Skip to content


निकै दिन भयो
आँखाहरूमा कुनै गीत छैन
मुटुका पाखाहरूमा कुनै शीत छैन
कथाहरू र व्यथाहरूको जुवा छ- जीवन
हार छैन, तर अचम्म, कुनै जित छैन,

म त्यसैले मनको गङ्गोत्री नुहाउन जाने भएको छु
पलायनताको सोमदत्त म
मैले कुनै उत्प्रेरक मनुवादह पाउनुपर्छ
मैले कुनै उत्तेजक स्नानगृह पाउनुपर्छ
उत्तेजक झरनाको पानी पाउनुपर्छ

म आकाश जोतेर विश्वास छर्न सक्छु
म छाती पोखेर ज्वालामुखी भर्न सक्छु

म ज्वालामुखीको पनि ज्वालामुखी हुँ
म अनास्था च्यातेर आगो जोर्न सक्छु

तर जीवन…
यात्रा न हो, यात्रामा पीडा-मयलहरू छन्
यात्रा न हो, यात्रामा केही गतिरोधक विवशताहरू छन्
म,
म एक पटक राम्ररी नुहाउने तरखरमा छु
मन पनि पखालिनु छ
म आफैं पनि पखालिनु छ
म अब छिट्टै स्नान गर्ने बिचारमा छु
मन-स्नान गर्ने बिचारमा छु;

आँखाहरूमा गीत जमोस्
मुटुहरूमा शीत जमोस्
जीवनको जुवा खेल्नु नै हो भने
शकुनी बनिरहन परोइन कि
लक्षयहरूमा जति जमोस्
म स्वच्छता-सृष्टि चाहन्छु
म सुन्दरता-दृष्टि चाहन्छु
म आफू नै “त्यो” बन्नु छ पहिले
मैल एक पटक मनदेखि मन पखाल्नु छ
नुहाउन खातिर आस्था-वृष्टि चाहन्छु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *