आदर्श विद्यार्थी, गुरु र अभिभावकको त्रिवेणी : भक्तबहादुर राई


१. परिचय

सिरहा जिल्लाको गोलबजार नगरकै प्रकाण्ड शैक्षिक व्यक्तित्व भनी चिनिएका भक्तबहादुर राई पिता जुगुतबहादुर राई माता लक्ष्मीदेवी राईको ज्येष्ठ पुत्रका रूपमा वि.सं. २०१६ कात्र्तिक १५ गते शुक्रबार गोलबजार–२, सिरहामा जन्मेका हुन् । उनका पुर्खाहरू करिब डेढ शताव्दिपूर्व दिक्तेलको दिङलुङबाट लालपुर–३, टोडके, सिरहा झरेका थिए । सुझबुझको कमिका कारण उनका हजुरबुबा र बुबाहरूले गरिबीमै जन्मेर गरिबीमै बिदा भए । उनले भने मामाहरू लक्ष्मण राई र भरत राईको मद्दत र संरक्षणमा राम्रो संस्कार र शैक्षिक वातावरण पाए । फलस्वरूप गरिबीलाई घटाउँदै र हटाउँदै गए ।

वि.सं. २०२० सालमा सिरहाको जमदह विद्यालयबाट शिक्षारम्भ सुरुआत गरेका राईले त्यसपछि तितरिया स्कुलमा समेत पढी कक्षा ६मा श्रीजनता माध्यमिक विद्यालय, गोलबजार–४, सिरहामा भर्ना भई कक्षा ७सम्म अध्ययन गरेका थिए । त्यस माथिको शिक्षाका लागि वकिल मामा लक्ष्मण राईको सल्लाह र भरोसामा उनी चन्द्र माध्यमिक विद्यालय, सिरहामा कक्षा ८मा भर्ना भए ।

त्यहाँ उनले हुनसम्मको दु:ख पाए । त्यसबेला विद्यालय र छात्रावास दुवैको शुल्क तिर्नु पर्थ्यो । सधैँ घरैबाट खर्च धान्न सक्ने अवस्था थिएन । गाउँघरतिर पढाइ–लेखाइलाई अनुत्पादक काम ठानी निरुत्साहित गर्ने काम मात्र हुन्थ्यो । खर्च सकिएर टाट पल्टेको समयमा उनले पढाइलाई बिट मार्ने विचार पनि गरेका थिए तर मामा लक्ष्मणले तत्कालीन गर्जो टारिदिए र डटेर अध्ययनमा जुट्न खबरदारी गरिरहे ।

उनी विगत सम्झँदै भन्छन्– जमदहका प्रधानाध्यापक सुरेशलाल दास कर्णको मायालु र प्रेरणादायी क्रियाकलापले पढ्दा सबैको मनमा बस्न ठाउँ पाइँदो रहेछ भन्ने बुझेँ । उनले पढाउँदा कक्षा नै मन्त्रमुग्ध हुन्थ्यो । न हातमा छडी हुन्थ्यो न उनी हकारपकार नै गर्थेँ । आफू पनि सफासुग्धर र उच्च आचरणमा हुन्थे, हाम्रा कमजोरीलाई पनि केरकार गरी सुध्रने उपाय सुल्झाइदिन्थे ।

अगाडि उनी सम्झन्छन्– चन्द्र माविमा भने त्यस बेला जानकीरमणलाल दास कर्ण प्रधानाध्यापक थिए । उनी पनि आफ्नो व्यक्तित्व र आदर्श आचरणका कारण विद्यार्थी माझ लोकप्रिय थिए । एक दिन अङ्ग्रेजीमा ‘नेहरुको पत्र’ पढाउँदै थिए । कक्षा एकदमै शान्त थियो । उनको पढाउने तरिका नै यस्तो मनमोहक थियो कि हाम्रा आँखा नै आँसुले भरिए । उनको बोलीमा जादु थियो । उनले भनेपछि आशंका गरिन्नथ्यो ।

एक रात दुई बजेतिर उनी छात्रवास निरीक्षण गर्न आएछन् । डिबियाको पिलपले उज्यालोमा मलाई एकोहोरो चित्तले पढिरहेको देखेछन् । मेरो मेहनतबाट खुशी भएर उनले विद्यालय शुल्क माफ गरिदिए । मेरो लागि त्यो जीवनको सबैभन्दा ठूलो पुरस्कार थियो ।

ब्रिटिस सेनाबाट फर्केका माधव शर्मा अङ्ग्रेजी शिक्षक थिए । उनले अङ्ग्रेजी विषय पढाउँदा अति नै प्रभावित भएको र अङ्ग्रेजी विषयको शिक्षक बनी देश र जनताको सेवा गर्ने प्रेरणा लिएको अनुभव सुनाउँछन् । अर्का विज्ञान शिक्षक रामशरण महासेठ पनि कुशल र सहयोगिरहेको उनको बुझाइ छ । यिनै शिक्षकले छात्रावासको शुल्क तिरिदिएका थिए । उनको त्यो गुण सम्झँदै राई अगाडि भन्छन्, “सरले त्यत्ति नगर्दिएको भए म अल्लारे ठिटो कता बरालिने थिएँ, थाहै थिएन । सबैको साथ–सहयोग र मायाले नै म उठ्न सकेको हुँ ।”

उनले २०३१ सालमा एसएलसी गरे । उच्चशिक्षा हासिल गर्ने तरखर गर्दागर्दै २०३२ पिताको निधन भयो । परिवारको बोझ काँधमा बोकेर हिँड्नुपर्ने भयो । भाइहरू जगतकुमार र हेमबहादुर अनि एक मात्र बहिनी इरैन्ट राईको लालनपोषणमा जुटे ।

त्यसवेला श्रीजनता माध्यमिक विद्यालय, गोलबजार–४, सिरहामा धर्मविनोद उपाध्याय प्रधानाध्यापक थिए । उनी पनि नीतिले प्रशासन चल्नुपर्छ भन्ने पक्षमा थिए । त्यही स्कुलमा २०३४ सालमा राईलाई प्राथमिक तहको अस्थायी शिक्षक पदमा नियुक्त हुने सौभाग्य जुर्यो । त्यसपछि भने उनलाई परिवार पाल्न सहज हुन थाल्यो । गाउँ–समाजबाट सम्मान मिल्न थाल्यो । उनका काला दिन दिनानुदिन उज्याला हुँदै गए ।

त्यसबेला झापा विद्रोहको प्रभाव चारैतिर फैलिएको थियो । गोलबजारको लोकराजमार्ग उत्तरतिर बामहरूको पकड भएको स्थान मानिन्थ्यो । बुर्जुवा शिक्षा आर्जन गर्नु पुँजिपति वर्गलाई पृष्ठपोषण गर्नु हो भन्ने उनीहरूको मान्यता थियो । उनको घर लोकमार्ग उत्तरतिरै परेकाले बामआन्दोलनमा प्रत्येक्ष/परोक्ष उनी पनि मुछिए । पेशेवर मान्छेले पेशालाई असर पार्ने राजनीति गर्नैहुन्न भन्ने मान्यता लिएर चुप रहे पनि अरूको नजरमा पत्याउने कुरा थिएन । किनकि लोकमार्ग उत्तरतिर बामआन्दोलनको आँधीबेहरी नै आएको थियो । त्यसले त्यहीँ रहनेलाई नछुने कुरै आउँदैनथ्यो ।

त्यही कारण अरू शिक्षक चाँडै स्थायी हुँदा उनी राजनैतिक प्रतिशोधका शिकार भएर स्थायी हुन सकेनन् । त्यसबेला सुन्दरमणि उपाध्याय सहायक प्रधानाध्यापक थिए । उनी माध्यमिक तहमा अङ्ग्रेजी पढाउँथे । राई गीत गाउन, कविता भन्न र साहित्यका कुरा गर्न माहिर थिए । र, उपाध्याय चाहिँ त्यस्ता कार्यमा संलग्न हुन रुचाउँथे । उनीहरू दुवैको रुची एकै भएका कारण मनसाय साटासाट हुन्थ्यो ।

उपाध्यायले आफ्नो घन्टी राईलाई दिन थाले । प्राथमिक तहको शिक्षक भए पनि उनले अङ्ग्रेजी पढाउन ९ र १० कक्षामा जाने सौभाग्य पाए । विद्यार्थी र अभिभावकलाई आफ्नो क्षमताबोध गराउने अवसर भेटे । उनको लोकप्रियता बढ्दै गयो । अङ्ग्रेजी शिक्षक बन्ने विद्यार्थी जीवनको सपना पूरा हुँदै गएको अनुभव गर्न पुगे ।

उपाध्याय सर काठमाडौँ सरुवा भएर गएपछि उनले नै अङ्ग्रेजी पढाउने जिम्मा पाए । २०४४ सालमा आयोग खुल्यो र उनी माध्यमिक तहको स्थायी शिक्षक बनी कार्यरत विद्यालयमै पुनर्नियुक्त भए । उनलाई सपना देख्न सके पूरा हुने रहेछ भन्ने एकिन भयो ।

शिक्षण जीवनलाई निरन्तरता दिँदै उनले आई.एड., बी.एड. र एम.एड.सम्मको अध्ययन वीरगञ्ज, विराटनगर र काठमाडौँबाट प्राइभेट विद्यार्थीका रूपमा पूरा गरे । र, आफ्नो बौद्धिक हैसियत उच्च पारे ।

२. शैक्षिक दृष्टिकोण

उनी भन्छन्, “आधारभूत तहको शिक्षामा कसैले पनि हेलचेक्र्याइँ गर्नुहुन्न । नत्र शिक्षामा भद्रगोल देखापर्छ । अहिले हामी त्यही नियति भोगिरहेका छौँ । कम्तीमा पनि विद्यार्थीलाई ४/५ वर्ष जग खन्न लगाउनुपर्छ । आधारभूत कुरा सिक्ने र सिकाउने वातावरण र मनस्थिति हुनुपर्छ । तर दुर्भाग्य ! हामी त्यस मनस्थितिमा छैनौँ । कक्षा एकमा भर्ना भएका विद्यार्थीले बाह्रखरीसम्म नछिचोली दुईमा पठाइहाल्ने अवस्था छ । निरन्तर विद्यार्थी मूल्याङ्कनको नकारात्मक पाटो मात्र अपनाएर हामी पनि सरासर नयाँ कक्षा चढाउँछौँ । कसैलाई रोक्न खोजे अभिभावकहरूको बोली सुनेर नाजवाफ हुन्छौँ ।

विश्वासमा पर्ने खालको अभिभावकको बोली सुनिन्छ, “मैले काम नलगाईकन सधैँ स्कुल पठाएको छु । यस पटक पास गराइदिनू । अर्को पटक आफैँ पास हुन्छ । हामी घरमा रेखदेख पुर्याउँछौँ । तपाईंहरूमात्र शिक्षक हैन हामी पनि हाम्रा बच्चाका असली शिक्षक हौँ । अगाडि बढ्न दिनु न ! यिनलाई रोकेर अपराधको भागिदार किन बन्नुहुन्छ ?”

राईको विश्लेषमा बोर्डिङ स्कुलको शिक्षा त्रिभुजजस्तो छ अर्थात् तल सुकेको माथि फुकेको छ । सरकारी स्कुलको शिक्षा चाहिँ उल्टो त्रिभुज अर्थात् तल सुकेको माथि फुकेको छ । बोर्डिङ स्कुलमा नर्सरी, एल.के.जी, यू.के.जी.पार गरी कक्षा १मा पुग्न ३/४ वर्ष लाग्छ । सरकारीमा स्कुल टेक्नासाथ कक्षा १मा भर्ना हुन पाउँछन् । बालविकास कक्षाहरूको व्यवस्थापन पनि गुणात्मक छैन । बालुवामा पानी खन्याए सरह छ ।

विद्यार्थी भर्ना अभियानलाई सर्वत्र प्रचारात्मक रूपमा लगेझैँ गरी गुणात्मक सिकाइलाई पनि अभियानकै रूपमा लानुपर्छ । शैक्षिक गतिविधिका कुराहरू तालिम, गोष्ठी र सेमिनारमा मात्र सीमित नगरी कक्षाकोठासम्म लैजानुपर्छ । विद्यार्थीको लय र भाकामा उसैको मस्तिष्कसम्म घुसाउनुपर्छ । राम्रो गर्ने विद्यार्थी र तिनका शिक्षक दुवै पुरस्कृत गरिनुपर्छ । विद्यार्थीका अभिभावकलाई सम्मान गर्नुपर्छ । राम्रो गर्न सक्नेलाई पृष्ठपोषण दिनुपर्छ, राम्रो गर्ने/गराउने वातावरण दिलाउनुपर्छ । विद्यालय प्रशासनले बेलाबेलामा खबरदारी गरिरहनुपर्छ । पुनर्ताजगी कार्यक्रम चलाइरहनुपर्छ ।

उनी अगाडि थप्छन्– अभिभावकको बच्चा सपार्नु परम दायित्व हो । आफूले राम्रो व्यवहार प्रदर्शित गरेमा मात्र बच्चा सप्रन्छन् । किनभने अरूले गरेको देखेर नै विद्यार्थीले सिक्छन् । यस सम्बन्धमा उनले अभिभावक नै बच्चाको सर्वैसर्वा होइन, बच्चामा पनि आफ्नो ओजन हुन्छ भन्ने बारे सानो कथा पनि सुनाए–

एक परिवारमा दुई छोराको बुबा जाँड–रक्सीको लतमा फँसेको रहेछ । त्यही लतले चाँडै धरती पनि छाडेछ । जेठो छोरा बुबाकै बाटो समाएर नामी जड्यहाँ भएछ । ऊ धन र इज्जत दुवै सकेर कंगालपति भएछ । कान्छोचाहिँ त्यस इलाकाकै सज्जन र विद्वान् कहलिएको रहेछ ।

एक पत्रकारले अन्तर्वार्ता लिने क्रममा जेठो छोरालाई सोधेछ, “तपाईँलाई कुलतमा फँस्न कसले प्रेरणा दियो, कसरी र किन ?”

जेठाको जवाफ आएछ, “मेरा गुरु बुबा हुन् । उत्तिखेर ठूलाबडाले जे गर्छन्, त्यो निसंदेह ठिक हो भन्ने लाग्थ्यो । बुबाले खाँदा मैले पनि खाएँ, आनन्द आउँदै गयो । अहिले आएर विचार गर्छु– मैले रक्सी खाएको रहेनछु, रक्सीले मलाई खाँदो रहेछ । अब त प्राण छोड्न सकूँला तर बाल्यकालदेखि लागेको बानी छाड्न सक्तिनँ ।”

असल मान्छे कसरी बन्नुभयो भन्ने पत्रकारको प्रश्नको उत्तरमा कान्छोले चाहिँ भनेछ, “हो, मेरा पनि गुरु बुबा नै हुन् । त्यसबेला बुबाका हरेक पाइलाको प्रतिफल बारे मैले विश्लेषण गरेर त्यो सरासर जीवन बर्वादीको सरलमार्ग रहेछ भन्ने बुझेँ । बुबा रक्सीले टिल्ल मातेर नालामा सुत्नुहुन्थ्यो । रगत छादेरै मर्नुभयो । कहिलेकाहीँ गलतमार्ग मेरा खुट्टा गए, बुबाकै हविगतको सम्झना आउँथ्यो । र, म सतर्क भइहाल्थेँ । सही मार्गमा हिँड्ने कोसिसस्वरूप म यस ठाउँसम्म आइपुगेको हुँ ।”

माथिको कथाबाट नकारात्मकतामा सकारात्मकता खोज्ने भाइ सफल भएको र नकार र सकार चिन्ह नसक्ने दाजु जीवनमा असफल भएको बुझिन्छ । राईको मतानुसार संसार गलत होस् तर आफू गलत हुनुहुँदैन भन्ने थियो । ‘ढुङ्गाको काप फोरेर पनि पिपल उम्रन्छ’ भनेझैँ गर्ने बच्चाले जस्तोसुकै परिस्थिति र वातावरणमा पनि गरेर देखाउँछन् । अभिभावकले बाटो विराएमा बच्चाले जान्ने–बुझ्ने भएपछि स्वय म खबरदारी गर्नु आवश्यक छ ।

३. शैक्षिक सन्देश

गोलबजार लागि भक्तबहादुर राई एक विद्यार्थी, शिक्षक र अभिभावकको नाम हो । एक समय तोतेबोली नहट्दै गर्दा उनी लुरुलुरु विद्यालय आउँथे, घरपरिवारमा चञ्चले भए पनि विद्यालयमा चाहिँ भद्र विद्यार्थीका रूपमा गनिन्थे । वाल्यकालमा उनको बुझाइ थियो– शिक्षक सर्वज्ञानले सम्पन्न हुन्छन् । आवश्यक ठाउँमा ज्ञान छर्न र जथाभावी छरिएको ज्ञान समेट्न खटाइएका व्यक्ति हुन् । उनीहरूसँग विद्यार्थीको मनका कुरा जान्ने र बुझ्ने खुबी हुन्छ । अत: कसै गरे पनि शिक्षकको आँखा छल्न सकिन्न र छल्यो भने पनि मूर्ख भएर जीवन धान्नुपर्छ ।

वाल्यकालदेखि नै उनी अध्ययनमा अब्बल थिए, जिज्ञासु स्वभावका थिए । जमदह स्कुलमा छँदा आउँदा जाँदा साथीहरू आफ्नै सुरमा हुन्थे उनी भने झुम्राको भकुन्डोलाई तात्तले खेलाउँदै स्कुल पुर्याउँथे र स्कुलबाट घरै ल्याइप्ुर्याउँथे । त्यसो गर्न पाएकोमा उनी आनन्दित हुन्थे । र, कसैले वाधा–व्यवधान पुर्याए चिढिन्थे । मानौँ, उनी खेलप्रतिको आफ्नो अव्यक्त अनुराग प्रकट गरिरहेका हुन्थे ।

अर्कातिर भकुण्डो ओरालो झर्न पाए, जोडतोडले हानिने र उकालो जान परे गुड्नै नमान्ने स्थितिदेखि अवाक् हुन्थे । यस्तो किन भएको होला भन्ने लाग्थ्यो । पक्कै पनि यो विज्ञान सरलाई नै सोध्ने प्रश्न हो भनी सोध्न सोचिरहे तर हिम्मत जुटाउन सकिरहेका थिएनन् ।

गोलबजार स्कुलमा आएपछि भने एक दिन मौका मिल्यो र उनले सहास गर्दै भने, “सर ! पानी बगेतिर भकुन्डो छिटो गुड्ने र पानी चढ्न नसक्ने उकालोमा गुड्नै नमान्ने, गुडे पनि ढिलो गुड्ने कारण केले भएको हो ?”

शिक्षक मुस्कुराए अनि उल्टै प्रतिप्रश्न गर्दै भने, “भक्तबहादुर ! भन, त ! पानी रुख चढ्छ कि चढ्दैन ?”

त्यस प्रतिप्रश्नले उनी भयभित भए । शिक्षकले ऊर्जा दिइरहे अनि उनको मुख खुलेछ, “खै, सर ! पानी रुख चढेको मैले देखेको छैन । हाम्रो सातपत्रे खोलो त ओरालो बग्छ, उकालो उक्लिँदैन ।”

शिक्षक खुशी भए र भने, “आवश्यकता परे पानी रुख पनि चढ्छ तर स्वभावले हैन फोर्सले मात्रै चढ्छ । जस्तै– कलको पानी मोटरले तानेर छतको ट्याङ्कीमा उकालो हुत्याउँछ । त्यही पानी हाम्रो वाथरुममा आइपुग्छ । भकुन्डोको स्वभाव नै ओरालो झर्ने हो, फोर्स लगाएमा उकालो पनि जान्छ तर धिमा गतिमा । यो सबै पृथ्वीको गुरुत्वाकर्षणको कारणले हो ।”

आफूले पढेर छाडेको कक्षामा आधारभूत तह (कक्षा १–५) को फुच्चे शिक्षक बनेर पुग्न पाउँदा गौरवले छाती ढक्क फुल्थ्यो । आफ्नै छरछिमेकका नानीबाबुलाई बाह्रखरी खटाउँदा बेग्दै आनन्द आउँथ्यो । अँझ, गाउँघरतिर ‘माष्टर बाबु’ भनेर पुकारिँदा गर्वले शिर सगरमाथा नै हुन्थ्यो ।

विद्यार्थी–शिक्षक, शिक्षक–विद्यार्थी कहिले यता कहिले उताको अनुभवले उनको जीवन खारिँदै गयो । प्रा.शि. हुँदै मा.शिसम्म आइपुग्दा अनेकन उतारचढाव वहन गर्नुपर्यो । अर्कातिर साधारण शिक्षकबाट प्रधानाध्यापकसम्मको यात्रामा बेग्लै जिम्मेवारी बोध भयो ।

एक प्रसङ्गमा शिक्षकहरूसँग भनेका थिए– म त बच्चामा विलक्षण दक्षता देख््छु । मलाई लाग्छ– बच्चालाई सपना देख्नबाट बञ्चित पार्नुजस्तो अर्को अपराध केही छैन । आफ्नो तर्फबाट विद्यार्थी समस्यामुक्त भए भने हरेक पटक नोबेल पुरस्कार जितेको सम्झन्छु । बच्चाको संगत पाए संसारको सबै खुशी भेटेको अनुभव हुन्छ । हामीले जहिल्यै पनि विद्यार्थीले जानेको भाषामा सिकाए उसले कुरा त बुझ्छ र त्यो मस्तिष्कसम्म पनि जान्छ तर उसकै मातृभाषामा सिकाए उसको दिलसम्म पुग्छ र ऊ कहिल्यै भुल्दैन । तसर्थ विद्यार्थीकै भाका र लयमा शिक्षकले आफूलाई ढाल्न सक्नुपर्छ ।

अर्कातिर बच्चालाई खेलौना नदिए क्षणभर रुन्छ तर संस्कार नदिए जीवनभर रुन्छ । तसर्थ हामीले बच्चालाई पहिले संस्कार दिनुपर्छ । त्यो हामीबाटै बच्चाले अनुकरण गर्ने गर्दछ । तसर्थ घरपरिवारमा अभिभावक र विद्यालयमा शिक्षक संस्कारयुक्त हुनु जरुरी छ । हामी किताबभन्दा बाहिर निक्लन हिच्किचाउँछौँ । किताब त सिकाउने एक माध्यम हो, त्यो कहिल्यै पनि पर्याप्त हुँदैन । बाँड्ने कुरा सञ्चित गरेर आफूसँग मात्र राख्नु किमार्थ उचित होइन किनभने ज्ञान बाँडे बरू बढ्दै जान्छ तर कहिल्यै घट्दैन ।

विद्यार्थीहरूलाई होस्सहितका जोसिलो हुन प्रेरित गर्दै भन्थे– नानीबाबु हो ! म तिमीहरूकै साथमा हुन्छु, टाढा हुन्न । तिमीहरू अरूको खुशी लेख्ने पेन्सिल बन्न नसकौला तर दु:ख मेट्ने इरेजर अवश्य बन्न सक्छौ । मान्छेले जीवनमा अनेकौँ समस्या पनि भोग्नुपर्छ, त्यसलाई छिचोल्दा सफलता प्राप्त हुन्छ, सफलताले आनन्दै आनन्द अनुभूत गराउँछ । यसका लागि एउटै लक्ष्य, त्यसकै ज्ञान, त्यसमै मेहनत र त्यही प्राप्त गर्न दृढ सङ्कल्पित रह्यौ भने कहिल्यै असफल हुनुपर्दैन ।

सर्वप्रथम लेखपढमा दृढ सङ्कल्पित हुन्छु भन्ने अठोट राख । असल सुरुआतले नै आधा काम समाप्त हुन्छ । शिक्षा आर्जन चानचुने कुरा होइन किनभने यसको जरो तितो हुन्छ तर फल चाहिँ मीठो हुन्छ । हडबड गरिहाल्नु हुन्न । प्रतिफल हात परेन भनेर डराउनुहुन्न किनभने डर खराब कर्मले उत्पन्न हुने दर्द हो । डरलाई जित्ने व्यक्ति मात्र समस्याबाट मुक्त हुन्छ । डरलाई पालेर राख्नेले कहिल्यै प्रगति गर्दैन ।

अँध्यारो मुहार लगाएका विद्यार्थी भेटे उहाँको कथन हुन्थ्यो– तिम्रो अनुहारमा नाचिरहने मुस्कान जीवनको उपहार हो, त्यसलाई आँसुले पखाल्ने र क्रोधले मेट्ने काम बन्दै नगर । बरू मुस्कानलाई सधैं–सधैं अनुहारमै नाच्न देऊ किनभने त्यसको घर मान्छेको अनुहार नै हो । अर्कातिर हामी एक्लाएक्लै जन्म्यौँ, एक्लाएक्लै मर्छौँ पनि । तसर्थ आफ्नो भाग्य पनि आफैँ लेख्नुपर्छ, अरूलाई लेख्न दिनुहुन्न । निराश हुनु भनेको आफ्नो कर्ममा आफैंले अविश्वास गर्नु हो । विश्वासले मात्रै सफलताको स्वाद दिलाउँछ ।

उनी अगाडि थप्थे– मान्छेले कहिल्यै पनि अहङ्कारले शिर उच्च पार्ने धृष्टता गर्नुहुन्न, नोबेल पुरस्कार विजेता पनि शिर झुकाएरै सम्मानित हुन्छन् । नम्रता नै मानिसको पहिलो परिचय हो । हाम्रो बोलीले नै धेरै जसो समस्या जन्माउने र समाधान गर्ने गर्दछ । के भनेरभन्दा पनि कसरी भनेर समस्या पैदा भएको हो । नम्रतापूर्वक भनिएको कटु पनि गुलियो मानिन्छ । मान्छेको दिलमा सहजै बस्छ । त्यसलाई सम्मान गर्न जो पनि तत्पर रहन्छन् । राम्रो कुरा कटु पाराले भने संदेहजनक हुन्छ । संदेहमा विश्वासको बास हुन्न । विनाविश्वास जगत् चल्दैन ।

बदला लिएर हैन आफूलाई बदलेर समस्याको समाधान हुन्छ । झैंझगडाले सम्बन्ध टुटाउनुको साटो सम्बन्ध बढाएर झगडालुलाई जुटाउनु ठूलो कुरा हो । आफूसँगकै वस्तुमा सन्तोष गर्ने नै सबैभन्दा धनी हुन्छ । अरूको कमजोरीलाई हँसीमजाकमा बदल्नुहुन्न किनभने सबैसँग कमजोरिरहन्छ र अरूसँग पनि हँसिमजाक गर्ने सामर्थ्य हुन्छ । जीवन प्रतियोगिता नभई यात्रा हो, यसलाई आफ्नै लय र सूरमा हिँड्न दिनुपर्छ । नकारात्मक विचारले सकारात्मक जीवन जिउनै सकिन्न, अत: तुरुन्तै नकारलाई सकारमा परिणत गर्नु आवश्यक छ । क्रोधले क्रोध काबुमा आउँदैन विपत्ति मात्रै आउँछ ।

४. र, अन्त्यमा

श्रीजनता माध्यमिक विद्यालयमा भक्तबहादुर राई, चन्द्रनारायण साह र शिवनन्दन यादवको अवकासपश्चात् हाल साधारण धारतर्फ माध्यमिक तह (कक्षा ९ र १०)मा नवनियुक्त प्रधानाध्यापक सुरेन्द्र सिंह, सहायक प्रधानाध्यापक रामेश्वर कामती, प्राविधिक धार संयोजक वीरेन्द्र यादव, अतिरिक्त क्रियाकलाप संयोजक राजकुमार साह, नन्दलाल आचार्य, रामनारायण साह र आईटी अफिसर पदमा सरोज कुमार यादव कार्यरत रहेका छन् ।

त्यसै गरी आधारभूत तहको कक्षा आठसम्ममा चन्देश्वर साह, जनक साह, शिवचन्द्र सिंह, वलराम यादव, शशिकुमार साह, सुशीला श्रेष्ठ, तुलसा काफ्ले र नरेश पाल कार्यरत छन् । आधारभूत तहको कक्षा पाँचसम्ममा ज्योति सिंह, गौरी यादव, विमला झा, लोचन साह, सुमित्रा योञ्जन र बालकुमारी दाहालले शिक्षण गरिरहेका छन् । विद्यालय कर्मचारीमा रामेश्वर साह, सहदेव साह र हरिकिशोर कामती साथै बालविकास शिक्षकमा सम्झना यादव काम गरिरहेका छन् । सबै शिक्षकमा उच्च तहको ज्ञान छ र माथिल्ला कक्षामा पढाएको अनुभव छ ।

यी सबै प्रशासक, शिक्षक र कर्मचारीलाई सम्बोधनका क्रममा भक्तबहादुर राईले पटक पटक हात जोडेर भने, “सबैलाई विनम्रताका साथ भन्दछु, मैले शिक्षक र प्रशासकको हैसियतले विद्यालयका लागि राम्रो जे जति गरेँ, त्यसको प्रेरणास्रोत तपाईंहरू नै हुनुहुन्छ । तपाईंहरू सबैको साथ र सहयोगले मात्र संभव भएको हो । नराम्राका लागि मस्वय म जिम्मेवार छु र कसैको मन दुख्ने काम भएको रहेछ भने क्षमा चाहन्छु ।”

उनले विगत कोट्यादै भने– एक पटक कक्षा ५ को विद्यार्थीले थर्सडेको स्पेलिङ गलत लेखेको ठानेर कान पक्रेर उठबस गर्न लगाएँ । उसले ठिक छ त सर भनेर किताब ल्याएर देखाउँदा लज्जित भएँ ।

अर्को घटना सुनाउन समेत भ्याए– २०३७ सालमा गणित कक्षा अवलोकनमा विद्यालय निरीक्षक पढाइरहेको कक्षामा प्रवेश गर्दा म आफैं नर्भस भएँछु । निरीक्षकको प्रश्नको उत्तर जानेर पनि भन्न सकिनँ । म अलमलमा परेको देखेर विद्यार्थीहरूले नै सरले त हामीलाई यसरी पढाउनुभएको छ भनेर जवाफ फर्काई दिए । निरीक्षक सन्तुष्ट भएर फर्किए ।

यी दुवै घटनाक्रमबाट उनले विद्यार्थीहरूलाई जान्दैनन् भनेर कम नआक्न आग्रह गरे । आफूले पढाएरै जीवन र जगत् हेर्न र बुझ्न सकेको अनुभव बाँडे । वास्तवमा हामी कक्षामा एउटा विषयमा पारंगत भएर पस्छौँ तर विद्यार्थीहरू सबै विषयको जानकारी हासिल गरेर बस्छन् । उनीहरू समूहमा मिलेर जस्तोसुकै समस्या समाधानमा अग्रसर हुन सक्छन् । खोजयात्रामा निस्कनु उनीहरूको धर्म हुन जान्छ । शिक्षकको भने विद्यार्थीहरूलाई सिकाइको खोजयात्रामा निस्कन प्रेरित गर्ने, सहयोग पुर्याउने र आवश्यक परे पृष्ठपोषण दिने काम मात्र हुन्छभन्दा अतिशयोक्ति गरेको नठहर्ला ।

–शिक्षक, श्रीजनता माध्यमिक विद्यालय, गोलबजार–४, सिरहा ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *