धेरै समय बितिसक्यो आफूलाई खोज्न निस्केको तथापि पत्ता लगाउन सकिन। आफूलाई छुन्छु। छाम्छु। नाप्छु। जोख्छु। ऐनामा हेर्छु। कहिले रुन्छु। कराउँछु। चिच्याउँछु। हाँस्छु नाच्छु। गाउँछु। ईश्वर पुकार गर्छु। सुक्ष्मदृष्टि लगाउँछु। अनि प्रश्न गर्छु- “के म यही हो ? हैन भने म को हुँ ?“ तर यतिले मेरो जिज्ञासा के मेट्थ्यो। झन झन मेरो तिर्सना र भोक बढ्दै गयो र आन्तरिक यात्रामा निस्कें।
एकदिन एउटा मन्दिरमा गुरुको प्रवचन सुने। गुरुले भन्नुभयो, “तिम्रो नाम राख्नु पूर्व पनि तिमी थियौ। तिमी जन्मिनुपूर्व पनि थियौ। यो सुष्टिसँगै तिमी आएका हौं। तिम्रै शरीर मन्दिर हो। तिमीभित्र ईश्वर छ। त्यो दुःखमा छ। सुखमा छ। आँसुमा छ। हाँसोमा छ। अँध्यारोमा छ। उज्यालोमा छ। खाली तिमीले त्यसको अनुभव गर्नुपर्छ। अनुभव तब मात्र हुन्छ जब तिमी शान्त हुन्छौ। मौन हुन्छौ। जुन चीज खोज्न तिमी हिंडिरहेका छौं, त्यो तिमी भित्रै छ। शुसुप्त छ। त्यसलाई जगाऊ र अनुभव गर।“
एक दिनको पत्रिकामा मैले पढेको थिएँ। एउटा सानो डम्बरु जंगलबाट भेडाको बथानसँगै झुक्किएर आएछ। त्यसपछि भेडासँगै बस्ने, रमाउने, खेल्ने गर्न थालेछ। चर्न जाने फेरि भेडासँगै फिर्न थालेछ। भेडाहरुले पनि उसलाई साथी बनाएछन र ऊ भेडाजस्तै भ्या भ्या गर्न थालेछ। एक दिन उसले राम्ररी आफूलाई हेरेछ। केही फरक छु जस्तो लागेछ। सोच्न थालेछ। उसले आफ्नो बाबु र आमालाई देखेछ। बाबुआमा गर्जेको सुनेछ। तँ त बाघ होस भन्ने बोध भएछ र ऊ बेस्सरी गर्जेछ र छेउकै भेडालाई आक्रमण गरी घाइते पारेर मारेर खाएछ र सबै भेडाहरू भागेछन। त्यो डम्बरुले आफूलाई चिन्यो। त्यस्तै डम्बरु “म” भेडा त भएको छैन जस्तो लाग्छ, कहिलेकाहीं। म जे हुँ त्यो मलाई थाहा छैन। सायद म जे होइन त्यसैको पछि म दगुरिरहेको छु। पुरै छोपिएको छु कि के छ ? म भन्न सक्ने अवस्थामा छैन।
म बाहिर देखिएको कलेवार मात्र हुँ या भित्र खास अलग हुँ। म मेरो चाहना हुँ या मनै चाहना हुँ या दुवै हैन। म मेरो आकर्षण तर्फ केन्द्रित छु या “म” नै आर्कषण हुँ। “म” स्वचेतना हुँ या स्वतन्त्र इच्छा या दुवै या कुनै पनि होइन। “म” स्वयम् एकान्त हुँ या एकान्त “म” हुँ। म एक रहस्य हुँ या रहस्य “म” हुँ या आफ्नो आफूनै अन्तिम रहस्य हुँ वा के हुँ। “म” सबैभन्दा माथि रहेकोआफ्नो आफू हुँ या कसैको हुँ। म आफ्ना प्रभाव हुँ या स्वयम हुँ या अरुको प्रभाव हुँ या कुनै होइन। वास्तवमा म को हुँ ? मेरो भोक के हो ? लक्ष्य के हो ? म केको लागि आएको हुँ। यस्तै यस्तै जिज्ञासाहरू वर्षौंदेखि गर्दै आएको म वास्तवमै ठूलो दुविधामा छु।
कहिलेकाहीं म यस्तरी सोच्छु कि मेरो केश, छालाको रंग, नाकको साइज र अन्य जम्मै पूर्वनिर्धारित भए जस्तै म को हुँ भन्ने पनि निर्धारित छ। तर त्यो तत्वज्ञानबाट वन्चित म कुहिराको काग भएको छु। मेरो अन्तस्करणको मेरो परिचय पत्तालगाउने कसरी ? विधि र पद्धति के के छन् ? वास्तवमै यतिका वर्षको उमेरमा पनि तीन वर्षे वालक झै ववुरो लाग्छ मलाई “म”। विल्कुल वालापनकै जस्ता जिज्ञासाहरू छन् यतिका वर्ष म को हुँ को उत्तर प्राप्त गर्न निस्केको फगत शून्यमात्र हात लागेको छ। त्यसको लागि थुप्रै गुरुको आश्रम चाहरे। प्रवचन सुनें। आध्यात्मकोअध्ययन गरें। घण्टौं घण्टा ध्यानमा वसे। साधना गरें। कहिले आफूको त्याग नै आफू जस्तो लाग्छ कहिले म को सबैभन्दा उत्तम रुप नै आफू जस्तो लाग्छ। कहिले आफू अँझ आफ्नै आफू जस्तो लाग्छ। स्वयमको सिर्जना हुँ या स्वयमको विनास या दुवै हुँ। म स्थुल हुँ या सुक्ष्म या संयोजन के हुँ ? कुनै उपाय लागेन। कहिले यो हुँ लाग्छ कहिले त्यो हुँ लाग्छ। म हराइरहे। मैले सपनीमा, विपनामा, यादमा, कल्पनामा, वास्तविकतामा, सुपररियालीटिमा , मायिक यर्थाथतामा, सोचे। जहिलेपनि फरक फरक पाउँछु। के म उसो भए परिवर्तनशिलता हुँ त ? या के हुँ।
सबैजसो गुरुहरुले भन्नुहुन्छ आफैसँग सोध। खोज। उत्तर पाउनेछौं। तर अहँ आजसम्म उत्तर पाइन्। म भड्किएको पाउँछु। मेरो प्रश्न शून्यतामा हराउँछ। अन्तस्करणमा हराउँछ। उज्यालो बनेर कहिल्यै उत्तर ल्याएन न त उत्तरको अनुभव नै गर्नसकें।
एकदिन म ध्यान मग्न हुदा शरीररुपी उर्जा रहस्यमा हरायो। या के भयो ? म सिद्घहस्त महापुरुषहरू या भगवानहरुको शरणमापुगेछु। उहाँहरुको चेला वन्ने स्वर्ण अवसर पाएछु। बुद्घले तिमी ध्यान र शान्ति हौं। कृष्णले भक्ति र उत्सव हौ। गान्धीले सत्य र अहिंसा हौ। विवेकानन्दले सौर्य र उर्जा हौ। रजनिसले प्रयोग र प्रेम हौ। यशुले मेरो अंश हौ भन्दै हुनुहुन्थ्यो। म ध्यान दिएर सुनिरहेको थिए। यतिका कुराले म त्यहाँ पनि स्पष्ट हुन सकिन। सबैले फरक फरक हिसावले वुझाएको। सम्झाएको पाए। सायद अज्ञानता नै मेरो वुझाइको वाधक भयो, त्यहाँ पनि। एकजना मेरो विद्यालयका गुरु प्रभुराम भन्नुहुन्छ—“मानौं तिमी पानीको कण छौं समुद्र हेर्न खोज्दैछौ, त्यो सम्भव छैन्। यदि समुद्रै हेर्ने भए सूर्य हुनुपर्यो तर पानीको कण कसरी सूर्य वन्न सक्छ ? आफू भित्रको र संयोजनको समुद्र आफैंले छेकेर देखिदैन्। तसर्थ नखोज। महशुस गर। परिकल्पना गर्न वन्द गरीदेऊ। परीकल्पनाले तिमीलाई महशुस गर्न दिदैन्।” उहाँलेथप गर्दै भन्नुभयो—“मानिसहरू भन्छन् म जुन जिन्दगीमा चाहन्छु त्योतिर आकर्षित हुन्छु।” तर त्यस्तो हुँदैन, दावीका साथ भन्छु हामी जुन चाहन्छौ त्यो तर्फ आकर्षित हुदैनौ जुन हामी हुन्छौ त्यो तर्फ आकर्षित हुन्छौ। त्यसैले तिमी जुन छौं त्यहींतर्फ आकर्षित छौं र त्यही हौं।” गुरुको कुरालाई मैले धेरै मनन गरे तर नढाटी भन्नुपर्छ मैले म को हुँ पत्ता लगाउन सकिन।
एकदिन रजनिस ओशो आएर भन्नुभयो—“सोच्ने, विचार गर्ने, अनुभव गर्ने र हुने आन्तरिक मात्रामा रहेछौं धन्यवाद छ त्यो आत्मनलाई। मृत्युवाट भय मुक्त हुन आत्मबोध मार्फत स्वयम भित्र डुब्ने मार्ग हौ तिमी। समाधिबाट अन्र्तबोध प्राप्त हुन्छ र त्यो शाक्ष्ववत हुन्छ। तिमी शाक्ष्वत छौ र हौ पनि। त्यसको लागि तिमीले आफ्नै जीवनकालमा शरीरलाई भित्रबाट छोड्दै हेरेर हेर्न सक्छौ। त्यसले तिम्रो इच्छामृत्युलाई मद्दत गर्छ जुन तिमी चाहन्छौ। तिमी मृत्युलाई विजय गर्न निस्केको साधक हौं।”
यी कुराहरू पनि मेरो दिमागी क्षमता भित्र परेनन्। त्यसैले म को हुँ ? त्यसको अनुभूति तथा आभास भएन मलाई। स्वामी आनन्दले भन्नुभयो—“घरको मर्मत गरे जस्तै मात्रै हो तिम्रो शरीरको मर्मत स्रोतबाट त त्यस्ता थुप्रै घरहरू मर्मत गर्न र वन्न सक्छन्। तिमी पनि स्रोतसँगै जोडिएका छौ जसले तिमिरहने घर अनगिन्ती ”शरीर” निर्माण र मर्मत गर्दछ। त्यसले तिमी स्रोतसँगै जोडिएको एक उर्जा हौ। अनन्त उर्जाको पाटिकल्स हौं। ”
उहाँको कुराले मलाई करिब शून्य वनायो।
शनिवारको विहानी पख जब म ध्यानमा मग्न थिए। त्यसै बेला अदृश्य अज्ञात शक्तिको आवाजले हृदयले उपयोगी उत्तरहरू मष्तिकलाई दिंदै थियो। तिमी केही हैनौ, जे छौ त्यो पनि हैनौ। जे थियौ त्यो त हुँदै हैनौ। जे हुदैछौ त्यो पनि हैनौ। तिम्रो “म” भ्रम हो। अहंकार हो। आफूलाई जान्न चाहनु तिम्रो मुर्खता हो। न आजसम्म कसैले जानेको छ न जान्दछ नै। यदि जानेको छ भन्छ भने त्यो पनि भ्रम हो। जान्दछु भन्छ भने त्यो त झन योजनावद्ध अहंकार हो। त्यसले तिमीलाई हो कि झै पार्छ। छोप्छ सबै। ढाक्छ सबै। अनि देखाउँछ एउटा। अनि तिमी त्यही रहेछ भन्नेमा पुग्छौ तर त्यो हुँदै होइनौ। तिमी जसलाई म भन्छौ त्यो अज्ञेय पक्ष छ। त्यो रहश्यमय छ। सृष्टिको त्यो “म” को अज्ञेय पक्ष नै सौन्दर्यता हो र त्यो एक रहश्य पनि हो र यो म रहश्य हो भनेर थाहा नपाउदै म स्वयम नै रहश्य वन्छ। त्यसैले वरु म नै रहश्यमा हराउनु सर्वोतम हुन्छ। अँझ ध्यान दिएर सुन म को हुँ को “म” अहंकार हो यो विर्सजन भएपछि ”को” बाँकी रहन्छ को पनि “म” भित्रै हुनाले त्यो पनि विर्सजन हुन्छ र ”हुँ” बाँकिरहन्छ। त्यो ”हुँ” तिमी हुनसक्यौ भने बोधिसत्य, व्रह्म वा परमसत्य हुन्छौ। त्यसैले ”हुँ” को खोजी गर अर्थात त्यो खोज्नुपर्दैन् सृष्टिको सौन्दर्यतामा प्रयाप्त छ। तिमीभित्रै व्याप्त छ। अनुभव गर। अज्ञेय रहश्यको खोजी गर्न निस्कनु रहश्यमा नै हराउनु हो त्यसैले हराउ र अनन्त रहश्यमय वन। जस्ता तत्वज्ञानहरू प्राप्त भए। त्यसपछि म पूर्ववत अवस्थामा आए।
वास्तवमा म कोही हैन। यदि भइहालें भने ”हुँ” को अन्तर्बोधको मार्गमा लागेको यात्री हो या निरुत्तर मौनता हो या शून्यता हो या शाश्वत शुद्ध आत्मा रुपी उर्जा।
प्रकाश पाण्डे
श्रीसुनपकुवा मा.वि. उर्लाबारी—२,मोरङ
