दशैं सकिएकै थिएन । फेसबुकका भित्ताहरू राता टीकाले रंगिरहेका थिए । कात्तिक ४ गते आइतबार द्वादशीको दिन बिहानै स्टाटस लेखें, “हिउँ नखेलेको होइन । हिमाल नछोएको पनि होइन । तैपनि कस्तो होला त विश्वको शीर सगरमाथा ? हिँडियो कुतूहल मेटाउने पदयात्रामा ।”

पदयात्रा टोलीको सबैभन्दा जेठो सदस्य म । तर, जेठो हुँदैमा बाठो थिइनँ । बूढो हुँदैमा पाको पनि थिइनँ । बाँकी ५ जना चिरपरिचित सहयात्री थिए । जोरपाटीबाट सोलुखुम्बु सल्लेरीसम्मको लागि ६ जनाको टिकट पहिले नै काटिएको थियो । बिहानै गंगारामले फोन गर्‍यो, “दाइ ! एक जना थपिने भयो है ।”

त्यो सन्देश तुरुन्तै सुमोको काउन्टरमा पुर्‍याएँ । दशैंको बेला, आएको झरल । ९ जनाको सिटमा १० जना कोचिएर हाम्रो यात्रा शुरु भयो । नयाँ यात्री बुटवलका रञ्जन अर्यालसँग परिचय भयो । अघिल्लो दिन बेलुका रोशनसँगै बसेर दशैं मनाउँदा मनाउँदै हिँड्न कसिएका रहेछन् रञ्जन । उनको तयारी फितलो नै देखिन्थ्यो ।

हाम्रो गाडी बीपी राजमार्ग हुँदै अगाडि बढ्यो । दशैंका बेला बाहिरिएको भीड बथानका बथान भएर मोटरसाइकलबाट काठमाडौं पस्दै थियो । भकुण्डेबेंसीभन्दा उताको बाटो मेरो लागि नौलो थियो । बाटोको गुणस्तर हेर्दा जापानले नै बनाएको हो भन्ने पक्का भयो । सडकछेउका अधिकांश भाँचिएका मसिना बारहरू चाहिँ कसले बनाएछ कुन्नि !

झाँगाझोलीमा खाना खाएर अघि लागियो । खुर्कोटबाट हाम्रो गाडीले बीपी राजमार्ग छोड्यो । घुर्मीमा पक्की पुलबाट सुनकोशी नदी तरेपछि गाडी मर्मतको लागि रोकियो । “गाडीमा समस्या आएर अघिदेखि नै मैले सोलो चला’को,” चालकले स्पष्टीकरण दिए । पितृथलो ओखलढुंगा पुग्दा सुदिप आफ्नो बाबुले बताएका संघर्षका गाथाहरू स्मरण गर्दै भाबुक बन्यो । ओर्लिएर फोटो खिच्ने रहर गर्दै थियो । छिप्पिँदो रातका कारण हामीले सुनेको नसुन्यै गर्‍यौं । हामीबाहेक गाडीमा अन्य तीन जना थिए । तीमध्ये एकले सुानए, “सोलुको जंगलमा त राति एक्लै हिँड्नु हुन्न । भालु आउँछ ।”

हामीलाई बताइएअनुसार काठमाडौं–सल्लेरी १० घण्टाको बाटो थियो । तर, घुर्मी नपुग्दासम्म गाडीको गति सुस्त भएकाले १२ घण्टामा मात्र पुग्यौं । फाप्लु विमानस्थल (२४०० मिटर)को सिरान पुगेर हामी बास बस्दा करिब आधा सल्लेरी सुतिसकेको हुँदो हो ।

भोलिपल्ट बिहान ६ बजे सबैभन्दा पहिला म आफ्नो भारी बोकेर निस्किएँ । बीचमा चिया खाएर अघि बढें । करिब ८ बजेतिर गंगारामले फोन ग¥यो । उनीहरू भर्खर मैले चिया खाएको ठाउँमा आइपुगेका रहेछन् । अलि माथिसम्म जाने हो भने जिप पनि पाइने रहेछ । चढ्ने कि भन्ने प्रस्ताव राख्यो ।

“लाग्ने भाडा र त्यसले पार गराउने दूरी तुलना गर्दा उपयुक्त लागे चढेर आउनू, म बाटैबाट चढौंला,” भन्दै म एक्लै अघि बढें । बीच जंगलबाट बाटो अघि बढ्यो । एउटा जिप नरोकिई अघि लाग्यो । १० बजे जंगल सकिएर रिङ्मु पुगें । भेटिएको पहिलो आश्रयस्थलमै खाना बनाउन लगाएँ । साथीहरू आइपुग्दा खाना तयार भइसकेको थियो ।
रञ्जनलाई हिँड्न समस्या भएकोले अलि ढिला भएछ । खाना खाएर फेरि हिँड्न शुरु गर्दा उनी अझै हिँड्न सकेनन् । थाकेका नभएर उनको गोडा र कम्मरको जोर्नीबीच दुखाइ भएर थियो । रिङ्मुमै अलि माथि जमर्न प्रोजेक्टबाट सञ्चालित स्वास्थ्यचौकी रहेछ । हामीले त्यहाँ केही निःशुल्क औषधि प्राप्त ग¥यौं । रञ्जनले दुखाइ भुलाउने औषधि खाएँ तैपनि हिँड्न सकेनन् । यही गतिमा हिँड्दा उनी सगरमाथा आधार शिविरसम्म पुग्न सक्ने अवस्था थिएन । दुइटा विकल्प निस्किए । पहिलो— कम्तीमा दुई दिन हिँडेर लुक्ला पुग्ने र हवाइजहाजबाट फर्कने । दोस्रो— फर्किएर साँझसम्म सल्लेरी पुग्ने र भोलिको गाडीबाट फर्कने । रञ्जनले दोस्रो विकल्प रोजे । हामीले नरमाइलो मान्दै बिदा गर्‍यौं । विशेषगरी उनलाई लिएर आउने रोशन श्रेष्ठलाई ज्यादा खल्लो भयो । त्यसपछिमात्र हाम्रो टोलीले वास्तविक गति लियो । करिब ३ बजे टाक्सिन्धु पहाडको टुप्पोमा पुगेर निष्कर्ष निकाल्यौं, “धन्न रञ्जन फर्किए ! बल गरेर अगाडि आएका भए अलपत्र पर्ने रहेछन् । न अघि बढ्न सक्थे न पछि फर्कन नै ।”

साथीहरू थकाइ मारी नै रहेका थिए । म टाक्सिन्धुको शीरमा रहेको मानेलाई दायाँ परेर ओरालो झर्न शुरु गरें । जंगल झन्–झन् बाक्लियो । अघि बढ्ने हिम्मत भएन । एउटा ठूलो ढुंगामाथि बसेर साथीहरूलाई पर्खिएँ । केही वर्षअघि हिमाल आरोहण दलका सूचना अधिकारी जोरपाटीका उद्घव खनाल एक्दै फर्कंदै गर्दा यही पदमार्गमा बेपत्ता भएका थिए । मेरो मनमा शंका उब्जियो— कतै उनलाई जन्तुले त खाएन ?

टाक्सिण्डो, नुनथला हुँदै टाक्सिन्धु पूरै ओर्लिएर तल गहिरो खोचमा दूधकोशी भेटियो । “फर्कंदा त टाक्सिन्धु चढ्नै एकदिन लाग्ने रहेछ,” हाम्रो मनले हरेस खायो ।

झोलुंगे पुल तरेर पारि पुगेपछि जुबेनी पुगियो । चिया खाएर सुवास र म अघि बढ्यौं । अरु साथीहरू घरेलु ऊर्जा भर्न थाले । झन्डै आधा घण्टा उक्लिएपछि गाउँ सकिएर जंगल शुरु भयो । साढे ५ बजिसकेको थियो । मैले त्यहीँ बास बस्ने निष्कर्ष निकालें । जुबेनीको शिरानमा अरु साथीहरूलाई पर्खियौं । ऊर्जाले भरिएका साथीहरू आइपुगे । सन्तोष र गंगाराम खरिखोला पुग्ने कुरा गर्दै थिए । “राति–राति हिँडेर तिमीहरूलाई कसैले मेडल दिँदैन,” मैले रोकें ।

तेस्रो दिन जुबेनी (२२०० मिटर)बाट पनि सबैभन्दा पहिले उठेर हिँड्ने म नै थिएँ । बिहानी चिया खरीखोलामा खाएर हिँडियो । बाटामा सिलावर पगालेर भाँडा बनाइरहेका भारत हैदराबादका कालिगडहरूको शिल्पकलाले केही क्षण अल्मलायो । म सबैभन्दा पछाडि परिसकेको थिएँ । गंगाराम र सन्तोष कुरेर बसेका रहेछन् । १० बजेतिर हामीले खाना खायौं । अगाडि रहेका टोलीलाई पनि उतै खानू भनिसकेको कुरा गंगारामले बतायो । हिँडाइका हिसाबले सबैभन्दा कमजोर यात्री म । खाना खाएर उकालो लागिहालें । गंगाराम र सन्तोष अलमल गर्दै थिए । केही उक्लिएको थिएँ, सुदीपको फोन आयो, “अगाडिका कहाँ पुगे कहाँ ! पछाडिका पत्तोअत्तो छैन । म त एक्लै परें ।”

मैले केही ढाडसका शब्द प्रयोग गरें । एकैछिनमा सुदीपलाई भेट्टाएँ । पछि–पछि गंगाराम र सन्तोष पनि आइसकेछन् । सुदीप खाना खान थाल्यो । मचाहिँ नरोकिई हिँडिरहें । उकालो सकिन नपाउँदै फेरि मलाई उछिनेर अघि लागे ।
ओरालो झर्न थालेसँगै घना जंगल शुरु भयो । बाटामा प्रशस्त यात्री भएकाले डराउनु पर्ने स्थिति थिएन । तैपनि पछि परेको हीनताबोधले मेरो मानसिकता कमजोर बन्यो । पाइलाहरूले लामो फड्को लिनै सकेनन् । घिस्रिन थाले । मोबाइलमा टावर पनि थिएन । एकातिर बाटाभरि खच्चड र चौरीका दुर्गन्धित मलमूत्र कुल्चँदै हिँड्नु पर्ने, अर्कोतर्फ हामीले यात्रा शुरु गरेदेखि नै हाम्रो यात्रा निरस नै थियो । जंगलै जंगल पहाड चढ्नु र फेरि ओर्लिएर दूधकोशीको गहिरो खोचमा झर्नुभन्दा बढी केही थिएन । थियो त केबल खच्चडका बथान आउँदा भित्तातिर टाँसिएर ज्यान जोगाउनु पर्ने बाध्यतामात्रै ।

बाटामा एउटा स्थानीय बटुवाले मेरो हुलिया अन्दाज गर्दै भन्यो, “तपाईंको साथिहरू ऊ पारि बुप्सामा कुर्दै छ । तपाईंलाई छिटो जान भन्दिनू भन्या छ ।”

त्यसका कुराले मेरो मन झनक्क रिसायोे, “तिनीहरूले सिकाउनु पर्छ ?”

गएर घुक्र्याउने विचार गरें, “म चाहिँ लुक्लाबाट प्लेन चढेर फर्किन्छु, तिमीहरू जाओ ।”

तर, त्यो मान्छेले लिएर आएको सन्देशले ममा अर्को पनि ऊर्जा पैदा गर्‍यो । साथीहरू कुरिरहेका छन् भन्ने कुराले मेरा पाइलाले ठूलो फड्को मार्न थाले । सवा ३ बजे मैले बुप्सामा सुदीप, गंगाराम र सन्तोषलाई भेट्टाएँ । रोशन र सुवासको अत्तोपत्तो अझै थिएन । मलाई निराश नगराउने उद्देश्यले गंगाराम बोल्यो, “हामी आइपुगेको पनि भर्खरै हो ।”

उनीहरूले खाजा खाइसकेका रहेछन् । मैले खाएर उठेको मात्र थिएँ, हामीलाई खोज्दै रोशन पनि आइपुग्यो । उनीहरू त्यहीँ दुई–चार घर पर हामीलाई कुरेर बसेका रहेछन् । उनीहरूले दुई घण्टा कुरेछन् । त्यसपछि हामी प्रायः सँगसँगै भयौं । दूधकोशीको खोचमा रहेको सुर्केमा पुग्ने बेला अँध्यारो भइसकेको थियो । अलि वरैबाट विदेशीजस्ता लाग्ने एक जोडी पनि हामीसँगै मिसिए । सुवासले मेरो झोला बोकिदियो । सुर्केमा बास बस्दा सुवास र सन्तोषबीच केही कुरामा सामान्य ठाकठुक परेछ । पछि सन्तोषले माफी माग्यो । सुवासले पनि धेरै बेर मनमा लिएन ।

चौथो दिन म हिँडेको डेढ–दुई घण्टापछि मात्रै साथीहरू हिँड्न शुरु गर्ने बताए । म साविकबमोजिम बिहान ६ बजे नै निस्किएँ । अलि माथि पुगेपछि एक जोडी भेटिए । हिजो सुर्के पुग्ने बेलामा भेटिएका विदेशीजस्ता लाग्ने भाइ र बहिनी रहेछन् । मैले नचिने पनि उनीहरूले चिने । सामान्य शिष्टाचारपछि म अघि बढें । अलि माथि पुगेर चिया खान रोकिएँ । तातो पानी माग्ने बहानामात्र थियो चिया । चिया बनाउन लगाएर एक कप तातो पानी मागें । अर्को एक कप चिसो पानी मिसाएर खाएको मात्र थिएँ, अघिको जोडी आइपुग्यो । केटोले सन्तोषको सास फेर्दै भन्यो, “सबैभन्दा हिँड्न नसक्ने भनेको दाइ नै हामीभन्दा अगाडि लाग्दा त टेन्सनै भाथ्यो । धन्न यहीँ भेट भयो ।”

अन्नपूर्ण आधार शिविर र थोराङ्ला–पास गइसकेका फिरन्ते जोडी रहेछन् । ललितपुर सातदोबाटोबाट आएका । केटोले भर्खर आईटीको पढाइ सक्काएको रहेछ । केटी भने पढ्दै रहिछ । चिया खाँदा केटीले मीठो कुकिज दिई । मेरो समेत चियाको पैसा पनि तिर्न खोज्दै थिई । मैले बुझिसकेको थिएँ, उनीहरू सीमित बजेटमा यात्रा गर्दै थिए ।

“अर्को पटक दाइले दिनू न !” केटोले भन्यो । मैले मानिनँ । त्यहाँबाट निस्किएपछि म अघि लागें । उनीहरूसँग फेरि भेट भएन । पछि गफैगफमा उनीहरूको प्रसंग उठ्दा सुवासले चित्त दुखाएर भनेथ्यो, “… ल हेर ! कसकी छोरी हो ? … केटोसँग बरालिएर हिँड्दी रै’छ ।”

त्यो चित्तदुखाइमा केटीका घरपरिवारप्रतिको सहानुभूति थियो वा केटोको भाग्यप्रतिको ईष्र्या ? सुवासको अनुहार पढ्ने कोसिस गरें तर सकिनँ ।

केही माथि उक्लिए छि छेप्लुङ पुग्दा एकैपटक म अचम्ममा परें । रंगरोगन गरिएका सफा र चिटिक्क परेका राम्रा–राम्रा घरहरू । स–साना चैत्यहरू । बाटाको बीचमा तामाका घुमाउने मानेहरू र पृष्ठभूमिमा आकर्षक हिमाल पनि । अब बल्ल विदेशी पर्यटकलाई मोहनी लगाउने नेपाली सौन्दर्य देखिएको थियो । मन पुलकित भयो । अब भने विदेशीको बाक्लो ओहोरदोहोर हुने क्षेत्रमा प्रवेश गरिएछ । त्यहाँबाट अलि माथि रहेछ लुक्ला विमानस्थल । एउटा फोटो खिचेर फेसबुकको भित्तामा टाँस्दै माथि लेखिदिएँ, “आमाको गर्भदेखि चितासम्मको यात्रा हो जिन्दगी ।”

चौरीखर्कमा खाना खाएर अघि बढ्दै फाक्दिम (२७०० मिटर) पुगें । बाटोका बीचमा रहेका ठुल्ठूला ढुंगाहरूमा कुँदिएका अक्षरहरूमा कालो रंग लगाइएका थिए । पृष्ठभूमिमा सेतो रंग थियो । बौद्घधर्मका मन्त्र कुँदिएका ती शक्तिशाली काला अक्षरले सम्मोहित गरे । बीच–बीचमा पछाडि रहेका साथीहरूसँग फोन सम्पर्क भइरहेको थियो । बाटोभरि विदेशी पर्यटकको उपस्थिति बाक्लो थियो । मनमा कुनै क्लेस नलिइकन मजाले हिँडिरहें । अलिकति दूरी पार गर्नासाथै आश्रयस्थल आइहाल्थ्यो । ‘यहाँ नेपालीका लागि खाने र बस्ने व्यवस्था छ’ जताततै लेखिएको भेटिन्थ्यो । ठाउँ–ठाउँमा घट्टझैं पानीले घुमाउने आकर्षक मानेहरू थिए । मान्जो अघि नै कटिसकेको थिएँ तर अझै साथीहरूले भेट्टाएका थिएनन् । एउटा होटलको अगाडि लामो बेन्च राखिएको रहेछ । झोलाको सिरानी हालेर लमतन्न सुतिदिएँ । एकैछिन आँखा पनि लाग्यो । पहिले सुवास र पछिपछि अन्य साथीहरू पनि आइपुगे । रोशनले उभिन लगाएर मेरो तिघ्रा र पिडौला जोडसँग हल्लाइदियो । रोशनका दुई हत्केलाले सिर्जना गरेको कम्पनले खाँदिएका मांशपेसीहरूमा आराम महसुस भयो ।

जोरसल्ले ओलर्ने ठाउँमा पक्की प्रवेशद्वार बनाइएको रहेछ । त्यहीँबाट शुरु भयो सगरमाथा राष्ट्रिय निकुञ्ज । प्रतिव्यक्ति १०० रुपैयाँ बुझाएर हामी निकुञ्ज क्षेत्र प्रवेश ग¥यौं । ओरालो झरेर फेरि दूधकोशी तरियो । केही समय किनारैकिनार तेर्सो हिँडेपछि ठाडो उकालो शुरु भयो । नाम्चे बजार पुग्दा झमक्कै भइसकेको थियो ।

अंग्रेजी अक्षरको ‘सी’ आकारमा पूर्व–दक्षिण फर्किएको रहेछ नाम्चे बजार (३४०० मिटर) । इलाका प्रशासन कार्यालय, बैंक, घर–घरमा मिटरवाला धारा, टेलिकमको ल्यान्डलाइनदेखि मधेसी मूलका व्यापारीसम्म सबै कुरा रहेछ नाम्चेमा । टेलिकमको एडीएसएल प्रयोग गरेर घरमा बच्चाहरूका अनुहार हेर्न र देखाउनसमेत पाइयो । “फर्कंदा यहाँबाट पाप्लुसम्म हेलीमा जाने भए पनि पाउँछ,” अतिथि सत्कार गर्दै होटलवालाले भने । कार्गो बोकेर आउने हेलिकप्टरले फर्कंदा मान्छे बोकेर जाने रहेछ । प्रतिव्यक्ति ३५०० । त्यसैमा ५०० होटलवालाको कमिसन । तर, मान्छे बोक्ने अनुमति नभएको । पूरै अवैध । तलमाथि भयो भने परिवारले बिमाको पैसा पाउँदैनन्, विचल्ली हुन्छ ।

हामी फर्कंदा नाम्चे बजार जसरी पनि आउनै पथ्र्यो । त्यसैले त्यहाँ भारी घटाउने निर्णय गर्‍यौं । अत्यावश्यक सामग्रीहरू मात्रै बोकिए । हात र अनुहारमा लगाउने चिल्लो पनि सबैले सुवासकै प्रयोग गर्ने भए । मैलिएका लुगाहरूको आधार शिविर पुग्ने भाग्य रहेनछ । पोको पारेर त्यतै थन्किए । होटलवालाले सहयोग गरे । मैले नाम्चे बजार छोड्दा साढे ७ नै बजिसकेको थियो । साथीहरू नास्ता गर्दै थिए, म उकालो लागें । ठाडो उकालो करिब आधा घण्टा उक्लिसक्दा पनि साथीहरू आइपुगेनन् । सुदीपलाई फोन गरें, उठेन । गंगारामको पनि उठेन । अझै अगाडि बढें । केही क्षणमा दुई जना नेपाली आइपुगे । बल्ल थाहा पाएँ— चोलापास हुँदै गोक्यो गएर आधार शिविर जाने गलत बाटो आएछु । हतार–हतार तल झर्दै गर्दा गंगारामको फोन आयो । उनीहरूलाई रोकिन भनें । यतिन्जेल टाँगाको घोडाजस्तो जता–जता बाटो देखियो, त्यतै–त्यतै गइयो । दुइटा बाटा होलान् भन्ने हेक्का भएन । फेरि नाम्चे झरें । ढुंगाका दुई पर्खालको बीचबाट छुट्टिएको बाटो बल्ल देखें । उकालो नलागी तेर्सिनुपर्ने रहेछ । संकेत दिएर लेखिएको पनि रहेछ ।

सही बाटो पहिल्याएर तेर्सो अगाडि बढ्दा विदेशी पर्यटकको ठूलो भीड जाँदै रहेछ । ठमेलमा त्यति विदेशी एकैपटक देखिँदैनन् । अन्नपूर्ण आधार शिविर र थोराङ्ला–पासमा पनि विदेशीहरू यसको एकछेउ हुँदैनन् । झन्डै–झन्डै जनैपूर्णिमामा धुन्चेबाट गोसाईंकुण्ड जानेहरूको यस्तै भीड देखिन्छ बाटोमा । जेहोस्, भीड ठूलो थियो । तिनीहरूबाट छेकिएको बाटो छिचोल्न मलाई निकै समय लाग्यो । सारसौदो रहेको खण्डमा एउटा विदेशीले पोर्टरको शुल्क, खाना, बास र राजश्व गरेर करिब २ लाख खर्च गर्दो रहेछ । हामी त्यसको १० प्रतिशत नलाग्नेमा ढुक्क थियौं । अर्थतन्त्रको एउटा बलियो खम्बाले छेकेको बाटो बल्लबल्ल छिचोलेर साथीहरूलाई भेट्टाएँ । १ बजेतिर हामी तेङ्बुचे (३८०० मिटर) पुग्यौं । एउटा होटलमा खाजा खान उक्लिँदै थियौं, बाटैमा कसैले रोक्दै भन्यो, “यता प्याक भैसक्यो, उता बेकरीमा खाली छ ।”
विदेशीहरू पनि फर्किंदै थिए । बेकरी पुगियो । एउटा क्रिम दुनोटको ३५० ! सस्तो र ठूलो के छ– हेर्दै थियौं, बाहिर बौद्ध धर्मावलम्बीले बजाउने बाजा बज्यो । ल्होसार परेकोले गुम्बाको बाहिर सानो झाँकी निकालिएको रहेछ । विदेशीहरू क्यामेरा तेस्र्याउदै दौडिए । हामीले वास्ता गरेनौं ।

त्यस दिन हाम्रो पाङ्बुचेमा बास बस्ने योजना थियो । ३ बजे नै पुगियो । ‘यति छिटै के बास बस्नु’ भनेर ४ बजे सोमरे (४००० मिटर)मा बसियो । विकल्प नभएको ठाउँमा बाहेक हामीले कतै मोलमोलाइ नगरी बास बसेनौं । प्रतिव्यक्ति ४०० मा खाना र बासको सहमति भयो ।

“खाना खाने बेला भएको छैन, चिसो ठाउँको आलु खाऊँ,” रोसनले प्रस्ताव राख्यो । भाउ सोधियो । प्लेटको ६०० । एउटा आलुको १०० पर्ने भयो । भो, नखाने । पानी मगायौं । एक थर्मस पानी आयो । सबैले खायौं । मुख धुन गएको सन्तोष कठ्यांग्रिएर आयो । ६ बजे टेबुलमा धमाधम खाना आयो । अघिपछि भर्खर बास बस्ने बेला हुन्थ्यो ।

राति सुतेको बेला मुख सुकेर ब्युँझिएँ । चिसो पानीले नै भए पनि घाँटी भिजाएँ । अरूलाई पनि त्यसै भएछ । त्यो अल्टिच्युडको असर थियो । भोलिपल्ट बिहान फेरि तातो पानी मगायौं । हर्लिक्स हालेर सबैले खायौं । कसै–कसैले तातो पानीले मुख पनि धोए । धारा र ड्रमको पानी दुबै जमेका थिए । ६ जनाको खाना र बासको २४००, दुई थर्मस पानीको १६०० । जम्मा ४००० । चिसोले भन्दा होटलवालाको व्यवहारले बढी सेक्यो । अरु ठाउँ कतै हामीले पानीको पैसा तिरेनौं । छैटौं दिनको शुरुवात सोमरेमा ठगिएर भयो । हिँड्दा ७ बज्न खोजेको थियो । फेरुचे पुग्ने बेला एक हुल पर्यटक भेटिए । उमेर र अनुभव दुवैमा पाको गाइडले सोध्यो, “काँ पुग्ने आजु ?”

“गोरकसेप ।”

“आजु काँदेखि हिँडेको ?”

“सोमरे ।”

“आप्पुई… एकै पटक तेत्ती नचढ… लेक लागेर मोर्छ तिमेरु । लबुचेमै बस ।”

उचाइमा धेरै कसिएर फटाफट हिँड्दा लेक लाग्ने सम्भावना रहन्छ । कम उचाइको तुलनामा बढी उचाइको भूभागमा बहने हावामा अक्सिजनको मात्रा कम हुन्छ । त्यसैले कम उचाइबाट एकैपटक अग्लो भूभागमा जाँदा फोक्सोले आवश्यक मात्रामा अक्सिजन मस्तिस्कसम्म फैलाउन नभ्याउने हुँदा स्वास्थ्यमा समस्या हुन्छ । त्यही अवस्थालाई लेक लागेको भनिन्छ । विशेषगरी राति चिसो बढ्दै जाँदा हावामा अक्सिजन अझै कम हुन्छ र सुत्ने बेला सामान्य सुतेको मान्छे बिहान उठ्दा मरिरहेको हुन पनि सक्छ ।

पाको गाइडका कुराले हामी सबैका शरीर एकैपटक शून्न भए । साढे ८ बजे फेरुचे पुगेर खाना अर्डर गर्‍यौं । कुखुरासहितको खाना ५०० । समोसा, तरकारी खाए ३५० । हामी खानै खान तम्सियौं ।

हाँगाहरू फाटेर फिँजारिएको दूधकोशीको फराकिलो बगरको किनारमा छ फेरुचे । रुखपात नभएको चिसो मरुभूमिजस्तो । धाराहरू सबै जमेका थिए । एउटा चौरी दूधकोशीमा आधा खुट्टा डुब्ने गरी उभिएर उघ्राउँदै थियो । “त्यसलाई सित्तल भ’को होला ! हामीले राति गर्मी हुँदा सिरक फालेको जस्तो,” गंगारामको तर्कमा दम थियो ।

रोशन र म मञ्जन बुरुस बोकेर दूधकोशीको बीच भागतिर गयौं । एउटा हेलिकोप्टर तलबाट आयो र फनक्क घुमाएर ल्यान्ड गर्‍यो । तीन जना विदेशी हेलिकोप्टरतिर अघि बढे । बीचमा रहेको बिरामीले अक्सिजन लगाएको थियो । हिँडेरै गयो । बिरामीलाई मात्र लिएर हेलिकोप्टर उड्यो । उड्दा हामीलाई लडाउने गरी हावा फुकेर गयो ।

गाइडको कुराले हाम्रो मथिंगल हल्लाएको थियो । खाना खाएर सबैले लेक नलाग्ने औषधि खायौं । ११ बजेतिर हामी निस्कियौं । साथीहरूलाई अघि लगाएर प्राकृतिक सौन्दर्यमा रमाउँदै म बिस्तारै बढें । हामीले लबुचेमै बस्ने निश्चय गरिसकेका थियौं । हतारिनु पर्ने केही थिएन । अलि कोचेरै खाएकाले पेट अटेसमटेस पनि भएको थियो । फेरुचेस्थित दूधकोशीको समथर बगर केही हिँडेपछि फेरि उकालो शुरु भयो । ज्यादा ठाडो भने थिएन । ठूलो चौरको बीचबाट बाटो गएको थियोे । अखबारका पानामा छापिने यार्सा टिप्नेहरूको भीड लाग्नेजस्तो थियो चौर । बाटोबाट छेउ लागेर लमतन्न सुतिरहेको थिए मान्छे । एउटा विदेशी केटो आएर अंग्रेजीमा सोध्यो, “तपाईं ठीक हुनुहुन्छ ?”

मैले ठाउँ–कुठाउँ जात्रा देखाएछु । अप्ठ्यारो मान्दै उठेर भनें, “ठीक छु” । परिचय आदानप्रदान भयो । अमेरिकी नागरिक रहेछ । म नेपाली भन्ने थाहा पाएपछि फटाफट नेपालीमै कुरा गर्न थाल्यो । ६ महिना भएछ नेपाल आएको । दूधकोशी तर्ने पुलको छेउमा बसिरहेका भेटिए मेरा साथीहरू । विदेशीसँग मेरा साथीहरूको परिचय गराएँ ।

यहाँ भेटिएको दूधकोशी अलि भिन्नै थियो । पानीतर्फ फर्किएका ढुंगाका भागमा हिउँको बोक्रा जमेको थियो । खोलामा पानी भने बगेकै थियो । नदी तरेपछि थुक्ला पुगियो । सँगै आएको विदेशी थुक्लामै बस्ने रहेछ । आज ऊ फेरुचबाट मात्र उक्लिएको थियो । थुक्लाबाट ढुंगैढुंगाको ठाडो उकालो उक्लनुपर्ने रहेछ । हेर्दा त्यहीँ नजिकै । तर, उक्लन डेढ–दुई घण्टा नै लाग्ने । यहाँ पनि धेरै विदेशीहरू उक्लँदै थिए । थुक्लाको उकालो चढिसक्दा हामी धेरै नै रोमाञ्चित थियौं । आमादब्लम हिमाल पछाडिको भागलाई हाम्रो पछाडि पारेर धेरै फोटो खिच्यौं । गंगारामले झोलाबाट स्निकर र चोकोपाईका प्याकेट निकालेर देखाउँदै भन्यो, “… लेक त यिनीहरूलाई पो लागेछ ।”

प्रत्येक प्याकेटहरू फुट्लानझैं फुलेका थिए । त्यसपछि धेरै उकालो नचढी हामी लबुचे पुग्यौं ।

समुद्री सतहबाट ४९७० मिटर उचाइको लबुचेमा होटल थुप्रै थिए । हामी पुगेछौं ‘मदर अर्थ हाउस’ ।

“छैन कोठा,” पहिलो जवाफ पायौं ।

“… तपाईंहरू नेपाली पो ट्रेकिङ आ’को ?… एकछिन ल…। काँदेखि आउनुभा’को ?”

हामी ‘पर्ख र हेर’को अवस्थामा थियौं ।

“ल, माथि जानू,” प्रतीक्षा लामो भएन । हामीले गाँस र बास पायौं ।

पोर्टर र गाइडबाहेक नेपालीहरू पदयात्रामा अत्यन्त कम जाने रहेछन् । हामी कोठामा सामान राखेर डायनिङ हलमा झ¥यौं । डायनिङ हल पोर्टर, गाइड र विदेशीले भरिएको थियो । सयभन्दा माथि नै थिए, कम थिएनन् ।

“… काठमाडौंबाट आएका भाइहरू कुन हो ? यता बोला त,” काले–मोटे साहूको जिज्ञासा सुन्नासाथै हामी उनी भएतिर गयौं । काठमाडौंको कपन नीलोपुलमा घर रहेछ उनको । नाम बरुनिमा शेर्पा ।

“भाइहरूलाई चिया देऊ,” उनैले आदेश दिए ।

पछि हिसाब गर्ने बेलामा पनि हामीले खाएका कुनै चियाका कपहरू हिसाब भएनन् । तातोपानी त झनै फोसा ।

“यो ठाउँमा अरूकोमा नभए पनि मेरो मोबाइलमा टावर हुन्छ । घरमा कुरा गर्नु छ भने गरे हुन्छ,” उनले भने ।
खोजेको भन्दा बढी नै अतिथि सत्कार पाइयो । पर्यटक आउने मौसममा दिनको ५ देखि १० लाख उठाउने रहेछन् बरुनिमाले । चौरीका पिठ्यूँमा बोकाएर ओसार्छन् रे पैसा । माथि–माथि घोडा, खच्चड जाँदैनन्, चौरीकै मात्र भर हो । खाना सँगसँगै एउटा ठूलो मैनबत्ती पनि टेबलमा राखिदिने चलन रहेछ । नक्कली मैनबत्ती तर दुरुस्तै । एउटा टेबुलबाट उठेपछि अर्कोमा नजाउन्जेल स्विच अफ ।

सातौं दिन ब्रेकफास्ट खाएर यात्रा शुरु गर्दा ७ नाघिसकेको थियो । आधारशिविर र कालापत्थर पुगेर यही बाटो फर्कने भएकाले झोला त्यही छोड्यौं । बाटो धेरै उकालो थिएन, हिँड्न खासै गाह्रो भएन । ठीक सामुन्ने पुमरी हिमाल उभिएको थियो । अन्य ६००० मिटरमाथिका स–साना हिमाल पनि थिए । दायाँतर्फ खुम्बु हिमनदी थियो । सगरमाथाबाट चिप्लिँदै आएको हिउँ । माथि–माथि अलि–अलि माटो र बालुवा, त्यसमुनि हिउँ । कतै–कतै हिउँ भासिएका पनि देखिन्थे । मुनि–मुनि बगिरहेको पानी भने माथिबाट देखिन्न । तल थुक्लामा एकैपटक देखिन्छ, दूधकोशीको रूपमा ।

गोरकसेप पुग्यौं (५२०० मिटर) । टेलिकमको टावर नै रहेछ । पुमरी हिमालअघि उभिएर खिचेको एउटा तस्बिर फेसबुकमा चढाएर अंग्रेजीमा लेखिदिएँ, “म र पुमरी हिमाल । दुवै उभिएका छौं । अन्य स–साना बच्चा हिमालहरू हामीलाई हौस्याउँदै छन् ।”

गोरकसेपमा दुइटा संकेत चिन्ह थिए । एउटा खुम्बु हिमनदीको किनारै किनार आधारशिविर (५३९० मिटर) जान्थ्यो । अर्को ठाडै उक्लिएर कालापत्थर (५५५० मिटर) । पुमरी हिमालको काखैमा छ कालापत्थर । धान चुल्याएजस्तो काला ढुंगाहरूको थुप्रो । ठाडै उकालो चढ्नु पर्ने । हामी कालापत्थरतिर लाग्यौं । जीवनसंगीकोे फोन आयो, “हिउँको हावाले होला— कस्तो कालो देखिया छ फोटोमा ! … सगरमाथा त चाइनाको सिमानामा नै रहेछ । मैले नक्सा हेरें ।”

“हो नि ! सिमानामै छ सगरमाथा । धन्न टुप्पोचैं हाम्रोतिर परेछ । उस्तै दुष्ट छिमेकी भएको भए दाबी गरिसक्थ्यो उसको भनेर ।”

म फोनमा गफ गर्दै स्याँस्याँ भइसकेको थिएँ, उक्लिरहेको थिएँ । एउटा गाइड भाइले मेरो कुरा सुनिरहेको रहेछ । मेरो कुरा सकिएपछि भन्यो, “यता पनि छ नि दाइ सीमा विवाद । यो हिमाल छ नि !” उसले पुमरी र सगरमाथाबीचको एउटा हिमाल देखाउँदै भन्यो, “यो हाम्रो हो तर चाइनाले तिब्बत भन्छ । सबै विदेशीहरू पनि नेपालकै हुनुपर्छ भन्छन् ।”

हिमालका चिसा कुरा र हावाले मुटु हल्लाएर गए । ७२ वर्षीय एक पर्यटकलाई लिएर आएका रहेछन् ती गाइड । पर्यटक पाको जोश निकाल्दै कालापत्थर चढ्दै थिए ।
पौने १२ बजे म कालापत्थरको टाउकोमा पुगें । साथीहरू केही अघि नै पुगेका थिए । सगरमाथाको करिब आधा भाग देखियो । तल गहिरोमा आधार शिविर देखियो । साना हिमालहरूले घेरिएको छ सगरमाथा । खुम्बु हिमनदीमाथिबाट चढ्न शुरु गरिने रहेछ । कालापत्थर र आधार शिविरको बीचमा दुइटा स–साना ताल पनि देखिए । सहजै अनुमान लगाउन सकिन्छ— कालापत्थरबाट त सगरमाथा आधामात्र देखिन्छ । तल आधार शिविरबाट पक्कै टुप्पोमात्रै देखिन्छ । अब आधार शिविर जाने उत्सुकता बाँकी रहेन । अर्को कुरा— अन्नपूर्ण आधार शिविर जानेले जसरी सिंगो अन्नपूर्ण हिमाल देख्छन्, त्यसरी सगरमाथा देखिँदैन । नाम्चे बजारतिरबाट अलिकति भाग देखिएपछि एकैपटक गोरकसेप आइपुग्ने बेला थोरै देखिन्छ । तर, उताको अन्नपूर्णझैं यता पुमरीको भने काखैमा पुगिन्छ ।

हामी रमाउँदै खुशी हुँदै विभिन्न कोणबाट फोटो खिचिरहेका थियौं । हामी हाम्रो जीवनको उच्चतम भौगोलिक उचाइमा सगर्व उभिएका थियौं । सौन्दर्यको अद्भूत नमुनाले आँखाहरू अघाउन मानेकै थिएनन् । १२ः०५ मा हावाको जोडदार धक्काले हामीलाई ठेल्दै भन्यो, “जाऊ अब । भयो । यहाँ धेरैबेर बस्न हुन्न ।”

हामी नाकबाट सिँगान चुहाउँदै हतार–हतार ओर्लियौं । चिसोले कठ्यांग्रिएर छोइँदा पनि प्याट्ट फुट्लाजस्तो भएको नाक पुछ्ने हिम्मत भएन ।

9841446233

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *