन सक्दैनौं तिमी नै यही आऊ है !”

“किन मेरो घरमा नआउने ?” संगीताले भनिन ।

फेरि मैले भनें, “तिम्रो घरमा त कुकुर धेरै भुकिरहेको छ । मलाई त डर लाग्छ ।”

यति भनिसकेपछि संगीता हामी भएकै ठाउँमा आइन् अनि मैले हात समातेर हिंड अब जाउँ भने । उनले भनिन्, “मेरो हात समाउनुभन्दा मैले केही आफ्ना कपडा लिएर पनि आएकी छु यही समाउनुहोस बरु ।”

त्यतिकैमा उनका कपडा र हात समाएर संगीतालाई आफ्नो घर लिएर हामी त्यहाँबाट हिंड्यौ ।

त्यसपछि २०७०/१०/१ गते मैले संगीताको सिउँदोमा सिंदुर भरिदिए । हामी जुनीजुनी सँगै हुने भयौ । संगीतालाई म दुखीको जिन्दगीमा ठाउँ दिएँ । घरमा सौतेनी आमा, दाइ भाउजूको व्यवहार उस्तै थियो । हामीलाई राम्रो नमान्ने गाली गर्ने खाने बेला पनि उस्तै व्यहार गर्ने ।

संगीता त्यो पीडा सहन नसकेर धेरै रुन थालिन् मैले सम्झाएँ, “संगीता हाम्रो भाग्यमा यस्तै भोग्नु रहेछ तिमी नरोऊ । म छु नि तिमीलाई दुखी हुन दिनेछैन मैले । केही दिन यसै सहेर बसौ त्यसपछि मैले जेनतेन गरेर सबै बन्दोबस्त मिलाउँछु ।”

समय बित्दै गयो जे जस्तो भए पनि आँधीबेहरी, अँध्यारो उज्यालो, सुखदुःख गरेर हामीले आफ्नो जिन्दगी चलाइरह्यौ । खुशी नै थियौ । तर जिन्दगी सोचे जस्तो सधैं खुसी नहुँदो रहेछ । एकै छिन चकनाचुर हुँदारैछन् सपनाहरू । एउटा गरिब भएर जन्मनु पनि अभिसाप नै रहेछ । सानैमा बाले छोडेर गए । आमा मामाघर बस्न थालिन । दुखी, टुहुरो भए । समस्याहरू झेल्दै गए । त्यसैमा सहदै पनि गए । कसैको माया पाइन । कसैको माया पाउने आसामा सानै उमेरमा बिहे गरे । तर भाग्यमा कसैको माया पाउन नलेखेपछि के गर्नु । फेरि एक्कासि आँधीभेरी आयो । संगीतासँग खाएका बाचा कसम उडाएर लग्यो । माया ! माया रहेन ।

अग्नि साक्षी राखी खाएका बाचा कसम पनि पूरा नहुँदा रहेछन् । म त माया मनसँग जोडिन्छ भन्थे तर यहाँ त माया आफ्नो अस्तित्व नै भुलेर धन र पैसासँग जोडिने रहेछ । म हिलै हिलोमा लपेटिदै आएको मान्छेलाई के थाहा ?

समय पनि कति निष्ठुरि हुदो रैछ । के सोचेको थिए जिन्दगीमा के भयो आज ।

समय ठिक उल्टो चलिदियो । आफ्नो भनेको कोही हुदो रहेनछ यो दुनियाँमा । सबै स्वार्थी हुदारहेछ्न । सुखमा मात्र आफन्त भन्ने आफन्तहरू दुखको बेला पराई हुँदा रहेछ्न । म निर्दोषलाई विभिन्न षड्यन्त्रद्वारा आरोप लागाएर जेलमासम्म कोचियो । म निर्दोष छु यसो नगर्नुहोस् भने तर त्यहाँ मेरो बोली सुन्ने कोही थिएन । यो ससारमा त म एक्लो थिए मेरो आमा बाहेक उनैले नि छोडेर गइन । गरिबहरुको लागि नेपालमा कानून कहाँ छ र यहाँ धनिहरुको मात्र छ ।

प्रिय संगीता आज तिमीले पनि मलाई छोडेर गयौं । भन्थ्यौ नि दुख सुखमा हामीले एक अर्कालाई साथ नदिए कसले दिन्छ ? तर त्यो त सब बाहना रहेछ हैन र ? तर यति छिटै हाम्रो सम्बन्धबाट टाढा भयौं । ठिकै छ तिमी त जताजता सुख छ, उतै जाने मान्छे । म दुखी गरिब, भत्किएको टुक्रिएको मान्छेसँग के नै सम्बन्ध गासिरहन सक्थ्यौ र । जेनतेन गरेर तिम्रै लागि एउटा घर बनाएको थिएँ त्यो पनि भत्किएर गयो । जीवन नै भत्किएर गयो अरु के कुरा गर्नु । बाँकी कोही र केही रहेन अब । म त एक्लो मान्छे ।

संगीता, अब अन्त्यमा यति भन्छु, म त भाग्यले नि ठगेको मान्छे । अहिले निर्दोष कैदी जीवन भोगिरहेको छु । तिमी त अहिले खुसी र सुखी छ्यौ होला । जहाँ रहे पनि सधैं खुसी र सुखी रहनु । यही कामना छ ।

समाप्त …।

दिपा धिताल

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *