Skip to content


लगाउदै जीवन सत्य कर्ममा
पिएर ज्ञानामृत शुद्ध चित्तमा
नराख है दुर्मन जान्छ देह यो
लुकाउदै दीप तृतीय नेत्रको।
१

पिता र माता गुरु पुन्ज ज्ञानका
अपार आनन्द समाधि ध्यानका
भरिन्छ आँखा मनभित्र मानमा
वनेछ यो जीवन स्वार्थ नाममा
२

निकाल दुर्भाव अनित्य जीव यो
घमण्ड पाखण्ड र द्वन्द मात्र को
विपत्ति संपत्ति र ऐशका रथै
अपूर्ण छन् जीवनका मनोरथै
३

कमाल धन्दा गरिदै नयाँ नयाँ
वढाउदै सम्पति कीर्ति दम्भमा
भुलेर आफन्त पराई को थिए
विजाउने जंगम नित्य को रहे?
४

हिसाव यो चक्र शरीर माथि नै
नराख नाफा र घमन्ड थाति नै
कपट् खुराफ़ात अचम्म धूर्तकै
धुलिन्छ व्यक्तित्व अवश्य चूर्ण भै।
५

छ इसको अंश नितान्त प्रेममा
इमान छाडे वनिजान्छ वेदना
पाइन्छ आभा गरिए समर्पण
आखिरमा सत्य र प्रेम हो धन
६

व्रह्माण्डमा चक्र र आयुधै सरी
शहश्र पिण्डादि भरी थरिथरी
घुमाउछन् शृष्टि र अन्त्य कल्पमा
असार संसार त्यही विचित्रमा
७

छ ईश नै शृष्टि र अन्त ज्ञानमा
भेटिन्छ आत्मा भरि नित्य ध्यानमा
विज्ञानले भित्र ती पिण्डका वल
आधार खोज्ने वलका महावल
८

ग्यालेक्सिका कुन्जमहा महावल
पूर्वीयमा पूरुषशूक्त हो वल
अनादि सर्वत्र र निर्विकल्पमा
मिल्ने सदा निश्चित कालचक्रमा।
९

अणु सरि सानु म ज्ञान चेतमा
कहाँ म पाउँ दूरदृष्टि चेतना
अखण्ड व्रह्माण्ड र पिण्ड के कति?
यो आत्म मिल्ने परमात्मको गति
१०

प्रा धर्मराज कोइराला
हाल अमेरिका

छन्द वंशस्थ
(जभान ताराज जभान राजभा)

Leave a Reply

Your email address will not be published. Required fields are marked *