Skip to content

नहुनुभन्दा कानो मामा ठिक


भूवन २ वर्षको हुँदा आमा बितिन् । हजुरबाबा हजुरआमाको उसले अनुहार देख्नै पाएन । छिमेकमा पनि त्यस्तै थियो । पल्ला घरे आमैकोमा रुँदै जाँदा अभागी होस् अभागी ! आमा टोकिहालिस् अब कसरी बाँच्छस् भन्थिन् । उसलाई के थाहा आमा टोकेका कुरा । ऊ भोक लाग्यो भन्थ्यो र रुन्थ्यो ।

पल्लाघरे आमै दयालु थिइन् । खाजा बनाउन लागेको भए खाजा, बिहानको खाना भए खाना ला खा भन्थिन् । उनको भन्थिन्, ‘अर्काका पुतको कल्याण गरे मात्र आफ्ना पुतको कल्याण हुन्छ ।’ तिनै पल्लाघरे आमा बाहेक उसको क्रन्दन सुन्ने अरू कोही थिएन । बाबु पनि भरखरको नौजवान थियो । स्वास्नी मरेपछि उसले त्यो बालकको हेरचाह सहज रूपमा गर्न सकेन । ऊ छोराको हेरचाहभन्दा अर्को विवाहको खोजीमा थियो ।

खानलाउन पुग्ने खानदानको एकमुखे केटो, उमेरमा पनि २० वर्षको हाराहारीमा भएकोले केटी दिन त सबै तयार थिए तर सौताको छोराको गुहुमुत सोहोर्न पर्ने पीरले बाबुले छोरी दिन तयार भए पनि आमाहरूले भने झट्केलाको गुहुमुत मेरी छोरीले सोहोर्दिन भनेर तर्किने गर्दथे । त्यही नजिकको गाउँमा भागीरथी नामकी एक सज्जन महिला थिइन् । उनका धेरै छोरी थिए सबैको विवाह टाढा टाढा भएको थियो । कान्छी छोरीलाई नजिकै दिन चाहन्थिन् । भूवनको बाबाको चालचलन पनि राम्रो, सम्पत्ति पनि भएको एउटा झट्केलोको पीर मानेर नजिकको यस्तो घर किन छाड्ने भन्दै, छोरी दिन तयार भइन् ।

भूवनका बाबाको विवाह तय भयो । भूवनले आफ्नी आमा गुमाए पनि अर्की आमा पायो । सहज नहुँदा नहुँदै पनि उसले विहान बेलुका खाना पाउने भयो र एउटा थाङ्नो लाउने र एउटा थाङ्नोमा राती सुत्ने व्यवस्था पनि गरिदिई । दिन बित्तै गए भूवनको विवाह भयो । बाबु र आमालाई उसकी श्रीमतीले खुसी दिन सकिन । अड्कलेको अंश दिएर निकाली दिए । बाँसका खामा र कटुसका पातको छानोको घर बनाएर दुवै पति पत्नीले दिन गुजरा गर्दै गए । दैनिकीको भरमा जीवन गुजरा गर्दै जाँदा ३ भाइ छोरा जन्मे । क्षमताले भ्याएसम्म पढायो । तिनको विवाह पनि गरिदियो । अवत उसले जीवनका खुसीका दिनलाई कुर्नमात्र लागेको थियो । तीन भाइ नै अलगिएर बस्न थाले । विदेशमा गएर कमाउन थाले । पुन मुसिको भव भन्ने उखान भूवनमा लागु भयो । बृद्धपाले समाओ, ब्लडप्रेसको रोगी बनायो, ब्लडप्रेसरको दवाई खाने पैसा भएन पक्षघात भएर लड्यो, वर्षदिनभरि थलै गुहु थलै मुत भै अचेतनमै उसको स्वर्गेबास भयो ।

आज भूवनका छोराहरूले ठुलो यज्ञ गरिरहेका छन् । पुरी पकाउनेले पुरी पकाइरहेका छन् । जेरी पकाउनेले जेरी पकाइरहेका छन् । तरकारी बनाउनेले तरकारी पकाइरहेका छन् । धेरै ब्राह्मणले भागवत बाँचिरहेका छन् वेद पाठ भइरहेको छ, शैय्यादानदेखि सबै किसिमका दानहरू तयार पारिएको छ । आज निकै चहल पहल छ ।

राजनीति दलका पदाधिकारी, भद्रभलादमीहरू, सर्बसाधारणहरूको बीचमा भूवनको जीवन गाथाको चर्चा हुन्छ । मेयरले भन्दै थिए – ‘भगवानमा पनि विवेक छैन, यसको ललाटमा एकदिन पनि सुख भोग लेखेको रहेनछ, जीवनभर अभावै अभावमा मरेतुल्य भएर बाँच्यो, न स्कुलको मुख देख्यो, न अस्पतालया दबाई दोकानको, यथार्थतामा भन्नु पर्दा जिउँदै नर्क भोगीसक्यो, न सरकारले हेर्यो, न कुनै संस्थाले हेरे, न छोराले नै हेरे । आज भने छोराहरूले स्वर्गको बाटो खोली दिए ।’ आजको यो यज्ञ दान गरेकोमा धेरैले आडम्बरी ठान्दथे । कसैले भन्दै थिए ‘जिउँदो ज्यानले माड पाएन मरेकालाई खीर’, कसैले भन्दै थिए ‘नहुनुभन्दा कानुमामा ठीक’ ।

सदानन्द अभागी

Leave a Reply

Your email address will not be published. Required fields are marked *