साहित्य लेख्ने अनि पढाउने मानिस भएकोले नेपालको राजनीतिक डढेलोभित्र पनि मुना र पात खोज्दै हिँड्ने प्रवृत्ति मेरो पनि रहेछ । म डढेलोपछिको समयमा पनि पातहरूको कल्पना गर्छु । लहलह जङ्गलको चिन्ता गर्छु । सपना देख्ने सबैको अधिकार छ । अनि निकै महिनादेखि साहित्यकार, कलाकार र रङ्गमञ्चकर्मीले केही खोजिरहेको देखेँ । उनीहरूले सबैभन्दा धेरै खोजेको कुरा स्थान ‘स्पेस’ रहेछ । समय परिवर्तन भयो । त्यसभित्र साहित्यकार, कलाकारले स्पेस खोज्नैपर्छ, मनमनै भन्छु । उनीहरूले स्पेसको नाउँमा रूपकहरूका खोजी गरेका छन् । एउटा परिचित रूपक एकेडेमी वा प्रज्ञा-प्रतिष्ठान रहेछ । हिजो पनि थियो, आज पनि रहेछ र भोलि पनि हुनेछ । यो एकेडेमी भन्ने वस्तु महेन्द्रले सोचेर चौध सालमा सुरु गरेका थिए । यसको संरचनाकै धारणा परिवर्तन नहुने देखेर एक निरञ्जन, निर्विकार र शाश्वत रचना पो गरेछन् यो त भन्ने लागेर झस्किन्छु ।

एउटा अविकसित तर संस्कृतिले धनी देशमा संस्था चाहिन्छ । अहिलेको गणतन्त्र नेपालमा त नचाहिने कुरै भएन । त्यो एकेडेमी नामधारी स्पेसलाई अहिलेको सरकारका संस्कृतिमन्त्रीले पनि स्पेसकै रूपमा प्रयोग गरे । मित्रहरू राख्ने स्पेस । त्यसको विरोध गर्ने मित्रहरूले पनि त्यो बाहेक अर्को स्पेसको खोजी गरेनन् कि भन्ने मलाई लाग्छ । तर साहित्यकार हामी स्पेसका खोजी आफ्नै ढङ्गले गर्छौँ । स्पेसको खोजी गर्दै हामी किताबभित्र पस्छौँ । भेला भएर आ-आफ्ना कविता र गजल सुनाएर धन्य हुन्छौँ । आ-आफ्ना रचना राखेर ठूला किताब बनाएर खुसी भएर एकअर्कालाई धन्य-धन्य भन्दै त्यसभित्र स्पेस लिन्छौँ । मलाई त यो सबै बेस लाग्छ । तर बुझ्नुपर्ने कुरा अर्को पनि रहेछ । हाम्राजस्ता मुलुकमा राज्यले बनाइदिएका प्रतिष्ठानहरू शासक र तिनका दलका हैकमबाट मुक्त हुन सक्तैनन् । सिर्जनामा लागेका साहित्यकार, कलाकार र प्रदर्शनकारी कलाकारले आफ्ना कलाको शक्ति देखाउनुपर्छ । अलग धारका स्पेस-रचना गर्नुपर्छ, ‘सेलुलर स्पेस’ हुन् ती ।

यस वर्षको २७ मार्चको विश्व रङ्गमञ्च दिवस यसपालि नेपाल आईटीआईले ८९ वर्षका नाटककार र संस्कृतिविद सत्यमोहन जोशीको पाटनको घर-आँगनमा मनायो । मैले त्यसबेला भनेका एकाध कुरा स्पेसकै विषयमा थिए । मैले भने- आजकाल हामी साहित्यकार र कलाकारहरू स्पेसको खोजी गर्दै हिँडेका छौँ । राजनीतिका यतातिर धेरै नजानेका मानिसकहाँ गएर हामीले भनेछौँ- तिमीजति सौन्दर्यका कुरा जान्ने अरू कोही रहेनछन्, यो मुलुकमा । म अकिञ्चनलाई पनि मिल्ने संस्थामा राखेर तिम्रा महान चेतनालाई साकार गर्ने मौका देऊ, हे गोबर्धनधारी । गोबर्धनधारी भनेको ‘गोबररूपी धन’ बोक्ने पनि हुनसक्छ । देशको मलजल र विकासको जिम्मा लिनेहरू गोबरधनधारी हुनसक्छन् । म त्यही रूपमा तिनको सम्मान गर्छु । यो ठाउँमा यी सत्यमोहन दाइले ७५ वर्ष संस्कृतिको साधना गरे । यो ठाउँको नजिकै प्रदर्शन गर्ने अत्यन्त सुन्दर काठ र धातु अनि पत्थरशिलाले निर्मित स्पेसहरू छन् । हामी त्यहाँ अहिले पनि नाटक र नाच गर्छौँ । हामी एउटा महान स्पेसको बीचमा बसेर बोलिरहेका छौँ, यो ठाउँबाट ।

मलाई केही समयदेखि हल्लाउने अर्को कुरा इतिहास र यस्ाको आरम्भ अनि अन्त्यको कल्पना हो- मानिसले गरेको मानिसको शोषण, हत्या र यातना । आजसम्मको अध्ययनले देखाएको कुराले म तिर्मिराउँछु । पच्चीस वर्षदेखिको इतिहास हेर्दा सम्पूर्ण भूकम्प, आँधी, छाल अनि प्राकृतिक प्रकोपले मारेका मानिसको सम्पूर्ण संख्याभन्दा दोब्बर मानिस राज्य र सरकारले मारेका छन् । राजनीतिक दलहरूले मारेका छन् । यदि मार्नु नै अभीष्ट हो भने राजनीति किन चाहियो ? एक गाँस र बास आफैंले जोडेर युगौँ खाइरहेको ठाउँमा पनि राज्य र राजनीतिक शक्ति हतियार लिएर बिथोल्न आइपुग्छन् भने राज्य र सरकार किन चाहियो ? आकाश हेरेर जमिनसँग संवाद गर्दै उधिनेर वीउ हाल्दै महाकवि देवकोटाका श ब्दमा ‘बिनु-बिनु बारी वीउ सजाउने’ काम गरिरहेका गरिब किसानलाई तानेर अलिक पर लगेर गोली हानेर मारिदिने राज्य र राज्यका दाबी हुन्छन् भने ती किन चाहिए ? मलाई एउटा घटनाले केही सम्झना गराएको छ । सन्दर्भ यसकै हो ।

अपि्रल १९७५ मा शक्ति लिएपछि तीन वर्षसम्म्ा खमेररूजले बीस लाख नरनारीलाई कल्पनासम्म गर्न नसकिने गरी हत्या गरे । कम्बोडियाको राजधानी न्होमपेनको तुओलसेङ नरहत्या म्युजियममा हजारौँ नरनारीलाई अकल्पनीय पीडा दिएर मारिएको इतिहास अहिले पीडाको स्वरमा बोल्छ । अगस्त २००८ मा म त्यही विषयको सम्मेलनमा न्होमपेन जाँदा त्यो एक अकिञ्चन पाठशाला विश्वको सबभन्दा प्रसिद्ध यातना शिविरमा परिणत भएको हेर्न गएको थिएँ । हाम्रा साधारण पाठशालाजस्तै रहेछ, त्यो घर । वरिपरि घर बीचमा आँगन भएको जनताको पाठशाला । मैले पढेको स्कुलजस्तै । त्यस पाठशालालाई कसरी अकल्पनीय यातना शिविर बनाइएछ, इतिहास बोल्छ । विद्यार्थीले चलाएका कुनाकानी अनि तिनले खेलेका ठाउँहरू मेटिएका छैनन् । यसो भकुन्डो खेलेका कुनामा तिनका पोलहरू त्यो क्रूर इतिहासभन्दा पहिलेको शान्त समयका जीवन्त प्रतीक छन् । आखिर जति यातना दिए पनि, जति स्वतन्त्रता कुल्चे पनि मानिस फेरि जुरुक्क उठ्ने रहेछन् । म एक कुनामा पुगेपछि मुच्छिर्त हुनुबाट भित्ता समातेर बँचेको थिएँ, त्यो छब्बीस अगस्तको बिहान । त्यसमा बालबालिकाको हत्या भएको कथा पढेपछि र तिनका अबोध डराएका चित्र देखेपछि मलाई गाह्रो परेको थियो । तिनलाई पिटेर यातना दिएपछि ती रुन्थे । ती रोएको बाहिर थाहा नहोस् भनेर रूखमा चढेर खमेररुजहरू चिच्याउँथे । पढेँ । मैले ती क्रन्दन वृक्षको विषयमा र त्यस हत्याबाट बँचेका एकजना वाणनाथ भन्ने कलाकारको विषयमा लामा लेखहरू छापेको छु । दोहोर्‍याउँदिन । केही दिनअघि अपि्रल दुईको दिन एउटा जीउ अलि कुप्रेको, राम्रा लुगा लगाएको इएङ सारी नामको अलिक वृद्ध मानिसलाई न्होमपेनको असाधारण अदालतमा ल्याएको टीभीहरूमा देखेँ । त्यो मानिस त्यो तुओलसेङ नरहत्या गरेको स्कुलको मूल नाइके थियो । ऊ माफी माग्दै थियो । एक कल्पनाशील लेखक म । राजनीति र इतिहासलाई मानिसको मुक्ति निरपेक्ष मान्न सक्तिन । मानिसको यातना कुनै पनि इतिहासको बहानामा नैतिक र मान्य हुन सक्तैन भन्ने मलाई लाग्छ । प्रकृतिमाथिको हिंसा मानिसमाथिको हिंसासँग जोडिएको छ । इतिहासका एकाध कुरा गर्न चाहन्छु ।

अमेरिकी फ्रान्सिस फुकुयामाले इतिहास सकियो, अब नयाँ मानिसको जन्म हुन्छ भनेको कुराको खुबै चर्चा भएको बेलाको कुरा हो । मलाई कम्बोडियाको नरसंहारको कथाले धेरै विचलित बनाएको थियो । देखेको त पोहोरमात्रै हो । म इतिहासलाई खण्ड-खण्ड गरेर हेर्न सकिने रहेछ क्यार भन्ने विचार गर्थेँ । मलाई एक जर्मन दार्शनिक र कार्लमाक्र्सका गुरु हेगेलको दर्शनले बुझेसम्म निकै हल्लाएको थियो । तर मलाई फुकुयामाले भनेको कुरा बढी परिचितजस्तो लाग्थ्यो, किनभने फुकुयामा र मेरी आमाको युग-चिन्ता उस्तै थिए । आमाले मलाई सानो छँदैदेखि भन्नुभएको कुरा सजिलो छ । समय भनेको युग हो । ती हरेक युगमा एउटा ठूलो अवतार हुन्छ । अनि युग भनेको सत्य, त्रेता, द्वापर, कली भनेर चिरा पार्न सकिन्छ, आमाले भन्नुभयो । त्यति भनेर काँक्राका चिरा मलाई अगाडि राखिदिएर आमा उता जानुभएपछि मैले समयलाई काँक्राको चिराजस्तै बुझेँ । आमा निकै वृद्ध भएर एउटा समयको अवसान देखाएर जानुभएको पनि एक दसक भइसके । तर अहिले पनि म घरिघरि झसङ्ग हुन्छु ।

पछिल्लो पुँजीको युग कलियुगको पराकाष्ठा हो, आमाकै भाषामा बुझ्छु । अनि विश्व आर्थिक मन्दीको प्रलय पर्खिरहेछ । नजिकै छ । अनि कोही अवतार लिने बेला भयो त अब ? बिहान घुम्न निस्कँदा आमासँग गहुँबारीको हावामा प्रश्न गर्छु । उत्तर आउँदैन । कविता लेख्न मन लाग्छ । उत्तरवर्ती सिद्धान्त -पोस्ट-थ्योरी) हरू पढ्छु । आधुनिक, उत्तरआधुनिक आदि विचारका कुरा दोहोरिइरहन्छन् ।

मैले भन्न खोजेको कुरा यस्तो छ । आमाले भन्नुभएअनुसार, अहिलेको युगमा कसैको अवतार हुन्छ । तर अहिले एउटा विचार र एउटा सपनाले संसार हाँक्न सकिने सम्भावना छैनन् । अस्ति २ अपि्रलमा लन्डनमा विश्वका धनी तर अहिले पिनास भएका राष्ट्रहरूका टाउकेको सम्मेलन भयो । बेलायतका प्रधानमन्त्री, पहिलेका अर्थमन्त्री गोर्डन ब्राउनका ओँठ सुके । अमेरिकाका अश्वेत राष्ट्रपति बाराक ओबामा आएर केही गर्देलान् कि भनेर आशामा झुन्डेका थिए ती । साना काँटीका, हाम्रो तेह्रथुम साबलाका खत्री साइँलासँग काटिकुटी अनुहार र जीउडाल मिल्ने प|mान्सका राष्ट्रपति साक्खुजी चम्किएर म अब त्यसै घर जान्छु भनेर घुर्की लाउँदै थिए । तर ती भन्दै थिए- मलाई बाराक ओबामामाथि निकै विश्वास छ, हेरुँ । आखिर तिनीहरूले केही न केही उपाय निकाले । दस खर्ब डलर विश्व बैङ्कलाई ऋण दिने, राज्य-राज्यलाई नियमहरूमा बाँध्ने, नभए तिनलाई ठीक पार्ने आदि कुरामा सहमत भए ती । अहिले भन्दैछन्- बाराक ओबामाले गर्दा निकै ठूलो सङ्कटबाट बँचियो । म झसङ्ग भएँ । यी गहुँगोरा युवा मानिस । यिनको उत्थान तारानाथ दाइको पातालबाट भयो । के यिनै आमाले भनेका कल्की अवतार हुन् त ? तर तुरुन्तै मेरो आलोचक मनले भन्छ । होइन, यी पछिल्लो पुँजीवादी सङ्कटमोचनका अवतार हुन् । मानिसहरूका दुःख हाम्राजस्ता मुलुकहरूमा छँदैछन् । हामी शोषण र गरिबीले पीडित नरनारीका भाग्य उस्तै छन् । फुकुयामा र आमाले भन्नुभएको समय-चिरा सायद मिल्दैन ।

देवता र असुरले समुद्र मन्थन गर्दा निस्केको हलाहल विष पारमाणविक शक्तिजस्तै थियो । त्यसको आतङ्कबाट विश्व बचाउन महादेवले त्यसलाई पान गरिदिए । तिनको घाँटीमा गएर त्यो विष अड्कियो । तर उनले त्यसलाई निलेरै छाडे । तर महादेवको घाँटी जलेर नीलो भयो । अनि उनको नाम नीलकण्ठ भयो, आमा भन्दै जानुभयो । संसारमा शोषण र पीडाका कथा इतिहासका घाँटीमा निकैबेर अड्केर झरेका हलाहल विषजस्तै छन् । ती इतिहासको घाँटी नीलो पारेर झरेका समयका आतङ्क हुन् भन्ने लाग्छ मलाई ।

हामी कहाँ छौँ त ? प्रश्न गर्छु । हामीलाई स्पेस खोज्ने चिन्ता र रहर छ । स्पेस खोज्नेहरू इतिहास भत्केको र सुरु भएको घोषणा गर्छन् । नेपालमा अहिले हामी समय चिरा परेको देख्त्ौछौँ । सिर्जनशील मानिसहरूको सबैभन्दा ठूलो शक्ति स्वतन्त्र मन हो । मानिसप्रति अनि प्रकृतिप्रतिको ठूलो अनुकम्पा हो । निर्भीक भएर खुला मनले लाग्नुपर्छ । यस्तै विचार र कुरा गर्दै हामी सत्यमोहन दाइको पाटन दरबार स्क्वायरको महान स्पेसमा निस्क्यौँ । हामी पुग्दा अनन्त परेवाका हुल हुर्र भुइँ छाडेर उठे अनि पुराना छाना, कुँदिएका पत्थरशिला र खुड्किलाहरूमा बसे । इतिहास, स्पेस र मानिसको मुक्तिका चिन्ताका कुरा गर्दै नाटयकर्मी भाइबहिनीसँग परेवाहरूले आधी ढाकेको घाममुनि हिँड्दा म मुक्त र बलियो भएको थिएँ, त्यो दिन ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *