ती आत्मा र परमात्मा त धेरै टाढाको कुरा भए । जीवनका असाध्यै सहज अनुभव समेत हाम्रा आफ्ना हुँदैनन्, ती पनि हामी दोहोर्याइरहेका हुन्छौं । यदि म एउटा गुलाफको फूल तपाईंसामु राखेर सोधूँ, के यो सुन्दर छ ? तपाईं भन्नुहुन्छ, सुन्दर छ । तर यसमा पनि थोरै विचार गरौं । यो कुरा तपाईंले स्वीकार गर्नुभएको हो कि स्वयम्ले थाहा पाउनुभएको हो ? किनकि संसारमा भिन्ना–भिन्नै जातिहरू भिन्ना–भिन्नै फूललाई सुन्दर भन्छन् । र, संसारमा भिन्ना–भिन्नै अनुहारहरू भिन्ना–भिन्नै जातमिा सुन्दर ठानिन्छन् । र, ती जातमिा जन्मिने बच्चाहरूले सौन्दर्य सम्बन्धी उनीहरूको परिभाषालाई सिक्छन् र जीवनभरि त्यसैलाई दोहोर्याउँछन् । जुन नाक हिन्दूस्थानमा सुन्दर हुन सक्छ त्यो चीनमा हुँदैन । शङ्का आउन सक्छ, सौंदर्यको अनुभूति हाम्रो हो वा समाजबाट हामीले पाएका हौं ? जुन अनुहार हिन्दूस्थानमा सुन्दर हुन्छ त्यो जापानमा हुँदैन । र, जुन नीग्रो अनुहार नीग्रो जातमिा सुन्दर जस्तो लाग्छ त्यो हिन्दूस्थानमा सुन्दर लाग्दैन । हिन्दूस्थानमा पातला ओठ सुन्दर हुन्छन् र नीग्रोका लागि मोटा ओठ सुन्दर हुन्छन् । नीग्रो बच्चाले जीवनभरि यही दोहोर्याउँछ, यो ओठ सुन्दर छ र भारतमा जन्मिएको बच्चाले यही दोहोर्याउँछ, यो ओठ सुन्दर छ । कुन ओठ सुन्दर छ, कुन अनुहार, कुन फूल ? यो पनि हाम्रो आफ्नो अनुभूति होइन । यो पनि हामीले दोहोर्याएका हौं । म तपाईंलाई सोधूँ, प्रेम के हो ? त्यो पनि तपाईं दोहोर्याउनु नै हुन्छ । त्यो पनि तपाईंले कुनै शास्त्रमा पढ्नुभएको होला । त्यो पनि शायद नै तपाईंले जान्नुभएको होला र खोज्नुभएको होला ।
यदि हाम्रो व्यक्तित्व र हाम्रो चिन्तन यसैगरी दोहोर्याइरहने किसमिको, समाजको प्रतिध्वनि गर्ने किसमिको हुने हो भने त्यो स्वतन्त्र हुँदैन, त्यो परतन्त्र हुन्छ । हामी केवल इकोइङ्ग प्वाइँट हुन्छौं, हामी केवल दोहोर्याउने बिन्दु हुन्छौं । समाजका स्वरहरू त्यसमा गुञ्जिन्छन्, हामी त्यसलाई दोहोर्याउछौं । हामी व्यक्ति होइनौं, हामी इन्डिविजुअल होइनौं । हामीभित्र व्यक्तित्व जन्मिएकै छैन । र, जोभित्र व्यक्तित्वको जन्म भएकै हुँदैन उसले अमृत कसरी पाउन सक्छ ? तपाईंसँग के छ त्यस्तो, जसलाई तपाईं जोगाउनुहुन्छ ? के छ तपाईंसँग, जसलाई तपाईं मेरो हो, मैले जानेको छु र मैले बाँचेको छु भन्न सक्नुहुन्छ ? यदि त्यस्तो केही छैन भने मृत्यु निश्चित छ । यो सबै समाजबाट आएको फर्किन्छ । तपाईंले के जन्माउनु भएको छ जुन समाजबाट आएको छैन, जुन अरु कोहीबाट आएको छैन ? जसलाई तपाईं अथेंटिक रूपमा, प्रमाणिक रूपमा, मेरो हो भनी भन्न सक्नुहुन्छ । यदि त्यस्तो केही छैन भने तपाईंभित्र आत्माको दर्शन कसरी हुन सक्छ ?
प्रमाणिक रूपमा चित्तमा केही नयाँ हुँदा आत्मातिर गति हुन सुरु हुन्छ । म पात्र हुन्छु, आत्मालाई चिन्न समर्थ हुन्छु । व्यक्तिको जन्म स्वतन्त्र चित्त विना सम्भव छैन । र, हाम्रो चित्त पूरै परतन्त्र छ, हाम्रो मन पूरै दास भएको छ । र, मनको दासता असाध्यै गहिरो हुन्छ । हजार–हजार तरिकाबाट हामीलाई दासताका लागि तयार गरिन्छ । सबै किसमिले हामीलाई दास बनाउने चेष्टा चलिरहेको छ । चेष्टाका केही कारण छन् । व्यक्ति दास हुनु समाजको हितमा छ, व्यक्ति दास हुनु राज्यको हितमा छ, व्यक्ति दास हुनु धर्म, सम्प्रदायको हितमा छ, व्यक्ति दास हुनु पुरोहित, पण्डितको हितमा छ । व्यक्ति जति मात्रामा दास हुन्छ, त्यति नै उसको शोषण गर्न सकिन्छ । र, व्यक्ति जति मात्रामा दास हुन्छ, त्यति नै उसबाट विद्रोहको सम्भावना समाप्त भएर जान्छ । व्यक्तिको मन यदि पूर्णरूपमा परतन्त्र हुने हो भने ऊ खतरनाक हुँदैन । विद्रोह र क्रान्ति असम्भव हुन पुग्दछ । कुनै व्यक्तिको चित्त स्वतन्त्र होस् भन्ने समाज चाहँदैन, त्यसैले समाज केटाकेटीदेखि नै व्यक्तिलाई परतन्त्र बनाउने सबै उपाय अपनाउँछ । समस्त शिक्षा र समस्त संस्कार व्यक्तिको चित्तलाई दास बनाउने आधार–भूमि बन्छन् । हामी होसमा आउनुभन्दा पहिला नै हामी सिक्रीले बाँधिएका हुन्छौं । सिक्रीका जे पनि नाम हुन सक्छन्– हिन्दू हुन सक्छन्, जैन हुन सक्छन्, भारतीय हुन सक्छन्, अभारतीय हुन सक्छन्, इसाइ, मुसलमान हुन सक्छन् । सिक्रीमा कुनै पनि मार्क हुन सक्छन्, कुनै पनि चिन्ह हुन सक्छन् । केही पनि नाम हुन सक्छन्, तर हजार–हजार किसमिका सिक्रीले हाम्रो मनलाई कस्छन्, अनि हामी ती विषयमा सोच्ने काम नै गर्दैनौँ ।
असाध्यै थोरै मान्छे छन्, जो सोच्दछन्, अधिकत म मान्छेहरू दोहोर्याउँछन् । तिनले महावीरलाई दोहोर्याऊन् कि कुरानलाई । त्यसले केही फरक पार्दैन । तपाईंले दोहोर्याइरहेसम्म तपाईं आफ्नो आत्मासँग सबैभन्दा ठूलो पाप गरिरहनुभएको हुन्छ । तपाईंले दाहोर्याइरहेसम्म तपाईं स्वतन्त्र हुने तयारी गरिरहनुभएको हुँदैन । तर भन्नलाई त के भनिन्छ भने श्रद्धा नगर्नेले आत्मा पाउँदैन । भन्नलाई त यही नै भनिन्छ, विश्वास नगर्नेले मोक्ष पाउन सक्दैन । तर कस्तो मुर्खतापूर्ण कुरो हो यो । विश्वासबाट कसरी मोक्ष पाइन्छ ? विश्वासले कसरी आत्मा भेटिन्छ ? विश्वास हो अन्धोपन– त्यसै तलको अन्धोपन, जुन तलको अन्धोपन शरीरमा छ, वासनामा पनि त्यसै तलको अन्धोपन मनभित्र जन्मिने हो भने विश्वास हुन्छ ।
म निवेदन गर्छु, विश्वासलाई छोड्नुस् र विचारलाई जन्माउनुस् । विश्वासको स्थिति अविचारको स्थिति हो । तर, हामी किन विश्वास गर्छौं ? यति कुरो त बुझिन्छ कि समाजको हितमा छ विश्वास, शोषणको हितमा छ विश्वास, मन्दिर र पुजारीहरूको हितमा छ विश्वास, किनकि यिनीहरूको सारा व्यापार विश्वासमै छ । जुन दिन विश्वास हुँदैन, त्यस् दिन यी सारा विश्वास भाँचिन्छन् । यति कुरो त बुझिन्छ, उनीहरूको हितमा छ तर हामी विश्वास किन गर्छौं ? र, तपाईं किन विश्वास गर्नुहुन्छ ? विश्वास मेहनतविना नै उपलब्ध हुन्छ, श्रमविना नै, त्यसैले हामी विश्वास गर्छौँ । विचारका लागि श्रम गर्नुपर्छ । विचारका लागि पीडा सहनुपर्छ । विचारका लागि चिन्ता गर्नुपर्छ, विचारका लागि कष्ट गर्नुपर्छ । विचारका लागि सन्देह, भ्रममा पर्नुपर्छ । विचारमा तपाईं एक्लो पर्नुहुन्छ । विश्वासमा सारा भीड तपाईंसँग हुन्छ । विश्वासमा एउटा सुरक्षा छ, विश्वासमा एक किसमिको सिक्योरिटी छ, एक किसमिको सहारा छ । विचारमा ठूलो असुरक्षा छ । बाटो बिर्सिने डर छ, भूल गर्ने सम्भावना छ, मेटिने डर छ । एउटा त विश्वासको संसार छ, जुन राजमार्गमा हजारौं मान्छेहरू हिँड्दै छन्, त्यहाँ हामी पनि हिँड्दैं छौं, त्यस भीडमा । त्यस भीडमा हामीलाई कुनै डर हुँदैंन । चारैतिर मान्छे नै मान्छे छन् । विश्वासको बाटो भीडको बाटो हो । विचारको बाटो एक्लोपनको बाटो हो । त्यहाँ तपाईं एक्लै पर्नुहुन्छ, त्यहाँ कुनै सहारा हुँदैन । छेउछाउमा कुनै भीड हुँदैन । भीडले यतिसम्मको विश्वास गराउन सक्छ, जसको तपाईंले कल्पनासम्म गर्नुभएको हुन्न ।
अरस्तुले स्त्रीका दाँत पुरुषकाभन्दा कम हुन्छन् भनी लेखेका छन् । यिनी असाध्यै समझदार र पश्चमिमा तर्कका जन्मदाता मानिन्छन् । र, उनकी एउटी मात्र होइनन्, दुई–दुईवटी श्रीमती थिए । उनले श्रीमतीको मुख खोलेर कति दाँत छन् भनी गन्ने कहिल्यै हमि्मत गरेनन् । यता हजारौं वर्षदेखि यूनानमा स्त्रीका दाँत पुरुषकाभन्दा कम हुन्छन् भन्ने विश्वास थियो । साँच्चै नै स्त्रीका सबै चिज पुरुषकाभन्दा कम नै हुनुपर्छ, किनकि स्त्रीहरू केही तल्ला स्तरका पशु हुन्, पुरुषहरू केही माथिल्ला स्तरका । अनि, स्त्रीका दाँत पुरुषका जति नै कसरी हुन सक्छन् ? कुरो प्रष्ट छ, त्यसैले कसैले गन्ने फिक्री नै गरेन । यूनानमा हजारौं वर्षसम्म स्त्रीका दाँत पुरुषकाभन्दा कम हुन्छन् भन्ने नै बुझिन्थ्यो । र, स्त्रीहरू यति दयनीय छन् कि पुरुषले भनेका कुरा स्वीकार गर्दछन्, उनीहरू स्वयम्ले पनि आफ्नो दाँत गनेनन् । अरस्तुजस्ता बुद्धमिान् मान्छेले पनि आफ्नो किताबमा स्त्रीका दाँत पुरुषकाभन्दा कम हुन्छन् भनी लेखे । अरस्तु मरेको एक हजार वर्षसम्म पनि यूरोप स्त्रीका दाँत पुरुषकाभन्दा कम हुन्छन् भन्ने मान्दथ्यो । तर कुनै बुद्धमिान्लाई म गनूँ भन्ने सोच नै आएन । गन्ने सोचाइ त त्यतिखेर मात्र आउँछ, जतिखेर विचार जन्मिन्छ, तर यदि विश्वास हुने हो भने गन्ने प्रश्न नै आउँदैन ।
(‘मौलिक क्रान्ति’ पुस्तकको नेपाली अनुवादकत्रय– ध्यान बोध, ध्यान निर्दोष र प्रेम निर्वाण ¬)
