बहुविधामा हात बढाउँदै हिँडने – लेखबहादुर कार्की

20190106 NandaLalAcharya-LBK


बहुविधामा हात बढाउँदै हिँडने – लेखबहादुर कार्की
ज्ञानगुनमा खानी: साहित्यमा नानी

उदयपुर जिल्लाको कौवाई गाउँमा बसोबास गर्ने लेखबहादुर कार्कीका लागि कुनै तोकिएको पेशा छैन । उनी जन्मदै लेखक भएर जन्मे किनभने नाम नै लेखबहादुर रहन गयो । लेखेर जीविकोपार्जन गर्न सकेनन् । तसर्थ ठुलो ‘लेखक’ भनी चिनिन सकेनन् । आफ्नो सानो खेतबारी खोस्री हिँडे, कृषक हुन सकेनन् । छोरा–छोरी, नातिनातिना हुर्काएर बसे, गृहस्थ बन्न सकेनन् ।

जडीबुटी–ओखतीमुलो, झारफुक गदै हिँडे, वैद्य–डाक्टर भनी पुकारिन सकेनन् । एक समय गाउँगाउँ कविता, गीत र सवाई गाउँदै हिँडे तर अर्का गम्भीरबहादुर भनी चिनिन सकेनन् । ‘जीवन पुस्तिका’ र ‘देश हाँसेन’ दुई कविता कृति उदयपुरे साहित्य बजारमा ल्याए तर राममणि पोखरेल र पुन्य कार्कीजस्तो हुन सकेनन् । ‘पीपल….’ नामक लोकगीत लेखी सङ्गित बजारमा छरे तर कुशल लोकगीतकार हुन सकेनन् ।

राजनीतिमा लागेको धुलो झार्नुपर्छ भनेर राजनैतिक बेथितिको भण्डाफोर गर्दै रहे तर राजनीतिज्ञ भएर रहन सकेनन् । एक समय उदयपुर सिमेन्ट कारखानामा जागिर खाए तर जागिरे भएर रहन सकेनन् । अचेलका ठिटाठिटीले झै मोवाइल चलाउँदै र फेसबुक एकाउण्ट फेर्दै गर्छन् तर आजका युवा हुन सकेनन् ।

शृङ्गारिक कविता, गीत र गजलमा मोह राखी लेख्दै हिँड्छन्, गाउँदै हिँड्छन्, छटपटी र बेचनी आफ्नो लेखनीमा ल्याउँछन् तर शम्भुप्रसाद ढुङ्गेल पनि हुन भएनन् । र, मोतीराम भट्टको ठाउँमा पनि पुगेनन् । एकाध सामाजिक यथार्थवादी कथा–कुथुङ्ग्री लेखे तर साहित्यका रमेश विकलको विकल्पमा उभिन सकेनन् । सामाजिक आदर्शोन्मुख यथार्थलाई आफ्नो लेखनकर्ममा भित्र्याउने जमर्को गरे तैपनि कथामनिषी गुरुप्रसाद मैनाली कहलिन सकेनन् ।

मलाई लेखबहादुरका बारेमा यसो भन्ने र ठान्ने आँट र मन दिनका लागि विभिन्न समयका तलका संवादबाट पुष्टि हुन्छ भनेर हुवहुत उतार्न मनासिव लाग्यो ।

संवाद–१

नन्दु सर ! मुलाई त आश छ, उहाँ तपैँ सुखमै बसेका हौला । तहाँ शान र मानमा कमी नहोला । म त तिमीले त्यागेको त्रियुगा नदीधारमै माथि जाने दिन गन्दै बसेको छु । अचेल लामा भाइकाँ कम्पेटर चलाउन पनि सिकिर’को छु । कम्पेटरमा फिलिम बजाउन र फुटो हेर्न भने जान्दछु । जेठो छोराले एउटा चैनिज मुवाइल किन्देको छ । त्यस्मै लेख्न र बोलेर रिकर्ड गर्न समेत आफैँले सिक्तै छु ।

जोवानीमा त घरको काम गरिएन त्यो ता तिमीलाई पनि थाहै छ । अइले सात दशक उमेर खा’को बुढो कायाले मर्ने बेलामा के नै काम गर्नु र ? जानेको पनि छइन । मुवाइलमा कविता, गीद, गजल र लोकगीद लेखिबसेको छु । एकान्त भेट्यो कि हरदम नाना कुरा सम्जन्छु ।

दिनगन्ती गर्दा हामेर्को भेट नभा’को पनि दुई वर्ख लागेछ । यस बीचमा त्रियुगामा धेरै पानी बगेर गयो । मुइले पनि धामीझाँक्री गर्दै हिँड्ने काम कम गरेँ । अब मान्छेहेरू झारफुकको काममा कम चासो दिन्छन् कि क्या हो । मुलाई उत्तिसारो मान मनितो गर्न छाडे । विस्बास गर्न पनि छाडे । म झारफुक मात्रै होइन शेर्पा दाइले झैँ जडीबुटीको ओखती पनि दिन्थेँ । यो खानु र त्यो नखानु भनेर कहन्थेँ । बेरामी मान्छेलाई ठीकै भा’को थ्यो । तो ता तपैं पनि जान्दछौ ।

नन्दु सर ! मुइले भन्न चाहेकोकुरो सकिएको छइन । मुवाइलको चारजर सकिन आटो । पैले चारज लाउँछु । अनि खाट्टी कुरो वताम्ला है त ! बाई नन्दु सर !!!

×××

संवाद–२

नन्दु सर ! अस्ति पठा‘को मेसेज तपैंले पायौ होला । आज पनि लेख्न ता बसेँ तर लेखी सिद्धयाँउँला या नसिद्धयाउला भन्न चैं सक्तिनँ ।

सर ! बुडो मान्छेले साउण्ड मेसेज किन पठाको भनउला ! रमाइलो गर्नको लागि हो । मेरो आवाज कस्तो सुनिदो रच सुन्न पनि सक्छऊ । मेरो रिर्कडको त के कुरा मेरो मनको भावना पढ्न पनि सक्छऊ ।

कुरा गर्दा गर्दै अन्तै बहकिएँछु । हाम्रा गाउँमा पिलसिङ पकाउने मान्छे धेरै भए । मुइले ता चानस पाउँदै पाइनँ । यता २०५० साल्मा जहानंले छाडेर गई, उता दुई, चार बर्खमा जागिरले नै मुलाई छाडिदियो । जागिर जाँदा त मेरो पहिचोन नै हरायो । हातमा पैसा आउन छाडेसी सारै दुःख पाएँ ।

भोगेका दुःख–बेमारका कुरा समेटेर किताप पनि लेखेँ । नाउ चाहिँ अचम्मैकै राखेँछु । अहिले आ’र आर्को किताप पनि छपाको छु । नाम चै सुहाउँदिलै राखेको छु । के भने दुःखले पीडा दिन्छ । पीडाले आँसु निकाल्छ । आसुसँग मान्छे हाँस्न सक्तदैन । यस्तै कुरो समेटेर नाउ राखेको छु ।

पल्ला घरका सुबेडी बाजे भन्न थाले, “बुडा ! तिमी कविता, गीदहरू लेख्दा रै’छौ । आफ्नो दुःख हइन, देशको दुःख लेख । हाम्रो दुःख लेख । हामेरू कसरी हाँस्नू ? उपाय बता’र र बाटो देखा’र लेख । अनि तिमी अमर हुने छौ ।”

मुलाई उनको कुरो मुन परो । र, सोच्दा–सोच्दा गरेर नाम जुराउन पुगेँ । रोएको देश कसरी हाँसोस् र ! देश नहाँसेको कुरा लेखेँ । बेथिति मौलार जगतै ढाकिस’को भनेर लेखेँ । थुनामा मान्छेले ज्वाईजस्तो पोसिएर हैन कमारोजस्तो जोतिएर देशको ऋण तिर्नुपर्छ भनेर लेखेँ ।

मुख्ये कुरा नबताईकनै मोबिलको दम रोकिन लागेको सूचना आयो । चारज भएपछि एकछिन फेसबुकाँमा टाइम टाइम तपैंसँग बात मारौँला है सर ! बाई !!!

×××

संवाद–३

नन्दु सर ! म त फेरि आएँ । फेसबुकाँमा १५ मिनेट समए बिताएँ । यो एनसेलले पैसा सपै काटो । नचलाईकन चित्त बुझ्दैन । चलाउनसाथ पैसा भुर्कुट पार्छ । अज यसले सरखारलाई तिरो बुझाएन भनेको सुन्छु । हामेरूबाट ग्वाम्म असुल्छ । तिरो तिर्न किन कन्जुस्याइँ गर्छ ? धनीमानीको सरखार ठग्ने चलन देख्दा छक्क पर्छु । अज सरखार पनि धनीमानीकै पछि लाग्छ । लाजमर्दो कुरो ! नियमकानूनले काम गर्नुपर्ने ! किन डराउँछ कुन्नि ?

कुरा के भने नि सर जहानले मुलाई छाड्दा छोराछोरी बालखै थे । उदर्को हेरविचार गर्दा म कत्ति रोएँ, चाँडै छाडेर गई भनेर तँलाई कत्ति सरापेँ, हिसाप छइन । पछि सपैले आ–आफ्नो लगनी गरे । छोरीहरू ज्वाइँसँग गए । छोराहरू बुहारीसँग मिले । कोही विदेश पसे, कोही भने काठमाडु भासिए । म नाति र नातिनीसँग यही गाममा बस्थेँ । दुःखको कुरो– एगार बर्खको नाति केटोलाई दुई मैना अघि ढुङ्गा बोक्ने ट्रिपरले किचेर मारिदियो ।

हामीहेरूले हेलीकेप्टर बोला’र बेलैमा अस्पताल पुरा’को भए तै बाँच्थ्यो कि ? क्या जाति भन्छन् कुन्नि, यताको गामघर पनि कम्लेष्ट र काङग्रेच भ‘को छ । पीरमर्कामा सहयोग गर्न पनि दिक्क मान्छन् । परेको बेलाँ पनि आफ्नु पार्टी खोज्छन् । राष्ट्रेले त दुःख पा’को छ । अम्रिकाको राष्टेपति बरू हामी गरिप जन्ताजस्ता छन् । तर गामकै नेता राष्ट्रेपतिजस्ता छन् ।

माउवादीको नेता भा’को हर्कमानलाई हुटेलमा चिये पिउँदै गरेको देखेथेँ । जुठो बार्दा अलिनो खा’को मान्छे बोल्ने ताकतै थिएन । केही सरसल्लाहा दिन्थे कि ? पछि कुरा गरौँला भनेर परबाटै घुरेँ । त्यै नातिनीले गाईको दुद हालेको मीठो चिये बना’र दिई । सधैँ दे है नानी भनेको त उसले भनी, “हजुर्बा ! छोरीको जात काँ सधैँ पाउँछु र ! कइले काँ जानुपर्ने हो, के ठेकान ?”

नन्दु सर ! उसको उत्तरापत्ताराले म त भुतुक्क भएँ । सहयोग गर्ने नाति दैवको पियारो भो । पकाईतुल्याई खुवाउने नातिनीले पनि छाडेर अर्काको घर गए पछि म एक्लै पर्ने भएँ । त्यसैले बाँकी जीवन बाँच्नका लागि तपैँसँग सल्लाहा माग्न खोजेको हुँ ।

अचेल फेसबुकाँमा मेरा लोगगीद, गजलहरू पडेर ठिटाठिटी मान्छहेरू मत्रै मसँग झुम्मिन्छन् । ती मध्ये कोईकोही मान्छे मसँग केके जाति भन्चन् । बुडेसकालमा नदुखेको टाउको किन दुखा म भन्चु । धर नपाउने भइयो । अब म क्या गरू म ?

मेरो विवशता बुजेर राम्रो सल्लाहा दिनुस् है सर ! बस्, आजलाई चैं यत्ति नै !!!

×××

माथिका कुराले लेखबहादुर आधुनिक युगका अनुभवी मान्छेृ हुन् भन्ने सावित हुन्छ । उनीसँग अनुभवको खानी छ । धेरै कामकुरामा हात बढाएका छन् । सफलता पाउनु नपाउनु अर्को कुरा हो तर कर्मठ जीवन भने बनाएका छन् ।

साहित्यका दृष्टिले हेर्दा उनलाई साहित्य व्याकरणका कुरा केही पनि याद छैनन् । उनी अरूलाई पढ्छन् र आफूलाई खार्छन् । उनी युवा पिँढीका लागि अनुकरणीय पात्र हुन् । उनीबाट सक्रिय जीवन जिउन हौसला मिल्छ । उनबाट अनुशासन र मर्यादा सिक्न सकिन्छ । राष्ट्रप्रेम र समाज सुधारको चेतनाले विभुषित हुन सकिन्छ ।

जे जति भनिए पनि जीवन–अनुभवमा भने खानी छन् । अँझ भनौँ कच्चै छन् । साँच्चै उनी साहित्यमा त बच्चै छन् । खानीबाट साहित्य जन्माउने विधिविधान र भाषिक परिष्कारमा शिखरपुरुषबाट मद्दत मिल्न सके उनबाट सदाबहार साहित्य जन्मन सक्छ किनभने त्यस्तो साहित्य उनीभित्रै छभन्दा अतिशयोक्त्रि नहोला ।

–नन्दलाल आचार्य
बेलका–२, गल्फडिया, उदयपुर ।
मो. नं. ९८४२८२९२०६

(लेख लेख्दा प्राप्त जानकारी र कथ्य भाषालाई हुबहु लिपिबद्ध गरेको छु । गाउँघरका अनपढ हैन कमपढ बुढापाका मान्छेले बोल्ने भाषालाई दुरुस्तै उतार्दा नेपाली वर्णविन्यासको नियम उलङ्घन भएको छ । यथार्थपन भित्र्याउँदा जानजान यसो हुन गएको हो । –नन्दलाल आचार्य)

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *