Skip to content

“भूमिकामा राममणि” पुस्तकको चर्चा

  • by
NandaLalAcharya-09

१. “भूमिकामा राममणि” पुस्तकको बाह्य स्वरूपब

“भूमिकामा राममणि” पुस्तकको अग्रपृष्ठमा एक वृद्ध व्यक्तिको आकर्षक तस्वीर छ । त्यहाँ तल लेखिएको छ- “भूमिकामा राममणि” सम्पादक – हरि गौतम ।

चित्र साहित्यकार राममणि पोखरेलको हो र पुस्तक उनका १३ कृतिमा समेटिएका भूमिकाहरूलाई एक ठाउँमा पारिएको सङ्कलन हो ।

५६+१६२ पृष्ठको छरितो र आकर्षक ढाँचाको यस पुस्तकको अग्रखण्ड भने ५६ पृष्ठको छ । शुरुआतमा मातापिता र आफन्तजनमा समर्पण गरिएको कुरा जनाइएको छ ।त्यसपछि ऋतुवर्ण पराजुलीको पुस्तक बारे १४ पृष्ठको भूमिका समेटिएको छ । त्यस्तै ८ पृष्ठ आयाम भएको टीकाप्रसाद पौडेलको अर्को भूमिकाले समेत स्थान पाएको छ । २५ पृष्ठको विशाल आयाममा “भूमिकाभित्र आफू र आफ्ना मित्रहरू” शीर्षकमा राममणि पोखरेल स्वयंकै आलेख छ । अन्त्यमा एक पृष्ठमा पुस्तक प्रकाशनार्थ आर्थिक सहयोग दिने दाता नामावली सम्मानका साथ उल्लेख गरिएको छ । विषयसूचीमा विभिन्न २२ भिन्नभिन्न लेखकले सर्जक राममणि पोखरेलका १३ कृति बारे लेखिएका आलेखहरू समाविष्ट छन् ।

गाताको पश्चभागमा पुस्तकका सम्पादक हरि गौतमको छोटो तर पुस्तकको समग्र परिचय बोक्ने छरितो सम्पादकीय लेख छ । त्यसमा ग्रामीण कथाकारका रूपमा चिनाउँदै राममणि पोखरेललाई उज्यालोको खोजीमा भौतारिने सर्जक ठान्दै अगाडि भनेका छन् ; “भूमिकामा राममणि” पुस्तक समालोचकहरूका भनाइको सारभूत सङ्कलन हो ।”

ओरिएन्टल पब्लिकेसन्स हाउस, काठमाडौंले २०७५ सालमा प्रकाशन गरेको उक्त पुस्तकको मूल्य रु ३००/- राखिएको छ । पुस्तकको आइएसबिएन ९७८-९९३७-७२२-०३-२ रहेको छ ।

२. “भूमिकामा राममणि” पुस्तक–समीक्षाको मूल भाग

ऋतुवर्ण पराजुलीले आफ्नो भूमिकामा कथाकारका अतिरिक्त राममणि पोखरेललाई बामआन्दोलनको शसक्त योद्धाका रूपमा चिनाएका छन् । टीकाप्रसाद पौडेलले नौ कथाकृति (२०७८ सम्ममा २ कथाकृति थपिएका ) र अन्य ४ कृतिका सर्जकका रूपमा राममणिलाई चिनाएका छन् । उनले आख्यानकार व्यक्तित्व बनाउन राममणिले ठुलो लगाव र झुकाव राखेको कुरा पुष्टि गरेका छन् ।

भूमिका लेखिदिने सबैप्रति आभारका गुच्छा अर्पण गर्दै जीवनको उत्तरार्धमा मात्रै साहित्य सिर्जनामा सरिक हुन पुगेर कमजोरी देखाएको र सीमित भूगोलमा खुम्चनु परेको स्वीकारोक्ती ओकलेका छन् राममणिले आफ्नो लेखमा ।

राममणि पोखरेलका तेह्र कृतिको बेग्लाबेग्लै भूमिकामा समालोचकले आआफ्नो दृष्टिकोण राखेका छन् । डा. जीवेन्द्रदेव गिरीले राममणि पोखरेलका कथालाई निमुखा वर्ग उकास्ने कथाका रूपमा हेरेका छन् ।

प्रा.डा. गोविन्दराज भट्टराईले भोगेको कुरा लेख्ने कथाकार भनी राममणि पोखरेललाई चिनाउन चाहेका छन् । त्यसैगरी प्रा.डा. गोपाल भण्डारीले शैलीगत विविधता रोज्ने कथाकार भनी राममणि पोखरेललाई चिनाएका छन् ।

वरिष्ठ साहित्यकार परशु प्रधानले आफ्नो भूमिकामा गरीबीको कुरा लेख्ने कथाकार भनी राममणि पोखरेललाई चिनाउन खोजेका छन् । मोदनाथ प्रश्रितले समयले भोगाएको कुरा टपक्क टिप्ने कथाकारका रूपमा राममणि पोखरेलको उचाइ अग्लिएको जनाएका छन् ।

विजय चालिसे, टङ्क न्यौपाने, पवन आलोक, रमेश शुभेच्छु, चन्द्रप्रसाद भट्टराई, प्रा.डा. दयाराम श्रेष्ठ, बलराम पोखरेल, गीता त्रिपाठी, महेश प्रसाईं, इस्माली, बद्रीविशाल पोखरेल, हरिहर खनाल, सुशील प्याकुरेल, रुद्र खरेल, लीलाप्रसाद निरौला,विष्णुप्रभात अर्याल र लोककृष्ण भट्टराईले कतै काँचो कतै पाको बनोट र बुनोटमा साहित्यसिर्जना गर्ने हस्तीका रूपमा राममणि पोखरेललाई चिनाउन चाहेका छन् ।

उनको पछिल्लो कथा कृतिको भूमिकामा प्रा.डा. माधव प्रसाद पोखरेल, नन्दलाल आचार्य र सुमी लोहनीले देखे र भोगेको कुरालाई आख्यानीकरण गर्न तत्परता देखाउने कथाकार भन्दै राममणि पोखरेलको योगदानको ओजन गहकिलो रहेको जनाएका छन् ।

साहित्यकार राममणि पोखरेलका सबल पक्षलाई मात्रै नभई दुर्बल पक्षलाई समेत कतिपय केलाउन चाहेका छन् । उनलाई कमजोर भाषाशैली भएका र लम्बेतान गन्थनले कथालाई बोझिलो पार्ने सर्जकका रूपमा हेरेर कटाक्ष समेत गरेका छन् ।

३. “भूमिकामा राममणि” पुस्तक–समीक्षाको अन्तिम भाग अर्थात् निष्कर्ष

२००३ सालमा जन्मेर २०२८ देखि साहित्यको रथ सुस्तरी हाँक्ने साहित्यकार राममणि पोखरेल मोफसलका साहित्यिक नमुना हुन् । शुरुआतमा साहित्यशास्त्रको ज्ञानबाट बेखबर उनी अहिलेसम्म आउँदा उम्दा सर्जक ठहिरँदै गएका छन् । शिक्षण, राजनीति हुँदै कृषि र साहित्य कर्ममा रमाइरहेका सर्जक गाउँघरलाई अक्षरमा उन्न माहिर छन् ।

उदयपुरबाट सङ्ख्यात्मक हिसाबले धेरै कृति साहित्य फूलबारीमा समर्पण गर्ने सर्जक ८० वटा वसन्त फुलाउने तरखरमा हुँदा समेत म लेख्न अँझै सिक्दैछु भन्छन् र कतिपय स्थानमा भनेझैं व्यवहारमा पनि देखिन्छ । यसमा उनले सुघ्रनु र सुधार गर्न सक्नुपर्छ । उनको उचाइ निकै माथि छ । उनलेे उदयपुरको साहित्यलाई ठुलो ऋणी लगाइरहेका छन् । अहिलेसम्म राज्यले उनको सम्मान गर्न सकेको देखिन्न ।

जे होस् अनुभवले पाका र साहित्य समर्पणले स्तुत्य यी दुर्लभ बयोवृद्ध सर्जक राममणि पोखरेल उदयपुरे साहित्यसंसारका निधि हुन् । यिनको खारिँदो कलमीकर्म नदीझैँ बगिरहोस् । सुस्वास्थ्यको कामनासहित आफू पनि त्यत्तिकै उचाइमा उड्न सकूँ भनी चाहना सार्वजनिक गर्दै कलम बिसाउँछु । कोभीड-१९बाट बाँचौँ र बचाऔँ । धन्यवाद ।


२०७८/०४/२० बुधबार । ३:०० पिएम ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *