आउ साथी आउ …
कामभन्दा भ्रष्टचार बढी गराऔँ ।
सरकारी कार्यालयलाई
भ्रष्टचारको अखडा बनाऔँ ।
मन्त्रालय र पार्टी कार्यालयलाई
सबैभन्दा मालदार कम्पनी बनाऔँ।
आउ साथी आउ …
दूरसञ्चारका टावर पट्काऔँ ।
सञ्चार माध्यममा भजनमात्र बजाऔँ ।
समाजिक सञ्जालमा
हाम्रो विरोध भयो
हनुमानले थेग्न सकेनन्
बन्द गराऔँ ।
फेसबुक र ट्युटरमा
कालो पोतिएको हाम्रो फेस नदेखाऔँ ।
आउ साथी आउ …
बाटो हिँड्ने बटुवालाई पट्काएर मारौँ
हाम्रो स्वार्थ रोक्न खोज्नेलाई गोली ठोकौँ
अबोध बालिका र युवतीलाई बलत्कार गरी
झाडीतिर फालौँ ।
आउ साथी आउ …
कानुनको राम्रैसँग धज्जी उडाऔँ ।
आफैले आफैलाई महान् बनाऔँ ।
भाषणको शिखर चढेर
हनुमानमार्फत आफ्नै नाम उजिल्याऔँ ।
आउ साथी आउ …
काम गर्न सक्नेलाई खाडी पठाऔँ ।
बोल्न सक्नेलाई युरोप र अस्ट्रेलिया खेदाऔँ ।
जेष्ठ नागरिकलाई ढल्ने गरेर गफ लगाऔँ ।
आउ साथी आउ …
देशभित्र अझै लुट्न पुगेकै छ
विदेशी लगानीलाई बाईबाई गरौँ ।
लुट्ने कुरा सकियो भनेमात्र
लुट्न सकिने कम्पनी खोजेर भित्र्याऊँ ।
आउ साथी आउ …
कामभन्दा भ्रष्टचार बढी गराऔँ
आउ साथी आउ …

