Skip to content

भागवत् गीताका अठार प्रेरणाहरू


पृष्ठभूमि
महाभारतको छैटौँ भीष्म पर्वमा भागवत् गीताको चर्चा गरिएको छ । युद्ध मैदानमा खडा भएका अर्जुन आफ्ना मान्यजन र प्रियजनको बध गर्नुपर्ने अवस्था देखेर युद्ध विमुख हुन्छन् । उनी यस्तो युद्धलाई व्यापारको संज्ञा दिन्छन् । र, युद्धबाट विजेता बने पनि आफन्तको लासमाथि टेकेर आर्जेको साम्राज्यले कहिल्यै सुख–चयन नदिने कुरा गर्छन् । अन्ततः कृष्णले महाभारत युद्धलाई धर्मयुद्धका रूपमा व्याख्या गर्छन् । गुरु र शिष्य संवादका रूपमा लेखिएको हिन्दू धार्मिक ग्रन्थ विशेषलाई गीता भनिन्छ । जस्तै– शिव गीता, राम गीता, भागवत् गीता आदि । यसमा जीवनको साङ्गोपाङ्गो पक्षको शाश्वत बोध गराएर कृष्णले अर्जुनको चक्षु खोलिदिएका छन् ।

विश्लेष्य प्रेरणाहरू
प्रस्तुत छ– कृष्ण र अर्जुनको संवाद समेटिएको गीताबाट हामी शिक्षक र विद्यार्थीले सिक्नुपर्ने धेरै कुराहरूमध्ये अठार ओटा प्रेरणाहरू–

१. एउटा अल्मलिए अर्को अघि सर्ने– कर्तव्य निर्वाहमा अर्जुन पछि सर्न लागेको बखत कृष्णले आफ्नो दिव्यरूपको दर्शन दिएर अर्जुनलाई कर्तव्य पथमा ल्याएका थिए । त्यस्तै सिक्ने सिकाउने क्रममा हाम्रा विद्यार्थी सिकाइ मैदानवाट भाग्न खोजे हामी शिक्षकले सिकाउने र सम्झाउने पुरानो विधि/प्रविधि तुरुन्तै बदलेर विद्यार्थी केन्द्रित बनाउनुपर्छ । आफ्नो विराट् बौद्धिक क्षमता, व्यक्तित्व र व्यवहारबाट विद्यार्थीलाई मोहित पार्नुपर्छ र वसमा ल्याउनुपर्छ ।

२. अवाञ्छित वातावरणलाई पनि स्वीकार गर्ने– अठार अक्षौहिणी सेनाको कोलाहलमय वातावरणमा पनि कृष्णले अर्जुनलाई जीवनको वास्तविताको बोध गराएका थिए । त्यसै गरी प्रतिकूल वातावरणका बीच पनि सिक्ने सिकाउने काम सम्भव पार्नुपर्छ । नेपालमा त आर्थिक दुरावस्था, असक्षम राजनीति/प्रशासनतन्त्र/शिक्षक व्यवस्थापन, भ्रष्ट कर्मचारीतन्त्र र आलोकाँचो शैक्षिक विधि/प्रविधिका कारण शैक्षिक वातावरण विल्कुलै छैन । यस्तोमा प्राप्त न्यूनतम वातावरणबाट अधिकतम लाभ लिने गरी शैक्षिक क्रियाकलाप सञ्चालन गर्नु/गराउनुपर्छ भन्ने पाठ सिक्नुपर्छ ।

३. भरोसा लिने र दिने– भागवत् गीतामा ‘जहाँ धर्म त्यही कृष्ण जहाँ कृष्ण त्यही विजय’ भनेर कृष्णले अर्जुनलाई भरोसा दिने काम गरेका थिए । त्यस्तै अर्जुनले पनि परमात्मा नै साथ पाएपछि लक्ष्यमा पुग्न सक्ने विश्वास लिएका थिए । त्यस्तै शिक्षकले पनि जिज्ञासु र दृढ–सङ्कल्पित विद्यार्थी भेटेपछि लक्ष्यमा पुर्याउन सक्छु भन्ने ठान्नुपर्छ । त्यस्तै विद्यार्थीले पनि हरेक समस्याबाट मुक्त पार्न सही दिशानिर्देश गर्ने शिक्षक पाए पछि चिताएको काम पूरा गर्न सक्छु भन्नुपर्छ । दुवैले एकअर्काले चिताएको मान्छे बन्नुपर्छ ।

४. सक्रिय सुनाइ र आगमनात्मक विधिबाट विषयवस्तुको प्रस्तुतिकरण– भागवत् गीतामा कृष्णले विविध उदाहरण र भरोसाको फेहरिस्त प्रस्तुत गर्दै अर्जुनलाई लक्ष्य नछाड्न सल्लाह दिएका छन् । अर्जुनले पनि उनका कुरा जिज्ञासु मनले सुनेर समयसमयमा प्रतिक्रिया जनाएका छन् । मनमा लागेका र द्विविधामा फँसेका हरेक कुराहरू कृष्णमै समर्पित गरेका छन् । त्यस्तै शिक्षकले पनि आगमनात्मक विधिबाट विद्यार्थीहरूलाई बुझाउने र विद्यार्थीहरूले पनि जिज्ञासु मनले सुनेर नबुझेका ठाउँमा प्रश्न राख्न पछि पर्नुहुन्न ।

५. लक्ष्य किटान र दृढ–सङ्कल्पका साथ लगाव– भागवत् गीताले जीवनमा लक्ष्य किटान गर्न र प्राप्तिमा तनमनका साथ लागि पर्न सन्देश दिएको छ । विनालक्ष्य कदम चाल्दा कुहिराको काग बन्न पुगिन्छ भन्ने कुराको सङ्केत गरेको छ ।

६. मृत्युको भयबाट मुक्त मनोदशा– जीवन छोटो छ, आर्जित ज्ञान सधैँ सधैँका लागि सञ्चित गर्न सकिन्न र मृत्युसँगसँगै सारा ज्ञानगुन त्यत्तिकै खेर जान्छ भन्ने ठान्नेहरूलाई भागवत् गीताले आत्माको मृत्यु नै हुन्न भनेर जीवनको अर्को शाश्वत पाठ पढाएको छ । मान्छेको शरीर पञ्चमहाभूतबाट बनेको हो र त्यो जहाँबाट आयो त्यहीँ जान्छ, आत्माले त शरीर फेरिरहन्छ भनेर मृत्युको भयबाट मुक्त पारेको छ । अर्थात् मान्छे कहिल्यै मर्दैन, शरीर मात्र मर्छ । मान्छे भनेको आत्मा हो । आत्माविनाको शरीर जड वस्तु मात्र हो भनेर ज्ञानआर्जन गरी उज्यालो आत्मा बनाउन प्रेरणा दिएको छ ।

७. बाहिरी रूपले गुरु–शिष्य भित्री रूपले असल मित्र– भागवत् गीतामा कृष्ण र अर्जुनको चरित्र, व्यवहार र क्रियाकलाप नियाल्दा उनीहरू गुरु र शिष्यको मात्र नभई एकअर्काका शुभचिन्तक मित्र हुन् । त्यस्तै शिक्षक र विद्यार्थी बीच पनि असल मित्रको सम्बन्ध हुनुपर्छ । आडम्बरी आदर्श र अशोभनीय मर्यादाको फराकिलो खाडल बन्दै हुनुहुन्न ।

८. एकले अर्कालाई आदरभावको व्यवहार देखाउनुपर्ने– भागवत् गीताले आदर गर्न सिकाएको छ । उमेर र सुझबुझले आलाकाँचा छन् भन्ने दृष्टिले शिक्षकले विद्यार्थीलाई हेर्नहुन्न । शिक्षकले आदर्श र समझदारीको पुञ्ज भई नमूना बनेर देखाउन सक्नुपर्छ । विद्यार्थीले पनि शिक्षकका राम्रा आनीबानी, व्यवहार र क्रियाकलापलाई आफ्नो आदर्श ठान्न सक्नुपर्छ ।

९. सत्यको पथमा अडिग रहनुपर्ने– भागवत् गीताले जीवनमा आइपर्ने हरेक परिस्थिति र अवस्थामा सत्यको पल्ला गहकिलो भएको महसुस गर्दै त्यतै ढल्कनुपर्छ भनेको छ । भीष्म पितामहजस्तो परिस्थिति र परिबन्दमा फँसेर असत्यका पक्षमा किमार्थ हात उठाउनुहुन्न भनेर खबरदारी गरेको छ ।

१०. आई लाग्नेमाथि जाई लाग्नुपर्ने– हाम्रो भागवत् गीताले असत्य पञ्जाले घाँटी दाब्न आए बदलामा आफ्नो निष्कलंकित मुठ्ठी उझ्याउन कुनै कसर बाँकी राख्नुहुन्न समेत भनेको छ ।

११. गलत जसले गरे पनि अस्वीकार गर्नुपर्ने– भागवत् गीतामा भीष्म पितामह, गुरु द्रोणाचार्य र कृपाचार्य, कर्णजस्ता थुप्रै मान्यजनहरू र दुर्योधन, दुःशासन जस्ता थुप्रै अनुजहरूले अन्याय र असत्यको मार्गमा उभिएर गलतकर्मलाई मलजल गरेकाले कृष्ण र अर्जुनले तिनीहरूको कृत्य अस्वीकार गरेका छन् । त्यस्तै आजका शिक्षक र विद्यार्थीहरूले गल्ती जसबाट भएको भए पनि भण्डाफोर गर्न अग्रसर हुनुपर्छ । ढाकछोप गरेर गलतकर्मलाई बढावा दिनुहुन्न भनेर गीतामा बताइएको छ ।

१२. असफलता हात लागे प्रयत्न जारी राख्ने– भागवत् गीतामा अर्जुनको चित्त बुझाउन कृष्णलाई धौंधौं परेको थियो । उनले नानाभाँतीका प्रसँग झिकेर सम्झाएपछि अर्जुनचित्त सन्तुष्ट भएको थियो । यसबाट शिक्षक र विद्यार्थीले असफलताबाट हडबडाएर हैन नवीन विधि र प्रविधि खोजेर आफ्नो कार्यमा लागिरहनुपर्ने प्रेरणा लिन सक्छौँ ।

१३. अनुशासन र मर्यादामा दुवैले रहनुपर्ने– कृष्ण–अर्जुनलेझैं शिक्षक र विद्यार्थी दुवैले आ–आफ्नो मर्यादा र अनुशासनमा बस्नुपर्छ । समयानुकूल सर्वस्वीकार्य अनुशासन र मर्यादामा नबसे सिक्ने र सिकाउने काममा आशातित फल आर्जन असम्भव छ भन्ने कुरा भागवत् गीताबाट सिक्नुपर्छ ।

१४. असल कर्म गर्न प्रेरित र खराब कर्म गर्न निरूत्साहित गर्ने– भागवत् गीताले यस जन्मको कर्मको फल अर्को जन्म अर्थात् पुनर्जन्ममा भए पनि भोग्नुपर्छ भनेर खराब कर्म गर्नबाट सचेत रहन र सधैँ असल कर्म गरिरहन प्रेरित गरेको छ । राम्रो कर्मको राम्रै फल यस जन्ममै भोग्न पाइन्छ । कथंकदाचित नपाए अर्को जन्ममा अवश्य पाइन्छ भनेर असल कर्मतर्फ अग्रसर गराएको छ ।

१५. इन्द्रीय दमन गरी राग–द्वैषरहित बन्ने,

१६. लिने तयार भएपछि मात्र दिनेले दिने,

१७. स्थिरप्रज्ञ व्यक्ति बन्न र हुन प्रेरित गर्ने,

१८. फलप्रति आशक्ति नदेखाईकन कर्म गर्ने, आदि ।

उपसंहार
स्थितप्रज्ञ व्यक्ति धैर्यधारण गरी इन्द्रियलाई काबुमा राखी सिर्फ आत्मचिन्तनमा स्थिर रहने गर्छ । उसमा सुखमा नमात्तिने र दुःखमा नआत्तिने साथै भय, क्रोध र आशक्तिबाट मुक्त हुने गुण हुन्छ । अर्कातिर इन्द्रियादि विषयमा फँस्ने मान्छे त्यसमै आशक्त हुन्छ । आशक्तिबाट काम पैदा हुन्छ, कामबाट क्रोध, क्रोधबाट मोहको जन्म हुनपुग्छ । मोहबाट स्मरणशक्ति ह्रास हुन्छ । स्मरणशक्ति ह्रासबाट बुद्धिनास हुन्छ । र, बुद्धिनास भए मान्छेको पतन हुन्छ । तसर्थ हामी शिक्षक–विद्यार्थीले इन्द्रिएको दास हैन मालिक बन्नुपर्छ भन्ने सन्देश भागवत् गीताले सम्प्रेषण गरेको छभन्दा अतिशयोक्ति गरेको नठर्ला । ।

नन्दलाल आचार्य
शिक्षक, श्रीजनता मावि, गोलबजार–४, सिरहा ।
मो.नं. ९८४२८२९२०६

Leave a Reply

Your email address will not be published. Required fields are marked *