एक पिता–शिक्षकको नोट


(सम्पादकज्यू ! यस नोटको ‘म’ पात्र पूर्वाञ्चलवासी मध्यम वर्गीय मैथिल ब्राहमण हो । पारिवारिक नातागोता भएका कारण ऊ सानैदेखि मुलुक बाहिरै बढ्यो, पढ्यो र त्यहीँको वातावरणलाई सर्वस्व ठानेर रह्यो । उसले आफ्नो पारिवारिक र मैथिल संस्कारका बारेमा पर्याप्त जानकारी समेत लियो । आफ्ना क्रियाकलापले समयलाई सम्बोधन नगरे समयकै शिकार हुनुपर्ने ठम्यायो । खान्दानी मर्यादा र प्रचलित संस्कृतिले व्यवहारमा जटिलता थप्यो भने समयानुकूल परिमार्जन गर्न खुट्टा कमाउन नहुने निष्कर्षमा पुग्यो । र, सन् १९९५मा चन्द्रधारी मिथिला विज्ञान महाविद्यालय, दरभङ्गाबाट गोल्डमेडल उपाधिसहित स्नातकोत्तर गर्यो । आफ्नो ज्ञान–सीप र पौरख आफ्नै मुलुकका लागि समर्पित गर्नु नै सच्चा नागरिकको कर्तव्य ठानी आफ्नै पुर्खौली नेपाल फर्कियो । त्यसपछि उसले भोग्नुपरेका भाषिक, सांस्कृतिक, सामाजिक, भौगोलिक र शैक्षिक जटिलताहरूबाट पाठ पढी आफ्ना दुई छोरीको भविष्यप्रति चिन्तनशील भयो । उसको त्यही चिन्ता र चासोलाई व्यवहारमा उतार्दा उतार्दै यो अनुभवजन्य लेख तयार भएको हो । –नलाआ)

समयसँग लडाइँ गर्दागदै विज्ञान सङ्कायमा प्रथम श्रेणीमा प्रथम भएर स्नातकोत्तर तह उत्तीर्ण गरेँ । मेरो परिवारमा खुशी नाच्न थाल्यो । म भने परीधीय मुस्कुराहट देखाएर साथ दिन थालेँ । उपाधिको भारले म थिचिएँ । आफूमा भएको स्वच्छन्दतालाई भित्रभित्रै दबाएर भद्र व्यक्तिमा रूपान्तरण हुने प्रयासमा लाग्दो भएँ ।

म कण्ठ गर्न माहिर थिएँ । एम.एस्सी.का सबैजसो पाठ्यपुस्तकहरू कण्ठ थिए । कतिपय कुरा बुझेको थिएँ । कतिपय भने नबुझीकनै मुखाग्र मात्रै थिए । प्रयोगशालामा समेत प्रमाणित गर्न सक्तिनथेँ । सिद्धान्तलाई व्यवहारबाट परीक्षण गरी सिद्ध गर्न नसके त्यसलाई विज्ञान भन्ने पक्षमा थिइनँ । संसारका लागि म गोल्डमेडलिष्ट थिएँ । तर, आफ्ना लागि कनिकुथी तेस्रो श्रेणीमा उत्तीर्ण गर्ने तल्लो स्तरको सिकारु नै थिएँ ।

उपाधिको महत्त्व जोगाउनु मेरो लागि फलामका च्युरा चपाउनु नै थियो । आशा र अपेक्षा गरेभन्दा उत्तम दर्जाको फल पाउनु पनि घातक नै हुँदो रहेछ । मेरो चयनको श्वास बन्द भयो । चञ्चलता, जागरुकता र जिज्ञासु मन हराएर गयो । कसो गरेर अरूभन्दा उत्तम भइरहने, के गरेर उपाधिको सम्मान बचाइराख्ने ? मेरो तनमन त्यसैमा केन्द्रित भइरह्यो ।

पलपल विरसिला दिनहरू उदाउन थाले । थरिथरीका सपनाहरू जन्मेर अगाडि उभिन्थे । तिनलाई निरीक्षण गर्न मात्र सक्थेँ । सुम्सुम्याएर पहिचान गरी आफूमा समाहित गर्न सक्तिनथेँ । तिनलाई व्यवहारिक तुलोमा तौलन खोज्थेँ । असफल होऊँला कि भन्ने डरले सपनाहरू तुहाउन वाध्य हुन्थेँ ।

सामान्य विद्यार्थी छँदा स्वतन्त्र थिएँ । जहाँसुकै विहार गर्दा पनि हुन्थ्यो । जसरी आफ्नो मन बहलिन्छ, त्यसै गर्दा पनि इज्जत अगाडि उभिन नआएको भान हुन्थ्यो । अब त पाइलैपिच्छे उपाधि वाधक भई खडा हुन थाल्थ्यो । यहाँसम्म कि आमाबाबुसँग पनि मन खोल्न बाधा पर्न थाल्यो ।

नातागोता प्रशन्न भएकै बखत वैवाहिक कार्य सम्पन्न गर्ने कुरा भयो । खान्दानी चलन र संस्कार बमोजिमको भव्य तयारी थालियो । म विल्कुलै सहमत थिइनँ । उपाधिको प्रतिफल चाखेर मात्र झमेलामा फँस्नु परे पनि फँस्ने पक्षमा थिएँ । मैले शिष्टतापूर्वक जाहेर गरेका कुरालाई परिवारले अस्वीकार गर्यो । विद्रोहको ठूलो स्वर बोल्न उपाधि नै बाधक थियो । स्वीकार गर्दा आफ्ना मनका सपनाहरूले क्षमा नदिने निश्चित थियो । म धेरै काल किंकर्तव्यविमूढको अवस्थामा अल्झिरहेँ ।

वैवाहिक समारोह सम्पन्न भयो । आफन्तजनको मन भरियो । आमाबुबाको मन सन्तोषले ढाकियो । म भने छटपटाउन थालेँ– एक दिन, दुई दिन भन्दाभन्दै समय बग्दै जान्छ । लालाबाला काखमा खेल्न थाल्छन् । मायामोहले ढाक्न थाल्छ । आवश्यकताको थुप्रो लाग्छ । उपाधिको फल चाख्नै नपाई सपनाहरू ओइलिएर जान्छन् ।

आफ्नै मुलुक फर्केर उद्यम गर्न बुबाआमाको बोलावट भयो । धेरै घोरिएँ । नागरिक हुनुको कर्तव्यबोध भयो । चञ्चले मन स्थिर बनाएँ । र, उपाधि लिएर सदाका लागि नेपाल भित्रिएँ । शिक्षक बनेरै समाजको समुन्नतिमा योगदान दिने मनसाय लिएँ । तराई÷मधेशभरि चहारेँ । सत्यको मार्ग हिँडेर विज्ञान शिक्षक बन्न पाइनँ । असत्यको पछ्यौरी पक्रेर उपाधिको फल चाख्न रुचाइनँ । फलस्वरूप थोरै पारिश्रमिकमा निजी विद्यालयको आज्ञाकारी शिक्षक भएँ । त्यहाँ शिक्षण कला सिकेँ । भाषिक जटिलता फुकाएँ । थेरथोर रटन्ते सिद्धान्त लागू गरेँ । आफूमा सफल शिक्षणकला विकसित गर्न चिन्तनशील हुँदै गएँ ।

कतिपय सिद्धान्तलाई प्रयोगशालामा पुष्टि गर्ने÷गराउने मौका भेटेँ । हरेक शैक्षिक गतिविधिमा दिनानुदिन आफूलाई सरिक गर्दै लगेँ । माध्यमिक तहको स्थायी अध्यापन अनुमति पत्र समेत पाउन सफल भएँ । नेपालको भूगोलको राम्रो जानकारी लिएँ । यहाँका सांस्कृतिक पाटाहरूको एकएक पानाहरू उल्टाएँ । जटिलताहरू हटाउँदै परिष्कार गर्न आफूलाई नै लगानी गरेँ । केही वर्षमै मैले नेपालभरि अटाउन सक्ने वैधानिक विज्ञान शिक्षकको योग्यता आर्जन गरेँ ।

पहाड र हिमालतिर जागिर पाएको थिएँ । त्यहाँको भौगोलिक जटिलता र दुरुह जीवनशैलीले मलाई तराई÷मधेश छाड्न दिएन । सधैँ समथर भूमिमै लालित र पालित भएको मेरो शरीर उकाली डाँडाकाँडा देख्तै काप्न थाल्थ्यो । मन धरमराउन खोज्थ्यो । अघि बढाउन उचालिएका पाइला तटस्थ रहन्थे । आखिरमा तराई÷मधेशले नै आकर्षण गरिरह्यो ।

बरु चिन्तामुक्त भएर थोरै कमाउँछु । चारैतिर घुमेर बढी मेहनत गरी पारिश्रमिक जोरजाम पार्छु । मौलिक नेपालीपनलाई अन्तर्हृदयदेखि नै अनुभूत गर्छु । हरतरहले आफू पारङ्गत हुन्छु अनि मात्र उकालो चढ्छुभन्दा भन्दै दुई वर्ष लालीगुराँस माविमा बिताएँ ।

त्यसै बीचमा जेठी छोरीले धर्तीमा आँखा खोलिन् । मलाई पिताको पगरी गुथाइदिइन् । उनले नै मेरो काँधमा जिम्मेवारी थपिएको बोध गराइन् । कर्मपथमा अँझ जोसिलो भएर लाग्न उज्यालो बाटो देखाइन् । त्यसैले उनको नाम नै ‘रश्मि’ राखेँ । यथार्थमा उनी उज्याली पनि थिइन् । काट्टीकुटी पहाड–हिमालकै छोरी थिइन् । अब यिनका साथमा उकाली यात्रा थाल्दा पहाडी जीवनमा समायोजित हुन मद्दत पुग्ने लाग्यो ।

जसोतसो म त तयार भएँ । समथर माटाको सुगन्धले लठ्याएको मेरो परिवार उकालीको यात्रा थालनी वारे सोच्दा नै तर्सन थाल्यो । मलाई पनि कामकाज गर्न खाँचो थिएन । सूर्योदयदेखि सूर्यास्तसम्म श्वास फेर्ने समय थिएन । रटन्तेपनलाई हटाउँदै प्रयोगात्मक पद्धति अंगाल्दै जाँदा विज्ञान शिक्षणको स्वाद नै फेरियो । विद्यार्थीहरू पनि मेरा वरपर झुम्मिन थाले । अभिभावकहरूको मनमा समेत विज्ञान शिक्षकका रूपमा स्थान भेट्न थालेँ ।

डेढ वर्ष बितेको मात्र थियो । अर्की सुपुत्रीले पनि धर्ती स्पर्श गरिन् । उनी फूलजस्ती थिइन् । त्यसैले ‘जुही’ नाम जुराएँ । अब सन्तान रहर पुगेको थियो । यिनै दुईलाई संसार चिनाउन सके र स्वयम्लाई जान्न प्रेरित गर्न सके भविष्य बलियो बन्ने निष्कर्षमा पुगेँ । मेरो कार्यस्थल घरदेखि टाढै थियो । दिनहुँ घरमा वास बस्न पुग्न सकिन्नथ्यो । मन खोलेर भलाकुसारी गर्ने समय समेत जुर्दैनथ्यो । जीवनसंगिनी पढेकी तर व्यवहारमा पर्दै नपरेकी परिन् । म स्वयम्का बारेमा समेत आन्तरिक कुरा बोध गर्न नपाएकीले छोरीहरूको जीवनचर्यालाई कसरी व्यवस्थापन गर्छिन् भन्ने बारे आशङ्का भइरहन्थ्यो । त्यसैले उनलाई वस्तुस्थितिको जानकार बनाउनु थियो । आफ्नो दायित्व कार्यान्वयनमा सतर्क बनाउनु जरुरी थियो । अतः पत्राचार गर्न वाध्य भएँ र एक दिन लेख्न बसेँ–

मिति–२०५४।०३।२८

प्यारी जानकी,

सप्रेम सम्झना !

तिमी मेरो जीवनमा नआउँदा म फगत एक्लो थिएँ । जिम्मेवारीबाट पूरै अलग थिएँ । पैतृक सम्पत्ति र संरक्षणमा जीवन हिँडाइरहेको थिएँ । चिन्तामुक्त मनोदशामा सिर्फ लेखपढमा चित्त लगाउँथेँ । थरीथरीका शैक्षिक र वैयक्तिक अनुभव भएका गुरुहरू थिए । उनीहरूको छत्रछायाँले दिनहुँ मेरो ज्ञानको जग बलियो हुँदै गइरहेको थियो । विज्ञानको विद्यार्थी हुनाले खोजयात्रामा सरिक हुने अवसर समेत मिलिरहन्थ्यो ।

आफूले पत्ता लगाएका समस्याहरूको समाधान स्वय म गर्थें । कतिपय गुरुकहाँ राख्थेँ । त्यहाँ पनि सबै किसिमका प्रश्नले उत्तर भेट्दैनथे । बेलाबेलामा म अनुत्तरित प्रश्नको वरपर घुमिरहन्थे । पटकपटकको प्रयत्नले ती मध्ये केहीको समाधान पत्ता लाग्दथ्यो । केही भने अँझै जस्ताको तस्तै रहन्थे । यसो गरिरहँदा मेरो सिकाइ र बुझाइ मजबुत हुँदै जान्थ्यो ।

जाने जति कापीमा उतार्न समय नभ्याउँदा परीक्षामा कम अङ्क ल्याउँथेँ । त्यसले पिताजीको मनमा वितृष्णा जन्मेछ । आफ्नो लगानीले उचित प्रतिफल प्राप्त गर्न नसकेको भनेर उहाँले रोष व्यक्त गर्नुभयो । त्यसको समाधान नै रटन्ते शिक्षा हो भन्ने पत्ता लगाएँ । फलस्वरूप पिताजीका लागि रट्न शुरु गरेँ ।

किताब रट्दा रट्दै दिन सकिन्थ्यो । रात आधा हुन्थ्यो । हुँदाहुँदै अपेक्षा विपरीतको फल हात लाग्यो । आफूले बोक्न नसक्ने उपाधिको भारले थिचिन पुगेँ । त्यसै दिनदेखि मेरा दुःखका दिन उदाए । र, छोरीहरूको जन्मसँगै दुःखका दिन अस्ताए । अब सुखको सूर्य जन्माउने अभिभारा तिम्रै काँधमा छ । किनभने म छोरीहरूको परीधीय मित्र मात्र हुँ । तिमी त केन्द्रीय संगी नै हौ ।

हेर, म सानैदेखि देशबाहिरै बढेँ, पढेँ र त्यहीँको कुरा मात्र जानेँ । एउटा उच्च दर्जाको उपाधिसहित पुर्खौली मुलुक फर्किएँ । मैले भोग्नुपरेका भाषिक, सांस्कृतिक, सामाजिक, भौगोलिक र शैक्षिक समस्या र जटिलताहरूको कहिरन उल्लेख गरी साध्य छैन । यसखाले समस्या छोरीहरूको जीवनमा नआओस् भन्नका लागि मभन्दा तिमीले नै असल माली बन्नु जरुरी छ । त्यही चिन्ता र चासोलाई बुझ्दै मैले आफ्नो अन्तर्हृदयका आवाज तल लिपिबद्ध गरेको छु । बुझेर छोरीहरूलाई उचित वातावरण दिने छ्यौ भन्ने ठानेको छु–

हाम्रा छोरीहरूले विद्यालयीय शिक्षा आफ्नै देशमा आर्जन गर्ने छन् । आफ्नो भूगोल जान्ने छन् । मेची–महाकाली, तराई–हिमाल पर्गेल्ने छन् । भाषा–भेष र व्यवहारका धनी हुने छन् । पारिवारिक संस्कृति र चालचलनको फेद–टुप्पो चिन्ने छन् । नेपालीय संस्कृति र सांस्कृतिक पक्षको जानकारी राखी श्रद्धा गर्न सिक्ने छन् । आफ्नोपनमा गर्वबोध गर्न सके आफन्तबाटै डरपोक बन्नुपदैन । उकाली चढ्न आत्तिनु पर्दैन । ओराली झर्न पाउँदा आनन्द मान्नु पर्दैन । जुन भूमिले शरीरभरि खुन दिएको छ, प्राण जोगाएर राखिदिएको छ, त्यसको निर्माणमा पुर्खाहरूको खुन–पसिना लगानी भएको छ, त्यसकै समुन्नतिमा पसिना बगाउनु पर्ने मूलमन्त्र सम्झने छन् । साँच्चैका नेपाली चेली बनेर नव नेपालका भृकुटी हुने छन् ।

यसखाले मेरो सदीक्षा पूरा गर्न होस् दिलाउने छोरीहरूकी चौबिसे घण्टे चौकिंदार तिमी नै हौ । तिमीले पिलाउने दुधमै त्यो रङ मिसाउन जरुरी छ । तिमीले नै अमिल्दो पक्ष मिलाएर पारिवारिक वातावरण अनुकूल बनाउनुपर्छ । एकलकाँटे विचार राखेर घृणाको संस्कार दिलाई निहित स्वार्थको पृष्ठपोषणमा मलजल पुर्याउनु भनेको जडसंस्कार सिकाउनु हो । जडताले कहिल्यै कसैको भलो गरेको छैन । सर्वप्रथम आफ्नो हृदय सगरमाथाझैँ स्वच्छ र विशाल बनाऊ । अनि, छोरीहरूलाई सोही मार्ग देखाउने र हिँड्न सिकाउने पुरा दायित्व आफ्नै काँधमा आएको सम्झ । त्यसलाई पूरा गराउन वचनबद्ध बन ।

हाम्रा छोरीहरूलाई स्वतन्त्र मासिकतामा स्वतन्त्र व्यवहार प्रदर्शन गर्न दिन तिमी स्वतन्त्र हुनुपर्छ । तिमीले नै घरभित्र र बाहिरका काममा हात हाल्नुपर्छ । के गर्दा र कुन विधि–प्रविधि अपनाउँदा उत्पादनात्मक प्रतिफल प्राप्त हुन्छ, त्यसको हिसावकिताव गरेर अघि बढ्नुपर्छ ।

छोरीहरू स–साना कुरामा झगडा गर्लान्, रोलान्, चिच्याउलान्, लड्लान्, पछारिएलान् । जे गर्छन्, केही समय गर्न दिनुपर्छ । बिगार गरे गर्न दिनुपर्छ । मनपर्दी गर्न पाउँदा उनीहरूको मासिकता खुल्छ । खुलेको मानसिकताले चेतनाको ढोका उघार्न मद्दत गर्दछ । मात्र शारीरिक र मानसिकरूपले खतरामुक्त बनाउन तिमीले सचेत नजर लगाउनुपर्छ ।

उनीहरूको रुवाइ बन्द गर्नु छ भने ‘नरोऊ नानी’ भनेर चेपारो घस्नुको सट्टा आफैँ रोएको अभिनय गर्नुपर्छ । यसो गरे उनीहरू आफ्नो रुवाइ बन्द गर्न पुग्छन् । र, रुनुको कारण बुझ्न खोज्दै सोध्ने छन्– “मम्मी ! कथिला कानै छी ?” उत्तर नदिई रोइरहे नरुन आग्रह गर्दै भन्ने छन्– “मम्मी नई कान । हमु नई कानवे ।” त्यस पछि भने अभिनय बन्द गर्नु जरुरी छ । वातावरण शान्त भएपछि ‘तिमीहरू रोएका कारणले दुःख लाग्यो र रोएकी हुँ’ भनेर जवाफ फर्काएमा उनीहरूको कलिलो मानसिकतामा अरूको दुःखमा दुःखी हुने र सुखमा खुशी हुने भावना पैदा हुन्छ ।

जानकी ! छोरीहरूलाई खाना खुवाउन मुस्किल पर्छ । त्यस बेला पुरातन मन्त्र अपनाइने गरिएको छ । अर्कालाई देखाउँदै ‘को खाई, को खाई ?’ भन्दै अर्काको लागि लम्काएको हात ‘मेरै नानी खाई’ भनेर खुवाउने चलन छ । यस किसिमको इष्र्यालु भावना व्यक्त गर्ने क्रियाकलाप अविलम्ब बन्द गर्नुपर्छ ।

आफ्नो भाग अरूलाई बाँड्नुहुन्न, सबै आफैँले मात्र पाउनुपर्छ भन्ने जस्ता असामाजिक भावनाले बालमस्तिष्कमा गहिरो छाप पार्न सक्छ । बरू ‘नानीले पनि खाने, दिदी–दाजुले पनि खाने, सबैले सँगसँगै खाने’ भन्दै अरूलाई पनि दिँदै नानीहरूलाई खुवाउन सके, त्यसको सकारात्मक असर पर्दछ । असल गुण विकासमा मद्दत पुग्छ ।

प्यारी जानकी ! आफ्ना नानी–बाबुको चौतर्फी विकासमा हामी आमाबाबुले पाइलैपिच्छे अनुसरण गर्नैपर्ने र कार्यान्वयन नगरी नहुने पर्याप्त अनुभूति मनमा गुम्सिकै छन् । आवश्यक परेमा म अघि सर्ने नै छु । तिमीले पनि प्रत्येक्ष भन्न नसकेका, नभ्याएका र नमिलेका कुराहरू पत्रकै माध्यमबाट अवगत गराउन सक्छ्यौ । आजलाई भने पत्रान्त गर्दै छु ।

– नन्दलाल आचार्य
श्रीजनता मावि, गोलबजार–४, सिरहा । मो.नं. ९८४२८२९२०६

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *