Skip to content

हाम्रो नेता

  • by
BirBahadurThakuri

हामीले रोजेको नेता
फाँकी लाउने नहोस्,
इमान्दार होस्,
मुर्ख नहोस् ज्ञानी होस्
निकै पढे लेखेको होस् ।

बोली र वचनको पक्का होस्,
बोल्नु सिपालु होस्,
नियम कानून जानेको होस्
अर्काको तालमा नाँच्ने नहोस्,
निर्धो भएर बाँच्ने नहोस्,
हाम्रो नेता झर्झराउँदो
आँटी र खाटी होस् ।

हाम्रो नेता
जुनै जोगी आए पनि
कानै चिरेको नहोस्,
सबै गुणले सम्पन्न होस्
घुन लागेको नहोस्,
मुकुट र झन्डीको राजनीति गर्ने नहोस्,
महाकालको कसम खाए पनि,
कमिशन नखाने होस्,
पैह्रो र प्राकृतिक आपदामा आएको
राहत सामग्रीहरू
पीडित परिवारलाई बाँड्ने होस्,
आफ्नो घर भर्ने नहोस् ।


हाम्रो नेता
बेकारीलाई काम दिलाउने होस्,
भोकाहरूलाई माम दिलाउने होस्,
पहाडमा रोजगारको अवसर दिलाउने होस्,
चियाबारीको समस्या समाधान गराउने होस्,
विधान सभा र संसद थर्काउने होस्
जी टी एको सम्झौता रद्द गरेर
त्रिस्तरीय पञ्चायत
लागु गराउन सक्ने होस् ।

हाम्रो नेता
इमान्दारी होस्,
कच्चा घरमा बसे पनि
पक्का काम गर्ने होस्,
गाउँ बस्तीमा बाटोघाटो बनाउने होस्,
पानीको मुहान फुटाउने होस्,
पहाडमा दुई चारवटा अस्पताल बनाउने होस्,
एक दुईवटा इञ्जिनियरिङ र
मेडिकल कलेज बनाउने होस्,
पहाडमा आफ्नै शिक्षा बोर्ड
गठन गराउने सामर्थ भएको होस्,
पहाडमा विश्वविद्यालय
निर्माण गराउने सोँच राखेको होस्,
गोर्खाको मान बढाउने होस्,
दार्जीलिङको गौरव फर्काउने होस्,
पहाडेहरूको अनुहार चम्काउने होस्,
हाम्रो नेता अरु हेरी बेग्लै होस्,

हाम्रो नेताले
सिञ्चेलको पानी पिएको होस्
कञ्चनजंघाको चिसो सिरेटोमा हुर्केको होस्
अम्रिसो घारीमा उफ्रेको होस्


कलकत्ते राजनीतिको हावा नलागेको होस्,
हाम्रो नेता
गोर्खाको दहृलो मुटु भएको
आँटी र खाँटी होस् ।

बी बी ठकुरी

Leave a Reply

Your email address will not be published. Required fields are marked *