म सानै छँदा छिमेकी समकालीन बालबालिकाहरू स्कुल गएको देख्दा मलाई पनि सुकिलो लुगा लगाएर, झोलामा किताब, कापी, पाटी, खरी बोकेर उनीहरूसँगै जान मन लाग्थ्यो । मुमालाई ‘मलाई पनि स्कुल पढ्न मन छ । स्कुल पठाइदिनूस् न’ भनेर दिनदिनै पिरोल्थेँ ।

मेरी मुमाले गहभरि आँसु पार्दै भन्नुहुन्थ्यो, “हामी बसेको यो टहराको कोठाको भाडा नै २५–३० रुपियाँ पर्छ । मैले यो स्वीटर बुनेको र खाजा बेचेको पैसाले तिमीहरू तीन सन्तानलाई हुर्काउनु नै धौधौ परेको छ । कसरी पठाउनू स्कुल ?”

“मेरा साथीहरू सबै स्कुल गएका छन्, उनीहरूलाई कसरी पुगेको छ त ?” म प्रतिप्रश्न गर्थें ।

“उनीहरूका त बुबा, दाइ सबै छन् । सबै कमाउने छन् । त्यही भएर उनीहरूसँग पैसा छ अनि स्कुल पनि जान्छन् । तिमीहरूको त …।” त्यसपछि मुमा सुकसुकाउँदै सारीको सप्कोले आँखा पुछ्न लाग्नुहुन्थ्यो । मुमा रोएको देख्दा माया लागेर आउँथ्यो । तर, त्यस्तो बेलामा के भनेर सान्त्वना दिनुपर्छ, मलाई थाहा थिएन । म मुमालाई गम्लङ्ग अँगालो हाल्थेँ, केही नबोली ।

हाम्रो एकअर्काको मनको भाव बुझ्ने माध्यम त्यही अँगालो नै भएको थियो पछिसम्म पनि ।

मलाई जब छर–छिमेकीहरूले छाडा केटी भनेर कटु वचन लगाउँथे या मेरो गिल्ला गरेर उडाएर हाँस्थे, त्यतिबेला म मौन, विवश भएर उनीहरूलाई नै हेरेर हाँसिरहन्थेँ । त्यो हँसाइभित्र मेरो मनको दु:ख कसरी लुकाएकी हुन्थेँ, त्यो उनीहरूको सरोकारको विषय भएन ।

दसैँ–तिहारमा मेरी मुमाले हामीलाई नयाँ कपडा किनिदिन सक्नु हुन्नथ्यो । तापनि, बहिनी र मलाई सस्तो जामा अनि सुतीको रेडिमेड पाइन्ट र सर्ट किन्न बडाबजार जानुहुन्थ्यो ।

बजारमा दसैँअगावै विभिन्न खाले रंगी–बिरंगी कपडा सजाएर बिक्रीका लागि राखिएका हुन्थे । मलाई ती सबै कपडा किनेर लैजान पाए हुन्थ्योजस्तो लाग्थ्यो ।

कुनै–कुनै छिटको र चिप्लो लुगाको सुन्दर फ्रक मलाई ठिक्क हुनेजस्तो देख्दा म असाध्यै लोभिन्थेँ । र, हातले त्यो जामालाई बिस्तारै सुमसुम्याउँथेँ अनि कल्पना गर्थें, यो फ्रक मैले लगाउन पाए कति राम्री देखिन्थेँ होला…! अनि, मेरा छिमेकका साथीले त्यो सुन्दर फ्रकमा मलाई देखे भने कति आरिस गर्थे होला ? अनि, त्यस्ती राम्री भएकी मलाई देखेपछि त उनीहरू नहाँस्लान् नि ! उनीहरूले आफूहरूले स्कुलमा सिकेका खेल मलाई पनि सिकाउलान् । मलाई पनि उनीहरूले स्कुलमा गएर के–के सिकेका छन्, सबै भन्लान् ।

“ल यो त जे देखे पनि लट्ठ परेर टोल्हाउँछे । रात पर्छ एकै ठाउँमा बसेर हुँदैन ल आइज ।” मेरी मुमाले मेरो हात तान्दा मात्र म झसँग हुन्थेँ । कहिले मुमाको अनुहारमा हेर्थें र कहिले त्यो सुन्दर जामालाई ।

“भोलि–पर्सी धेरै पैसा भयो भने म तँलाई पनि यस्तै नै जामा किनिदिन्छु नि …!” मुमा मेरो कपाल मुसार्दै जामातिर हेरेर भन्नुहुन्थ्यो अनि मचाहिँ फेरि त्यही जामामा आफूलाई देख्न लाग्थेँ ।

यस्तै थियो मेरो बालापन, जहाँ अभाव, भोक र अशिक्षाले बास गरेको थियो । यसरी स–साना कुराहरू, जो मलाई मन पर्थे– खेलौना, कपडा, रिबन, जुत्ता, चप्पल, घिउ राखेर मुछेको भात, पुरी–तरकारी, फलफूल, मिठाई यी सबै पछि धेरै पैसा भएपछि खाने भनिन्थ्यो ।

साँच्चै नै म ती दिन सम्झिन्छु । हिजोआज अँझ बढी सम्झनामा तैरिरहन्छन् । कसैले रोटी र भुटेको आलु दिएर मप्रति दया देखाए, कसैले आफ्नो सारा परिवारलाई खुवाएपछि मलाई मुछेको भात–तरकारी सिलाबरको ढकनामा खान दिन्थे र मेरो पेटको क्षुधा शान्त हुन्थ्यो ।

किशोरावस्थामा पाइला टेकेपछि भान्जी, नानु र छोरी सम्बोधन गर्नेहरूको लोलुपतापूर्ण आँखामा देखिने खुँखार दाह्रा देखेर मनले नबुझे पनि कलिलो शरीर कसरी भय र त्रासले भित्रभित्रै काँप्ने गर्थ्यो, त्यो अनुभूतिले अहिले पनि पच्छ्याइरहन्छ र अनायासै आँखाको कोश भरिन लाग्छ ।

एकान्तमा भेट्दा क–कसका बलिया हातले मेरो सानो खिरिलो हातलाई जोडसँग दबाएर आफूतिर तान्थे । त्यो क्षणको पीडादायक सम्झनाले अहिले पनि म भयभित हुन्छु ।

“कसैले तँलाई बोलायो भने नजानू । म नहुँदा उता माइजूहरू भएको ठाउँवरिपरि खेलिरहनू,” मुमा भन्नुहुन्थ्यो । मलाई के थाहा कि त्यसबेला तारुण्य अवस्थामा पाइला टेकेकी किशोरी छोरीप्रतिको पुरुषहरूको गिद्धे दृष्टिलाई उहाँले पहिल्यै बुझिसक्नुभएको थियो होला भनेर ।

“तँलाई यो चुरा, क्रिम र लिपिस्टिक कल्ले दिएको भन् त ?” एकपटक कपडा राख्ने झोलामा मैले लुकाएर राखेको सौन्दर्य प्रसाधन देखेपछि मेरा दुवै हात समातेर सोध्नुभएको थियो मुमाले ।

“उता परको मामाले ….।” मैले मुमाका आँखामा आफ्ना आँखा जुधाएर उत्तर दिएकी थिएँ ।

“अनि, मैले भनेकी थिइनँ त, कसैले पनि दिएको खानेकुरा र सामान नलिनू भनेर । चाहे त्यो पैसा नै किन नहोस्….। अनि, मैले भन्दाभन्दै पनि किन लिएको ? अनि, किन यसरी सुटुक्क लुकाएर राखेको ?” मुमाले ठूलो स्वरमा सोध्नुभएको थियो ।

“मामाले कसैलाई पनि नभन्नु अनि लुकाएर राख्नु भन्नुभएको थियो नि त …!” मैले सहज निर्दोष भावमा उत्तर दिएकी थिएँ ।

“ए छोरी ! यसभन्दा पहिले पनि तँलाई त्यसले के–के दिएको थियो ?” मुमाले प्रश्न गर्नुभएको थियो ।

“अँ अस्ति नै समोसा र पिपरमेन्ट दिनु भएको थियो,” मैले पिटाइ खाने सम्भावना आँक्दै उत्तर दिएकी थिएँ ।

“कहाँ छ त त्यो सबै ?” मुमाले सोध्नुभयो ।

“सबै खाइसकेँ नि …! बहिनीलाई पनि खान दिएकी थिएँ । उसले पनि खाई त ! हजुरले बहिनीलाई चाहिँ केही पनि गर्नुहुन्न त, खालि मलाई गाली गर्नुहुन्छ । मलाई मामाले के खान मन पर्छ भनेर सोध्नुभएको थियो । मैले समोसा र पिपरमेन्ट…सुप्लांग पनि… ।”

“चुप…। चुप लाग्…। लौ हिँड् मसँग ।” मेरो बोलीलाई बीचैमा रोकेर मेरो हात समातेर त्यही मामाको डेरामा लिएर जानुभएको थियो मलाई ।

त्यसपछि मेरी मुमाले त्यो मामा र उसकी श्रीमतीसँग के–के भन्नुभयो र उनीहरू दुवैले मुमालाई के–के भने । धुमधाम भयो । मामाकी श्रीमती माइजूले त रिसले काम्दै अगेनानजिकै रहेको चिम्टा उठाएर लोग्नेको ढाडमा मर्ने गरी बजारेकी थिइन् ।

अन्त्यमा मेरी मुमाले जे भन्नुभयो, त्यो मलाई अँझै पनि सम्झना छ, “आज मेरो खसमले घर नछोडेको भए हामीलाई यसरी कसैले पनि हेप्ने थिएनन् । मलाई दिदी भन्ने, अँझ तिहारमा टीका पनि लाउन आउने, उता भने यस्ता नाबालिका छोरीमाथि…..।”

त्यो दिन घर फर्केपछि पनि मुमा दुवै हत्केलाले मुख छोपेर घुँक्कघुँक्क रुनुभएको थियो । हो, त्यही दिन, त्यही क्षण मैले मेरी मुमाको हात समाउँदै भनेकी थिएँ, “अबदेखि मलाई भोक लागे पनि मामाले दिएको केही पनि खानेकुरा खान्नँ । अरू मामाले दिएको पनि खान्नँ । खान मन लागे पनि खान्नँ । हजुरलाई सोधेर मात्रै खान्छु ।”

त्यसपछि मेरी मुमाले च्याप्प मेरो हात समातेर मलाई काखमा राख्नुभयो र भन्नुभएको थियो, “यो तिम्रो दोष होइन छोरी, यी नरपिसाचहरूको कसुर हो । तिमी अबदेखि कुनै पनि लोग्नेमान्छेले बोलायो भने नजानू । खानेकुरा दिए पनि नखानू र हात तान्यो भने जोडले चिच्याउनू है ।”

त्यो थियो वर्षौं पहिले मेरी मुमाले दिनुभएको कवच मन्त्र ।

आज यतिका वर्षपछि सोच्छु, मेरी मुमाले पनि त जवान, सुन्दर र पति हुँदाहुँदै पनि एक्लैले ससाना छोराछोरी हुर्काएर आफ्नै श्रम र सीपको भरमा हामीलाई हुर्काउनुभयो । कस्तो कहालीलाग्दो भीर–पाखा छिचोल्न पर्‍यो होला उहाँलाई । जबकि, मलाईजस्तै उहाँको हात समातेर साथ दिने उहाँकी मुमा पनि टाढा, धेरै टाढा रुकुमकोटको एउटा अनकन्टार ठाउँमा बसेर जीवनयापन गर्दै हुनुहुन्थ्यो । त्यस्तो अवस्थामा केको आडमा उहाँले त्यति ठूलो संघर्ष गर्न सक्नुभयो होला ?

मलाई विश्वास छ, मेरी मुमाको आत्मबलकै कारणले उहाँ कतै डग्नुभएन । जस्तै दु:खको पहाड चढे पनि ।

प्रकाशित: वैशाख ५, २०७५
https://nepal.ekantipur.com/news/2018-04-18/20180418163853.html

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *