मातृभाषालाई अब कसले जोगाउँछ ?


‘मलाई मेरो भाषा जानेर के फाइदा ? मैले जागिर पाउँछु र ?’ एक जना घनिष्ट मित्रले कुरैकुरामा भन्नुभयो । मैले भनेँ अब तपाईँले बोल्ने भाषालाई मैले बोल्न कोसिस गरौँ भने मलाई वर्षौँ सिकेर पनि तपाईँको जति ज्ञान हुन सक्दैन । उहाँले आफ्नो भाषा जोगाउनुको अर्थलाई मात्र गाँस, बास र कपासको सन्दर्भमा लगेर जोड्नुभयो । उहाँ दोषी हुनुभयो भनौँ भने बाध्यतामा राष्ट्रियता र स्वाभिमान खोक्रो हुँदो रहेछ । मलाई याद छ, शिक्षित वर्गका एक जना मित्रले भन्नुभएको थियो, “आमाबाबाले बोर्डिङ पढाउनुभयो । घरमा आफूहरू मात्र गुरुङ भाषामा बोल्नुहुन्छ । मसँग बोल्दा नेपालीमा कुरा गर्नुहुन्छ । स्कुलमा अङ्ग्रेजी पढियो । त्यहाँ नेपाली बोले बापत फाइन तिरियो । घरमा आयो ‘गुरुङ भाषा सिकेर तेरो के काम छ र !’ भन्ने जवाफ पाइयो । म अहिले न अङ्ग्रेजी राम्ररी जान्दछु । न नेपाली शुद्ध छ । न त आफ्नो मातृभाषा जान्दछु ।”

नेपालमा भारोपेली, भोटबर्मेली, आग्नेय र द्रविड परिवारमा भाषा बोलिन्छन् । त्यसमा पनि नेपालमा लोपोन्मुख अवस्थामा घिटिघिटि भएको कुसुन्डा भाषाका २८ जना वक्ता भएको २०६८ को जनगणनाले देखाए पनि हालसम्मा चार–पाँच जना मात्र वक्ता रहेको बुझिन्छ । सन् २००९मा एथ्नोलले संसारमा ६,९०९ भाषाहरू रहेको तथ्यलाई पस्केको छ । माचर र वेन्डे (सन् १९९९)ले प्रत्येक दुई हप्तामा विश्वबाट एउटा भाषाको अस्तित्व लोप हुने तर्क अघि सारेका छन् । यसको अर्थ भाषासँगै अलिखित साहित्य भित्रको जातीय गौरव, परम्परा, अस्तित्व र सांस्कृतिक गौरवको लोप हुने भय बढ्नु पनि हो ।

हाम्रो संविधानले बहुभाषिक हक र अधिकारलाई सुनिश्चित गरेको छ । मातृभाषामा शिक्षा लिन पाउने हकलाई सुनिश्चित गरेको छ । “गुरुङ भाषा सिकेर मैले जागिर पाउँदिन, बरु त्यो कोरियन भाषा सिके महिनाको लाख जति कमाइ गर्न सकिन्छ ।” अभाव र आवश्यकताले मानिसको जीवन आक्रान्त छ । वास्तवमा भावनाले पेटको भोक मेटिँदैन रहेछ । चाहेर पनि आजको विश्वव्यापीकृत संसार साँघुरिएको प्रतिस्पर्धामा मातृभाषा सिक्नुपर्ने कुरा गफ, कानून र चर्चामा गएर थुरिएको अनुभूत हुन्छ । अर्कातिर हामीलाई अङ्ग्रेजी अन्तर्राष्ट्रिय भाषा भएकाले जान्नै पर्ने बाध्यता छ । नेपाली भाषा साझा सम्पर्कको भाषा भए पनि आज यसमा अङ्ग्रेजी मिश्रणको व्यापकताले कुरूप बनाइरहिएको छ । सञ्चार माध्यम, विज्ञापन, सामाजिक सञ्जालमा नेपाली भाषा संरक्षणको विषय चुनौती बन्दै छ । पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मको नातो गाँस्ने सम्प्रेष्य आधार ४४.६३ प्रतिशतका वक्ताले बोल्ने गरेको नेपाली भाषालाई यसरी नै सङ्कटमा हालिरहँदा अन्य नेपालमा १२२ बढी भाषालाई जोगाउन हाम्रो देश, नेपाली जनता र व्यावहारिकताका पाटा सबल छन् त ! भाषालाई जबर्जस्ती जोगाऊँ भन्ने विषय होइन तर नेपालका मातृभाषा जोगाउने विषय साँच्चै मर्ने बेलामा हरियो काँक्रो भने जस्तै नबन्ला भन्न सकिन्न ।

नेपाली नागरिक भएर नेपालमा नेपाली विषय पढेँ तर मेरो प्रमाणपत्रमा एउटा पनि वर्ण नेपालीको छैन । हाम्रो मनोविज्ञानभित्र भाषाको मर्म कमाइ खाने र विदेशिने चक्कर मात्र भन्ने छ । आजका अभिभावक भन्नुहुन्छ, “अङ्ग्रेजी पढे विदेशमा काम पाइन्छ । नेपाली नजाने पनि कमसेकम मेरो नानी÷बाबुलाई अङ्ग्रेजीमा राम्ररी बोल्न र लेख्न सिकाइदिनुहोस् ।” आफ्ना सहकर्मीसँग गफिएर मेरो बेवास्ता गरिरहेका एकजना कर्मचारीलाई मैले अनुरोध गरेँ, कृपया मलाई अलिकति हतार छ, मेरो काम गरिदिनुहुन्थ्यो कि ! उहाँले झर्केर भन्नुभयो, ‘अबियस्ली, म हल्का बिजि छु, प्लिज तपाईँ भोलि मर्निङ अर्थात् फस्ट आवरमै आउनुस् न !’ म अवाक भएँ तर मलाई स्वदेशको गौरवमा पीडाबोध भयो । आजभोलि चर्चित सञ्चार माध्यममा समेत् नेपाली शब्दलाई भाडामा समेत लिन नसकेर अङ्ग्रेजीका शब्दलाई जबर्जस्ती घुसाएर बडप्पनको ढोङ गरिएका छरपस्टै भेटिन्छन् । नेपालले वर्तमान सन्दर्भमा हेर्दा शिक्षामा बहुभाषिक नीति अँगालेको भए पनि मूलतः अङ्ग्रेजी र नेपाली भाषा नै चर्चामा छन् । आज अङ्ग्रेजी सिकाउनुपर्छ भन्ने मानसिकता जागृत भइरहँदा नेपाली भाषा र मातृभाषाप्रतिको झुकावमा कालो बादल लागेको अनुभूत हुन्छ । तीन महिना भाषा सिकेर बोल्न सक्ने भइन्छ भने हामीमा धेरैभन्दा धेरै भाषा सिक्ने खुबी त हुन्छ । लक्ष्य, परिश्रम र निरन्तरताले बहुभाषिक व्यक्तित्व निर्माण गर्न सक्ने हामीले आज आफ्नै मातृभाषालाई किन गलहत्याइरहेका छौँ !

संविधानको धारा २८७ बमोजिम २०७३ भदौ २३मा नेपाल सरकारले संवैधानिक कार्यादेश अनुसार भाषा आयोगको गठन गरेको छ । आयोगले आफ्नो वार्षिक प्रतिवेदन २०७४मा पाँच वर्षे रणनीतिक मार्गचित्रलाई पस्केको छ । ंनेपालका सबै भाषाको व्यवस्थित अध्ययन, संरक्षण र संवर्धनका लागि भाषा आयोग लागि परिरहेको छ । लोपोन्मुख भाषाको संरक्षण, संवर्धन र विकासका पाटामा आयोग चिन्तित छ । यद्यपि समाज मनोविज्ञान र सरकारको नीतिगत सहयोगका कोणका पक्षमा आयोग एक्लो होइन र ? के नेपालले आफ्नो देशका कार्यलाई आफ्नै देशको माध्यम भाषामासम्म पनि सम्पन्न गर्न सक्दैन ? आयोगले सरकारी कामकाजको भाषाका सम्बन्धमा प्रतिवेदनको परिच्छेद ६मा गरेको सिफारिसको विषय साँच्चै पेचिलो लाग्छ– आयोगले सरकारी कार्यालयमा अभिलेख राख्दा, शैक्षिक वा अन्य प्रमाणपत्र तयार गर्दा, पत्राचार गर्दा, पत्रमा कार्यालयको नाम र विवरण उल्लेख गर्दा वा छाप प्रयोग गर्दा कार्यालयहरूको नामाकरण गर्दा, औपचारिक समारोहमा सम्बोधन गर्दा, यातायातका साधन वा सार्वजनिक सरोकारका विषयमा भाषाको प्रयोग गर्दा, सार्वजनिक सूचना वा विज्ञापन गर्दा, सञ्चार माध्यममा, मुलुकभित्र वा बाहिर सम्बोधनमा नेपाली भाषाको प्रयोगलाई अनिवार्य गर्नुपर्ने संविधानसम्मत नीतिको तर्जुमा गर्ने सुझावलाई पस्केको छ ।

अब मातृभाषाको पाठ्यक्रमलाई पढाउनुपर्छ । हाम्रा भाषालाई जोगाउनुपर्छ नि । जवाफ आयो, “तामाङ भाषा त हामी नै घरमा सिकाइहाल्छौँ नि । तपाईहरू विद्यालयमा अङ्ग्रेजी पढाउनुहोस् न ।” आज आफ्नै गरिमा र पहिचान बोक्ने भाषा, संस्कृति र सकारात्मक परम्परालाई समेत तिलाञ्जली दिएका हामीले कलिला सन्तानलाई विदेशको भूत चढाएका छौँ । बालमस्तिष्कमा अङ्ग्रेजी भाषा सिके विदेश पलायन हुन सहज बन्ने सङ्कुचनलाई भरेका छौँ । अङ्ग्रेजी मोहको अन्धो भक्तिको भूत चढेपछि महङ्गा स्कुलमा भर्ना गर्नु र अङ्ग्रेजीमा बोल्नु नै सबै थोक हो भन्ने ठान्दै नेपाली भाषा सहायक आवश्यकतामा र मातृभाषा त गौण आवश्यकतामा पर्न पुग्दा रहेछन् । आजको युगमा घमण्ड, इज्जत, बडप्पनको मनोदशाले झापड हानिरहँदा समाजमा शिक्षाभित्रको वर्गीयता र खोक्रो आडम्बर जन्मिरहँदो रहेछ । अङ्ग्रेजी सिक्नुमा खराबी अवश्य होइन तर आफैँलाई बिर्सेर समर्पित बन्ने अन्धोपना चाहिँ खराब हो । अङ्ग्रेजी भाषा हरेक विषयवस्तुको गहन अध्ययन, शोध अध्ययन, प्राज्ञिक बौद्धिक विकास, अन्तर्राष्ट्रिय सहसम्बन्ध, भौतिक वैज्ञानिक विकास मात्रै होइन विश्वव्यापीकृत बन्ने कुरासम्ममा उपयोगी र आवश्यक छ । तर, हामीले मातृभूमिमा सङ्घर्ष गर्ने, नेपाल आमाको माटाको ऋण घटाउने सपना तुन्न सक्ने आधार नदेख्दा आफ्नै देशमा केही गर्नुपर्छ भन्ने विषय नै विलय बन्दो रहेछ । हो, देश यी विषयमा जिम्मेवार हुनुपर्छ तर पर्यटन विकास गर्ने, यहाँका स्रोतसँग सहकार्य गर्दै आत्मनिर्भर बन्ने सपना देखाउनै जानेनौँ ।

जसका छोराछोरी या आफन्त विदेशमा छन्, रातोदिन संस्कृति, समाज, आफन्त नभनेर डलर कमाउने ध्याउन्न हुन्छ तिनले स्वदेशमै रहँदा पनि नाक फुलाउँछन् । बिरामी पर्दा पानी तताएर दिने मान्छे नहुनेले यहाँ गफ लगाउँछन्, अमेरिका, अस्ट्रेलियाका परिवारको आडम्बरमा सामान्य वर्गलाई निम्जो मान्छन् । ग्रिन कार्ड लिने, उतै संसार बसाउने सोचमा लहसिएर स्वाभिमान कुल्चिने संस्कारलाई पक्षपोषण गर्न समाजमा मातृभाषाको संरक्षण, स्वाभिमानका कुरा परजीवीतन्त्रको जालोमा फसिरहन्छन् । विदेशका पीडा मात्र होइन आफ्ना संस्कृति, परम्परा, आफन्त, नेपाली मौलिकतालाई छोडेर अर्कैको संसारमा रम्ने प्रवृत्तिमा लिप्त मानसिकतामा मातृभाषाको दोहन भइरहेको छ । ताना शर्माको “पातालमा बिलाउने रोग” र “बेलायततिर बरालिँदा” निबन्धले घच्घच्याउँछ । हरेक भाषालाई बाँच्न र प्रसारित हुन वर्ण, लिपि, व्याकरण, शब्दकोश, साहित्य, वाङ्मय विकास तथा प्रसारित र स्वीकरण गर्ने राज्यनीतिको खाँचो पर्छ । एउटा भाषाको वर्ण र लिपि तयार पारेर त्यसलाई जीवन्त बनाउने महान् र वैज्ञानिक कार्य कुनै केटाकेटीको भाँडाकुटी खेल त होइन । २०६८ को जनगणनामा पेस गरिएको तथ्याङ्कलाई हेर्दा नेपालका १२३ भाषामध्ये १३ वटा भाषामा मात्र १ प्रतिशतभन्दा बढी वक्ता सङ्ख्या छन् भने ११० वटा भाषाका वक्ता १ प्रतिशतभन्दा कम छन् । नेपाली भाषा केन्द्रीय विभागका प्रा.डा. दानराज रेग्मीले प्रस्तुत गर्नुभएको तथ्याङ्कका अनुसार नेपालमा ५३ प्रतिशत भाषा सुरक्षित, ५१ प्रतिशत सङ्कटापन्न, ११ वटा अपशरणशील, ६ वटा मृतप्रायको स्थितिमा छन् भने एउटा सुषुप्त र एउटा भाषा लोपोन्मुख अवस्थामा पुगेको छ । मातृभाषामा २४ वटा बढी पाठ्यक्रम तयार भएका छन् तर यसको विकासमा बौद्धिक वर्गको ध्यान जान थाले पनि समाज मनोविज्ञानले तगारो हालेकै छ ।

अलिअलि अङ्ग्रेजी मिसाएर बोलेमा बडप्पन झल्कने हाम्रो आदत बस्दै छ । हाम्रो भाषामा कुरुपता छ । लवाइखवाइमा आडम्बर छ तर भाषा हाम्रा पुर्खाले दिएको अमूल्य निधि हो । एउटा भाषाको निर्माण गर्नु अनि भाषासँग जोडिएको संस्कृति, धर्म, परम्परा, चालचलन, शिल्प कलात्मकता, आचरण, व्यावहारिकता, औषधी विज्ञान र विज्ञानको सम्मिलन जस्ता पक्षलाई हामीले बोध गर्न जान्दैनौँ भने हाम्रो मौलिकता नै मक्काउँदै गएको होइन र । परिवर्तन त्यो होइन जसमा आफैँलाई लगेर बेचौँ । हाम्रा मातृभाषालाई बोल्न जानिरहेकै पुस्ताले नजोगाए यी केवल इतिहासका पानामा सीमित रहने भय छन् । हाम्रा भावी पिँढीले हामीलाई पक्कै सत्तो सराप गर्लान् । हिजो एकभाषिक नीति थियो तर यो कुनै जातिको आधारमा भएकै होइन शासन र सोचले जन्माएको वास्तविकता हो । भाषासँगै समाज र संस्कृतिले नातो गाँस्दा त्यहाँ युगीन चित्र र मनोरञ्जनका झलकलाई मुखर पारेको हुँदो रहेछ । मातृभाषाप्रतिको हीन सङ्कीर्णतालाई मेट्न समाज, स्थानीय सरकार र राज्यले प्रोत्साहन गर्ने बेला आएको छ । यी विषयमा मूलतः गोरखापत्र दैनिकले समावेशी समाजको दर्बिलो सम्बोधन गर्दै बहुभाषिक पृष्ठभूमिमा रहेर समाचार सम्प्रेषण गर्दै गरेका विषय पक्कै सह्राहनीय छन् । रेडियो नेपालले प्रसारण गर्ने बहुभाषिक कार्यक्रम वास्तवमा प्रशंसनीय छन् ।

आज माध्यमिक तहका धेरै विद्यार्थीलाई एउटा निवेदनसम्म पनि राम्ररी मिलाएर लेख्न आउँदैन । नेपालीका खबर समाचारलाई अक्षर फुटाएर पढ्नै जान्दैनन् । कार्यालयमा एउटा चिठी लेखेर कुनै औपचारिकता व्यक्त गर्ने सिप विकास भएको हुँदैन । देशमा उत्पादन गरिरहेको जनशक्तिले दैनिक आवश्यक कागजातका विषयहरूमा प्रयोगात्मक तबरले प्रस्तुत गर्न सक्नुपर्ने हो । आजको शिक्षित वर्गले सजिलै भनिदिन्छ, “मलाई नेपाली आउँदैन ।” धेरै नेपालीलाई रोमनको अङ्कलाई नेपालीबाट भन्न र लेख्न आउँदैन । बरु नेपालीका अङ्कलाई पनि अङ्ग्रेजीमा अनुवाद गरेर बोल्ने आदत मौलाएको छ । भाषामा परिवर्तनशीलताको गुण हुन्छ भन्दै गर्दा अपशरणशील भएमा हामीले पहिचान गुमाएका लाञ्छना झेल्नु नपर्ला भन्न सकिन्न । हुनसक्छ, भाषिक विषयसँग जोडिएका वैज्ञानिकतामा भोलि विज्ञानले जादु भेट्ला । भोलि यसको महत्त्व बोध गर्ने स्थिति या आर्थिक उन्नति भए पनि त्यो समयमा हामी पछि परेका हुन सक्छौँ । कमसेकम जनगणनामा सोधिने प्रश्नमा मातृभाषा नजान्नेले ‘मेरो मातृभाषा फलानो हो’ भनी भन्दै गर्दा आफ्नो सक्षमतालाई पनि ख्याल गरौँ । हामीले आफैँलाई, आफ्नो मातृभाषालाई, देशको साझा सम्पर्कको भाषालाई नै बिर्सेर अन्धानुकरण गर्दै दगुरिरहेका विषय दुखद् विषय होइनन् र ?

रमेश भट्टराई ‘सहृदयी’

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *