अविचार, विचार र निर्विचार : एक चर्चा


जीवनको खोज मृत्युवाटै प्रारम्भ गरिन्छ । जीवनलाई चिन्नु र पाउनु पर्छ । मृत्युको तथ्यबाट खोजलाई प्रारम्भ गर्नेहरू मात्र सफल र समर्थ हुन सक्छन् । हेर्दा उल्टो जस्तो लाग्छ यो । जीवन खोज्न मृत्युवाट आरम्भ गरौं, यो कुरो उल्टो जस्तो लाग्छ । तर कुरो उल्टो छैन । प्रकाश खोज्नेले त्यसलाई अन्धकारबाटै प्रारम्भ गर्नुपर्छ । प्रकाशको खोजको अर्थ के हो भने हामी अन्धकारमा उभिएका छौं र प्रकाश हामीबाट टाढा छ, अन्यथा त्यसको खोज नै किन हुन्थ्यो ? प्रकाशको खोज अन्धकारबाटै हुन्छ र जीवनको खोज मृत्युवाट । हाम्रो खोज जीवनको लागि हो, त्यसको अर्थ हो हामी मृत्युमा उभिएका छौं । र, यो तथ्य स्पष्ट नहुञ्जेलसम्म कुनै पाइला अगाडि बढाउन सकिँदैन । त्यसैले मैले मृत्युलाई पछाडि नराख्नुस्, अगाडि राख्नुस् भन्ने निवेदन गरें । मृत्युवाट पन्छिने होइन, त्यसको सामना गरौं, मृत्युवाट भाग्ने होइन, त्यसलाई नविर्सौ, त्यसको सतत् स्मृति नै सहयोगी हुन सक्छ ।

अबको केन्द्र हुनेछ– अविचार । तीन शब्द यी तीन दिनको चर्चाका लागि मैले छानेको छु । आज अविचारमाथि चर्चा गर्नेछु, भोलि विचारमाथि, पर्सी निर्विचारमाथि ।

अविचारको अर्थ हो, चित्तको त्यस्तो दशा जहाँ हामी अन्धो भएर बाँच्दछौं र कुनै विचार गर्दैनौं । विचारको अर्थ हो चिन्तनका साथ सचेत रूपले जिउनु । र, निर्विचारको अर्थ हो विचारभन्दा माथि उठ्नु र समाधिमा जिउनु । तीन सिंढी छन् । आज अविचारका वारेमा तपाईंहरूसँग कुरा गर्दछु ।

साधारणत: हामी सबै अविचारको स्थितिमा छौं । हामी सबै थाटलेसनेसमा छौं । जीवनमा हाम्रा कुनै विचार छैनन् । हामी अन्धा आकाङ्क्षाको प्रेरणामा बाँच्दछौं, बाँच्दछौं अन्धा वासनाहरूको ठेलाइमा । हामी किन, भनेर ती सबै वासनाहरूको उत्तर दिन सक्दैनौं । किनकि, जहाँ जीवनमा विचार प्रारम्भ भएको हुन्छ, त्यहीं नै किनको उत्तर दिन सकिन्छ । भोक लाग्छ, प्यास लाग्छ, वासनाहरू जाग्छन्, हामी तिनलाई पूरा गर्नतिर सङ्लग्न हुन्छौं ।

तर किन ? किनको कुनै उत्तर यो तलमा दिन सम्भव हुँदैन । भोक लाग्छ, त्यसैले भोजनको खोजी गर्छौं । तर भोकको के आवश्यक्ता छ र भोजनको के आवश्यक्ता छ, यो हाम्रो विचारको अङ्ग बन्दैन, न बन्न सक्छ । विचारशीलभन्दा, विचारशील व्यक्तिलाई पनि भोक लाग्छ तर त्यसको कुनै उत्तर हुँदैन । मानौं सम्पूर्ण प्रकृति अन्धो भएर बाँच्दैछ, हामी बाँचेका छौं । वर्षा हुन्छ, घाम लाग्छ, सूर्य निस्कन्छ, रात हुन्छ, किन ? कुनै उत्तर छैन ।

बीउबाट टुसा पलाउँछ, रुख बन्छ, पात लाग्छन्, फूल फुल्छन्, किन ? कुनै उत्तर छैन । पशु छन्, पंक्षी छन्, कीरा–फट्याङ्ग्रा छन्, मान्छे छन्, किन ? हामी जुन तलमा बाँचिरहेका छौं, त्यो सारा अस्तित्व त्यहाँ बिना उत्तरको छ । हामी छौं र बाँच्ने प्रवल आकाङ्क्षा छ, त्यसैले बाँच्दै जाँदै छौं । तर किन छ, जीवनको आकाङ्क्षा किन छ ? त्यसको कुनै उत्तर हामीसँग छैन । न कुनै मान्छेसँग कहिल्यै थियो ।

यो अविचारको तल हो । म तपाईंलाई गाली गर्छु, तपाईंभित्र क्रोध जन्मिन्छ, त्यो क्रोध किन जन्मिन्छ गाली गर्दा ? तपाईंलाई कसैले घचेट्छ, तपाईंको मनमा हिंसा जन्मिन्छ । कसैलाई तपाईं राम्रो देख्नुहुन्छ, किन त्यस्तो देखिन्छ ? कोही कुरूप देखिन्छ, किन ? कोही मनपर्छ, कोही मनपर्दैन, कोही प्रिय लाग्छ, कसैसँग टाढिन मन लाग्छ । कसैलाई नजिक राख्ने इच्छा हुन्छ, कसैलाई हटाउने । तपाईंले कहिल्यै सोध्नुभएको छ, यो सबै किन हुन्छ ?

र, सोध्नुभयो भने पनि कुनै उत्तर पाउनुहुन्न । केवल प्रश्न गुञ्जिन्छ, कुनै उत्तर पाइँदैन । सेन्सको तलमा, प्रकृतिको तलमा कुनै उत्तर हुँदैन । निरन्तर हामी बाँच्दै जान्छौं । त्यसैले मृत्यु आउँदा, त्यसका लागि पनि कुनै उत्तर दिन सकिँदैन । न जन्मका लागि कुनै उत्तर हुन्छ कि म किन जन्मिएँ ? न त मृत्युका लागि कुनै उत्तर हुन्छ कि म किन मरें ? न भोकका लागि कुनै उत्तर थियो, न प्यासका लागि । न वासनाका लागि, न कुनै व्यक्तिका लागि नै कुनै उत्तर थियो । त, अन्त्यमा मृत्युका लागि पनि उत्तर हुँदैन । जसरी जन्मलाई स्वीकार गरियो, त्यसरी नै एकदिन मृत्युलाई पनि स्वीकार गर्नुसिवाय अरु कुनै उपाय हुँदैन । यो तलमा उत्तर हुँदैन पनि । यो शरीरको तल हो, अविचारको तल हो, वृत्तिको तल हो, यहाँ कुनै उत्तर हुँदैन ।

धेरै व्यक्तिहरू यसै तलमा जिउँछन्, विना उत्तरको जिउँछन् । र, उत्तर विनाको जीवन व्यर्थ हुन्छ । त्यसको सार्थकता स्वय म समक्ष समेत प्रकट छैन । मेरा एकजना साथी हुनुहुन्थ्यो, भर्खरै उहाँले आत्मघात गर्नुभयो । विचारशील हुनुहुन्थ्यो, धेरै सोच्नुहुन्थ्यो । मर्नुभन्दा दुई महिना पहिला मसँग भेट्न आउनुभएको थियो र वर्षौंदेखि आत्मघात बारे पनि चिन्तन गरिरहनुभएको थियो । बारम्बार आफूलाई समाप्त पारौं भन्ने सोच्नुहुन्थ्यो । आफूलाई समाप्त पार्न चाहन्छु भनी मलाई सोध्न आउनुभएको थियो । यस्तो जीवनमा म कुनै अर्थ, कुनै मिनिङ देख्दिनँ । तपाईंको के राय र सल्लाह छ भनी मसँग सोध्न आउनुभएको थियो । यदि तपाईं मृत्युमा कुनै अर्थ भेट्नुहुन्न भने अवश्य नै आफूलाई समाप्त पार्नुस्, मैले भनेको थिएँ । जीवनमा त अर्थ देखिँदैन, मृत्युमा अर्थ देखिन्छ ? उहाँले भन्नुभयो, त्यसमा पनि म कुनै अर्थ देख्दिनँ । त्यसैले मैले भने, केही फरक पर्दैन । व्यर्थता जस्ताको त्यस्तै ठडिएकै हुन्छ । जीवन पनि व्यर्थ छ, मृत्यु पनि व्यर्थ हुन्छ । दुवैको कुनै कारण हुँदैन ।

र, हामीमध्ये पनि अधिकांश: व्यक्तिहरू मरेर पनि के गर्नु भनेर बाँचिरहन्छौं । त्यो कुनै जीवन होइन । मृत्युको विकल्पमा पनि कुनै अर्थ हुँदैंन, त्यसैले बाँचिरहन्छौं । उहाँले दुई महिनापछि आत्मघात गर्नुभयो । मलाई पत्रमा लेख्नुभएको थियो, त्यो पत्रमा लेख्नुभएको थियो, म अन्तत: आफूलाई समाप्त पार्ने निर्णयमा पुगेको छु । पछिल्ला पचास वर्षमा धेरैले आफूलाई समाप्त पारेका छन् । यस्ता व्यक्तिले, जसलाई कुनै दु:ख र कष्ट थिएन, जो कुनै आर्थिक असुविधामा थिएनन् ।

जीवनमा कुनै अर्थ नभेट्दा मात्र उनीहरूले आफूलाई समाप्त पारेका हुन् । तपाईंले पनि विचार गर्दा, सोच्दा, तपाईंले पनि चिन्तन गर्दा आफू किन बाँच्ने भन्ने कुनै अर्थ सायदै भेट्नुहोला । र, तपाईंसँग बाँच्ने कुनै उत्तर छैन भने तपाईंको जीवनमा न कुनै गहिराइ हुन सक्छ, न त कुनै अनुभूति नै हुन सक्छ । बाँच्नु र नबाँच्नु करिब–करिव उस्तै–उस्तै हुन् । हुँदा पनि ठिक र नहुँदा पनि ठिक ।

(‘मौलिक क्रान्ति’ पुस्तकको नेपाली अनुवादकत्रय– ध्यान बोध, ध्यान निर्दोष र प्रेम निर्वाण )

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *