Skip to content

नित्सेका एकाध कथाहरू


नित्सेले एउटा कुरा लेखेका छन् । लेखेका छन्– पहिलो र अन्तिम इसाई सूलीमा झुण्डियो र मर्यो पहिलो र अन्तिम । क्राइष्टका सम्वन्धमा लेखेका छन्, पहिलो र अन्तिम क्रिश्चियन सूलीमा मर्यो । त, यी पछि आएका इसाईहरूको के गणना छ ? पछिका इसाईहरूको अवस्था कस्तो छ ? यी पछिका इसाई के भए ? पछिका इसाई इसा हुन सकेनन् किनकि इसा हुनका लागि हर तरहबाट स्वतन्त्र व्यक्तित्व चाहिन्छ । अरु त इसाकै दास हुन् । महावीरको पछि हिंँड्ने जैन कहिल्यै महावीर हुन सक्दैनन्, किनकि महावीर हुनका लागि हर तरहले स्वतन्त्र आत्मा चाहिन्छ । र, त्यो त महावीरकै दास हो । बुद्धका पछि हिंँड्ने कहिल्यै बुद्ध हुन सक्दैनन् । खासमा पछि हिँंड्ने कहिल्यै पनि केही हुन सक्दैनन् किनकि पछि हिंँडनेहरूले एउटा आधारभूत अफ्ठ्यारो सिर्जना गरेका हुन्छन्, आधारभूत भूल गरेका हुन्छन् । कसैको पछि हिँड्नेले कसैको पछि हिँडेको तत्क्षणदेखि नै आफ्नो आत्मा गुमाउन सुरु गरेको हुन्छ । उसले स्वतन्त्रता बेचेको हुन्छ, ऊ दासताका लागि राजी भएको हुन्छ ।

आजको बिहान म के निवेदन गर्न चाहन्छु भने अविचार, विश्वास, श्रद्धा, आस्था, बिलिफले मनुष्यलाई, उसको मनलाई स्वतन्त्र हुन दिँदैन, परतन्त्र बनाई राख्छ । र, परतन्त्र मनले शरीरलाई मात्र बुझ्छ, त्यसभन्दा माथि केही पनि बुझ्न सक्दैन । मनले, स्वतन्त्र हुने हो भने हामीभित्रको पर म स्वतन्त्रताको मूल श्रोत, जसलाई हामी आत्मा, परमात्मा वा अरु नै केही पनि भन्न सक्छौं,ं त्यसलाई बुझ्न सक्छ । स्वतन्त्रतालाई बुझ्न समर्थ हुन सक्छ । स्वतन्त्र मनले नै स्वतन्त्र आत्मातिर दृष्टि पुर्याउन सक्छ । परतन्त्र मन परतन्त्र शरीरलाई मात्र हेर्न समर्थ हुन्छ ।

मैले भनेँ, शरीर अनिवार्य रूपमा परतन्त्र छ, आत्मा अनिवार्य रूपमा स्वतन्त्र छ । मन स्वतन्त्र पनि हुन सक्दछ, परतन्त्र पनि हुन सक्छ । मन कस्तो पार्ने, स्वतन्त्र कि परतन्त्र भन्ने तपाईंंको हातमा छ । यदि मनलाई परतन्त्र नै राख्ने हो भने तपाईंं शरीरभन्दा माथि केही पनि थाहा पाउन सक्नुहुन्न । शरीरको मृत्यु हुन्छ, मृत्युभन्दा माथि तपाईंं केही जान्न सक्नुहुन्न । तर मन स्वतन्त्र हुने हो भने आत्मा थाहा पाउन सकिन्छ । र, आत्मा अमृत हो । त्यसको न कुनै जन्म छ, र न कुनै मृत्यु । तर यो मैले भनेर हुँदैन । आत्माको न त जन्म हुन्छ, न त मृत्यु हुन्छ भनेर मैले भन्ने हो र तपाईंंले दोहोर्याउने हो भने त्यो खतरा भयो । त्यसले कुनै अर्थ दिँदैन, त्यो विश्वास हुन्छ ।

म तपाईंंलाई भन्छु– आत्मा छ भन्ने मान्दै नमान्नुुस्, अहिले यो पनि नमान्नुस् । अहिले, मेरो मन परतन्त्र छ भन्ने मात्र जान्नु आवश्यक छ । र, यसलाई स्वतन्त्र पारौं भन्ने आकाङ्क्षा स्वयम्ले लिनु जरुरी छ । जुन दिन मन स्वतन्त्र हुन्छ, त्यसै दिन भित्रको झझल्को आउन सुरु हुन्छ । जुन दिन मन पूरा स्वतन्त्र हुन्छ, त्यसै दिन आत्मामा प्रतिष्ठा हुन्छ । त्यही जीवन हुन्छ, त्यही नै अमृत हुन्छ । त्यही हो सारा मूल केन्द्र–सारा जगत्को, सारा सत्ताको, सारा अस्तित्वको । त्यहींँ लुकेको छ अर्थ । तर त्यो अर्थलाई त्यसले मात्र जान्न सक्छ, जो स्वतन्त्र हुन तयार छ । जीवन–सत्य पाउन स्वतन्त्रताको मूल्य चुक्ता गर्नु अनिवार्य हुन्छ । त्यसको तयारी छ भने जीवन–सत्यलाई जान्न सकिन्छ । तयारी छैन भने मृत्युभन्दा अघिको थाहा पाउने कुनै उपाय हुँदैन ।

मैले यी केही कुरा अविचारका सम्वन्धमा, विश्वासका सम्वन्धमा भने । भोलि, कसरी यो मेरो चित्त, यो हाम्रो चित्त स्वतन्त्र हुन सक्छ, त्यस दिशामा कुरा गर्नेछु । भोलि विचारका सम्वन्धमा कुरा गरौंला र पर्सी निर्विचारका सम्वन्धमा । किनकि विचार एउटा सिँढी हो । त्यसमा रोकिने होइन, त्यसको पार जानुपर्छ । जस्तो–कुनै छतमा पुग्न हामी सिँढीमा चढ्छौंँ तर हामी सिँढीमै रोकिने हो भने हामी छतसम्म पुग्न सक्दैनौं । सिँढीमा चढ्छौंँ पनि र सिँढीलाई छोड्छौंँ पनि । आत्मासम्म पुग्नका लागि अविचारबाट विचारमा पुग्नुपर्छ । त्यसपछि विचारलाई छोड्नुपर्छ र निर्विचारमा पुग्नुपर्छ । पर्सिदेखि म निर्विचारका सम्बन्धमा कुरा गर्नेछु ।

यस सम्वन्धमा जे प्रश्न भए पनि………..र, धेरै प्रश्न हुनुपर्छ । किनकि सन्देह गर्नुस् भनेर म भन्दै छु । मेरा कुरामा सन्देह नगर्ने हो भने प्रश्न जन्मिदैनन् । सन्देह गर्नुभयो भने प्रश्नहरू जन्मिन्छन् । अति सन्देह गर्नुस्, जतिसम्म सन्देह गर्न सकिन्छ, त्यसको अन्तिम रूपसम्म सन्देह गर्नुस् । जति सन्देह गर्नुहुन्छ, त्यति तपाईंंभित्र विचारको जागरण हुन्छ । मैले भनेको कुरा मान्नु पर्दैन, त्यसलाई स्वीकार नगर्नुस् । त्यसमा सन्देह गर्नुस् । मैले भनेको कुरामा सन्देह गर्नुस्, अँझै प्रश्न उठाउनुस्, सोच्नुस्, विचार गर्नुस् । म यहाँ तपाईंंहरूलाई कुनै उपदेश दिनका लागि छुइनँ । उपदेशभन्दा खतरनाक अरु कुनै कुरा हुन सक्दैन । म यहाँ कुनै उपदेश दिनका लागि छुइनँ । म शिक्षक होइन, म कुनै टिचर होइन । म तपाईंंभित्र केही जगाउनका लागि उपस्थित भएको हुँ । त्यसैले तपाईंंलाई थोरै घचेट्न सक्छु, उपदेश होइन, केही शब्द दिन सक्छु, उपदेश होइन । त्यो घचेट्याइँले सम्भवतः तपाईंंको निद्रा छुटोस् र केही जागोस् । सम्भवतः तपाईंंभित्र केही चिन्ता होस्, केही छटपटी होस्, केही जागोस् ।

बिहान सवेरै म उठ्दा, एक मित्र आएर भन्नुभयो, भररात म मृत्युवारे सोचिरहेंँ, सुत्न सकिनँ । यति छटपटी र चिन्तित भएँ र मलाई लाग्यो, कुरा त ठीकै हो, यदि मृत्यु सत्य हो भने म जे गर्दै छु, त्यो सबै व्यर्थ नै हो । त्यसो भए के म निष्कृय हुनु ? के मैले सबै गर्न छोड्नु ? उनको रातको निद्रा बिलीन भएकोमा म खुशी भएँ । तपाईंंको सारा जीवनबाट निद्रा बिलीन हुन पुगोस् । यो परमात्माका लागि सबैभन्दा ठूलो धन्यवाद हुनेछ । तपाईंंमा यति चिन्ता आओस्, तपाईंभित्र यति सन्देह आओस्, तपाईंंभित्र यति विचार जागोस् कि तपाईंं सुत्नै नसक्नुहोस्, अनि मात्र तपाईंंको जीवनमा केही हुन सक्छ । तर तपाईंं त यति निश्चिन्त भएर सुत्नुभएको छ कि केही हुन सक्ने असाध्यै कम सम्भावना छ । एउटा छोटो कथाले म आजको चर्चा पूरा गर्नेछु ।

भीखम एउटा गाउँमा जानुभएको थियो । एउटा गाउँमा बोल्नुपर्ने थियो । साँझमा बोल्नु थियो । बोल्दा, छेउमै एउटा मान्छे सुतिरहेको थियो । शायद आसोजी उसको नाम थियो । उहाँले बीचमा उसलाई सोध्नुभयो, आसोजी सुत्यौ ? उसले हतारमा आँखा खोल्यो र भन्यो, अहँ, म कहाँ सुतेको छु र ? सुत्ने मान्छे कहिल्यै आफू सुतेको छु भन्ने मान्न राजी हुँदैन । ऊ सुतेको भए पनि तुरुन्तै आँखा खोल्यो र भन्यो, म सुतेको छुइनँ । फेरि केही कुरा चल्यो, तर सुत्ने कतिञ्जेल जाग्छ र ? ऊ निदाउँँदा भीखमले फेरि भन्नुभयो, आसोजी तिमी सुत्यौ ? उसले अहँ भन्यो । उसले फेरि आफ्नो आँखा खोल्यो । यस पटक उसले अँझै बेस्कन अहँ भन्यो, किनकि उसले बिस्तारैभन्दा त्यो सन्देहको कुरा हुन्थ्यो । उसले असाध्यै बेस्कन भन्यो– अहँ, सुतेको छुइनँ, बारम्बार…….फेरि गाउँलेहरू पनि सुनिरहेका थिए, आसोजी सुतेका छन् भन्ने कुरा थाहा हुँदा बदनामी पनि हुन्थ्यो । तर त्यसले के हुन्थ्यो र, एकछिन फेरि कुरो चल्यो, उसलाई फेरि निद्रा लाग्यो । भीखमले सोध्नुभयो, असाध्यै राम्रो कुरो सोध्नुभयो । भिखमले सोध्नुभयो, आसोजी जिउनुहुन्छ ? उसले भन्यो, अहँ । किनकि निद्रामा उसले सुनेको थियो । केही समय पछि उहाँले फेरि सोध्नुभयो, आसोजी जिउनुहुन्छ, उसले भन्यो अहँ, होइन । भीखमले भन्नुभयो, अहिले तिमीले ठिक उत्तर दिएका छौं ।

सुत्ने मान्छे बाँच्दैन पनि । उसले जतिसुकै होइन भने पनि त्यो होइनको कुनै मूल्य हुँदैन । र, फेरि कसैलाई भन्ने कुरा पनि होइन, आफूभित्र हेर्ने र विचार्ने कुरो हो । के म जीवनमा सुतिरहेको छु ? के म निदाउँँदै जाँदै छु ? न कुनै प्रश्न जन्मिरहेको छ । न कुनै चिन्ता जन्मिरहेको छ । न जीवनका सम्वन्धमा कुनै छटपटी जन्मिरहेको छ । न कुनै असन्तोष जन्मिरहेको छ । न कुनै अशान्ति जन्मिरहेको छ । मानिसहरूले तपाईंंलाई भनेका होलान्, धार्मिक मान्छे शान्त हुन्छ, सन्तुष्ट हुन्छ । म तपाईंंलाई हुँदैन भन्छु । धार्मिक मान्छे असाध्यै असन्तुष्ट हुन्छ, असाध्यै अशान्त हुन्छ । यस जीवनले उसलाई एकदमै असन्तुष्ट बनाउँछ, यस जीवनमा उसले कतै शान्ति भेट्दैन । यो समस्त जीवन उसका लागि व्यर्थजस्तो लागेको हुन्छ । उसभित्र गहिरो पीडा, गहिरो सन्ताप, एँग्विश जन्मिरहेको हुन्छ । उसको सारा प्राण कामिरहेको हुन्छ । उसको सारा प्राण चिन्ताले भरिएको हुन्छ । त्यही चिन्ताले, त्यसै चिन्ताबाट, त्यसै विचारबाट उसभित्र कुनै नयाँ दिशाको, नयाँ खोजको सुरुवात हुन्छ ।

धन्य छन् ती जो असन्तुष्ट छन् । सन्तुष्टहरू लगभल मरे सरह छन् । तिनमा अब केही हुने गुञ्जायस छैन । त, म तपाईंलाई कुनै उपदेश दिन चाहन्न, असन्तोष दिन चाहन्छु । र, तपाईंंहरूमध्ये धेरै जना यहाँ शान्ति पाउन आउनुभएको होला, म तपाईंंलाई अशान्ति दिन चाहन्छु । किनकि ठिक किसिमले अशान्त नहुनेहरू कहिल्यै शान्ति पाउन सक्दैनन् । ठिक किसिमले असन्तुष्ट हुन नसक्नेको भाग्यमा सन्तोष हुँदैन । परमात्माले तपाईंंलाई असन्तुष्ट पारुन्, तपाईंको निद्रा टुटोस्, तपाईंंलाई सबै व्यर्थजस्तै लागून्, तपाईंं जे गर्दै हुनहुन्छ त्यसलाई तपाईंंले ठिक नपाउनुहोस् । तपाईंं जहाँ हिँडदै हुनुहुन्छ, त्यो बाटो, बाटोजस्तो नलागोस्, तपाईंंका मित्रहरू, मित्रजस्ता नलागून्, तपाईंंका सँगी–साथी, सँगी–साथीजस्ता नलागून् । तपाईंहरूका सहाराहरू सबै टुटून् । तपाईंहरूले पूरै वेक्कार, असुरक्षित उभिनु परोस्, अनि मात्र तपाईंंभित्र विचारको जन्म हुन सक्छ ।

ओशो

(‘मौलिक क्रान्ति’ पुस्तकको नेपाली अनुवादकत्रय– ध्यान बोध, ध्यान निर्दोष र प्रेम निर्वाण)

Leave a Reply

Your email address will not be published. Required fields are marked *