आज रमिता छ उपन्यासमाथि मेरो अध्ययन

  • by


उपन्यासको धरातलमा आज रमिता छ- जस्तो छुट्टै विशिष्टता बोकेको उपन्यासले एउटा अत्यन्त नवीन दिशा वा परिपाटीको सिर्जना गरेको छ। श्री इन्द्रबहादुर राईको औपन्यासिक (जीवन) पृष्ठाङ्कन कठपुतलीको मन जस्तै (सम्भवतः) छ। उहाँ भन्ने गर्नुहुन्छ- मैले देखें जीवन चलिरहेछ तर सुव्यवस्थित भई यो ठिक्क-ठिक्क मिलेर चलेको छैन। यो उपन्यासलाई मैले यसरी नै नमिलाएको छु। मैले जीवनलाई एक ध्येयता एक विशेषताको रसायनिक युद्धता तथा एकाग्र प्रगति देखिनँ। प्रेम जम्मै भावहरूको भाउ हो, यसलाई चलाएपछि जम्मै हाम्रा भाव-भावनाहरू जागेर सलबलाउँछन्। यसको पछि कुद्नेले पनि तर अनेक बीच-बीचमा अरू काम गर्छन्, जुन जीवन बुझ्नलाई उत्तिकै महत्वपूर्ण छन्।

जीवनमा यस्तो हुँदोरहेछ भने साहित्यमा अरू किसिम हुँनुहुँदैन…..नचाहिने पात्र उपन्यासमा हुनुहुँदैन भन्नछन् तर यस उपन्यासमा त्यस्ता पात्रहरू छन्- उपन्यासमा तिनीहरूको आवश्यकता नै नभए पनि, कारण मैले देखेको संसारमा चाहिने मान्छेहरू मात्र छैनन्। जीवनभरि सँगै बसेर पनि हामीलाई कसैले असर पारेन भने त्यो कथा हो, नहुनुको रोचक कथा हो। (यस उपन्यास-बाट) पूर्णता तथा अपूर्णताको प्रतिबिम्बदेखि प्रतिलिपि भएक कथा-वस्तुहरू माथि उठेर यथार्थतामा उपन्यास आफैं बाँचेको छ। श्री इन्द्रबहादुर राईको सोंचाई उच्चकोटिको भनौ बयानदेखि बाहिर देखिन्छ यस उपन्यासअन्तर्गत।

पारस्परिक प्रेम, घृणा, इच्छा, कुण्ठा, ईर्ष्या, विश्वास, अविश्वास आदि यी सबै कुराहरू सहेर जीवन भोगाइको पूर्ण व्याख्या गरिएको उपन्यास आज रमिता छ-मा श्री राईका विचारधारा अरू उपन्यासहरूमा पाइने अभिव्यञ्जनाहरू भन्दा बेग्लै छन्। हिजो, आज र भोलि (युगानुयुग) सम्म मानिसको जन जीवनमा घट्नसक्ने घटनाक्रममाथि एउटा विसङ्गति रूप दिनमा उहाँ सफल हुनुभएको छ। यसैले गर्दा आज रमिता छ-ले नेपाली औपन्यासिक परम्परामा एउटा आयाम नै थपेको छ।

औपन्यासिक परम्परामा आज रमिता छ एउटा नयाँ किसिमको, भिन्नै प्रवृत्तिको अथवा अद्वितीय परिपाटिको झैं देखा परेको छ। यद्यपि उक्त उपन्यासलाई केन्द्रीय दृष्टिकोणबाट नियालेर हेर्दा निष्कर्षमा पुग्नै सकिन्न कि जस्तो भान हुँदछ। उपन्यासमा वर्णनात्मक र चित्रात्मकता साथै बड़ो चेतनाप्रवाह शैलीगत आदिका वर्गीकरण गरिएको हुँदा गरिमा पूर्वीय तथा पाश्चायत्य दुवैतर्फका विविध उपन्यासहरूभन्दा पनि अझ गहकिलो छ। पूर्वेली र पश्चिमेली साहित्यका फाँट्मा यो उपन्यास पनि विश्वव्यापी साहित्यिक उपलब्धहरूकै फाँटमा कहीं-कतै उभिनसक्ला वा सक्नेछ भनेर अनुमान लगाउऩसकिन्छ। भनिन्छ, कतिपय विज्ञ पाठकवर्ग तथा समीक्षकहरूले यो उपन्यास सम्बन्धमा भनेका छन्- उपन्यासले सम्पूर्णता अँगालेको हुँदा-हुँदै पनि असमाप्ति बन्न पुगेको छ।– यस भनाईलाई केही हदसम्म बुझेर ल्याउँदा औपन्यासिक अध्ययनको क्रममा यस भनाई सही ठहर्दछ।

आज रमिता छ- उपन्यासलाई एकपल्ट सरर हेर्दा पनि पाश्चात्य साहित्य धरातलको अध्ययन नितान्त आवश्यक हुन्छ। उपन्यासको लेखनकार्यमा श्री राईले धेरैवटा मार्गहरूलाई अप्नाउनुभएको हुनाले जीवन यात्राको समीक्षणमा पनि उहाँले आत्माभिमानमा प्रतिपादन गर्नुभएको विचाकधारामा अति महान छ। यस्तै विचार एवं मनोद्वेगको भावले अन्य औपन्यासिक जीवनहरूलाई कति श्रृङ्खलित त कति विश्रृङ्खलित धारणाको माध्यमले विवरण राख्न परे ड्यानियल डिफोको रबिन्सन क्रुसो र मेक्सिम गोर्कीको आमा अनि यसैका अन्य केही लहरहरूमा देवकीनन्द खत्रीद्वारा लिखित चन्द्रकान्ता, प्रेमचन्दको गोदान बङकिमचन्द्रको दुर्गेशनन्दिनी, शरतचन्द्रको श्रीकान्त, धूस्वाँ सायमीको शङ्की, ध्रुवचन्द्र गौतमको डापी, लैनसिंह बाङ्देलको लङ्गड़ाको साथी, आदि चर्चाका विषयमा ग्रहणयोग्य ठहरिएका छन् भने श्री राईको आज रमिता छ पनि छुट्टै महत्त्वलाई वहन गरेको उपन्यास मान्न सकिन्छ।

यद्यपि यस उपन्यासलाई कतिपय गहकिला उपन्यासहरूको दाँजोमा उभ्याउने जमर्को गर्दै मानवीय जीवनको विश्रृङ्खलित स्थितिको चित्र औपन्यासिक दर्पणमा चिहाउने माध्यम पनि मान्न सकिन्छ।

नेपाली उपन्यास साहित्यलाई क्रमागत रूपले हेर्ने क्रममा पहिले-पहिले लेखिएका उपन्यासहरू धार्मिक, नैतिक एवं औपदेखशक, पारम्परिक प्रकारका पाइन्छन्। पुराना समाज, सामाजिक व्यवस्था, मानवीय जीवन-शैली जे-जस्ता प्रकारका हुन्थे त्यही प्रकारका उपन्यासहरू लेखिन्थे। अझ स्पष्ट रूपमा भन्न परे तत्कालीन उपन्यासहरू समाजमूलक एवं स्थितिअनुकूल लेखिन्थे तर समाजाको आदर्श चित्रणबाहेक यथार्थ पक्ष छेलिन्थे, जीवन-जस्तो छ त्यसैलाई दर्शाउने प्रयास अघि अघिका उपन्यासहरूमा भए तापनि केवल आदर्शोन्मुख एवं नीतिमूलक वातावरण देखाउनु नै उपन्यासको ध्येय थियो। विस्तार-विस्तार औपन्यासिक क्षेत्रमा पनि परिपक्वता आउऩ थाल्यो। जीवनलाई पर्दाबाट नहेरेर, छेऊबाट स्पष्टताका साथ हेरिन थालियो, जीवनको एकपाटे मार्गलाई मात्र नहेरी सम्पूर्ण जीवनलाई सर्वाङ्गमा नियाल्ने युग आउन थाल्यो। फलतः आदर्शोन्मुख उपन्यासहरू विष्णुचरण श्रेष्ठको सुमति रूद्रराज पाण्डेको रूपमती आदि देखा परे। फेरि रूपनारायण सिंहको भ्रमर, काशीबहादुर श्रेष्ठको उषा डा. भवानीभक्त सिंह प्रधानको, यौवनका आँधी, प. शोभाचन्द्र उपाध्यायको दुःखी जीवन, मास्टर रामप्रसाद तन्दुकारको भाग्यचक्र, लैनसिंह बाङ्देलको मुलुकबाहिर र माइतघर इत्यादिजस्ता उपन्यासकारहरूले पूर्वीय साहित्यिक धरातललाई खूबै बलियो बनाएको कुरा चरितार्थ हुन आउँछ।

उपर्युक्त उल्लेखित उपन्यासकारहरूमा देश,काल, परिवेश, भविष्य एवं पिँढ़ी दर पिँढ़ीसम्मलाई सुहाउँदिला वर्णनयोग्य कुराहरू समेटिएका पाइन्छन् भने श्री राईको उपन्यास लेखनमा जटिलभन्दा जटिल प्रश्नको पनि मनोवैज्ञानिक ढङ्गमा समाधान गरिएको पाइन्छ। अझ केही मननयोग्य लेखकहरूमा कलमबाट उल्लेख गरिएका उपन्यासहरू जो आज रमिता छ उपन्यासको आधारमा सामाजिक ज्ञान एवं गुणको मान्यता मान्यता प्रदान गरिएका कृतिहरूलाई हेर्नपर्दा देवनम देवशाको तुफान डायमन शमशेरको सेतो बाघ मुक्तिनाथ तिमसिनाको अछुत, मोहनबहादुर मल्लको उजेली छायाँ, भुवनेश्वर कोइरालाको बैकुण्ठको महल, हृदयचन्द्र सिंह प्रधानको स्वास्नीमान्छे, इन्द्र सुन्दासको नियति, लीलबहादुर छेत्रीको बसाईं, र ब्रह्मपुत्रको छेउ-छाउ, गोविन्दबहादुर मल्ल गोठालेको पल्लो घरको झ्याल, आदिजस्ता औपन्यासिक परिपाटीलाई पनि नियाल्न सकिन्छ। यी उल्लेखित उपन्यासहरूमा अभिव्याञ्जित अभिव्यक्तिभन्दा श्री इन्द्रबहादुर राईको सिद्धान्तपरक उपन्यास आज रमिता छ को एउटा छुट्टै महत्व रहेको छ। ऐतिहासिक, भौतिक, राजनीतिमूलक एवं सामाजिक विशृङ्खलतालाई यथार्थरूपममा समेट्दै चिन्तनमय अन्वेषणको आधारमा औपन्यासिक अभिव्यञ्जनालाई उक्त उपन्यास आज रमिता छ-ले अङ्गालेको छ।

उक्त उपन्यासको शीर्षक सम्बन्धमा धेरै बुद्धिजीवी विद्वानहरूले छलफल गरेको पाइन्छ। शीर्षकको औचित्य-अनौचित्यबारे अध्ययन गरी हेर्दा केही हदसम्म शीर्षक पूर्ण नै ठहर्दछ। उपन्यासमा वर्णित सामाजिक, राजनीतिक र आर्थिक स्थितिको विशृङ्खलताले आजको वर्तमान मानव-समाज रमिता मात्र बनेको कुरा यसमा चरितार्थ बनेको छ। भनिन्छ, यस उपन्यासलाई अझै गहन अध्ययन, मननपछि व्यतिरेकलाई आधार मान्दा शैलीगत विशेषतामा भने आज रमिता छ शीर्षक औचित्यपूर्ण छ।

यस उपन्यासमा पाइने सङ्क्षिप्तभाव-दार्जीलिङ हिज जस्तो थियो, आज त्यस्तै छ र भोलि त्यस्तै रहने छ-को परिभाषालाई समेटेर दार्जीलिङे जनजीवनको अस्तव्यस्तता (स्थिति) पूर्ण परिवेशलाई सम्पूर्ण रूपले छोएको छ। श्री राईका विचार र उपन्यासको मूलतत्त्वको कुरा गर्नपरे मानव-समाजको सामाजिक यथार्थ-लाई यस उपन्यासले उगालेको छ। अझ भन्नु हो भने सामयिक र स्थानीय घटनाहरूमा देखा परेका रीति-रिवाजको मूल अङ्श पनि देख्नसकिन्छ उपन्यासअन्तर्गत। वास्तवमा उक्त उपन्यासको अर्को स्वर विवरणपूर्ण चित्रणलाई जाँचिएको असमतिपूर्ण द्वन्द्व पनि हो।

श्री इन्द्रबहादुर राईको आज रमिता छ-लाई केही गहनताकासाथ नियाल्दा वा सैद्धान्तिक पक्ष र यसको विवेचनामा हेर्दा, नेपाली साहित्य-जगतमा विसङ्गतिपूर्ण स्थितिलाई उपन्यासभित्र देखाउने पहिलो जमर्को यसमा भएको अनुभव हुन्छ। कृष्णहरि बराल र नेत्र एटम भन्छन्- नेपाली उपन्यासका क्षेत्रमा विसङ्गतिवादी धाराको सुरूआत इन्द्रबहादुर राईको आज रमिता छ (2021) बाट भएको मानिन्छ। अर्थात सामाजिक विसङ्गतिलाई यथार्थरूपमा झल्काउन उक्त उपन्यास सफल भएको छ।

प्राकृतिक सौन्दर्यले परिपूर्ण दार्जीलिङ शान्ति सौरभपूर्ण, आनन्दमयी वातावरणले ढाकिएको थियो, तर हिज-आज समाजको अस्तव्यस्तता, आर्थिक-राजनीतिक विसङ्गतिपूर्ण परिवेश, धार्मिक र सांस्कृतिक सङ्कीर्णताले विचलित हुँदै गइरहेको छ, तर दार्जीलिङे जनजीवन अनजान- असम्हज बनी रमितै बन्दै, रमितै हेर्दैछन्, यस्तो यथार्थ तथ्य आज रमिता छ-ले देखाएको छ। यसैले भनिएको छ-दार्जीलिङे सेरोफेरोमा रचित प्रस्तुत उपन्यास त्यहाँको समाजको एउटा ऐना पनि हो।

संयमशील भएर उपन्यासकारले त्यहाँका मान्छेका इच्छा र आकांक्षा, आशा र उत्कण्ठा, विश्वास र अविश्वास, ईर्श्या र प्रेम, घृणा र सद्भावना जस्ता कुरालाई एक-एक चित्रण गरेका छन्। अथवा भनौं उक्त उपन्यासले यथार्थरूपमा स्थानीय प्रादेशिक परिवेश एवं वातावरणलाई सूक्ष्म एवं बृहत रूपमा प्रस्तुत गरेको पाइन्छ।

आज रमिता छ-मा वास्तविक जीवनको परिभाषा ओकल्नलाई संरचना श्री राईले तयार पार्नुभएको छ। दार्जीलिङमा भएका सम्पूर्ण नेपाली अथवा गोर्खाली समाजको वर्गीकरणीय आर्थिक विकल्पका साथै जीवन ध्याउन्नलाई आइपरेका कुण्ठा, विघ्न-बाधाले घेरिएको परिस्थितिमा मानिस कसरी जिउने गर्छन्¿ भन्ने प्रश्नको मध्यनजरमै प्रस्तुत् उपन्यासको चरमोत्कर्ष कायम रहेको छ।

आज रमिता छ-को सम्बन्धमा सुवास दीपकले लिनुभएको (श्री राईसँग) अन्तर्वार्ता अन्तर्गत भनिएको छ- आधारकियता॑ यो उपन्यास समस्यामूलक उपन्यास हो तर पनि दार्जीलिङमा स्थिति भारतीय नेपालीहरूको प्रथमतः आर्थिक उत्थान, चिया कमानका नेपाली श्रमिकहरूको संघबद्ध अविलम्ब आवश्यक यसले भन्छ। सामान्यतय जिन्दगी जिउनै पर्ने बाध्यता आइपर्दा मानिस जसरी भए तापनि बाँच्नै पर्ने हुँदछ समाजमा¡ मानव सामाजिक प्राणी हुनाले उ एक्लो एवं समाजविच्छेद भई बस्न वा बाँच्न सक्तैन र उसका समस्त क्रियाकलाप प्रत्यक्ष वा परोक्ष रूपले समाजद्वारा नै प्रभावित एवं सञ्चालित भएका हुन्छन्,तथा सामाजिक उपन्यासमा मानवीय समाज एवं जीवनको चित्रण, वर्णन रहने हुनाले, उपन्यास सामाजिक यथार्थबाट च्युत (निर्लिप्त) रहन भने अवश्य सक्तैन। अतः सामाजिक यथार्थका बुँदाहरूलाई रचनाकारको ज्ञान, अनुभव र कल्पनाद्वारा मथेर कलात्मक ढङ्गले प्रस्तुत गरिएको जीवनको पुनर्रचनालाई नै सामाजिक यथार्थवाद भनिन्छ।

अर्थात् श्री राईको एकमात्र उपन्यास आज रमिता छ-ले उपर्युक्त उल्लेखित सामाजिक यथार्थलाई अङ्गालेको पाइन्छ। त्यसैले श्री राईका लेकनकलामा सामाजिक यथार्थतामा वास्तविकताकै दृष्टिले सामाजिक संरचनात्मक महत्वपूर्ण विचारधारा प्रशस्तै देख्नपाइन्छ।

आज रमिता छ- केवल एउटा साधारण उपन्यास मात्र नभई सम्पूर्ण मानव-जातिका आफ्ना-आफ्ना प्रकारको जीवन बँचाईलाई हेर्ने दर्पण पनि हो। त्यसैले कृष्णसिंह मोक्तान लेख्छन्- आज रमिता छ-एउटा खोला हो, नही हो, शून्यतामा हुरी बतास अनि तुफान भई आतङ्क र अनियम सृष्टि गर्ने, स्वाधीन र स्वतन्त्र शक्ति हो जो अन्तमा शान्त, साम्य र नीरव हुन्छ। हाम्रो जीवन पनि त्यस्तै छ। चाँजो नमिलेको प्रत्येकको। यस जीवनलाई यसरी नै जिउनुपर्छ, आफ्नै ढङ्गमा, शैलीमा, सुविस्तामा अनि यही जीवनको खेल प्रत्येकले नै खेलेको हुन्छ किनकि जीवन नै रमिता हो। यसरी जीवनको साँचो रूप उक्त उपन्यासमा छर्लङ्गिएको छ।

सामाजिक दृष्टिकोणकै आधारमा नियाल्नुहुँदै राजनारायण प्रधान लेख्छन्- आज रमिता छ-मा सामाजिक जीवन यसको कथावस्तु छ। यहाँका मानिसहरूका आशा, आकाङक्षा, कुण्ठा, ईर्ष्या, पारस्परिक प्रेम, घृणा, विश्वास, अविश्वास सबै थोक सामु आएका छन्। यस प्ररकारको प्रवृत्तिले उक्त उपन्यासलाई अत्यन्त प्रभावशाली बनाइदिएको छ। समाजको हुबहु चित्रणले औपन्यासिक आधिनिकीकरणको जग नितान्त नौलो परिपाटिको अथवा भनौं वरिष्ठ आधुनिक परिवेशीय चित्रणले भरिभराऊ भएको पाइन्छ।

सम्पूर्ण उपन्यास जनक, सीता, रवि, भूदेव, यमुना, कमानको म्यानेजर, एम.के.,अन्य प्रासङ्गिक पात्र-पात्राहरूद्वारा समेटिएको छ। औपन्यासिक परिवेशमा इसाबेलाको क्षणिक प्रेमकथालाई (जीवनको यथार्थिक पक्षलाई)-देखाइएको छ, जसले वर्तमान नेपाली सामाजिक स्थिति-परिस्थितिलाई झल्काउन सफल भएको छ। यसरी, श्री इन्द्रबहादुर राईको उपन्यास कृतित्त्वको दृष्टिले पनि महान छ। जहाँ समाजशास्त्रको सामाजिक अस्मिता औ सामाजिक अस्तित्त्वको निर्मित प्रदान हुनसक्ने भान हुँदछ। यसको उत्पत्ति, विकास र परिवर्तनको अध्ययन ऐतिहासिक पद्धतिका आधारमा गर्नसकिन्छ भन्ने शोधकर्ता उदय छेत्रीको भनाई रहेको छ। यसै सन्दर्भमा भन्न परे श्री राईको उपन्यास लेखन एक ऐतिहासिक पद्धति एवं उत्पत्तिको स्रोत पनि हो। कारण एउटा मात्र उपन्यासको आधारमा सुप्रसिद्ध नेपाली उपन्यासकार बन्नुको पछि पनि औपन्यासिक प्रवृत्तिको उल्लेखयोग्य प्रयोग नै हो भऩ्न सकिन्छ।

दार्जीलिङे नेपाली जन-परिवेशलाई लिएर लेखिएको उक्त उपन्यासको सन्दर्भमा –दार्जीलिङको चोकबजारमा चलिरहेको जनक र सीताको जीवनलाई मूल कथा बनाएर लेखिएको यस उपन्यासमा रवि, भूदेव, एम.के. बाबुनी, नाम्ग्येल, यमुना आदि पात्रहरूद्वारा मसिनू सूत्र खड़ागरी मूलसँग जोड़िएको छ।

उपन्यासले एउटा विशाल परिवेश खड़ा गर्नुमा विभिन्न चरित्र लिएको पात्र-पात्राहरूको विशालतालाई पनि कायम राख्न सफल भएको छ। प्रत्येक पात्र-पात्राहरूको चरित्रलाई बुझ्न खोज्दै अघि बढ्दा सम्पूर्ण यी पात्र-पात्राहरूको पूर्ण तथा अपूर्ण जीवन-शैलीलाई लिएर उल्लेख गरिएको उपन्यास आज रमिता छ- समाप्तिपछिको असमाप्ति जस्तो पनि बुझिन्छ, तापनि औचित्य रहेको अथवा अनौचित्य रहेको औपन्यासिक शीर्षक नेपाली उपन्यास जगतमा प्रथमपल्ट हो। यसै प्रसङ्गमा उपन्यास-आज रमिता छः शीर्षकको औचित्य-अनौचित्य-मा प्रा. मोहनराज शर्माले शीर्षक सर्वथा सार्थक र उचित ठहरिन्छ, आज रमिता छ-को व्यतिरेक आज रमिता छैन हुने हुँदा र कृतिले पनि यही व्यतिरेकी तथ्य बोकेको हुँदा शीर्षकलाई आनौचित्य होइन औचित्यपूर्ण मान्नुपर्छ। भनी उठान गरेका छन्।

अन्तमा आज रमिता छ उपन्यास मनोविश्लेषणात्मक शैलीमा उतारिएको स्वच्छन्दवादी, यथार्थवादी अर्थात् विशुद्ध सामाजिक यथार्थवादी उपन्यास बन्न सफल भएको छ। यस उपन्यासले बृहत् परिवेशमा विशृङ्खलित मानव-जीवनको यथार्थतालाई स्पष्ट दर्शाएको पाइन्छ। नेपाली उपन्यास जगतका विविध उपन्यासहरूमध्ये आज रमिता छ को छुट्टै महत्त्व रहनुमा श्री इन्द्रबहादुर राईको योगदान, अध्ययनशीलता र चिन्तनप्रधान, औपन्यासिक अभिव्यक्तिको पनि महत्वपूर्ण स्थान रहेको छ। नेपाली साहित्यका सर्वश्रेष्ठ पुरुष श्री राईले केवल एउटै मात्र उपन्यास लेख्नुभए तापनि अन्य विभिन्न औपन्यासिक परिवेशमा आज रमिता छ- ले हलचल नै मच्चाइदिएको छ। आजको रमिता भोलि पनि हुनेछ, हिज पनि थियो र भविष्यसम्म पनि यथावत् रहनेछ भऩ्ने य़थार्थलाई यस उपन्यासले वक्ताइदिएको छ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *