एकाएक विगतका जिन्दगीका चिन्हहरू सम्झदै गएँ। कुनै उपन्यासका पानाहरू झै पल्टाउदै गएँ। अहँ ! कुनै पानामै भेटाइन उत्साहको पाना न त कुनै शिर्षक नै खाली रित्तो मात्र। अन्योलै अन्योलको जिन्दगी सानोमा ‘क’ लेख्न नजानेर केरकार पारी छोडेको जस्तो। जिन्दगीमा केही गर्न सकिएन। उफ! कसैले कुनै दिन सम्झना लाएक पनि भइन् म। कसैको आँखाको नानी बन्न पनि सकिँन सधैं झार मात्र ! जिन्दगीको ठक्करले पारेका ठेलाहरू बाहेक केहीरहेनछन् र उक्त खाली हातहरू अहिले जमीनको धूलोमा आवाद बनेको छ।

ओहो ! जीवनमा मान्छे बन्न कहिल्यै सकिएन। किन सकिन म मान्छे बनेर हिड्न ? आफैले आफैलाई प्रश्न गरे उत्तरमा के भनुँ ?
— मेरी आमा जत्तिकै सहनशील भइन।
— मेरी दिदी जस्तै लक्षिणकी भइन।
— मेरी भाउजू जस्तै संस्कारिक पनि भइन।
— कसैको कथित मर्यादालाई अंगालेर हिड्न सकिँन।
— कसैको दासतालाई महानतामा साबित गर्न सकिँन।

कसैले भनेका हरेक कुरा स्वुकारेर हिड्ने शक्ति भएन ममा, सधैं छुच्ची र बिद्रोही मात्र ! आफैले आफैलाई प्रश्न गर्दै, उत्तर सोच्दै थिएँ। एकपटक फेरि पनि आफूले आफैलाई महामुर्खमा साबित गरिदिए।

कहिलेकाहीँ बा, आमासँग पुरानो संस्कारको कुरामा झगडा पर्छ र नराम्रोसँग गाली खाइन्छ। हुन पनि समाज अँझै पनि त्यही पुरानै संस्कार र परम्परामा अडिएको छ। अँझैसम्म पनि पुरुषवादी सोचले हिडेको यो समाजमा छोरीलाई आफ्नो इज्जत र स्वतन्त्रसँग हिड्न निकै गाह्रो। हत्केलामा मुटु समातेर हिड्नुपर्ने। “छोरीले घरको हरेक काम कुराहरू सिक्नुपर्छ” प्रत्येक छोरीहरुका आमाले सोच्ने र भन्ने पहिलो “वाक्य” यही हो। हो म मान्छु हरेक कुराहरू सिक्नु पनि छोरीहरुको एउटा साहसीपन हो। त्यो साहस छ छोरी महिलाहरुमा। तर त्यही घरमा एउटी छोरी, बुहारी होस् या छोरा होस केही काम बिगृयो भने छोरी बुहारीलाई अलक्षिणा भन्नेले त्यही घरको छोरालाई कहिल्यै अलक्षिणा भनिदैन। छोरा मान्छे मर्द हुन रुनु हुदैन भन्ने यो समाजले छोरी बुहारीहरुलाई रुवाउनु हुँदैन भनेर किन कहिल्यै सोच्दैन ?

१६/१७ वर्षको उमेरमा छोरीलाई बिहे गरेर पठाउदा वा छोरी आफैले बिहे गरेर जादा खुशी हुने बा आमा र समाज २५/२६ वर्षसम्म बिहे गरेकी छैन भने छोरी ठुली भई भनेर समाजमा एक माथि अर्को चर्चा। समाजले उसको अस्तित्व माथि चियोचर्चो गर्न समेत भ्याउँछ। समाजले उसको आत्मसम्मानमा शासन चलाउन थाल्छ।

समय बदलियो अनि यसबीचमा धेरै थोकहरू बदलिए तर हरेक घरदेखी, बाटो, कार्यलय, राजनीतिसम्म छोरी महिलाहरुलाई हेर्ने आँखा र सोच्ने मानसिकता कहिल्यै बदलिएन मेरो समाजमा। चाहे त्यो महिलाहरुको होस् चाहे पुरुषहरुको होस्।

जसले जे सुकै भनोस त्यसको कुनै प्रवाह गर्नु पनि हुँदैन। चाहे आफ्नो होस् चाहे आर्काको अन्यायमा बिद्रोह नै गर्ने हो र न्यायलाई साथ दिने हो। आफ्नो स्वाभिमान र इज्जतलाई मुठ्ठीमा कसेर हिड्ने हो। के गर्नु कहिलेकाहीँ आफै कानून आफै अदालत बन्नुपर्छ।

आज फलानोको छोरीको बिहे भयो फलानोको छोराको बिहे भयो। कति ल्यायो दाइजो ? छोराका बा आमा दाइभाइ दिदीबहिनीलाई के –के आएको छ ? सम्पत्ति क–के दिएका छन् ? के गर्दो रहेछ ? घर परिवार कति हुने खाने रहेछन् ?

–दाइजो त कति हो कति घरमै नअटाउने छ।
–गाउँमा पनि घर रहेछ जग्गा जमिन सम्पत्तिरहेछ।
–शहरमा पनि ठुलै घर रहेछ।
–धेरै पढेलेखेको रहेछ।
–जापान, अस्ट्रेलिया, कोरिया, अमेरिका जादो रहेछ।
–सरकारी जागिर पनि खादो रहेछ।
आहा ! फलानोको छोरी त कति भाग्यमानी। उसलाई गहना कपडा कति दिएछन् ?
–गहना त छपक्कै छन्।
–कपडा त झन् कति हो कति।
–सारै भाग्यमानी लक्षण किरहिछ।

जतिसुकै शिक्षित भए पनि यस्तै दाइजोको लोभ, मोह, घमण्डका कारण यहाँ गहिरोभन्दा गहिरो भनिने प्रेमका सम्बन्धहरू पनि निजि स्वार्थ, सुख र सम्पतीका लागि दिनप्रतिदिन तोडिँदै छन्। अँझ भन्ने हो भने कति दिदीबहिनीहरुले यही दाइजोका कारण ज्यान गुमाउनु परेको छ, जिउँदै अग्निकुण्डमा होमिनु परेको छ।

वास्तवमा हाम्रो समाजमा नारीहरुलाई आफ्नो अस्तित्व र स्वतन्त्रताको तराजुमा तौलनेभन्दा सुन र सम्पत्तिको तराजुमा तौलने समाज र घरपरिवारको कमि अँझै पनि छैन। जति शिक्षित बुझ्ने भएपनी मनले नआइज मुखले आइज भन्ने दाइजोको कुसोच राख्नेहरुको पनि कमि कहाँ छ र ?

माया कसलाई हुँदैन ? मन कसको हुँदैन ? मुटु कसको दुख्दैन ? बाचुन्जेल आफ्नो जीवनको माया कसलाई हुँदैन ? बगिजाने आँसुलाई पनि त आँखाको नानीको माया हुन्छ नि। जीवनमा धेरै पैसा कामाउन पाउँ, सुख मोजमस्तिको जीवनयापन गरुँ। ठुलो मान्छे बनुँ। ठुलो महल बनाउँन सकुँ। सबैको आँखाको नानी बन्न सकुँ। हरेक मान्छेले मेरो नाम जप्दै हिँडुन। मेरी श्रीमती हिरोनी बनोस्। मेरो श्रीमान हिरो बनोस्। मेरा सन्तानहरू हिरो नै बनून्।

आहा! मान्छेका सपना र संसारहरू। निदाइरहन्छ मान्छे, देखिरहन्छ सपनाहरू अनि बिहान् उठ्छ सपना एकातिर दौडन्छ्न् मान्छे अर्को्तिर दौडन्छ। कोही मान्छे खुसी छन्। कोही दुखी छन्। कोही रोगी छन्। कोही निरोगी छन्। कोही धनी छन्। कोही दरिद्र छन्। कोही गरिब छन् र यसैमा कोही चोर पनि छन्। कोही साधु पनि छन्। कोही मानव पनि छन्। कोही दानव पनि छन्। कसैले मान्छेले मान्छेलाई लुटेर, चोरेर, ठगेर खाएको छ। वास्तवमा यो संसारमा जो जस्तो भए पनि खुशी कोही छैन। लुट्ने, चोर्ने, अरुलाई ठगेर खाने, आफ्नै पसिना बगाएर खानेहरू पनि खुशी छैनन्।

सबै पुगेको मान्छे बाहिर म सन्तुष्ट छु, मलाई सबै पुगेको छ भनेर सान झार्दै हिडे पनि ऊ आफ्नो जीवन प्रति संतुष्ट छैन। हुने पनि यो पुगेन भनेर दौडेको छ। नहुने पनि ऊ पुगेन भनेर दौडेको छ। यहाँ मान्छेहरुको भीडमा मान्छे हराएको छ। ओहो ! साच्चै यिनै कुराहरू सोच्दा सोच्दै एउटा लामो कथा पो बन्ला जस्तो लाग्यो। सबै मान्छेहरुको सोच्ने मष्तिस्क हेर्ने दृष्टि एउटै, सुन्दर भैदिए सायद यहाँ मान्छेहरुको भीडमा मान्छे हराउने थिएन होला।

दीपा धिताल

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *