बिरामी–यात्राका भगवानहरू


विजया दशमी–२०७५ को अवसरमा स्कुल बिदा थियो । २०७५ असोज २५ गतेदेखि दिल्ली–हरिद्वारको यात्रा तय भयो । यात्रा उमङ्गको नभई वाध्यताको थियो । यात्रा बिरामी–यात्रा थियो । कार्तिक १० गते पक्षाघातको सिकार भएको वर्ष दिन पुग्थ्यो । त्यसकै उपचारार्थ हरिद्वारस्थित पतञ्जली आयुर्वेद चिकित्सालय पुग्ने ध्याउन्न थियो ।

साथमा पुराना मित्र शिवकुमार यादव थिए । एका विहानै गोलबजारबाट सिरहा, माडर जाने म्याजिकमा चढ्यौँ । चोहर्वातिर बसबालाहरूले म्याजिकलाई सिरहासम्म मात्रै जान दिँदा रहेछन् । आफ्ना यात्रुहरू म्याजिकले बोकेको झोँकमा तथानाम गर्न पनि पछि पर्दा रहेनछन् । माडरका यात्रु बोकेको प्रसँग दोहोरीएमा जरिवाना गरेर मात्र छाड्दा रहेछन् । हामी चढेको म्याजिक पनि खासमा लुकिछिपी माडर नै जाने रहेछ । गोप्यरूपले माडरका मान्छेलाई हाल्दै सिरहासम्म मात्रै लाने भन्दै म्याजिक अघि बढ्यो । गालीगलौजबाट बच्दै गयो । दण्डजरिवानाबाट जोगिदै गयो । आफ्नो काम पनि गर्दै गयो ।

माडरमा उत्रेपछि जयनगर पुर्याउने म्याजिकमा चढ्यौँ । १५ जना यात्रु नभरिई गाडी हिँडाएन । बल्लतल्ल यात्रु भरिए । र, म्याजिक दगुर्न थाल्यो । विहानी पख एक झरी पानी परेको कारण सडकको धुलो चुपचाप बसेको थियो । यद्यपि वरपरका घर–गुहालीबाट आउने धुँवा भने उड्न छाडेको थिएन । सडक वरपरको खोपिल्टाबाट आउने हिलो र पानीमा रहने मरेका जीवहरूको गन्धले नाक नथुनी धर थिएन । अँझ मलाई गन्ध, धुलो र धुँवा भए श्वास फेर्न नै गाह्रो हुन्थ्यो । अरू त के कुरा टेलिभिजनको पर्दामा फोहरको गन्ध, धुलो र धुँवाको दृष्य देखे मात्र पनि सास फेर्न सकस हुन्थ्यो ।

जसोतसो नेपालको बोर्डरमा पुगेर म्याजिक उभियो । ड्राइभरले उत्रन आदेश फरमान गर्यो । अरू मानिसहरू फटाफट उत्रे । मलाई उत्रन सहज थिएन । विशेष सतर्कता सहित हातले खुट्टा उचाल्दै झर्नुपर्थ्यो । क्षणभरमै गाडी बदल्नु परेकोमा रिसको पारो तातिहाल्यो । मलाई सम्झाउँदै ड्राइभर बोल्यो, “भारततिर जान र नेपालतिर आउन कर तिर्नुपर्छ । बोर्डरसम्म जान र पुर्याउन कर तिर्नु पर्दैन । उता भारतीय नम्बर प्लेटको गाडी चल्छ । यता नेपाली नम्बर प्लेटको गाडी कुद्छ ।”

कुरै कुरामा ऊ भन्दै गयो, “नेपाल र भारतका दुई साहु मिलेका छन् । कर नतिर्ने उपाय गरेका छन् । यात्रुबाट भने बोर्डर शुल्क समेत खप्टिएको भाडा तिराउँछु । जसरी पनि लगानीकर्ता मालामाल छन् । सरकारी निकाय परिबन्दमा फँसेको छ । मुकदर्शक बनेर टुलुटुलु हेरिरहेको छ ।”

सारा कुरा उसैले भनिदियो । उसलाई भन्नुपर्ने अरू कुरा केहिरहेन । सायद ऊ पनि पीडित मजदुर हुँदो हो । साहु मालामाल भएको र आफू सूर्योदय पूर्वदेखि सूर्यास्तसम्म खट्दा पनि कङ्गालपति नै रहनुपरेको पीडा सुनाउँदो हो । यस्ता भित्री कुरा हत्तपत्त कसैले पोख्दैन । ऊ मात्र एक चालक थियो जसको मनमा साहूप्रति आक्रोस थियो । असन्तुष्टिको पहाड ठडिएको थियो ।

भारतीय नम्बर प्लेटको म्याजिकले जयनगर पुर्यायो । सेतै दारीजुँगा भएको मुस्लिम समुदायको मान्छे सम्मुखमा देखियो । अरू थुप्रै मान्छे व्यागमा भारू र नेरु दुवै थरीका नोट च्यापेर बसेका थिए । पक्कै पनि अधबैसेंले नठग्ला भनेर भारू साट्ने कुरा गरेको त सयकडा पाँच बट्टी काट्ने कुरा गर्यो । निकैबरको गलफत्तीपश्चात् सयकडा तीन रुपियाँ लिएर साटिदिने कुरामा सहमति जनायो । बट्टीको नाममा एक हजार रुपियाँ सित्तैमा चढाएर त्यहाँबाट निस्कियौँ ।

दश बज्दा पनि सूर्य मधुरै थियो । जयनगर रेल्वे स्टेशनमा मानिसहरू पातलै थिए । पूर्व बुक नगरिएकोले यात्रा कष्टकर हुने निश्चित थियो । टीटीसँग मिलेमतो गर्न सके खै कता हो राम्ररी बसेर जान पाइने कुरा सुनियो । हाम्रा सारा प्रयत्न विफल भए । अन्ततः हामी स्वतन्त्रता सेनानी एक्सप्रेसको जेनेरल वार्डका यात्रु बन्यौँ । सुरुआतमा बसाइ सहज थियो । दिल्लीसम्म यतै कम भीडभाड रहे यात्रा रमाइलो हुनेभयो भन्ने लाग्यो ।

हामी बसेकै सिटमा बस्न पुगेका मधुवनी जिल्लाको मल्मैत गाउँका रामवृक्ष महतो (मो.नं. ९५७२१९६६७३)ले भने, “मधुवनी पुग्दा नपुग्दै भरिनपुग्छ । नत्र दरभङ्गा पुगेपछि त जरुर भरिन्छ । समस्तीपुर पुग्दानपुग्दा त ट्रेनमा पाइला टेक्ने ठाउँ पनिरहदैन ।”

त्यही भीडको डरले गर्दा टे«न चढ्नकै लागि उनी मधुवनीबाट जयनगर पुगेका रहेछन् । उनले मेरो अशक्तता निरीक्षण गरेर भने, “यो पक्षाघातको उपचार जयनगरको आसपासमा रहेको सौंसा गाउँमा पनि हुन्छ । धेरै विरामी आराम भएर गएका छन् । लकवाको उपचार गर्ने डाक्टर खोज्दै जाँदा फेला पर्छ । एक पटक अवश्य जानुहोला ।”

उनी दयालु मनका रहेछन् । मेरो हालत देखेर दुखित हुँदै भने, “शत्रुलाई पनि नलागोस् भन्ने बिमार तपाईंजस्तो सज्जन माष्टर साहेवलाई लागेछ । दैव पनि जे मन लाग्यो, त्यही गर्छ ।” उनको यो भनाइ सुन्नासाथ मलाई शिक्षक मित्र इन्द्र थापाले मेरो हालत नियाल्नासाथ फेसबुकमा लेखेको याद आयो । उनले लेखेका थिए– ईश्वरले भेदभाव नगरी सही निर्णय गर्छन् भनेको त भूल पनि गर्दा रहेछन् । अब ईश्वरलाई कठगरामा उभ्याएर प्रश्न सोध्ने बेला आयो । आचार्यजस्तो साधुलाई सुलीमा चढाएर कसलाई कसरी तर्साउन खोजेको हो कुन्नि ?

रामवृक्षले मनमनै आफ्नो इष्टदेवता डिहिबार थानलाई भाकल गरेछन् । मलाई चाँडै ठिक भए डिहिबार थानलाई फूलप्रसाद चढाउने कबुल गरेछन् । र, मतिर फर्केर छट पर्वमा खबर गर्न आग्रह गर्दै मैथिलीमा भनेँ, “हम डिहिवास थानसँ भाकल केने छी । अहाँ छट पर्वमे हमरा जरुर खबर करु । हमरा विश्वास छै कि अहाँ जल्दी आराम भ‘जाइछी ।”

मैले स्वीकारोक्तिस्वरूप मुन्टो हल्लाएँ । उनले मेरा लागि शान्तवनाका धेरै शब्दहरू व्यक्त गरे । म नेपालको पहाडी समुदायको निरीह मान्छेप्रति उसको सहयोगी चरित्र देख्दा म नतमस्तक भएँ । चौबीस घण्टे यात्रा भर उनले आफ्नै तवरले सहयोग गर्दै गए । यात्राको सुझबुझ नभएको हाम्रा लागि उनी भगवान् नै सावित भए ।

२६ गते बेलुका ५ बजे नयाँ दिल्लीमा पुगेर ट्रेन खाली भयो । मानिसहरू लाखापाखा लागे । रामवृक्षले भने हामीलाई छाडेनन् । हामी हरिद्वार जान चाहन्थ्यौँ । उनले नै सोधपुछ शाखामा गएर सारा कुरा बुझिदिए । हामीले नयाँ दिल्लीबाट हरिद्वारका लागि ट्र««ेन नपाएर पुरानो दिल्ली आउनुपर्यो । उनले नै सिटी रिक्सामा बसाएर हामीलाई बिदा गरे । उनले यता र उता दौडधुप गर्दा कुनै झर्कोफर्को गरेनन् । उनले छुट्टिदा गहभरि आँसु बनाएका थिए । मलाई पनि शरीरकै एक अङ्ग अलग भएझैँ खल्लो अनुभूति भइरह्यो ।

पुरानो दिल्ली स्टेशनमा पुगेर नास्ता खान हामी एक छेउमा बस्यौँ । हामीले खाइरहेको बखत एक मगन्तेजस्ता देखिने मान्छे हाम्रै नजिकमा आएर हामीले खाएको टुलुटुलु हेरिरहे । पक्कै पनि खान पाउँछु कि भनेर नजिक आएको होला भन्ठानी दुई वटा ठेकुवा दिएर बिदा गर्न शिवकुमारलाई सङ्केत गरेँ । उनले पनि ठेकुवा दिँदै भने, “ले लो ठेकुवा और खा लो !”

मगन्तेले लिन अस्वीकार गर्यो । ऊ खासमा रेल्वे स्टेशनमा कार्यरत कर्मचारिरहेछ । उसले आफ्नो नाम धर्मपाल (मो.नं. ९७१८४९७१२८) बताउँदै भन्यो, “म पनि पक्षाघातको बिरामी हुँ । राम तेल १० ग्राम, अमर तेल १० ग्राम, तिल तेल १०० ग्राम र तारपिन तेल ५० ग्राम मिश्रण गरी मसाज गर्नु तीन दिनमा चट् हुन्छ । मैले आफूलगायत ५/७ जनाको ठिक गरेको छु ।”

म वाल्ल परेर हेरेको हेर्यै भएँ । वास्तवमा ऊ पनि मझैं खोच्याएर हिँड्दो रहेछ । उसको अनुभव सत्य लाग्यो । हरिद्वार नगई उसकै पछि लागूँ कि जस्तो भयो । उसले तेल किन्न पाइने स्थान पनि बतायो । विश्वस्त भएर ग्यारेन्टी ठिक हुन्छ भन्यो । उसमा पनि मैले सहयोगी भगवान् नै देखेँ । उसको सहयोगी चरित्र र व्यवहारलाई सलाम गर्दै पुनः भेट्ने बाचा गरी उसबाट बिदा भइयो ।

कुरा त हो नि ! मनोगन्थन आयो– मैले भोगेको दुःख देखेर भगवान्ले सहन गर्न सकेनन् । त्यसैले रूप बदलेर मेरो नजिक आए । मेरो विचलित मनोदशालाई मलहम पट्टी लगाएँ । र, बिमार निको पार्ने ज्ञान बाँडेर अलप भए । अब मैले भनेजस्तो गरेँ भने ठिक हुन्छु । भगवान्ले भनेपछि भने, भने फरक पर्दैन । आजसम्म फरक नपरेको कुरा मेरै सन्दर्भमा कसरी फरक पर्छ ?

आफ्नै मनसँग मात्रै जे भन्न पनि र जे सोच्न पनि मानिस स्वतन्त्र छ । धर्मपालले लेखिदिएको तेलहरूको सूची र उसको सम्पर्क ठेगाना मेरो डायरीमा सुरक्षित छ । शिवकुमारसँग गन्थन गर्दै चित्त बुझाएँ । र, हरिद्वार–यात्राको लागि चौतर्फी नजर डुलाउँदो भएँ ।

सोधपुछ गर्दै रातको ९ बजे हरिद्वार जाने ट्रेनमा बसियो । नजिकका सहयात्रीहरूसँग कुरा गर्दा भोलिपल्ट ०९/१० बजे हरिद्वार पुगिने जानकारी भेटियो । आनन्दले निदाए हुने रहेछ भन्ने लाग्यो । त्यस मध्यरातमा पनि मानिसको भीड यत्ति धेरै थियो कि खुट्टा राख्न पाउने ठाउँ भेट्न मुस्किल हुन थाल्यो । अँझ जवरजस्ती उता सर् र यता सर् भनेर बसेकाहरूलाई पिरलो पार्नेहरू पनि पर्याप्त थिए । मलाई भने बिकलाङ्ग ठानी कसैले पनि दुःख दिएन ।

टाउका माथिको सिटमा चढेकाहरूको खुट्टाको धुलो भने निकै पटक पुरस्कारस्वरूप भेटियो । मोजाको गन्धले उखरमाउलो पार्यो । अर्कालाई असर पर्ला कि भनेर सोच्न पनि नसक्ने मुर्दारहरूले जुत्ता लगाएर सभ्य बन्नुको अर्थ नै के रह्यो र ! स्मरण गराउँदा ‘सरी’ भन्थे । पटक पटकको सास्तीले हैरान भएर झर्कोफर्को गर्दा उल्टै धम्की सुन्नुपर्थ्यो ।

सानोतिनो ठेलाई र पेलाई सहँदा मात्र हुलमुलमा यात्रा गर्न सकिन्छ । एकले अर्कामाथि असहयोग र शत्रुवत् व्यवहार गर्ने हो भने हुलमुलको यात्रा बीच बाटैमा त्ुहन्छ । ट्रेन हुइँकिँदै थियो । दिल्लीको गर्मी खाएको शरीर हरिद्वारको ठण्डा वातावरण अनुभूत गर्दै थियो । रातको समय परेकाले वरपरका दृष्य राम्ररी नियाल्न सकिएन ।

म बसेको छेउमा अमन (मो.नं. ९५६०३७३४०३/८८५१५६५९९२) नाम गरेका एक युवक बसेका थिए । उनले मेरो शारीरिक अशक्तता र कष्टतालाई भित्री दिलदेखि नै अनुभूत गरेछन् क्यारे । अरूबाट हुने धक्का र ठेलामठेलबाट मलाई बचाउँदै गए । म भाषिक कठिनाइका कारण मुकदर्शक मात्रै थिएँ । शिवकुमार पनि अपरिचितसँग हिन्दीमा बोल्न गाह्रो मान्दा रहेछन् । मेरो तर्फबाट वकालत गर्ने मात्रै अमन भए ।

उनैसँग टुटेफुटेको हिन्दी, मैथिली, अङ्ग्रेजी र नेपालीको मिश्रण गरी बातचित हुँदै गयो । उनी भर्खरै नियुक्त सरकारी इन्जिनिएर रहेछन् । इन्जिनियरिङका कुराहरू गरे । म पनि के कम भनिहालेँ, “हम भी इलेक्ट्रिकल इन्जिनियरिङके प्रारम्भिक विद्यार्थी सभका पढाते है ।” उनी अँझ उत्साहित भए र एक टुरिष्ट गाइडको जस्तो भूमिका निर्वाह गर्दै भारतका बारेमा सारा इतिवृति बताउँदै गए । उनले धार्मिक र पर्यटकीय ठाउँहरूको चर्चा समेत गरे । म अगस्त्य मुनि हुँदो भएँ, रात अँझ गाढा हुँदै गयो ।

अनुमानित समयमै ट्रेनले हरिद्वार पुर्यायो । सबै उत्रिए, अमन पनि उत्रे । मलार्ई उत्रन कठिनाई थियो । झटपट गर्न मिल्दैनथ्यो । मनमा चिन्ता गडेकै थियो । शिवकुमारबाट कुनै प्रकारको बौद्धिक सहयोग पाउने सम्भावना नै थिएन । अब पतञ्जली कताबाट जानू, सूचना कसबाट लिनू, कसैले गलत सूचना दिएर एकान्तमा पुर्याई लुटपाट गरेमा के गर्ने ? आदित्यादि सकसले एकै पटक गाँज्न थाले ।

नभन्दै अमन हामीलाई नै पर्खेर बसेका रहेछन् । उनले पतञ्जली जाने बसमा चढाइदिने कुरा गरे । शंका लाग्यो र भनिहालेँ, “हम पुछताछ करके चल जाएगें । आप कष्ट मत करे !” उनले आफ्नो पछिपछि लाग्न जिद्दी गरे । हरतरहले बाह्र घण्टासम्म साथ दिने साथीले गद्दारी नै गरेछ भने पनि गरोस् भने उनको पछि लागियो ।

५/७ मिनेट हिँडाएर एउटा बसमा चढाइदिए र सहचालकलाई हामीहरू नयाँ यात्रु भएकाले आफैँले जानेर पतञ्जलीमा उतारिदिन अह्राए । हामीसँग छुट्टिँदा छुट्टिँदै उनले कुनै आपत परे फोन गर्न सम्झाउन भ्याए । अँझ खर्चबर्च भए नभएको सोधे र दिन पनि खोजे । हत्त न पत्त मैले रोक्दै भने, “हमसभ इत्ना सहयोगके लिए आपका बहुत बहुत आभारी है । खर्चाबर्चा साथमे है । आप निश्चिन्त भ’जाऊ । आपका मोवाइल नम्बर मेरे पास है । सम्पर्क जरुर करेगें ।”

उनी खुशीसाथ छुट्टिए । तुरुन्तै एक ठिटा बसमा चढे । उनी पनि ‘पतञ्जली आयुर्वेद चिकित्सालय’मै चेकजाँच गराउन जाँदै रहेछन् । हामी पनि उनकै पछि लाग्यौँ । विहान ९ बजेदेखि साँझ ५ बजेसम्म ओपीटी विभाग खुल्दो रहेछ । सर्वप्रथम बिरामीले एउटा फर्म भर्नुपर्दो रहेछ । त्यसमा पहिचान/परिचय पत्रको किसिम र नम्बर, ठेगाना, रोगको नाम वा लक्षण आदित्यादि कुरा स्पष्ट अक्षरमा लेख्न निर्देश गरिएको थियो ।

म परेँ लेख्ने हातै नचल्ने मान्छे ! अरूलाई गुहार्नुभन्दा जसोतसो आफैँ सक्रिय हुनु उत्तम ठानी देब्रे हातले बाङ्गाटिङ्गा अक्षरमा फर्म भरेँ । परबाट अक्षर सफा र चिटिक्क परेका देखिए । नजिकैबाट नियाल्दा कुनै कमजोर ज्येष्ठ नागरिकले हात थरथराउँदै लेखेजस्ता देखिए । यद्यपि केरमेट थिएन । कुनै जानिफकार बुज्रुकले लेखेजस्ता थिए । कोसिस गर्दै गए सबथोक सम्भव रहेछ भन्ने लाग्यो । म देब्रे हात नचालाएरै कुँजो भएको रहेछु भन्ने लाग्यो । हाम्रो शरीरमा दुई दुइटा हात, खुट्टा, कान, आँखा आदित्यादि हुनुको कारण एउटाले काम नगरे अर्को एक्लैले दुवै अङ्गको काम गर्नलाई हो भन्ने कुरा त्यस बेला याद आयो । दुनियालाई शिक्षादीक्षा दिने पेशा अङ्गालेको मान्छे भएर पनि बेहोसीमै बाँचेकोमा हिनताबोध भयो ।

शिवकुमारलाई झोलाझाम्टी रुङ्न लगाएर म पुगेँ कोठा नं ४मा रहने पञ्चकर्म विभागका डा. विक्रम गुप्ताकहाँ । उनले सोधपुछ गर्न थाले, मैले उनको हिन्दी बोल्ने लवज नै बुझिनँ । मैले उनलाई बोल्ने लवज सुधार्न आग्रह गरेँ । बदलामा उनी झर्किए । आफू ठुलो आशा र भरोसाले यत्ति धेरै टाढा नेपालबाट आएको र भाषिक उल्झनमा फँसेको कुरा बताउँदै गएँ । उनले पुराना रिपोर्ट हेरे र नयाँ कुरा सोध्न खोजे । म उनका कुरा नबुझ्ने, उनी मेरा कुरा नसम्झने ! बडो आपत् पर्यो । मैले अङ्ग्रेजीमा बोल्न अनुरोध गर्नासाथ उनले फोन गरेर नर्सलाई बोलाएर खै के–के भने कुन्नि ! मैले बुझ्नै सकिनँ ।

नर्सले मलाई डोहोर्याउँदै अर्कै डाक्टरकहाँ पुर्याइन् । त्यहाँ भीडभाड रहेछ । लाइनमा बस्नुपर्ने रहेछ । बसेकै बखत नर्सले मेरो विमारका बारेमा सारा बयान लिइन् । उनका हरेक कुरा मैले बुझेँ र उनले पनि मेरा कुरा बुझिन् । मैले डाक्टरको हिन्दी बोल्ने लवज किन फरक भनेर सोधेँ । उनले डाक्टर अर्कै राज्यको मान्छे भएको र हिन्दी स्पष्ट बोल्ने बानी नभएको भनेर जवाफ फर्काइन् । मेरो पनि चित्त बुझ्यो । मेरा सारा भाषिक समस्याको समाधानकर्ता उनै बनिन् । उनी साह्रै सहयोगिरहिछन् । उनमा मैले प्।m्लोरेन्स नाइटिङ्गेलको रूप देखेँ । साँच्चै उनी मेरा लागि कष्टबाट पार तार्ने भगवान् नै बनिन् ।

मेरो पालो आयो । डाक्टरले रिपोर्ट हेरी सोधे । मेरो तर्फबाट सारा जवाफ नर्सले नै दिइन् । डाक्टरले मेरो बोली सुन्न चाहे । भाषिक अल्पज्ञानका कारण म डाक्टरसँग बोल्न चाहन्नँ भनेर नर्सले नै सम्झाइन् । उनले म विमारीको बोली नर्मल रहेको र ठुलो समस्या नरहेको बोध गराइन् । डाक्टरले खाने, दल्ने र पिउने ओखती लेखिदिए । साथै, उच्च रक्तचाप र प्यारालाइसिसका विमारीले दैनिक गर्नुपर्ने प्राणायामहरूको नाम लेखिदिए । र, हस्ताक्षर गरी कागज थम्याए । पहिले जाँच गरेका डाक्टरले पुर्जामा लेखिएका केही कुरा हटाए र प्राणायामको समायावधी किटान गरिदिए ।

डा. बिक्रम गुप्ताकानुसार प्रत्येक विहान–बेलुका भोको पेटमा कपालभाती १० मिनेट, अनुलोमविलोम २० मिनेट, भ्रामरी अर्थात् ओठ नखोलीकन ॐ को नाद गर्नु ११ पटक, उद्गिद अर्थात् ॐ को उच्चारण ओठ खोलेरै गर्नु ११ पटकसहित सुखासन र बज्रासन गर्नुपर्ने भयो । साथै, पञ्चकर्म गर्नुपर्ने भयो । पञ्चकर्मका बारेमा नर्सले धेरै कुराहरू गरिन् । सुनेर म छक्क परेँ । हुन त आस्था च्यानलमा स्वामी रामदेवजी महाराजजीले नसाग्रक्रिया आदित्यादि गरेर देखाएको, सिकाएको देखेको थिएँ । नर्सको मुखाराविन्दबाट बृहत चर्चा सुनेर आफू अँझै लाटै रहेको ठहर गरेँ ।

आयुर्वेद शास्त्रमा मानव शरीरमा हुने त्रिदोष अर्थात् कफ, पित्त र वाथलाई नियन्त्रण गर्ने ५ प्रकृयालाई पञ्चकर्म भनिँदो रहेछ । पञ्चकर्म शरीरको विष बाहिर ल्याउने प्रकृया रहेछ । यस कर्मलाई कार्यान्वयन गर्नुपूर्व पूर्वकर्मका रूपमा दुई थरीका काम गर्नु जरुरीरहेछ । पहिलो स्नेहन क्रिया (आयलेशन)– यसमा शरीरभरि तेलले मालिस गर्ने काम हुने रहेछ । यो कार्य विशेषतः पित्त नाशक रहेछ । यसले कठोर विषाक्त पदार्थलाई मुलायम बनाउँदो रहेछ । पानीजस्तो पातलो तुल्याउँदो रहेछ । अर्को स्वेदन क्रिया (फाँमेंटेशन)– यसमा शरीरबाट अत्यधिक पसिना निकाल्ने काम हुँदो रहेछ । शरीरको विषाक्तलाई पसिनाको माध्यमबाट बाहिर निकाल्ने काम हुँदो रहेछ । यी दुई कामले पञ्चकर्म गर्न सहज हुने र अपेक्षित लाभ आर्जनमा मद्दत पुग्ने रहेछ ।

नर्सले दिएको मौखिक जानकारी र लिखित सामग्रीकानुसार पञ्चकर्मको पहिलो चरणमा वमन अर्थात् उल्टी गराउने काम हुन्छ । यो मुलतः कफ नाशक हुन्छ । यसले अस्थमा र मोटोपनमा बढी लाभदायक हुन्छ । आयलेशन र फाँमेंटेशन क्रियाबाट शरीरको विषाक्तले तरल रूप धारण गर्छ र शरीरको माथिल्लो भागमा जम्मा भएर रहन्छ । वमन गराउँदा विषाक्त तरल पदार्थ शरीर बाहिर निस्कन्छ र रोगी निरोगी बन्दै जान्छ ।

दोश्रो चरणमा विरेचन अर्थात् मलत्याग गराउने काम हुन्छ । आयलेशन र फाँमेंटेशन क्रियापश्चात् ओखती खुवाइन्छ । आँतबाट विषाक्त पदार्थ बाहिर निकाल्ने काम हुन्छ । यो पित्तनाशक हुन्छ ।

तेश्रो चरणमा नस्य अर्थात् नाकमा ड्रोप लगाई नाक वा शिरका कुनै भागबाट विषाक्त बाहिर ल्याउने काम हुन्छ । यसमा पनि आयलेशन र फाँमेंटेशन क्रियाबाट काँध र शिरमा हल्का मालिस गरिन्छ । नाक र शिरमा जमेको कफ निकाल्न मद्दत पुग्छ ।

चौथो चरणमा अनुवासनावस्ती अर्थात् तरल पदार्थ मलद्वारसम्म पुर्याउने काम हुन्छ । यो त्रिदोष नाशक भरपर्दो प्रकृया हो । विशेषतः पुरानो बाथरोगमा फाइदाकारक हुन्छ । यसमा तेल, दूध, घिउजस्ता तरल पदार्थ मलाशयमा पुर्याउने काम गरिन्छ ।

पाचौँ चरणमा रक्तमोक्षण अर्थात् खराब रगत सफा गराउने काम हुन्छ । यसमा शरीरको दुषित रगत बाहिर निकाल्ने काम हुन्छ ।

मुलभूतरूपमा पञ्चकर्मले शरीर र दिमाखमा जमेर बसेको विषाक्तलाई सफा गर्छ । यसका फाइदा अनगिन्ती छन् । यसले शरीरको रोग प्रतिरोधक क्षमता बढाउँछ । शरीरलाई पूरै शुद्ध पार्छ । पाचनशक्ति बढाउँछ । जवानी नै रहिरहन र बजन कम गर्न सहयोग पुर्याउँछ । स्वस्थ र सुन्दर शरीरका साथ दीर्घजीवन बनाउन मद्दत गर्छ ।

अचेल पञ्चकर्म लोकप्रिय हुँदै गएको छ । यसका लागि सावधानी अपनाउनु पर्ने खास उल्लेख्य कुरा केही छैन । यद्यपि पञ्चकर्मको दौडानमा पिउन र नुहाउन गरम पानीको प्रयोग गर्नुपर्छ । यौन सम्बन्ध राख्नुहुन्न । दिनमा सुत्नुहुन्न । राती अबेरसम्म जाग्नुहुन्न । छिट्टै पच्ने खाना खानुपर्छ । तनाव पटक्कै लिनुहुन्न । कठोर शारीरिक व्यायाम पनि गर्नुहुन्न ।

महिलाले मासिक धर्मको दौडानमा पञ्चकर्म गर्नुहुन्न । स्तनपान गराउने महिला, फोक्सोको क्यान्सर भएको मान्छे, एडस पीडित मान्छे, हाई बीपीका रोगी, मस्तिष्कका रोगी, अधिक दुर्बल व्यक्ति, गर्भबती महिला, कुनै सङ्क्रमित रोगले पीडित व्यक्तिहरूका लागि पञ्चकर्म गर्न बर्जित गरिएको छ ।

नर्सको सहयोगले पञ्चकर्मबारे सम्पूर्ण कुरा सरल ढङ्गले बुझ्ने मौका मिल्यो । उनले मैले पनि ५ दिनदेखि १५ दिनसम्म पञ्चकर्म गर्नुपर्ने कुरा वताइन् । एक त साथीको साथमा गएको मान्छे, अर्कातिर र्याल–सिँगान हुनुपर्ने, मालिस आदित्यादि गर्नु/गराउनुपर्ने आफ्नी गृहमन्त्री नभई नहुने ठानेर पञ्चकर्मको कार्यक्रम अर्को पटकको लागि भनी स्थगित गरेँ । शिवकुमारलाई नै यत्ति विघ्न दुःख दिनु पनि मनासिव लागेन ।

खासै समस्या नभोगीकनै पुरानो दिल्ली फर्कियौँ । लोकल ट्रेन परेछ । चारैतिर गाउँघर डुलायो । फोहोरको डङ्गुर भएतिर घुमायो । गाउँलेहरूको जीवनशैली अनुभूत गरायो । समय निकै खायो तर प्राकृतिक र भौतिक रसबसको दर्शन भने राम्ररी गरायो ।

पुरानो दिल्ली पुग्नुभन्दा ४/५ घण्टा अघि आधा दर्जन मान्छेले हत्त न पत्त दूधले भरिएका गिलेन ट्रेनको झ्यालमा झुन्ड्याए र भित्र पसे । हाम्रै सिट खाली देखेर दुवैतिर बसे । केही बेर अन्यत्रका कुरा गरे । एउटाले घुँडामाथि कालो झोला राख्यो र भित्रबाट तास निकाली बाड्न थाल्यो । होहल्ला गर्दै उनीहरू खेल्न थाले । अन्य सिटमा बसेकाहरू पनि नजिकै आएर हेर्न थाले । नभन्दै त्यो ठाउँ व्यस्त सहरको व्यस्त अड्डाखानामा परिणत भयो । नजिकै बसेको एक बुज्रुक भन्दै थियो, “लोकल ट्रेनमा यी यस्तै हो, जे गरे पनि सुहाउने, हामीले मान्नै पर्ने !”

पुरानो दिल्ली त पुगियो । हरिद्वारबाट फर्केर धर्मपालको खोजी गरेँ । तर, ऊ फेला परेन ।

सङ्कटबाट मुक्तिको बाटो देखाउन सहयोगी नै मेरा भगवान् हुन् । अबुझका लागि बुझ्झकी आँखा भइदिने नै भगवान् हुन् । परेका बेला सहयोगी हात लम्क्याउने नै भगवान् हुन् । अचेल म भगवान्हरू बीचमा बाँचेको छु । शिवकुमार हुन् या रामवृक्ष नै किन नहुन् मेरा यात्राका सहयोगी हात हुन् । अमन हुन् वा धर्मपाल होस् मेरो यात्राका बुझ्झकी आँखा हुन् । यात्राका यी भगवान्हरू मेरा लागि अविस्मरणीय भएका छन् ।

–नन्दलाल आचार्य
श्री जनता मावि, गोलबजार–४, सिरहा ।
सम्पर्क नं. ९८४२८२९२०६

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *