गत वर्षको नोभेम्बर महिनामा इटालीको बेलाजियो नामक सहरमा एउटा कार्यपत्र पेस गर्नुपर्ने थियो । बेलाजियो सेमिनारको समाप्तिपछि मिलान सहर पुगेँ । उनी त्यहीँ आइपुगिन् । केही दिन इटालीका मुख्य सहरहरूको घुमघाम गर्नमा बितायौं । त्यसपछि योजनामुताबिक पेरिसतिर हिँड्ने निर्णय गर्यौं ।
पेरिस पुगेर होटलमा झोला झिम्टा थन्काएपछि अब कुन ठाउँ हेर्न जाने भन्ने छलफल भयो । लुई चौधौंको प्रसिद्ध भर्सेलिज दरबार ? आधुनिक चित्रकलाको मुख्य संग्रहालय पम्पेड्यु सेन्टर ? होइन, मैले भनेँ- लुई चौधौं र सोह्रौंजस्ता राजाहरू त हाम्रै देशमा पनि थिए, देखेकै हो । ठूला सामन्तहरूको भव्य दरबार, महलहरूको दर्शन पनि भएकै हो । त्यसैले दरबार, प्रासाद, बगैंचाहरू छाडी पहिले मुख्य कुरा हेरिहाल्नुपर्छ । तीमध्ये एउटा हो- आइफिल टावर र अर्काे हो- लुभ्र म्युजियममा रहेको दा भिन्चीको प्रसिद्ध चित्र- मोनालिसा ।
मेट्रो चढेर आइफिल टावरतिर हिँड्यौं । मेट्रोभित्रै कसैले मेरो पकेट मारिदियो । हत्तपत्त खल्ती छाम्दा पो थाहा पाएँ । भाग्यवश मेरो पर्समा बढी रकम थिएन । पासपोर्ट, टिकट र बढीजसो पैसा उनकै ब्यागमा थियो । सोचेँ- लौ बाँचियो । उनको ब्याग तान्न भ्याएका भए त यी पेरिसका पाकेटमारले हामीलाई आइफिल टावर र मोनालिसाको सहरमा सांस्कृतिक टुहुरा नै बनाउने रहेछन् ।
मेट्रोबाट बाहिर निस्केर सडकमा उक्लने बित्तिकै अगाडि आइफिल टावर देखियो । धातुको ३ सय २४ मिटर अग्लो कलात्मक त्रिकोणको आकार लिएर आकाशतिर चुलिएको त्यो मानव सिर्जनाको कलात्मक अभिव्यक्ति । तर सोचेजति भव्य लागेन । सायद भर्खरै पाकेट मारिएको घटनाले मनलाई अझै विचलित गरिरहेको थियो । पेरिसको गौरवशाली इतिहास र मेट्रोमा घटेको चोरीको घटनालाई मानसिक क्यानभासको एउटै पेममा मिलाएर राख्न गाह्राे भयो । ‘के राम्राे छ र यो धातुको टावर’ मैले भनेँ । ‘यो भन्दा कति अग्ला टावरहरू न्युयोर्क, मलेसिया, जापान र दुबईमा बनिसकेका छन् ।’
आइफिल टावर हेरिसकेपछि सीन नदीको पुल पार गरेर नदीकै छेउछेउ हुँदै पेरिसको उत्तरी भाग वा राइट बैंकमा रहेको लुभ्र म्युजियमतिर लाग्यौं । म्युजियमको अगाडि पिरामिड आकारको सिसाको ठूलो संरचना ठडिएको रहेछ । वरिपरिका घर, स्क्वायर सबैले अठारौं शताब्दीको युरोपको झझल्को दिइरहेका थिए । संग्रहालयको अगाडिको त्यो सिसाको पिरामिड भने पुरानो ऐतिहासिक स्मृतिको सतहमा जबर्जस्ती थोपरिएको उत्तर आधुनिक कचराझैं लाग्यो ।
मुख्य द्वारमा टिकट बुझाएर संग्रहालयभित्र छिर्यौं । ओ हो कस्तो भीडभाड । साना बच्चादेखि बूढासम्मको लर्काे । सबैको अनुहारमा उत्सुकता । युरोपको यात्राको क्रममा देखेका फ्लोरेन्सको उफ्फिजी र भेनिसको गुगेनहाइमभन्दा कैयौं गुना ठूलो रहेछ यो लुभ्र संग्रहालय । पहिले चित्रकलाको पुस्तकमा देखेका जियोट्टो, फिलिपो लिपी तथा माइकल एन्जेलोका चित्रहरू भित्रभरि फैलिएका रहेछन् । यी सबै ठूला-साना क्यानभास तथा भित्तेचित्रहरूको सञ्जालमा मोनालिसा कता थिइन् ? हलका कुना र कोरिडरमा ठाउँठाउँमा राखिएका बोर्डमा मोनालिसासम्म पुग्ने बाटो देखाइएको थियो । त्यही दिशानिर्देश पछ्याउँदै कहिले हामी यो हलमा पुग्यौं त कहिले त्यो हलमा । कहिले कोरेजियो र बेलिनीका क्यानभासअगाडि पुगेर टोलायौं त कहिले काराबाजियो र रुबेन्सका । सपनामा देखिएको कुनै अप्राप्य वस्तुझैं मोनालिसालाई भेट्न गाह्रो भयो । उनको खोजमा हामी कहिले यता चिप्ल्यौं, कहिले उता ।
खोजको अन्त्यमा मोनालिसा भेटिइन् । दाभिन्चीको चित्रलाई छोपेर राखिएको बुलेटप्रुफ सिसावारिबाट मोनालिसालाई हेर्ने कलाप्रेमीहरूको झुन्ड थियो । हामी पनि त्यसै झुन्डमा गएर मिसियौं । छेउको हलमा देखिएका ठूलाठूला चित्र विपरीत मोनालिसाको चित्र सानो क्यानभासमा अटेको थियो । एकक्ष्ाण त लाग्यो- यतिका चित्रमध्ये दाभिन्चीको यही चित्र किन यसरी विश्व प्रसिद्ध भयो होला ? फेरि घोरिएर मोनालिसाको रहस्यमय मुस्कानलाई नियालेँ । भनिन्छ, विभिन्न मनोदशा र मुडमा हेर्दा मोनालिसाको मुस्कानले बेग्लाबेग्लै भावना दर्शाएझैं लाग्छ- कहिले खुसी, कहिले बेदना मिश्रति खुसी त कहिले बेदनापूर्ण मुस्कान । उनको मुस्कानको रहस्य बुझ्दै आफ्नै मनोभावनालाई कोट्याउन चाहेँ । एकक्ष्ाणको निम्ति लाग्यो- मोनालिसाको व्यंग्यात्मक मुस्कानले मेरो उपहास गरिरहेको थियो । फेरि लगत्तै लाग्यो- उनको मुस्कानमा व्यंग्य नभएर मात्र निर्दाेष प्रफुल्लता थियो । मोनालिसाको मुस्कानको रहस्यलाई बुझ्न सम्भव थिएन । मेरो अनुभूतिको क्यानभासभित्र मेट्रोभित्र भएको चोरीको तीतो अनुभव तथा आइफिल टावरको गगनचुम्बी वैभवका कथानकहरू मिसिइरहेका थिए । त्यस मिश्रति अनुभूतिको लेपबाट रंगिएको, बुझिएको मोनालिसाको मुस्कान व्यंग्यात्मक र प्रफुल्लित दुवै साथसाथै देखियो ।
अर्काे दिन बिहान उठेर होटलले उपलब्ध गराएको ब्रोसर हेर्दै थिएँ, देखेँ- क्याटाकुम्ब, लेफ्ट बैंक । मनमा कौतुहलता जाग्यो, कस्तो होला त्यो क्याटाकुम्ब ? एकपल्ट पुनः सीन नदीलाई पार गरेर मेट्रोको बाटो पछ्याउँदै पेरिसको दक्ष्ािण भाग वा लेफ्ट बैंकमा छिर्दै क्याटाकुम्ब रहेको ठाउँमा पुग्यौं । एउटा चल्तीको बजारजस्तो इलाकामा घरैघर, रेस्टुराँ र सुपरमार्केटहरू थिए । हेर्दा सामान्य जस्तो देखिने सानो ढोकामा क्याटाकुम्ब भनेर लेखिएको रहेछ । ठेलेर भित्र छिर्यौं । एकजना अधबंैसे महिला भित्रको अदृश्य रहस्यमय संसारलाई बाहिरको बजारको चमकधमक र रमझमबाट छुट्याएझैं गरी रिसेप्सनको टेबलपछाडि बसिरहेकी थिइन् । छेउमा एउटा नोटिस टाँगिएको रहेछ- केटाकेटी तथा हृदय कमजोर भएका व्यक्तिलाई क्याटाकुम्ब जान मनाही छ ।
हामीले दुईवटा टिकट काट्यौं र सानो, साँघुरिलो ढुङ्गाको गोलाकार भर्याङ हुँदै तल ओर्लियौं । सोचेको भन्दा निकै गहिरो रहेछ । भर्याङ लगातार तल झर्दै गयो । बीस मिटरको गहिराइ झरेपछि सुरुङको मुखमा पुगियो र अगाडि बढियो । अँध्यारा सुरुङहरू बीच ठाउँठाउँमा राखिएका मधुरो बत्तिमा सुरुङको इतिहासबारे कोरिएका सन्देश देखिए । पढेर बुझ्यौं- दोस्राे विश्वयुद्धमा नाजी सेनाले पेरिस सहरमा आधिपत्य जमाएपछि देशभक्त प|mान्सेलीहरूले यसै अँध्यारो सुरुङ जाल वा क्याटाकुम्बलाई नै नाजीविरुद्धको संघर्षको आधार बनाएका रहेछन् । सुरुङको त्यस जालमा लुकेर प|mान्सेलीहरूलाई भूमिगत युद्ध लड्न पक्कै पनि सजिलो भएको हुँदो हो ।
हामी लगातार अगाडि बढ्दै गयौं । बीस मिनेटजति हिँडेपछि ओसारियम आइपुग्यौं अर्थात् हार्ड राख्ने ठाउँ । अठारौं शताब्दीको अन्ततिर पेरिसका केही चिहानवरिपरि रोग फैलिन थालेपछि ती चिहानहरूका हाडलाई जमिनमुनिको सुरुङमा सार्ने कामको थालनी भएको रहेछ । ओसारियमको मृत्युद्वारलाई पार गरेर हामी अझै अगाडि बढ्यौं । अगाडि बढ्नेबित्तिकै व्यवस्थित रूपले मिलाएर राखिएका हाडका थुप्रा देखिए । सुरुङको दाहिने र देब्रे दुवैतिर भुइँदेखि लिएर छानासम्म टम्म मिलाएर राखिएका हाड । खुट्टाका हाड, हातका हाड, पिठ्युका हाड, टाउकाका हाड । पेरिसका विभिन्न चिहानहरूबाट सारेर ल्याइएका हाडैहाड ।
अझै अगाडि बढ्यौं । पाँच मिनेट, दस मिनेट, पन्ध्र मिनेट । हाडहरूको अनन्त शृंखला रोकिएन । सुरुङको ढुङ्गे छानाबाट कुनैकुनै ठाउँमा पानी रसाएर एकएक थोपा गरी र्झदै थियो । तर आश्चर्य- हाडहरू शताब्दीयौं पुराना भए पनि कुहिएर गन्हाएको अलिकति पनि गन्ध थिएन । दस पन्ध्रै मिटरको अन्तरालमा राखिएका बिजुली बत्तिहरूमा एकमाथि अर्काे थोपरिएका खप्परहरू प्रस्ट देखिए । प्रकाशभन्दा पर सुरुङका अँध्यारा जालहरू थिए । परपर केही हलुका पदचापको ध्वनि सुनियो । सायद सुरुङका चुनढुङ्गे भित्ताहरूले सबै आवाज सोस्ने भएकाले हुँदो हो बेलाबेला सुनिएका हलुका पदचाप बाहेक सम्पूर्ण क्याटाकुम्बमा ध्वनिरहित निस्तब्धता थियो । लाग्यो, मृत्युको ढोका पछाडिको त्यस स्वरविहीन निस्तब्धतामा जीवनका नबुझिएका सत्यहरू सलबलाइरहेछन् ।
मनमा एकक्ष्ाणको निम्ति एउटा हाँस्यास्पद, मिथकीय कल्पना जन्म्यो । यी सुरुङहरूको शृंखला कहाँ गएर टुङ्गनिे
हो ? भुइँमुनि तल र्झदै पृथ्वीको केन्द्रमा पुगी पुनः माथि उक्लँदै संसारका अन्य देश, भूभाग, सहर, प्रान्तहरूमा निस्कन सक्ने सुरुङहरूको ‘आद्य कल्पना’ संसारका विभिन्न मिथकहरूमा गरिएको छ । के हामी पनि यी पुराना हाडहरूको बीचबीचबाट हिँड्दै यी सुरुङ जालहरूमा तल र्झदै माथि उक्लदै अन्त्यमा ठमेलको कुनै गल्ली वा बानेश्वरको सडकमा रहेको कुनै दुलोबाट बाहिर निस्कने
छौं ? मैले आफ्नो विचार उनलाई सुनाएँ । उनले हाँस्दै भनिन्- सुरुङको अँध्यारोमा हाडहरूलाई हेर्दाहेर्दै तिम्रो मनमा पुनः कुनै कल्पनाको नयाँ चक्कर चल्न थालेजस्तो छ । हामी पेरिसमुनिको क्याटाकुम्बमा छौं । काठमाडौं मुनिकोमा होइन ।
हाडको अनवरत शृंखलाले मलाई एकछिनका निम्ति दार्शनिक बनायो । सोचेँ- जमिनमाथि बजार छ, वैभव छ, आइफिल टावर छ, लुभ्र म्युजियम छ, मोनालिसा छिन् । तल छन्- शताब्दीयौंदेखि मक्किरहेका हाडहरू । ती हाडका कैयौं मालिक युवा अवस्थामा सुन्दर थिए होला । कत्तिले दाभिन्चीजस्तै प्रसिद्ध कलाकार वा भिक्टर ह्युगो जस्तै लेखक हुने सपना पालेका थिए होला । कत्तिले आइफिल टावरले झैं आकांक्ष्ाा र उपलब्धिको आकाश छुने हिम्मत राखेका थिए होला । ती सबै इच्छा आकांक्ष्ाा र सपना बोक्नेहरू समयको सुरुङभित्र हाडमा परिवर्तित भए । जसले आफ्ना सपना पूरा गरेर उपलब्धिका टावर खडा गरे ती पनि र जो जमिनबाट माथि उठ्न सकेनन् ती पनि ।
मलाई लाग्यो- ती हाडहरू इतिहासका मृत अवशेषमात्र थिएनन् । बढीजसो हाडहरू बेनामे नै थिए । एकमाथि अर्काे खप्टिएर राखिएका ती हाडहरूलाई जनाउने कुनै नाम, ठेगाना वा परिचय थिएनन् । भन्न गाह्राे थियो- ती कुनै सेनापतिका अवशेष थिए वा साधारण सिपाहीका । लुभ्र म्युजियममा देखिएका चित्रहरूमा कलाकारका नामहरू थिए, शीर्षकहरू थिए । ती विश्व प्रसिद्ध चित्र विपरीत क्याटाकुम्बका हाडका अथाह थुप्राहरूको कुनै शीर्षक थिएन, ती मृत हाडका मालिकको कुनै नाम थिएन । तर पनि लाग्यो, समयको परिवर्तन र जीवनको क्ष्ाणभंगुरतालाई जनाउने ती बेनामे हाडहरू लुभ्रका चित्रहरूभन्दा कम उत्कृष्ट कलाकृतिहरू थिएनन् । ती इतिहासका बेनामे अवशेषहरूले बताइरहेका थिए- मृत्युको ढोकापछाडि प्राप्ति र पुरस्कार, शक्ति र तानातानीका सबै कथानकहरू हाड र माटोमा परिवर्तित हुँदा रहेछन् ।
केही बुझेजस्तो लाग्यो । तर क्याटाकुम्बभित्रको प्रकाश धमिलो थियो तथा पानी रसाएका भित्ताहरूको बीचबीच हुँदै बढेका सुरुङहरू पूर्णतया निशब्द र मौन थिए । सायद बुझाइको पल्लोपारि जमिनमुनि भाँसिदै गएका अँध्यारा गहिरा खाडलहरू थिए । बुझाइको प्रकाश एकक्ष्ाणको लागि ती खाडलवरिपरि सलबलायो । अनि पुनः त्यसै निस्तब्ध मौनताभित्र हरायो । क्याटाकुम्बको निस्तब्ध मौनतालाई पनि पूर्णरूपले बुझ्न सम्भव थिएन, मोनालिसाको रहस्यमय मुस्कानझैं ।

malai monalisa ko pohto herda
malai monalisa ko pohto herda r parda malai nikai rahaseymay lagi rahea ko 6??????????????????/