नेपाली शुद्धीकरण र मातृभाषा रक्षा: भाषिक आन्दोलन १


अङ्ग्रेजी भाषाको विरोध हैन– मात्र सचेतना

अब नेपालमा भाषिक आन्दोलनको नवीन प्रवृत्तिको खाँचो महसुस भएको छ । तथाकथित सभ्य भनिएको समाज र शिक्षा आर्जन गरी भविष्यको सपना तुन्नेको खोक्रो रवाफ बोक्दा नेपाली भाषा र मातृभाषाको प्रयोग गर्न चाहँदैन । आवश्यकतै ठान्दैन । भाषा विद्रुप, कुरूप बन्दा, आधा मिश्रणलाई देख्दा नेपाली भाषा पढ्ने र पढाउने तथा सरोकार राख्नेको जिम्मेवारी भनिदिन्छन् । गोरखापत्रलाई एकछिन सम्झेजस्तो गर्छ, भाषा आयोगलाई आरोप लगाउँछ, प्रज्ञा प्रतिष्ठानको दायित्वमा पुर्याएर आफू पन्सिन्छ । अँझ भाषा आयोगतिर त चोर औँलो नै तेर्स्याउँछ । पैसा कमाउने अभिप्रायमा सीमाङ्कित सोचभित्र राष्ट्रियता र पहिचानको विषय निम्जो बन्दो रहेछ । गरिबीको फाइदा उठाउने षड्यन्त्रसँग हामी पलायनवादी सोचको दास बनेर बेसुरे बन्छौँ । भाषा र संस्कृतिमा प्रहार गरेपछि परजीवी बन्ने उदाहरणको खलपात्र बन्दा पनि लाज र डरको रेखा हामीमा देखिन्न । मैले यहाँ अङ्ग्रेजी भाषाको विरोध गरेको छैन, भाषा त भाषा नै हो तर समाजले अङ्ग्रेजी भाषाको मिश्रणमा ठालुपन देख्न थाल्यो । अङ्ग्रेजी पनि राम्रोसँग जान्दैन र शुद्धतामा पनि ध्यान छैन । शङ्का छ– कतै हाम्रो समाजले अङ्ग्रेजी जान्नुलाई नै समृद्धिसँग बुझ्न थालेन ! भाषा सिकाइ त इच्छाशक्ति, आवश्यकता र परिवेशमा केन्द्रित हुन्छ ।

१२३ वटा भाषाका धनी नेपालीले यिनको रक्षार्थ योगदान गरौँ भन्ने आँटै गर्दैनौँ । आज हाम्रो शिक्षित भनिएको मानिस– न अङ्ग्रेजी शुद्ध बोल्छ, न नेपाली जान्दछ । न त मातृभाषा जान्दछ । सामाजिक सञ्जाल र सञ्चार माध्यमले नेपाली र अङ्ग्रेजी भाषालाई कक्टेल बनाउने फेसन हाबी बनिरहेको छ । लेख्य रूपको सहजताका पछाडि सञ्चार माध्यममा भाषाको खिचडीवाज बन्दै जाँदा अब भाषा, भेषभुषा, पहिचान, लोक साहित्य विश्वव्यापीकरणको नाममा जानाजान अपहेलित बन्दै गएको आजको सामाजिक वास्तविकतामा जागरणगत नीति तथा कार्यक्रमको आवश्यकता टड्कारो आवश्यकता बन्दै छ । उत्तरआधुनिकताको सोचमा निजत्व बोधलाई ख्याल गरिनुपर्ला कि ! यसका लागि भाषायोजनाका प्रमुख पक्षहरू: छनोट र चयन, मानकीकरण गर्ने, कोडिकरण गर्ने तथा प्रयोगविस्तार गर्ने काम हुनुपर्छ । नेपालमा अब निश्चित समयसम्ममा भाषाको शुद्धीकरण होस् । भाषा जोगाउनु कुनै जाति र देशको मात्रै नभएर संसारकै मानव मात्रको सम्पदा जोगाउनुसँग खुला भएर बुझ्दा बढी राम्रो हुन्छ ।

आजभोलि सरकारी विद्यालयले अङ्ग्रेजी माध्यममा शिक्षाको क्रमिक विस्तार गर्ने पद्धतिको होड चल्दै छ । निजीमा अङ्ग्रेजीले आकर्षण गरेकाले छाप्रोमा पढाइ भए पनि विद्यार्थी त्यहाँ पढ्न पठाइन्छ । बिहान हताहतार टिफिन बोकाएर बच्चालाई बोर्डिङमा पुर्याउने अनि आफू सामुदायिकमा पढाउन बिस्तारै पुग्ने सरकारी जागिरेको सकसमा शिक्षामा विरोधाभास छ । अङ्ग्रेजी बडप्पनको अन्धो आकर्षणले अनुमान लगाउँदा अबका दश–बीस वर्षसम्ममा नवपुस्ताले मातृभाषालाई माटामा मिलाइसक्नेछ । यही तुलनामा अङ्ग्रेजी मोहको जालो फिँजिइरहने हो भने अबको ३० वर्षमा उत्पादित जनशक्तिले नेपाली भाषा बोल्न छोड्ने अनुमान गर्न सकिन्छ । संस्कृत अप्ठेरो भयो, बेकामको भाषा भन्ने आरोप लागे, जातिसँग जोडेर जननी भाषाको अवमूल्यन गरियो तर अब नेपाली भाषा समेत नै साँच्चै उठ्नै नसक्ने गरी धराशायी बन्नेछ । यसोभन्दा नेपाली लगायत नेपालका केही भाषा मर्ने स्थितिमै त नपुग्लान् तर पिजिन (दुई भाषाको मिश्रणबाट जन्मने नयाँ भाषा) बन्न सक्छ । क्रिओल (पिजिनलाई मातृभाषाका रूपमा प्रयोग) हुन सक्छ ।

माननीय मन्त्रीदेखि राष्ट्रपतिका उच्च सम्बोधनमा भाषिक त्रुटि भइरहेका छन् । लिखित दस्तावेजमा शब्द चयन, वाक्य गठनमा सानो त्रुटि हुँदा कति असर पर्दो रहेछ, भोग्दै आएका छौँ । यसका दोषी हामी नै हौँ । हुनलाई सञ्चार माध्यम, विद्युतीय आमसञ्चारको विकास तिव्र गतिमा भएकै छ तर अबको पुस्तालाई अङ्ग्रेजीमय वातावरणले मोहनी लगाउँदै अन्धो बनाउँदै जानेछ । नेपाली लेखकले आफ्नो पुस्तकको प्रकाशन वर्षमा विक्रम सम्वतमा उल्लेख गर्दासम्म हीनताबोध महसुस गर्छ र विदेशतिरै ढल्कन्छ । आजको पुस्ताले ‘१५ रुपैयाँ भन्नुपर्दा, फिफ्टिन रुपिज’ भन्न र लेख्न रुचाउँछन् । नेपाली लेखकले, नेपाली अध्येताले आफू राम्रो अध्ययन गर्दैनन् अनि नेपाली लेखकका पुस्तकलाई झुर मान्ने आदत बसिसकेको छ । नेपालीमा गुणस्तरीय पुस्तकै लेखिँदैनन् तब त विज्ञान, इन्जिनियर, डाक्टर पढ्नेहरूले अङ्ग्रेजीका ठेली रट्नुपरेको छ । बाहिर देशका– क्याम्ब्रिज, अक्सफोर्डले लगायतका अध्येताले प्रकाशन गरेका सामग्री नपढ्नेलाई अपूरो ज्ञान भएको भन्दिने बौद्धिक अन्धता विकसित छ– प्रबुद्ध वर्गमा । मैले भाषाविज्ञान पढ्न चाहँदा अङ्ग्रेजीको हुबहु रटन्ताम सार्न जानेँ र कुनै जर्ज फलानाको नाम उल्लेख गरेँ भने विशिष्ट ज्ञाता हो भन्ने भान गराउने मानसिकता बसायो । आत्मनिर्भरताका लागि संसारको ज्ञान बटुलेर आफू अध्येता र विज्ञ बन्न सिकाएन । बौद्धिक, प्राज्ञिक भनिएका वर्गले नेपाल र नेपालीको माया भलै गर्लान् तर तन, मन यहाँको भएर के गर्ने जीवन पाश्चात्यको परजीवी सोचमा मोहनीमय बनिसक्छ ।

विगतलाई नियाल्दा अबको आवश्यकता

अब भाषाप्रेमी तथा जातिप्रेमीहरूले नेपाली भाषाको शुद्धता र मातृभाषा संरक्षणको आन्दोलन गर्नुपर्ने आवश्यकता बढेको छ । हुन त यसअघि हलन्त बहिष्कार आन्दोलन (२०६५), झर्रोवादी आन्दोलन (२०१३), सजिलो लेखन (२०१६), जनजीव्रो लेखन (२०२१), जिम्दो नेपाली भाषा (२०३०) हुँदै भाषिक आन्दोलन नचर्किएका होइनन् । यसपछि सरल र शुद्ध नेपाली लेखन अभियान (२०४५), नयाँ वर्णविन्यास लेखन (२०५०), सजिलो नेपाली (२०५२), नेपाल भाषा बचाऊँ (२०६५), चन्द्रगढी घोषणा (२०६६) हुँदै नेपाली भाषाको वर्णविन्यासगत बहसका कार्यक्रमपश्चात् देशमा मच्चिएको हलचलसम्मलाई नियाल्न सकिन्छ । यसर्थ यो भाषिक आन्दोलनको अर्थ, हिंसा र तमासा होइन मात्र जागरणको लहडको विकासतर्पm केन्द्रित गरियोस् । सामाजिक सञ्जाल, सञ्चार माध्यममा भाषा प्रयोगको स्वतन्त्रता र हद, प्रयोग शैलीदेखि हरेक कार्यालयीय कागजात, सूचना, अभिलेखालयमा नेपाली भाषाको मानक प्रयोग हुनुपर्ने नियमको खाँचो अबको आवश्यकता हो । यसका लागि आधिकारिक फन्ट र एप्सको विकास गरेर भाषिक सहजीकरण होस् । डिजिटल प्रविधिको विकाससँग अनुकूल हुने गरी मोबाइल एम्स, हालको मानक मानिएको नेपाली बृहत् शब्दकोशलाई एप्समा रूपान्तरण गर्नेदेखि मुलुकका मातृभाषीलाई अब मातृभाषामा गफ गर्न प्रेरित गर्नेसम्मका अभियान विकास गरौँ ।

याद रहोस्, पृथ्वीनारायण शाहले त्यतिखेर नै कुल धर्म, भाषा र संस्कृतिलाई जोगाउनु भनेका थिए । त्यसपछि एकल भाषानीति बन्यो, कारण जे थिए त्यसमा बहस गरेर अब विवाद र वैरभाव मच्चाउनुको निरर्थक बहस पनि नगरौँ । आजको आवश्यकता र मागको अनुकूल बहस गर्ने हो भने विश्वव्यापीकरणको नाममा आफ्ना भाषालाई स्वाहा बनाएर हामी अर्काको संस्कृतिप्रति अन्धो मोह देखाउँदै यहाँका रैथाने ज्ञान, लोक साहित्य र प्राचीन संस्कृति तथा धरोहरलाई गलहत्याउँदै छौँ कि ! हो, मानिस स्वतन्त्र छ, स्वतन्त्रता उसको हक हुनुपर्छ तर भाषाको जथाभावी प्रयोगले विकसित खतराका दोषी आजको पुस्ता बन्नेछ । मातृभाषाको प्रयोग तथा नेपाली भाषाको शुद्धतालाई सार्वजनिक सूचना, व्यापारिक विज्ञापन, नाम, विद्यालय, विश्वविद्यालय तथा कार्यालयको नामदेखि सार्वजनिक क्षेत्रका हरेक स्थानमा कमसेकम मापदण्डको एउटा आधार तय गरिनु अबको आवश्यकता हो । अन्यथा नेपाली भाषा कुरूप बन्दै जानेछ भने नेपालका मातृभाषा सधैँ सङ्कटको घेरामा परिरहनेछन् ।

यहाँ नेपाली भाषा र अन्य भाषालाई फरक कोणबाट हेर्ने धृष्टता गर्नुहुन्न किनकि नेपाली भाषा नेपालका भाषाहरूमध्ये बहुसङ्ख्यक जनताको सम्प्रेषणीय आधारमा बोधगम्य हुने विनिमयको सबैभन्दा उत्तम विकल्प हो । केही सङ्कीर्ण सोचको व्याख्या गर्नेले नेपाली मातृभाषीलाई जात र धर्मसँग जोडेर आरोप लगाउँदै गरेको देखिन्छ, यसको अर्थ तिनले ‘सबै भाषा सम्पत्ति हुन् र कमसेकम नेपालको एउटा भाषाले विश्वव्यापीकृत हुने अवसर पाएको छ’ भन्ने भावलाई बोध गर्न नसकेको हुन सक्छ । गर्व गर्नुपर्छ– अङ्ग्रेजले भारतमा उपनिवेश कायम राख्दाको समयको जसरी कि अङ्ग्रेजी, कि त हिन्दी कि त नेपाली मात्र भन्ने कठोर दमनकारी राजनीतिक कानूनी व्यवस्था कहिल्यै भएन । कमसेक आजसम्म बाँचेका भाषाप्रति गर्व गरौँ । इतिहासलाई गाली गरेर के फाइदा ? आज त हामी आफैँले मातृभाषाको उपेक्षा गरेर दगुर्दै छौँ तब त तुकै रहेन त । हिजोआज त विदेशीहरू नेपालमा आएर नेपाली लगायत अन्य भाषाको दखलता राख्ने, अनुसन्धान गर्ने र प्रमाण दिने गरेका तथ्यलाई हेरेर पनि आफ्नो भाषालाई माया गरौँ र आफैँ अध्ययन, विश्लेषण गर्ने खुबी बनाऊँ भन्ने सोच हामीमा जागेको देखिन्न । डेबिड गेल्नरले नेपालमा आएर नेपाली र नेवारी भाषा राम्रोसँग बोल्न र लेख्न सकेको उदाहरण देख्दा हामीलाई त लाज हुनुपर्थ्यो– हामी त आफ्नै भाषा जान्दैनौँ ।

रमेश भट्टराई ‘सहृदयी’

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *