हरिभक्त कटुवाललाई सम्झँदा


कविडाँडा साहित्य समाज चितवनले हरिभक्त कटुवालको ३८सौ स्मृति दिवस सम्पन्न भएको समाचार मझेरी डट कममा अध्ययन गर्न पाएँ। रामकृष्ण पौडेल अनयासद्वारा लेखिएको यो समाचार पढ्न पाउँदा एकतिर, मेरो श्रद्धेय गुरु हरिभक्त कटुवालजी जस्को प्रेरणाले गर्दा मलाई साहित्यमा लाग्न प्रेरणा मिलेको थियो जन्म जयन्ती मनाएकोमा साह्रै हर्षित पनि भएँ अर्कोतिर नवलपुर र भरतपुर धेरै नजिक हुँदाहुँदै पनि उक्त कार्यक्रममा सहभागी हुन नपाउँदा मनमा खिन्नता पनि पलायो।

जे होस यस कार्यक्रममा रामकृष्णिजीद्वारा लेखिएको समाचार अनुसार उक्त अवसरमा ‘‘अनि हरिभक्त फर्किएनन् नामक वृत्तचित्र प्रदर्शन र उनका रचना पाठ सम्पन्न गरिएको’’ जानकारी पाएँ। उक्त कार्यक्रम साहित्यकार रामबाबु घिमिरेको प्रमुख आतिथ्य र कविडाँडा साहित्य समाज चितवनका अध्यक्ष एल. वी. क्षेत्रीको सभापतित्वमा सम्पन्न भएको थियो।

कार्यक्रममा साहित्यकार सरिता तिवारी, सुरेन्द्र अस्तफल, बालकृष्ण थपलिया, सरला जोशी, चेतराज रेग्मी, राम कृष्ण अनायास विजय, गणेश श्रमण आदि साहित्यकारले हरिभक्त कटुवालका कविता पाठ गरेको र कवि भूपिनले उनको कवित्व र कृतित्वमाथि चर्चा गरेको विवरण यस समाचारबाट जानकारी पाइन्छ। हरिभक्त कटुवालजस्ता एक निष्ठावान, स्वभिमानी, साहित्यकारको जन्मजयन्ती चितवनका वरिष्ठ साहित्यकारहरूले उत्साहपूर्वक मनाएकोमा एउटा महत्त्वपूर्ण काम भएको मलाई लाग्यो।

हरिभक्त कटुवालसँग मेरो भेटघाट नेपाली एम्.इ.स्कुल डिगबोईमा शिक्षक र विद्यार्थीको रूपमा भएको थियो। नेपाली एम ई. स्कुलमा म करिब २ वर्षजति मात्र पढें र नेपाल आएँ। नेपालमा पढ्ने वातावरण नमिलेपछि म पुन डिगबोई गएर राष्ट्रिय विद्यालयमा भर्ना भएर अध्ययन गर्न थाले। ई. सम्बत १९६७मा मैले एस.एल.सी. परीक्षा पास गरें। यस समयमा डिगबोईमा विद्यार्थी मिलन संघ नामको एउटा संस्था थियो। यो संस्थाले नेपाली भााषा साहित्यलाई सम्वर्धन गर्नको लागि समय समयमा साहित्यिक काार्यक्रम सञ्चालन गर्ने र आदि कवि भानुभक्तको जन्मजयन्ती मनाउने गर्दथ्यो।

मेरै साहित्यिक यात्राको थालनी पनि यहींबाट २०२०/२१ सालबाटै भएको हो। एस.एल.सी. परीक्षा पास गरेपछि केही महिना मैले डिगबोई कलेजमा अध्ययन गरे। मेरो बाबा कलाधर जैसी डिगबोई तेलकम्पनीमा काम गर्नु हुन्थ्यो। उहाँको तलवले मलाई पढाउन र नेपालमा बस्ने परिवारलाई खर्च पुर्याउन नसक्दा वि.सं. २०२४ सालमाम नेपाल फर्के। वि.सं. २०२६ सालमा म पुन जागिर खोज्ने सिलसिलामा काठमाडौ लागे।

हरिभक्त कटुवालाई पुन नेपाल राजकीय प्रज्ञाप्रतिष्ठानमा भमेट्ने मौका मिल्यो। त्यस समय उहाँ नेपाल प्रज्ञाप्रतिष्ठान हुनु हुन्थ्यो। नेपाल प्रज्ञाप्रतिष्ठानमा ‘म तपाईको विद्यार्थी’ भन्दै पुग्दा उहाँ निकै खुसी हुनु भयो। ‘प्रज्ञा’ पत्रिकको सम्पादनमा व्यस्त हुनुहुन्थ्यो। प्रज्ञा प्रतिष्ठानमा कुरा गर्दा मलाई लाग्यो उहाँको कवित्व, स्वाभीमान निश्छल, दृढता, आत्मविश्वास उच्च साहित्यिक संरचनाको कारण उहाँ माथि डाहा गर्ने पनि छन् भन्ने आभास मिल्यो तर यो नै भन्न सक्ने अवस्थामा भने जानकारी प्राप्त हुन सकेन। उहाँले नेपाली साहित्यमा सेवा पुर्याए वापत दुई ओटा पदक तथा सम्मान ( नेपाल प्रज्ञाप्रतिष्ठान पदक र स्वर्ण पदक) प्राप्त गरेको कुरा पनि मैले उहाँकै मुखार विख्नुबाट सुनेको थिएँ।

वि.सं. २०२६/२०२७ साल मुंगसिर महिनासम्म उहाँसँग म पटक पटक भेट्ने मौका पाएँ। एक पटक उहाँ लोट्नु भए छ। खुट्टा नराम्रोसँग मर्केछ। म उहाँलाई भेट गर्न पुगें। खुट्टाको दुखाईले गर्दा बिस्तरामा आराम गरिरहनु भए पनि उहाँको हातमा एउटा साहित्यिक कृति थियो। उहाँ भन्दै हुनुहुन्थ्यो –‘‘खुट्टा मर्केर राम्रै भयो। यो किताप पढ्नु थियो। समय मिलेको थिएन। अहिले पढ्दै छु।’’

उहाँको व्यस्तता पनि नेपाली साहित्यकै लागि समर्पित थियो भन्ने लाग्यो। मिति थाहा नभए पनि यही घटनामा भेट भएपछि म जागिरको सिलसिलामा चितवनतिर लागें। ०२ जुलाई १९३५मा असमको डिब्रुगढमा जन्मनु भएका हरिभक्त कटुवाल १० सितम्बर १९८०का दिन असममै गएर देहान्त भएको जानकारी प्रत्रिका मार्फत पाएँ। यो जानकारी पाए पछि दुई थोपा अश्रुजलबाट श्रधाञ्जली चढाउनु सिवाय मसँग के नै थियो तर उहाँको भौतिक शरीर नभए पनि नेपाली साहित्यमा उहाँले पुर्याएको योगदानले गर्दा उहाँ अजर अमर हुनुहुन्छ।

जे होस् हरिभक्त कटुवाल एक बहुआयामिक व्यक्ति हुनुहुन्थ्यो। हामीले उहाँलाई कविको रूपमा हेर्दा ‘यो जिन्दगी के जिन्दगी’ कविता सङ्ग्रह निकै चर्चित कविता कृति हो भन्ने कुरा मैले धेरै जना साहित्यकारको मुखबाट सुन्न पाएको थिएँ। पूर्वकिरण, भित्री मान्छे बोल्न खोज्छ कविताका कृतिहरू हुन्। बदनाम मेरा आँखाहरू कृतिमा कविता र गीतहरू समावेश भएका छन्।

कवितामामात्र नभै गीतमा पनि चर्चित गीतहरू रच्न सक्ने शक्ति हरिभक्तमा थियो। ‘सम्झना’ उहाँको गीत सङ्ग्रह हो। हरिभक्त कटुवाल एक सफल काव्यकार पनि हुनुहुन्थ्यो। ‘सुधा’ उहाँको खण्ड काव्य हो। हरिभक्त सफल कथाकार पनि हुनु हुन्थ्यो। ‘स्पटीकरण’ कथासङ्ग्रह एव म ‘म मरेको छैन’ नाटक सङ्ग्रह जस्ता हरिभक्तका प्रबल कृतिहरूले नेपाली साहित्य जगतमा एउटा नयाँ आयम थपेको छ।

उहाँ एक कुशल सम्पादक पनि हो। हिमालय, प्रज्ञा, हिमानी, सङ्गीतसरिता जस्ता पत्रिकाको सम्पादन पनि हरिभक्तबाट भएको थियो भन्ने जानकारी पाइन्छ। समग्रमा भन्नु पर्दा हरिभक्तले कविता गीत, कथा र नाटकद्वारा नेपाली साहित्यलाई समृद्ध बनाएका छन्। यो योगदानको मूल्य तबमात्र तिर्न सकिन्छ जब उहाँले देखाएको मार्गमा लागेर नेपाली साहित्यलाई दरबिलो पार्न सकिन्छ। पुन एक पटक उहाँलाई स्मरण गर्दै बिदा चाहन्छु ।

धन्यवाद
सदानन्द अभागी
२०७५ साल असौज १२ गते,
कावासोती न.पा. वडा नं ७, नवलपुर प्रदेश नं ४, नेपाल
सम्पर्क ९६४१३३५९८३,

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *