जुरेलीसँग घुम्दा


“ममी ममी हेर्नुस्न हाम्रो परेवाले आफ्नो बच्चालाई चुच्चो जोडेर के गरेको ? हेर्नुस्न छिटो !” आयुष्माले भनिन्।

“एए, त्यो ; त्यो त परेवाले आफ्नो बच्चालाई चारो खुवाएको नि ! तिमीलाई थाहा थिएन ?”

“अहँ, थाहा थिएन ममी। अनि परेवाले जसरी नै सबै आमाहरूले आफ्ना बच्चालाई चारो खुवाउछन् हो ?”

“होइन छोरी, प्रायःजसो चराहरूले आफ्ना बच्चाहरूलाई मुखमा मुख जोडेर चारो खुवाउछन् तर सबैले चाहिँ होइन नि ! बुझिराख।”

छेउमा बसेर दिदी र ममीको कुरा सुनिरहेको आशिषले भने,” ममी ममी, मलाई र दिदीलाई पनि तपाईंले त्यसैगरी चारो खुवाउनु भएको हो ?”

“हेहेहेहे…..” ममी घतले हाँस्नुभयो।

“होइन नि, मैले तिमीहरूलाई छ महिनासम्म मेरो दूध मात्रै खुवाएँ। छ महिनापछि दुधसँगै लिटो, जाउलो जस्ता नरम खानेकुरा पनि खुवाएँ। त्यही भएर तिमीहरू दुवैजना अहिले एकदम स्वस्थ छौ।”

“अनि परेवाले चाहिँ आफ्ना बच्चालाई दूध खुवाएन त ममी ?”

“अहँ ; परेवा, ढुकुर, जुरेली, कागजस्ता चराहरूले बच्चालाई दूध खुवाउदैनन्। तर चमेरो भने चरो भइकन पनि अपवाद हो। दूध चुसाउने प्राणीलाई स्तनधारी प्राणी भनिन्छ।”

सुत्नेबेलामा पनि आयुष्माले चराचुरुङ्गीहरूकै बारेमा सम्झेर सुतिन्।

एउटा जुरेली “खै जुरेली, खै जुरेली” भन्दै उनको छेवैमा आएर बस्यो। उनले रमाइलो मान्दै नियालेर हेरिन् त, टाउकामा सिउर ठडिएको थियो। जुरेली झन् उनको नजिकनजिक आयो। त्यसपछि त्यो जुरेलीले आयुष्मालाई आफ्नो ढाडमा बोकेर उडाएर लग्यो। उनी झण्डै खसिनन् ! दुवै हातले च्याप्प जुरेलीको सिउर समातेपछि भने उनलाई सजिलो भयो। अब भने उनी आकाशको हावामा कावा खाँदै आनन्दले संसार विचरण गर्न थालिन्।

जुरेलीले उनलाई जङ्गलतिर लिएर गयो। पोथ्राको हाँगामा सुकेका घाँस, त्यान्द्रा र छेस्काले बनाएको आफ्नो ‘घर’ देखायो। आफ्ना साथीसंगीसँग चिनजान गरायो। त्यहाँ उसले शान्त स्वभावका तित्रा, कालिज, कोटेरो, मालेचरो, फिस्टो, काँडेभ्याकुरसँग पनि भेटघाट गरायो। छुच्चो चिबेसँग भने सतर्क रहनुपर्ने कुरा बतायो। आयुष्मा भने साथी चराहरू र जुरेलीको मिठा कुराले मोहित भएकी थिइन्। आसपासमा फलेका घङारु, ऐंसेलु आदि फलाहार गरिसकेर उनीहरू दुवै फेरि यात्रामा निस्किए। लामो उडानपछि जुरेली समथर भूभागको अग्ला रुखमा गएर सुस्तायो। आयुष्मालाई त्यतातिरका रुख हेर्दा अनौठो लाग्यो। सिरिला अग्ला रुख, टुप्पातिर चाहिँ अलि झ्याम्म पात र ससाना हाँगा हुने। नरिवल, सुपारीका रुख हुन् भनेर उनलाई जुरेलीले नै भनिदियो। यसो यताउता हेर्दा देखियो, पूर्वतिर ढोका भएका देख्दै मनमोहक गुँड ! कति मेहनत गरेर बनाएको होला ! छक्क परेकी आयुष्मालाई देखेर जुरेलीले भन्यो, यी तोपचराका घर हुन्। तोपचरासँग मैले मित लगाएको छु। त्यही भएर घुम्ने बहानामा मीतज्यूसँग पनि भेटूँ भनेर यहाँसम्म आएको।”खै जुरेली, खै जुरेली ”

जुरेली “खै जुरेली ……” बोल्दै एक रुखबाट अर्कोमा बस्दै निकैठाउँ चहार्यो। घाँसेमैदान पुगियो। जुरेलीको आवाज सुनेर तोपचराहरूले हामीलाई हेरे। उनीहरू पनि हल्लीचल्ली गर्न थाले। केही समयपछि एउटा तोपचरो हाम्रो छेउमा आयो। जुरेलीले पनि नियालेर हेर्यो। उसको मीतज्यू त्यहिरहेछ। दुवै खुशीले रमाए, चुच्चा जोडे, कानेखुसी झैँ गरे। त्यसपछि मीतज्यूसँग हामी धानबाली भएको खेतमा गयौं। तोपचराले धानबालीमा लाग्ने ससाना कीराहरू जम्मा गरेर अतिथि सत्कार गर्यो। जुरेलीले मीतज्यूसँग बिदा माग्यो र हामी अँझै दक्षिण दिशातिर गयौं निकैबेर। भारत पो पुगिसकिएछ ! आयुष्माले छक्क परेर सोधिन्,”अहो ! हामी त नेपालको सीमापार गरेर भारतमा आइपुगेछौं, यसरी बिना अनुमति अर्काको देशमा आउन पाइन्छ त ?”

जुरेलीले मुस्कुराउँदै उत्तर दियो,”हामीलाई कत‌ै छेकबार छैन, कुन देश कुन विदेश हाम्रो लागि सारा संसार एकै हो। हाम्रोतिर पनि टाढाटाढा साइबेरियादेखि साथीहरू आउँछन्। हामीलाई डर केवल शिकारी र वन फडानीबाट छ, अरु त आनन्दै छ।”

जुरेलीले अँझ कताकता घुमाउन खोज्दै थियो, आयुष्माले अब घर फर्कौं कि फर्कौं भनेर कर गरेपछि उसले उडानको दिशा मोड्यो र हामी फेरि चुरेपहाड हुँदै माथिमाथि पुग्यौं। त्यसपछि बाटामा लामपुच्छ्रे, सारौ, भँगेरा, गौँथली, मयुर आदि साथीहरूसँग भेट भयो। जुरेलीकै सगोत्रीहरू पनि भेटिए, छोटो भलाकुसारी भयो।

आयुष्माले निद्रामै “खै मेरो जुरेली ! खै जुरेली…” भनेको सुनेर आमाले के भयो छोरी भनेर सोध्नुभयो। उनले सपनामा जुरेलीसँग संसार घुम्न गएको देखेको बताइन्। अनि आमाले सपनामा देखेको कुरा कापीमा लेखेर स्कुलका गुरुहरूलाई देखाउनू भनिन्। आयुष्मा भने जुरेलीको चित्र बनाउन थालिन्।

कुमार काफ्ले

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *