तिम्रो मौनतामा
मूक होइन,
जीवनको दार्शनिकता खौज्दै गर्दा
सुदूर क्षितिजको लालित्यमा
पुराना स्मृतिका गुञ्जन सल्वलाउँछन् ।
ऐँसेलुको झ्याङमा अल्झिएको
तिम्रो कुसुमे रुमालसँग
माया साट्दै गर्दा
ठूल्दाइले देखेर
लज्जित बनाएको
अझैँ याद आउँछ होला है !
नामको आधा आधा अक्षर
रुखका फेदमा खोपेर
प्रेममय युगको सुरुवात गर्ने
सिर्जनाकी सागर,
सहरी स्पर्शको निमेष झोक्काले
हुत्तिएर युरोपियन कृत्रिम बगैँचामा फूलेपछि
सँगैँ देउरालीमा चढाएका
प्रेम चुम्वनका फूल पनि बिर्सियौँ होला है !
मन्द मुस्कानमा हराउने
एउटा यात्रीले
मौनताको अर्थ खोज्दै खोजेन
केबल भन्ज्याङमा भेटिने आशमा
कयौँ शिशिरका तुसारोहरूमा
वसन्त कोकिल खोज्दै गरेको पनि याद गरिनौँ है ?
समयले मौनतालाई बोलाएन
वा,
मौनताले स्पन्दनका ढुकढुकीको चाल पाइन
तर,
अबोध निश्छल प्रेमीको रतिरागको मास
पूर्णिमाको जूनले भने अँझै बिर्सेको छैन ।
जुगौँसम्म विस्तारित मौनताका भाषाहरू
अब कसले बुझ्न सक्छ,
ती आयामहरू
अस्तिपञ्जरका ती अवशेषहरू
म्युजियममा पनि छैनन् होला
अब त केवल कल्पनाको सुदूर यादहरूमा कल्पिरहेछ
एक झल्को हेर्ने रहरमा मौनतालाई बोलाइरहेछ ।
केवल मौनतालाई बोलाइरहेछ ।।।
-भूवन त्रिपाठी
पोखरा-२८, कालिकास्थान

