अनेकौँ दुर्भाग्यहरू बेहोरेका खलिल जिब्रान


भनिन्छ : अमेरिकी राष्ट्रपति जोन.एफ. केनेडीले प्रयोग गरेको भनाइ– “यो नसोध कि तिम्रो देश तिम्रा लागि के गर्न सक्छ, आफैँलाई सोध कि तिमी आफ्नो देशको लागि के गर्न सक्छौ” उनको थिएन, यो त महान् स्रष्टा खलिल जीव्रानको थियो । उनी साँचो अर्थमा एक मनमौजी फकिर स्रष्टा थिए । सन् १८८३मा लेवनानमा जन्मेका खलिलको जीवनमा एकपछि अर्को दुर्भाग्यको ओइरो लाग्यो ।

पिताजीलाई सरकारले भ्रष्टाचारको अभियोगमा जेल हाल्यो । आफ्नो सम्पूर्ण श्रीसम्पत्ति सर्वस्वहरण गर्नुको साथै आजीवन जेल सजाय तोकियो आफ्नी प्यारी आमा, भाइबहिनी पटापट मरे । एउटा स्रष्टाको जीवनमा यीभन्दा ठुलो पीडादायी घटनाहरू के हुन सक्छन् ? उनी संसारमा भगत एक्लो बने । उनको भागमा बाँकिरहेको व्यापार व्यवसायको काम पूरा गर्न सकेनन् । उनी त सृजना र एकान्तमा लीन हुने स्रष्टा थिए । सृजनाको आनन्दमा चुर्लुम्म डुबेपछि उनलाई अन्य चीज फिक्का लाग्थ्यो ।

उनी मानवीय स्वतन्त्रतालाई सर्वाधिक प्रमे गर्थे । कुनै पनि खाल बन्धन र अनुशासन उनको निम्ति स्वीकार्य थिएन । त्यसैले उनी निर्बन्ध यायावर भएर मनमाफिक युरोप अमेरीका आदिआदि ठाउँहरू घुमे । उनी ईश्वरको मृत्यु घोषणा गर्ने फ्रेडरिक नित्सेसँग सर्वाधिक रूपमा प्रभावित थिए ।

इस्लाम कुलमा जन्मिएर पनि इस्लाम धर्मको रुढीवाद, पाखण्ड र विसंगतिलाई शक्तिशाली ढंगले प्रहार गरेका छन् । उनीभित्रका काव्य अनुभूति एकदमै बेजोड थियो ।

जीवनको उत्तरार्ध अमेरिकामा बित्यो । जहाँ उनले चित्रकलामा आफ्ना विशिष्ट अनुभूतिहरू पोखे । अरबी र अङ्ग्रेजी दुइटै भाषामा आफ्ना बेजोड रचनाहरू सृजना गरे । जीवनका सत्यहरूलाई यति सुक्ष्म ढंगले उजागर गरे, विश्वले यिनको महान् शिल्पीकलालाई कहिल्यै बिर्सिदैन । समाजका विविध विसंगतिहरूलाई मुटु छुने भाषामा तीक्ष्ण ढंगले चित्रण गरेका छन् ।

विद्रोही आत्माहरू, जीवन सन्देश, पागल, सागर कन्याहरू, लोकयात्रा, बटुवा उनका बेजोड र शक्तिशाली रचनाहरू हुन् । उनको जीवनको उत्तरार्ध दु:खान्त वियोगको डिलबाट गुज्रयो । यिनकी जीवनसाथी सुल्तानको मृत्यु भएपछि यिनी सा“च्चैको एक्लो भए । एक्लोपनको पीडा भुल्नको लागि रक्सीको शरणमा परे । अत्याधिक रक्सीप्रेमले बिस्तारै शिथिल पार्दै लग्यो । आखिर पचास पनि नटेकी अड्चालीस वर्षको उमेरमा सन् १९३१मा यस संसारबाट बिदा लिए । उनका बेजोड रचनाहरू भने कालजयी मूल्यमा बाँचिरहेका छन् ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *