बुढेसकालको सहारा


“मेरो छोरा हिजो सानो थिइस् । मेरो हात समातेर पाठशालासम्म पुग्थिस् । अनि, यही हात समातेर आज ठुलो भइस् । अहिले मलाई तेरो हात समातेर हिड्ने सहारा चाहिएको छ । के तलाई मसँग बस्ने फुर्सद छैन ? बाहिर मात्र कति सुख, सम्पत्ति, इमान, स्वाभिमान र इज्जत खोज्छस् ! यी तेरा बाबा आमाका डुब्दै गरेका आँखामा हेर्, सुख, सम्पत्ति, इमान, इज्जत र स्वाभिमान । हिजो सोचेथें छोरो ठुलो होला, सुख पाउला, धेरै धन सम्पति कमाउला, हामीलाई पनि सुख देला बुढेसकालमा सहारा होला । हामीले दुख भोगे पनि तेरो सधैं सुख र सन्तोषको कामना गर्यौ । मन्दिर मन्दिर धाएर अमुर्त भगवान् को मूर्तिलाई पूजा गर्यौं । त आज हामीलाई छोडेर कसरी शहर जाने कुरा गर्दैछस् हँ ?”

बाबा चाउरिएका गालाहरू खुम्च्याएर यसरी नै बोलिरहनु भएको थियो । आमा चुपचाप दलेनमा बसेर आँसु खसाल्दै हुनुहुन्थ्यो । मलाई पनि बाबा, आमालाई यो बुढेसकालमा छोडेर शहर पस्न रहर पटक्कै थिएन । उहाँ अर्थात मेरो लोग्ने (शिखर) आफ्नो बाबाको प्रश्नमा नजबाफ हुनुहुन्थ्यो । केही बोल्नुभएन । हामी भने शहर जाने निश्चय गरेर, हातमा झोला बोकेर आँगनीमा उभिएका थियौं । मानौँ हामी त्यो घरका सदस्य नै हैनौ, ती बाबा आमाका छोरा बुहारी नै हैनौ । त्यो घरमा हाम्रो निसान केही छैन । नत्र ती डाँडाँपारि डुब्दै गरेका बा, आमालाई छोडेर किन हिड्न लाग्थौ र शहर ।

मैले एकपटक शिखरलाई भनेँ, “हेर्नुस मैले तपाईंलाई पहिल्यै भनेकी हुँ । यसरी बुढा भएका बाबा आमालाई एक्लै यो गाउँमा छोडेर शहर नजाऊँ हजुरले मान्नु भएन् । भैगो अब त म नजाने तपाईं नै जानुहोस् । मलाई खानु छैन जागिर र बस्नु छैन सुखसँग । केही सानोतिनो जागिर पाए यतै गर्छु । यदि नपाए पनि खेतबारी बाझै छन् दुख गरौंला बाबा आमासँग बसेर । यही भैयो भने कमसेकम उहाँहरुको सहारा त भइन्छ ।”

मैले यति के बोलेकी थिएँ शिखर मसँग रिसाउँदै भने, “तारा तिमीले के भनेको यस्तो अहिले हिड्न लागेको बेला ! हामीले के बा, आमालाई सधैंको लागि छोड्न लागेको हो र ? बीचबीचमा आइहाल्छौ नि । फेरि तिम्रै लागि त हो नि शहर जान लागेको ।”

“भयो शिखर योभन्दा बढी नबोल्नुहोस् अब । मलाई पुरुषहरूको यही निष्ठुरता मन पर्दैन । जहिले पनि, जहाँ पनि, जे कुरामा पनि आफू लुकेर नारीहरुलाई मात्र दोष दिने । श्रीमतीलाई सुख दिन्छु, खुशी बनाएर राख्छु, आकाशका जुनतारा झार्दिन्छु भनेर श्रीमतीले जे भन्यो त्यही आवश्यकता पूरा गर्नाले हो बुढा बा आमाहरुले दुःख पाएको । कतिपय महिलाहरुको जिन्दगी बिग्रने भनेकै पुरुषहरूले गर्दा नै हो । तर यो समाजले महिलालाई नै दोष दिएर हिड्छ । केही त पुरुषहरुले पनि सोच्नुपर्छ नि । आफै दयावान, कर्तव्यनिष्ट हुने हैन र आफ्ना जन्मदिने बाबा आमा प्रति ? बिचरा बा आमा आफ्ना सन्तानहरुको लागि आफ्नो शरिरको खुन बेचेर खुशी देख्न चाहन्छ्न् । तर सन्तानहरू जन्मेदेखी आफ्नै पाखुरा चलाएर हिडे झै सान देखाउछ्न् । त्यस्ता सन्तानहरू प्रति खेद छ मलाई । आखिर भोलि हामी पनि यही ठाउँमा जाने न हो । हाम्रा पनि सन्तान होलान् । केही सोच्नुभएको छ तपाईंले ?”

धेरै वर्ष अघिदेखि मनमा अडिग भएर बसिरहेको मनको ज्वालामुखीका रापहरू आज शिखरकासामु खन्याए । तर शिखर चुपचाप झोला बोकेर उभिरहे, केही बोलेनन् । अनुहारमा भने खिन्नताको बोध देखिन्थ्यो । म फेरि बोले शिखर केही गल्ती बोलेको भए माफ गर्नुहोस् । तर मैले हाम्रो कर्तव्य मात्र बोलेकी हुँ । बाँकी सोच्ने जिम्मा हजुरकै ।

बिहानीको घाम आगनिमै पस्दै थियो । तर हामी त्यो आगनी छोडेर जाँदै थियौं । सायद हामीलाई बिदाइ गर्न भनेर घाम आउँदै थियो । त्यतिकैमा शिखरले भन्नुभयो, “तारा म गलत नै हुँ । तिम्रो कर्तव्य, विचारलाई म सम्मान गर्छु । आजसम्म मैले आफ्नै बा, आमा प्रतिको कर्तव्य बुझ्न सकिँन तर तिमी अर्कै घरबाट पराई घरमा आएपनी । आफ्नै जन्मदिने बा आमा जस्तै गरेर प्रेम र सद्भाव देखायौ । म यतिबेला निकै लाचार छु बरु मलाई माफ गर्देऊ है ?”

“शिखर आफ्ना जन्मदिने बा आमा मात्र आफ्ना हुदैनन् । उहाँहरू पनि मेरा आफ्नै बा आमा हुनुहुन्छ र जतिपनी अहिले यही कारणले सन्तानको बिछोडमा दुख पाएका बुढा बा आमा हुनुहुन्छ सबै आफ्नै बा आमा हुनुहुन्छ । हामीले जन्मदिने बा आमालाई केही गर्न नसकेपनी उहाँहरुको बुढेसकालको सहारा बन्नु हाम्रो कर्तव्य हो । जीवनमा पैसा मात्र ठुलो कुरा हैन । पैसा त हामी भोलि नि कमाउन सक्छौ । तर बा आमालाई हामीले पैसाले किन्न सक्दैनौ । फेरि आफ्नै खेतबारी छ दुख पनि गर्न सक्छौ । पढेर शहर नै बस्नुपर्छ शहरमा नै गएर जागिर खानुपर्छ भन्ने पनि त छैन । यही पनि त केही गर्न सक्छौ हैन र ? यी बुढा बा आमालाई यस्तो अवस्थामा छोडेर म हजुरसँग शहर जान सक्दिन शिखर ।”

घाम आगनीमा आइसकेको थियो । बाबा पिंढीमा बसेर घामलाई नै हेरिरहनु भएको थियो । आमा दलिनमा बसेर आँसुहरू पुछिरहनु भएको थियो । मैले बाबा, आमालाई आँसुमा देख्न सकिन र दौडदै उहाँहरुको अंगालोमा बाँधिन गएँ । शिखर मेरो पछिपछि आउनुभयो चारैजनाले एकछिन एकाअर्कालाई हेरिरह्यौ । बा आमाले खुशीका आँसु पुछ्दै हुनुहुन्थ्यो सायद त्यो खुशी आजसम्म मैले उहाँहरुको अनुहारमा देखेकी थिइनँ । त्यतिकैमा मैले शिखरलाई भनेँ, “शिखर तपाईं जानुहोस् शहर आफ्नो काम पनि गर्नुपर्छ म बा आमासँगै बस्छु । मेरो चिन्ता केही नगर्नु मेरो साथमा बा आमा हुनुहुन्छ । आफ्नो ख्याल गर्नु इमान, इज्जत र स्वाभिमानका साथ आफ्नो कर्तव्य पूरा गर्नु । घाम तपाईंकै साथमा छ आँसुलाई हत्केलामा राख्नु ।”

त्यसपछि शिखर आफ्नो काम र कर्तव्य पूरा गर्न आफ्नो बाटो लाग्नुभयो । म भने बुढा बाबा आमाको सहारा र खुसीको लागि उहाँहरुको साथमा बस्न थाल्छु ।

दिपा धिताल

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *