Skip to content

प्रेम मातृभूमिप्रति

  • by

छु म आमा, सात समुद्रपारि
ठुलो शहरमा
किनेको छु मैले सुन्दर एउटा महल
त्यही शहरमा

वरिपरि ठुलाठुला महलहरूबीच
एक्लो छ मेरो महल
त्यही एक्लो महलभित्रका मान्छेहरूबीच
एक्लो छु म
बाँच्न नसकी निसासिएर एक्लो भई
अक्सिजनको खोजीमा, रोपेको छु
सानो एउटा बिरुवा हृदयको गमलामा
ल्याएर हालेको छु नेपालको माटो त्यही गमलामा

हो आमा, किनेको छु
मैले चिल्लो एउटा गाडी
दौडाउँछु त्यही शहरमा
वरिपरि अनगिन्ती गाडीहरूबीच
एक्लो छ मेरो गाडी
त्यही एक्लो गाडीभित्रका मान्छेहरूबीच
एक्लो छु म
हाँस्न नसकी निसासिएर एक्लो भई
मायाको खोजीमा, राखेको छु
सानो एउटा चन्द्रसूर्य झन्डा हृदयको फ्रेममा
ल्याएर सजाएको छु नेपालको नक्सा त्यही फ्रेममा

आमा,
कमाएको छु प्रसस्तै पैसा
उत्तरतिर पैसा दक्षिणतिर पैसा
पूर्वपश्चिम चारैतिर पैसै पैसा
पैसाकै बीचमा पैसामै सुत्छु पैसै ओढेर
निद्रा लाग्दैन तर, शान्ति मिल्दैन
बाँच्न नसकी निसासिएर एक्लो भई
शान्तिको खोजीमा, सजाएको छु
सानो एउटा बुद्धको मूर्ति हृदयको सोकेसमा
ल्याएर राखेको छु सगरमाथाको तस्वीर त्यही सोकेसमा ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *