तिमी माथि छौ धेरै माथि छौ


तिमी माथि छौ धेरै माथि छौ
धर्तीको माटो मुठ्ठीमा समाएर
हिड्नेहरूसँग हात मिलाउन
तिम्रो हैसियतले दिदैन
दिदै दिदैन
म त झन शिरमा नै माटो सजाएर हिडेको मान्छे ।

तिमी माथि छौ धेरै माथि छौ
तिमीलाई भोकमरीले जित्दैन
तिमीलाई गरिबीले जित्दैन
तिमीलाई घाम, झरी, कठ्याङ्गग्रीने
चिसोले पनि जित्दैन
तिम्रो योग्यतासँग कसैले जित्दैन
तिम्रो अहमत्याइँ !
तिमीलाई त मृत्युले पनि जित्दैन रे
जित्दै जित्दैन
म त झन हरेक रात, हरेक यात्रामा
मृत्युलाई काधमा बोकेर हिडेको मान्छे ।

तिमी माथि छौ धेरै माथि छौ
अकस्मात !
हातमा डाक्टर, इन्जिनिएर, हाकिम, लेक्चर
मन्त्री, महामन्त्रीका ठुला ठुला प्रमाणपत्रहरू
बोकेर, बोकेका मान्छेहरूसँग तिमी हिडिरहदा
बाटोमा तिम्रो र मेरो भेट हुनेछ
म खुसीका साथ
तिमीलाई अंगाल्न पुग्नेछु
र तिमीले भन्नेछौ यो खाते, पाखेलाई
म चिन्दिन
चिन्दै चिन्दिन ..
किनकि तिमी माथि छौ धेरै माथि छौ
त्यतिखेर तिमीले मलाई नचिने पनि
मलाई यही गर्व छ
वर्षौ देखी मेरो नङको कापमा
अडिरहेको मेरो माटोले मलाई स्पष्ट चिन्नेछ ।।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *