
यो दशैं,
अरुलागि मीठो, मीठो खानु,
राम्रो, राम्रो लाउनु अनि
दक्षिणा थाप्नु भए पनि
पापा,
यो दशैंमा, मलाई
मीठो मसिनो केही चाहिएन
राम्रो राम्रो लुगा पनि चाहिएन,
यो दशैंमा,लाउनलाई
निधारमा
तिम्रो हातको अक्षता भए पुग्छ,
शिरमा
सयपत्री र जमरा भए पुग्छ ।
पापा,
ढुँगाछुँदा द्रव्य हुने
पानीछुँदा तेल हुने
अप्रासांगिक आशीर्वाद चाहिएन मलाई
पढेर ज्ञानी गुणी हुने
नाम चलाएर
सम्मानको साथ जिउने आशीर्वाद दिनुहोस्
झुकेर होइन्,
शिर खडा गरेर हिडने आशीर्वाद दिनुहोस्,
अन्तर देखिने होइन,
अन्तरिक्षमा पुगेर
जातीय गौरवको
पताका फहराउने आशीर्वाद दिनुहोस् ।
कमानेभई बोनसको लागि
भुख हडतालमा बस्ने मजदुर भएर होइन,
कमानकै मालिक भएर
शानसँग जिउने आशीर्वाद दिनुहोस्,
कलम पक्रिने मात्र होइन्,
कलमसँगै कम्प्युटरको बाघ भएर गर्जने
आशिरवाद दिनुहोस्,
महिसासूरलाई वध गरे झैँ
शत्रुलाई वध गर्न सक्ने शक्तिदिनुहोस्,
भाग्यको भरमा होइन्
कर्मवीर भएर हिडने आशीर्वाद दिनुहोस् ।
त्यसैले पापा मलाई
सुनको सपना देखाएर
वाध्यतामा जिउने आशीर्वाद होइन्,
पौरखी भएर जिउने आशीर्वाद दिनुहोस्,
आशा र आश्वासनमा जिउनु होइन्,
आवश्यकतामाथि आविष्कार गरेर
संसारलाई देखाउने आशीर्वाद दिनुहोस् ।
पापा,
मानव सेवा नै साँचो धर्म हो भने
निस्वार्थ सेवागरी परोपकार गर्ने आशीर्वाद दिनुहोस्
यदि मातापिता नै जिउँदा तीर्थ हुन् भने
बाँचुञ्जेल उनीहरूको सेवा सुश्रुषा गरी पुण्य कमाउने
मलाई धेरै धेरै आशीर्वाद दिनुहोस् ।
बी बी ठकुरी
