शिक्षकको नाममा अभिभावकको पीडापत्र


श्रीशिक्षकज्यू ! आज अचाक्ली मन दुखेको छ । सारा सपनाहरू तुहेर जालान् भनी डरले मुटु काप्न थालेको छ । अबको सहरा केवल तपाईं नै हुनुहुन्छ भनी लेख्न बसेको छु । यो विश्वास र भरोसा मैले कसैबाट सिकेको हैन, अभिभावककै हैसियतले अनुभूत गरेको हुँ । आशा छ, मैले तपाईंमाथि राखेका अपेक्षा पूरा गर्न कुनै कसर बाँकिरहने छैन ।

मेरो निष्कर्ष यही हो, सिकाइ रङ्गमञ्चको अभिनेता शिक्षक हो । बलिरहेको मैनसरी अभिभावक त आफ्ना सन्तानको प्रेमले पग्लेको निरीह प्राणी मात्रै हो । ऊ न परिवारभित्रै अभिनेता बन्न सक्छ, न आफ्ना सन्तानको आँखामा हर्दम आदर्श महापुरुषका रूपमा खडा हुनसक्छ । ऊ कोसिस गर्न सक्छ तर कुनै न कुनै दिन चिप्लिहाल्छ र सन्तानको नजरमा झुट र फोकडको पात्र बन्नसक्छ । यसै बारे म खट्केको कुरा आफ्नै पाराले सुनाउँदै छु–

म तीन सन्तानको संरक्षक हुँ । विगत दुई वर्षदेखि परिस्थिति र परिवन्दको जालमा फँसेको अर्धअपाङ्ग सिकार हुँ । मैले न धेरै बोल्नुहुन्छ । न धेरै कामधाममै लहसिनुहुन्छ । न त रिसाउनु र चिन्ताले जल्नु र गल्नु नै हुन्छ । यद्यपि जुन कुरामा ‘न’ लाग्छ, मन त्यसमै गइहाल्दो रहेछ । आज फेरि ‘न’मा मन पुगेको छ । तसर्थ म हजुर समक्ष शरणगत छु ।

असार ३ गते, २०७६ को साँझमा कान्छी छोरी गजल (६ वर्ष)ले हातमा झोला, झोलाभित्र पलाष्टिकको बोतल बोकेर मेरा सामुन्ने उभिएर भनिन्, “बाबा ! जाऔँ, गाईबुबु ल्याउन ! छिट्टो जाऔँ ।”

म चुपचाप काममा जोतिइरहेको थिएँ । छोरीकी आमाको समेत झकझकाहटले काम थाँती राखेर दूध लिन जान तयार भएँ । कपडा लगाएँ । जुत्ताको धुलो टक्टक्याएँ । त्यसै बखत मेरो ध्यान गजलको तत्कालीन कार्यकलापमा पर्न गयो । उनको मुख लक्ष्मीको दाहिने कान नजिक थियो ।

तत्कालै लक्ष्मीको बोली सुनियो, “लु बाबा ! गाईबुबु लिन जाँदा आफ्नी सानी छोरीलाई नूनवाला चकलेट पनि किनिदिनू है !”

चकलेटको कुरा सम्झेर मनमा चिसो पस्यो । कुनै भूमिका नबाँधिकन तत्कालै मेरो मुखबाट कुरा फुत्केछ, “बिरामी मान्छेले चकलेट खानुपर्दैन । मलाई जानिजानी निमोनिया डाक्ने मन छैन ।”

मेरा कुराले गजलको मनमा सुइरोले घोचेछ । तत्कालै बोतलको झोला मेरै छेउमा मिल्काइन् । लक्ष्मी ट्वाल्ल परेर बाबुछोरीको घम्साधम्सी हेरिरहेकी थिइन् । ठूली छोरी गरिमा (वर्ष १२) मुसुमुसु हाँस्दै चर्तिकला नियालिरहेकी थिइन् । मेरो दाहिने आँखा अँझ फुरफर गरिरहेको थियो ।

“चकलेटले अरू खोकी निम्त्याउँछ । ओखतीपानीमा एक बिटो पैसा नष्ट हुन्छ ।” म पनि बेहोसीमै बरराएँछु, “बढी पाखण्डी बन्ने हैन । भनेको मान्ने ! चाहिँदो कुरा माग्ने, अचाहिँदामा जिद्दी गरेको मलाई बन्दै मन पर्दैन ।”

निहुरिएर भुँइको बोतल टिप्न लाग्दा मलाई धकेलेर पर उछिट्याइदिइन् । दाहिने खुट्टाले भर नदिएका कारण म पर्तिर गएर धुलामा घुँडा टेक्न पुगेँ । केहीक्षण रिसले आँखा देखिनँ । बोल्न पनि सकिनँ । निर्दोष बच्ची माथि खनिएर निर्दयी बाउ बन्न पनि मिलेन । घुँडामा लागेको धुलो टक्टक्याउँदै उठेँ ।

गजल लात्तले बोतललाई किचिपिची पार्दै भुनभुनाउन र सुकसुकाउन थालिन्, “ए ले, चकलेट नकिन्दिने ! लैजा तेरो बतल ! तँ मात्रै जा । म गाईबुबु लिन जान्नँ पनि । तँसँग पढ्दिनँ पनि ! तैँले भनेको मान्दिनँ पनि !”

म हैरान भएर गजलको काम हेरिरहेँ, उछृङ्खल शब्दहरू सुनिरहेँ । न केही बोल्न सकेँ, न गर्न नै आँट गरेँ । मात्र सडक किनारामा खडा रूखको ठुटोझैँ जड बनेर एक टक हेरिरहेँ ।

“धेरै मात्तिने र पात्तिने काम नगर है बिर्नी ! तेरो बदमासीले चुली छुँदै छ ।” गजलसँग रिसाउँदै लक्ष्मी भन्दै गइन्, “अहिले त यसो गर्छेस्, पछि हामीलाई नै बाँधेर पिट्छेस् होला ।”

लक्ष्मीले थम्याइदिएको झोला टिपेर हिँडेँ । बाटामा मानिसहरूको ओहोरदोहोर चलिरहेकै थियो । सवारी साधनहरूको कर्कश आवाज मेरो कर्णविवरमा ठोक्किरहेकै थियो । ती सबै दृष्यतिर मेरा आँखा थिए । यद्यपि मन भने अघिल्लो दिनको घटना क्रमसँग पौँठेजोरी खेल्दै थियो ।

+++

असार २, २०७६ को दिउँसो बाहिर टन्टलापुर घाम । कोठाभित्र सिलिङ फ्यानले फ्याकेको तातो हावा । गोलबजारस्थित सुवर्ण दाइको आँपगाछी मुनिको वातावरण पनि हप्हपी थियो । मानौँ, प्रकृतिले पनि श्वासप्रश्वास गर्न नै भुलेजस्तो थियो ।

छिमेकी सन्ध्या सिंह (कक्षा ५) को झोलामा रहेको ज्यामिति बक्सतिर गजलको ध्यान गएछ । मेरो छेउमा आएर भनिन्, “बाबा ! मलाई ज्यामिति बक्स किनिदिनु न ! सन्ध्या दिदीसँग छ, मसँग पनि हुनुपर्यो ।”

“ठूलो कक्षामा चाहिन्छ र सन्ध्यासँग छ ।” सम्झाउने इरादाले थपेँ, “तिमी पनि ठुलो कक्षामा पुगेपछि किनिदिउँला !”

“नाइँ बाबा ! मलाई अहिले नै चाहियो ! सन्ध्या दिदीको मात्रै नभएर शुभ म (यूकेजी) को पनि छ ।” उनी अडानमा रहँदै भनिरहिन्, “शुभ म मभन्दा सानो कक्षामा पढ्छ । म क्लास वानमा छु । ठूली छु । मलाई चाहियो भनेपछि चाहियो, चाहियो ।”

निक्कै बेर बहसमा समय दिएँ । बालजिद्दी अघि प्रौढ बुद्धिले हार खायो । अन्ततः तातो वातावरण खाँदै र खेप्दै बेबी स्टेशनरी पुगियो । पक्षाघात पीडित दाहिने हात कुप्रो पार्दै र दाहिने खुट्टो घिसार्दै फर्कंदा ठ्याक्कै दुई घण्टा लाग्यो । अर्कातिर व्यर्थको काममा समय र सम्पत्ति खर्चनुको पीडा घाँटीसम्म आएको थियो । कोठामा आइपुग्दा केहीबेर बोल्न पनि सकिनँ ।

अघिल्लो दिन अर्थात् असार २, २०७६का दिन गजलका लागि किताब किन्न भनेर पुस्तक पसल पुगियो । २०७२ सालमा प्रकाशन भएको किताब पनि नयाँ दाम हालेर किन्नु पर्यो । कक्षा १मा पनि कम्प्युटर, अङ्ग्रेजी ग्रामर, नेपाली व्याकरण जस्ता अनावश्यक किताबहरू लगाउनु उचित लागेन । २२ वर्ष बोर्डिङ स्कुलमै जोतिँदा पनि यत्ति विघ्नको कथाव्यथा कुनै अभिभावक र विद्यार्थीलाई अनुभूत गराएको थिइनँ । र, मस्वयम्ले पनि अनुभूत गरेको थिइनँ ।

मेरी गजललाई सिधा अक्षर लेख्न पनि आउँदैन । कागले छेरेका जस्ता अक्षर लेख्न बानी परेकी मेरी छोरीले तपाईंले आफ्नै पाराले बोर्डमा लेखेका अक्षर कसरी कापीमा उतार्न सक्छिन् ? फेरि तपाईंले डक्टरी पाराले उनको किताबमा लेखिदिएको उत्तर कसरी कण्ठ पारेर तपाईंलाई सुनाउन सक्छिन् ? तपाईंको व्यवहार र मायाले मेरी छोरी पग्लेकी भए टिपिनमा नास्ता खुवाउन म जाँदा ‘किन घर जान्छु, मामुलाई भेट्न मन लाग्यो’ भन्थिन् ?

मान्छु, तपाईंहरूको स्कुल गरिब छ, स्थापित भइसकेको छैन । यद्यपि तपाईं त समाजमा स्थापित हुनुहुन्छ नि ? संस्थापकहरूले धन लगानी गरेका छन्, सायद मन पनि लगानी गरेका होलान् । समाजमा अनुकरणीय कार्य गरौँ र अरूजस्तै स्थापित बनौँ भन्ने सदीक्षा लुकेको हुँदो हो । तपाईंलाई विश्वास गरेर शिक्षक पदमा राखेका होलान् । तथापि किन तपाईं पछि पर्नुभएको छ ?

शिक्षक महोदय, वैयक्तिक अनुभूति र पारिवारिक गन्थन–मन्थन सुनाएर तपाईंको मनस्थिति गिजोल्न पुगेकोमा क्षमा चाहन्छु । म तपाईंलाई सम्झाउने क्रममा अन्तस्करण चिमोट्नेवाला छु । घाइते अनुभूत नगर्नुहोला । यस अर्धअपाङ्ग अधबैंसेको शरीर त खुस्केकै छ, दिमाख पनि धेरथोर घुस्केछ भन्ने नठान्नुहोला ।

हेर्नुस्, बोर्डिङको शिक्षक भनेको समाजको इसारा र इरादामा नाच्ने अभिनेता हो । प्रथमतः उसले अभिभावक–विद्यार्थीलाई खुशी पार्न सक्नुपर्छ । संस्थापक–प्रशासकलाई रिझाउनैपर्छ । आफूले खुकुलो वातावरणमा अल्पअल्प जानकारी हाँसिल गरेको हुँदा बोर्डिङको गहकिलो पुस्तक पढाउन÷सिकाउन र कलिला विद्यार्थीको मनस्थितिमा घुसाउन मेहनत गर्नैपर्छ । अध्ययन, मनन र चिन्तनले आफूलाई खार्नैपर्छ । शिक्षक नामको पगरी गुँथिरहन पनि तपाईं विद्यार्थी र अभिभावकसामु कुशल अभिनेता राजेश हमाल–अभिताभ बच्चनजस्तो अभिनयमा पारंगत हुनैपर्छ ।

आजका विद्यार्थी चटके अभिनयमा विश्वास राख्छन् । त्यसका लागि तपाईंले वैयक्तिक उल्झन मनभित्रै गाँठो पारी मुहारमा हाँसो मात्रै नचाउनुपर्छ । मानसिक रूपमा महान व्यक्तित्व भएको आभास दिलाउनुपर्छ । अवगुणजति पैतालमुनि दवाएर सद्गुणको पल्ला मात्र भारी बनाइराख्नुपर्छ । लुहाइखुवाइमा राजसी भान दिलाउनुपर्छ । व्यवहारमा विद्यार्थीको हितैषी मित्र बन्नुपर्छ । विद्यार्थी अल्झने गरी सिकाउनु र बुझाउनुहुन्न । नदीजस्तो सललल बग्ने बाटो अबलम्बन गर्नुपर्छ । सुन्दर अक्षर लेख्नुपर्छ, मीठो बोली बोल्नुपर्छ, हाउभाव देखाएर विद्यार्थीको ध्यान आफूतिर खिच्नुपर्छ ।

अन्तमा, महादेवले कालकुट विष पिएर नीलकण्ठ बनेझैँ तपाईंले नै मेरी छोरीको बालजिद्दी र अहङ्कार तन्तनी पिइदिनुपर्छ । र, सम्पूर्ण विद्यार्थी र अभिभावकका बीच आदर्श शिक्षक कहलिन सक्नुपर्छ । धन्यवाद !

–नन्दलाल आचार्य
श्री जनता मावि, गोलबजार–४, सिरहा, नेपाल

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *