प्रेम र विश्वास


“ओहो! रक्षा कता हो? के छ खबर?” कसैले आकाशवाणी गरेर बोलाएझै लाग्यो। को रहेछ मेरै जस्तो नाम गरेको व्यक्ति, पछाडि फर्केर हेरें।

“रक्षा केहो बिर्सियौ? हामीसँगै स्कुल पढेको के त। हेर कति चाडैं बिर्सिएकी म कल्पना क्या !”

“अरे, तिमी कल्पना?”

“हो नि, तिमीले त बिर्सिछौ क्यारे !”

“अनि कसरी सम्झनु त यतिका वर्षपछि भेट भएको। फेरि तिम्रो त रुप रङ्ग नै बदलिएछ। अँ, किन नबदलियोस त अब, यी हेर न छोराछोरी साथमा छन्। तिम्रा पो अँझै कापी किताब हातमा छन्, के गर्नु आफ्नो त जिन्दगी यस्तै भयो।”

“कल्पना तिम्रो ठट्टा गर्ने बानी त अँझै उस्तै है? रुप रंग बदलिए पनी बानी त बदलिएको रहेनछ नि।”

“अनि, रक्षा तिम्रो उटपठ्याङ् गर्ने बानी नि ! तिमी त क्या खतरा नै थियौ है?”

“हो र कल्पना सम्झिरहेकिरहिछ्यौ त!” मैले (हाँस्दै) भने।

“कसरी बिर्सनु रक्षा तिमीसँगै बाल्यकालमा बिताएका ती क्षणहरू। फेरि तिमी हाम्रो कक्षामा अरु साथीभन्दा अलि भिन्न थियौ। तिम्रो विचार सोच अलि फरक थियो। उटपठ्याङ् गरेर सबैलाई हँसाउथ्यौ तर जति उटपठ्याङ् गर्थ्यौ उत्तिकै गम्भीर पनि थियौ। कापी किन्ने पैसा नभएर स्कुल जान छोडेको च्यान्टेलाई तिमीले तिम्रो बाबाले फि तिर्ने भनी दिएको पैसाले च्यान्टेलाई कापी कलम किनिदिएर स्कुल गएको। पछि घर बा आमासँग पैसा हरायो भनेर रुने तिमी नै त हौ नि।”

“ए…ए हो त है कल्पना।”

“अनि अहिले त्यो च्यान्टे कहाँ छ? के गर्दै छ?”

“के गर्नु नि रक्षा SLC दिएपछि तिमी त पढ्नको लागि शहरतिर झर्यौ हामी त उहीँ हो नि, बा आमाले पढाउन सकेनन्। गाउँमा अरु के नै गर्न सकिन्थ्यो र घाँस, दाउरा, पानी, पधेरो, बनपाखा। त्यही त हो नि।”

“अनि, कल्पना यतिका वर्ष पछि भेट भएको छ यही बाटोमै उभिएर कुरा गर्ने? जाऊँ न त्यही पर होटेलमा चिया खादै गफ गरौंला।”

“साहुँजी चिया ल्याइदिनुहोस् न !”

“कति होला चिया?”

“चार कप।”

“अनि, कल्पना .. बाबू नानी त ठुलै बनाई सकिछ्यौ है?”

“भए नि !”

“प्रगति त तिमीले नि गरेकै छ्यौ बाबुनानी यति ठुला भइसकेछन्।”

“खै रक्षा, केलाई प्रगति भन्नु केलाई दुर्गति भन्नु मैले आजसम्म बुझ्न नसकेको कुरा यही हो,” कल्पनाले लामो श्वास फेर्दै भनी।

“बहिनी यी चिया।”

“साहुजी, यी नानी बाबुलाई अनि मेरो साथी कल्पनालाई के छ अरु नास्ता पनि ल्याइदिनून है? मैले त भर्खर खाएकी।”

“हुन्छ बहिनी।”

साहुजी चिया छोडेर आफ्नो कामतिर लाग्छ।

“अनि, कल्पना बाल्यकालका कुरा त सम्झायौ तर, तिम्रो जीवनको बारेमा त केही भनिनौ त। बिहे कहाँ भयो? कहिले गर्यौ कोसँग भयो? म त अचम्ममा परे तिमीसँग आज यसरी एक्कासि भेट हुँदा। मैले त चिन्ने थिएन तिमीले त बिर्सेकी रहिनछ्यौ अँझै पनि।”

“किन नचिन्नु त रक्षा तिमी उस्तै, उस्तै त रहिछ्यौ अलिकति अनुहारको रंग भने बदलिएको रहेछ। बनमा ऐसेलु खान जादा काँडाले कोतरेका दागहरू मेटिएछन्,” उसले हाँस्दै भनी।

“कति रमाइलो थिए है ती दिनहरू। कल्पना आज यत्तिका वर्षपछि भेट भएको छ ठट्टा गर्न छोड। मैले सोधेको प्रश्नको जबाफ देऊ न बरु।” मैले गम्भीरताका साथ भने।

“रक्षा आजभोलि म रुन छाडिसकेँ। पीडा बोकेर हिंड्न् छाडिसके।आँसु र तिम्रो जस्तो गम्भीरताले साथ दिदो रहेनछ। जीवन भनेकै यहीँ हाँसो, ठट्टा, भ्रम त रहेछ नि। कल्पना के कुरा गर्दैछ्यौ तिमी यस्तो? जीवन भनेको संघर्ष हो। र त्यसमा मिसिएको हाँसो, खुसी, आँसु, दुख, सुख नै जीवनको मिश्रण हो। त्यति नि भएन भने जिन्दगी जिउनुको नै के मजा भयो र हैन र? के भएको हो तिमीलाई भन त पहिला? अनि, बसाई कता छ? के गर्दै छ्यौ? रक्षा जीवनमा कतिखेर के हुन्छ भन्ने कुरा थाहाँ नै हुदोरहेनछ। थाहैँ नभएर बित्दा रहेछन् जीवनका घट्नाहरू। कल्पना थाहाँ छ मलाई कतिपय जीवनमा घट्ने घट्नाहरू पहिल्यै थाहाँ हुने भए, घट्ना नै घट्ने थिएनन् नि हैन र?”

“हो रक्षा हुन तर ..”

“तर ..के कल्पना भन न म तिम्रो बाल्यकालको देखिको साथी हुँ। आफ्ना जीवनका कुराहरू बाड्न सक्छ्यौ। मनमा गुम्सिएका कुराहरू बाड्ने हो भने मन हलुका हुन्छ। फेरि म तिम्रो टाढाको साथी पनि त हैन नि।”

“रक्षा मलाई थाहा छ तिमी कस्तो व्यक्ति हौ भनेर तिमीलाई नभनेर म कसलाई भनुली र हेर न ! तिमी SLC दिएपछि पढ्नको लागि शहरतिर झर्यौ हामी त उहीँ हो नि बा आमाले पढाउन सकेनन्। गाउँमा अरु के नै गर्न सकिन्थ्यो र घाँस, दाउरा, पानी, पधेरो, बनपाखा, गाइबाख्राको ग्वाला त्यही त हो नि। साथीहरू पढेको देख्दा खुसी लाग्थ्यो तर आफू पढ्न नपाउदा त्योभन्दा बढी दुख्ख पनि। धेरै कर गरे बा आमालाई पढ्नको लागि तर मेरो बा आमाले छोरी मान्छे पढ्न हुँदैन अर्काको घर जाने मान्छे भनेर मेरो आग्रहलाई नकारे। हातमा पैसा नभएपछि कसरी पढ्न जानू। पढाई त्यतिमै सीमित रह्यो। दिनहरू त्यसै बित्दै थिए। एकदिन काम विशेषले शहर जादा बाटोमै हिड्दै गर्दा एउटा अपरिचित व्यक्तिसँग परिचय भयो। त्यो बेला दाइले इन्डियाबाट भर्खर फोन ल्याइदिनु भएको थियो। परिचय हुने क्रममा हाम्रो एकअर्काको फोन साटासाट पनि भयो।”

“कहिलेकाहीँ उसले मेरो मोबाईलमा फोन गर्थ्यो। सामान्य कुरा हुन्थ्यो। फोन गर्दागर्दै एकअर्काको मनका कुराहरू र दुखसुख्खका भावनाहरू पनि साटासाट भए। कुराहरू गर्दागर्दै प्रेम भएको पत्तै भएन त्यसपछि हामीले बिस्तारै भेट्न् पनि थाल्यो।सँगै मर्नेसँगै बाँच्ने भनेर कसम खायौं। उसको नाम सन्दिप। सन्दिपसँग प्रेम कसरी भयो थाहैँ भएन।”

“उसको घर तराई रहेछ, र त्यही शहरको एउटा अफिसमा काम गर्दो रहेछ। ऊ तराईको म पहाडको भए पनि हाम्रो माया भने बिस्तारै झन्झन् गाढा हुँदै गयो। मिठा, मिठा सपनाहरू बुन्न थाल्यौं। अन्त्यमा बिहे गर्ने निर्णयमा पुग्यौँ।”

“मलाई बा आमाले क्याम्पस पढ्न नदिए पछि निकै रिस उठेको थियो। त्यही झोकमा मैले बिहे गर्दैछु भनेर बा आमालाई नि भनिन। मैले बा आमालाई घरमा भनिसके हुन्छ गर भन्नुभएको छ, हामी बिहे गरेर पछि घर जाने कुरा गर्यो सन्दिपले।”

“मैले माया, प्रेममा सबैभन्दा बढी विश्वास देखे। र त्यसपछि हामी मन्दिरको भगवान साक्षी राखेर जुनिजुनी सगैं मर्ने सगैं बाँच्ने बाचाकसम खाएर विवाह बन्धनमा बाधियौ।”

“त्यसपछि लाग्यो यो संसारमा सबैभन्दा खुसी व्यक्ति म नै हुँ। र मलाई त्यो खुशी दिने व्यक्ति अरु कोही नभएर त्यही मेरो जीवन साथी सन्दिप नै हो। त्यतिखेर प्रेम यति मिठो हुँदो रहेछ रक्षा जुन त्यो प्रेमको अगाडि चौरासी ब्यन्जन पनि फिका हुँदोरहेछ। त्यही सन्दिपको प्रेममा म हराएँ। सन्दिपले राम्रो अफिसमा काम गर्थ्यो। कमाई पनि राम्रो थियो। घरमा बाआमाले मलाई पढाउन नसकेपछि सन्दिपले भन्यो कल्पना तिमीले नि पढ्नु पर्छ। सन्दिपको कुराले म अत्यन्तै खुशी भए र प्लस टुमा भर्ना पनि भए। सोचे जीवनमा पढ्ने इच्छा पूरा पनि हुने भयो। सन्दिप जस्तो साथीसँग भेट भएर।”

“दिनहरू बित्दै गए। मेरो पेटमा सन्दिपको नासो पनि हुर्कदै गयो। मैले उसलाई जन्म दिए। हाम्रा खुशीका दिनहरू झनझन नजिक आए। मैले बाबुलाई हुर्काउदै गए। सन्दिप आफ्नो काममा नै ब्यस्त रहन्थ्यो। बाबू जन्मिदासम्म सन्दिपले एकपटक मात्र आफ्नो घर लगेको थियो मलाई। घरमा पनि सबैजना कुरा बुझ्ने हुनुहुदो रहेछ। मलाई खुशी लाग्यो। एउटी छोरी मान्छे जन्मघर छोडेर पराई घर गएपछि उसले पराई घरमा पनि जन्मघरै माया ममता खोजेकी हुन्छे र आफूले पनि बुहारी हुनुको कर्तव्य निभाउन सक्नुपर्छ भन्ने लाग्यो। त्यो मैले नि सन्दिपको घरमा पाए र सकेजती निभाउन खोजे। तर सन्दिप जागिरको शिलशिलामा घर बाहिर बस्ने हुँदा, मैले नि उतै पढ्न भएकाले सन्दिपको घरमा धेरै समय बस्न पाइन।”

“तर रक्षा …..ऊ बोल्दाबोल्दै रोकिई। आँसु आँखा वरिपरि टिलपिल गरेर भुइँतिर झर्न थाले। उसको गला अबरुद्ध भयो। मैले कल्पनाको हात समात्दै भने .. तर कल्पना के भयो सन्दिपलाई त ठिक छ नि? कहाँ छ ऊ? अहिले के गर्दै छ? रक्षा सन्दिप कहाँ छ। के गर्दै छ मलाई केही थाहाँ छैन। मैले उसलाई खोज्न पनि छाडिसके। र म थाकि पनिसके। अब मलाई उसको साथको कुनै आस छैन। म अब यी नानी बाबुहरुको भबिष्यको खोजीमा छु।”

“जीवन, समय, भाग्य सधैं एकै हुँदोरहेनछ र त्यो सधैं, सबै भागमा नि पर्दोरहेनछ। सब क्षणिक मात्र हुदोरहेछ। मैले जीवनमा सबैभन्दा एउटै भूल गरे त्यो हो सन्दिप प्रतिको विश्वास। विश्वास? के सन्दिपले जीउँदै छोड्यो तिमीलाई? उफ…. मैले लामो स्वास फेर्दै भने किन कल्पना? किनकि सन्दिपले आज मेरो विश्वास लुटेर लग्यो रक्षा मैले उसलाई गरेको प्रेम धेरै भएछ क्यारे त्यसैले ऊ मलाई छोडेर गयो। कल्पनाले आँसु झार्दै भनी। मैले पनि आँसु थाम्न सकिन। एउटी नारीको पीडामा आँसु झरिरहदा अर्कि नारी कसरी चुप रहन सक्थी र उसको आँसुलाई साथ दिए मैले पनि। भनिन्छ कुनैकुनै पीडाहरुलाई आँसुले धोयो भने पखाल्छ रे।”

“अनि कल्पना छोडेर जाने त गैसक्यो ऊबाट तिमीले पाउनुपर्ने अधिकार छ नि ! त्यो मागिनौ?”

“रक्षा, मैले उसबाट पाउनुपर्ने अधिकार जीवनभर साथ, सहयोग माया थियो त्यो पनिरहेन भने मलाई उसको सम्पत्तिको केही आशा छैन। म त्यति कमजोर नारी पनि हैन रक्षा। म सग गरेर खान सक्ने दुई हात, खुट्टा छन्। अस्तित्व बेचेर खानुभन्दा बरु म जीउँदै मर्न तयार छु। तर मैले नि कमाउन सक्छु। केही काम गरेर खान सक्छु यी नानी बाबू छन् यिनिहरुको जिन्दगी सुन्दर बनाउन सक्छु। त्यसैले रक्षा मलाई उसको सम्पत्तिको कुनै आशा छैन र म माग्दा पनि माग्दिन। अहिले मैले सिलाईकटाई गर्दैछु। यसैमा मेरो दैनिकी बितिरहेको छ। जीवनयापन गर्न सहज भइरहेको छ। नानी सानी छे। बाबुलाई यहीँ शहरको एउटा बोर्डिङ स्कुलमा भर्ना गरेकी छु। जीवन यसै बितिरहेछ।”

कल्पनाका कुरा सुनिरहदा म सपनामा छु कि बिपना पत्याउनै सकिन। एकछिन सोचे साच्चै यो कल्पना नै हो त? उसको मायामा यो त्याग, समर्पण, सहनशीलता, यो विश्वास। उसलाई सन्दिपको सम्पत्तिको कुनै आशा छैन। लोभ मोह छैन। आशा थियो त। प्रेम र विश्वासको। त्यो पनि लुटेर लग्यो। कस्तो साहसिक नारी। कति आत्माविश्वास लिएर हिडेकी। अक्सर यस्ता साहसिक नारी कमै हुन्छन् हाम्रो समाजमा। एकपटक मनमनै कल्पनालाई सलाम ठोके। र भनें, “कल्पना पिर नगर प्रेम त देवता सम्झेर ढुङ्गालाई पनि गर्छन् मानवहरू तर विवेक हराएका मान्छेहरू विश्वासभन्दा बढी प्रेम गर्छन् र बाटोमै हराउँछन्। सन्दिप आज तिमीलाई छलेर तिमीसँग हराएको छ। तिमीलाई ठूलो धोका दिएको छ। तिमीप्रति विश्वासघात गरेको छ। तिमीले सच्चा चोखो माया गरेकी छौ। आउँछ एक दिन ऊ तिम्रै सरणमा आउँछ। तिम्रो माया खोज्दै आउँछ। तिमी आफ्नो अस्तित्व मुठ्ठीमा राखेर हिंड। आमा हुनुको कर्तव्य निभाउनु। बस् यति भए जीवन चलिहाल्छ। ढुङ्गाको हृदयलाई आँसुको के अर्थ। तर तिम्रो आँसु कमजोरताको भने होइन। साहस छ तिम्रो आँसुमा पनि।”

सन्ध्या भर्खरै ढल्कदै थियो आफ्नै गतिमा। डाँडाँपाखाहरू गोधूलि सन्ध्याको घामका डामहरुले रंगिन भएका थिए तर मेरो मन भने कल्पनाको जीवनको कथाले एकातिर अँध्यारो भएको थियो भने अर्कोतिर उसको साहसीपन देखेर खुशी भैरहेको थियो। किनकि महिलाहरूले जस्तोसुकै परिस्थितिमा पनि आफूले आफैलाई। कमजोर ठान्नुहुदैन भन्ने कल्पनाको अनुहारको रङ्गले स्पष्ट पारेको थियो।

त्यतिकैमा कल्पनाले फ्याट्टै सोधिहाली, “के हो रक्षा अब त बिहे गर्ने बेला नि भयो तिम्रो नगर्ने? हुन त बिहे गरेर नि के नै सुख हुँदोरहेछ र। उल्टै दुखको भकारी बोकेर हिड्नुपर्छ। स्वतन्त्र छौ। जहाँ नि घुम्न र डुल्न पाएकी छौ। संसार बुझेकी छौ। यही ठिक छ। हेर, कल्पना जीवन जिउन सजिलो पनि छैन तर जीवनलाई राम्ररी बुझेर हिडियो भने अप्ठ्यारो पनि छैन। हो म तिमीले भने जस्तै स्वतन्त्र छु। खुशी छु। सन्तुष्ट छु। तिमीलाई पनि थाहाँ छ यहाँ समाजले मनलाईभन्दा बढी संस्कारलाई प्राथमिकता दिन्छ। हो बिहे पनि एउटा संस्कार हो। तर यसलाई संस्कारमा मात्र सीमित गर्न सकिदैन। जीवन जिउने एउटा आधार हो। बिहे गर्नुपर्छ। तर, अँझै पनि हाम्रो समाजमा समानताको शङ्खघोष नभइरहेको भान भइरहेछ। अँझै पनि समाज एकाध शताब्दीसम्म पुरातन संस्कारकै वरपर घुमिरहेको छ। थरिथरिका जीव्राहरू हामीसँगै छन्। छोरी ठुली भए पछि बिहे अँझै गरेकी छैन? अँझै भएको छैन उसको बिहे? भनेर अनेक प्रश्नहरू बर्साउने, कुरा काट्ने हाम्रो समाज छ। छोरी भएपछि बिहे उमेरमै गर्नुपर्छ सन्तान छिटै जन्माउनु हुर्काउनु पर्छ भन्ने बिध्यमान सोच भएको मान्छेहरू अँझैसम्म छन् यही समाजमा। समय परिवर्तन भयो हरेक कुराहरू बदलियो। राजनीति बदलियो। समाज बदलियो। संस्कार बदलियो। यी हेर हामी हिड्ने यी बाटोहरू बदलिए तर छोरीलाई हेर्ने नजर र सोच कत्तिपनी बदलिएको छैन हाम्रो समाजमा। तिमी पनि त्यही छोरी हौ तर म छोरी हुँ। लोग्ने मान्छे साथमा नभई घर गृहस्थ चलाउन, सन्तान पाल्न गाह्रो हुन्छ भनेर निरीह भई बसेकी भए तिमीले झनै दुख पाउने थियौ आफ्नो साहस र आत्मविश्वासका साथ अगाडि बढिरहेकी छ्यौ। अँझै अगाडि बढ। संघर्ष गरे जीवन सुन्दर बन्छ। अब हाम्रो भेट पनि भैरहन्छ। केही अप्ठ्यारो परेमा मलाई सम्झनु। म सधैं तिम्रो साथमा छु। यस्तै हो रक्षा जिन्दगी भनेको मैले सबै भोगेर यहाँसम्म आएकी छु। अप्ठ्यारो परेमा तिम्रो साथ अवश्य माग्नेछु। साथी त हरबखत चाहिन्छ नै। अवश्य नै जीवन यात्रा हो यो यात्रामा कहाँ कति बेला के हुन्छ पत्तै हुँदैन। हुन्छ त कल्पना मलाई नि घर पुग्न अबेर हुन्छ। अर्को पटक भेटौंला फेरि।”

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *