हाइकुको देश जापानमा एक जना नेपाली कविले हाइकुको खेती सुरु गरेको सुन्दा अचम्म लाग्यो । चासो रहिरहदाँ गजलकार कृसु छेत्रीसँग अनलाइनमा भेटभयो । जापान घुमेर आएका गजलकार छेत्रीले मेरो कौतुहलता मेट्ने कोसिस गर्दै भने- चितवनका प्रकाश पौडेल ‘माइला’ ले जापानमा हाइकु सिर्जना र प्रकाशनमा मरिमेटेका रहेछन् । उनी आजकल जापानका टोकियो, योकोहामा, ओसाकालगायतका सहरहरूमा विभिन्न साहित्य सत्संगहरू आयोजना गर्न र विशेष गरी हाइकु सिर्जनाको अभियानमै जुटेका रहेछन् ।

२७ वषर्ीय माइलाको युवावस्थाको सक्रियता बिर्सिनसक्नु छ । चितवनमा एफएमको उदयसँगै उनको सिर्जनाको पनि उदय भयो । एफएमले चितवनमा उर्लिएको साहित्यिक लहरमा अधिकांश स्रष्टाहरू गजल लेखनीतिर आकषिर्त देखिए तापनि उनी एक्लै हाइकुको खोज र अनुसन्धानमा लागे । हाइकु लेखनमा वामे सर्दै गरेको नेपालमा हाइकु विषयमा अध्ययन अनुसन्धान गर्न निकै झन्झटिलो बन्यो उनलाई । तैपनि उनी हरेस खाएनन् । चितवनमा एफएम रेडियो, साहित्यिक पत्रपत्रिका र अग्रज तथा समकालीन साहित्यकर्मीहरूको आड र भरोसा उनको लक्ष्यसम्म पुग्ने सेतु बन्यो ।

स्नातक अध्ययन क्रममा काठमाडौं रहँदा बस्दा वरिष्ठ साहित्यकार अभि सुवेदी र रामकुमार पाँडेको सहयोगमा हाइकुबारे अझ बढी जान्ने बुझ्ने मौका मिल्यो उनलाई । २०६१ सालमा प्रकाशनमा आएको उनको पहिलो हाइकु संग्रह ‘पर्दाफास’ यसैको उपज हो । त्यसलगत्तै ‘अन्धगल्छी हाइकु संकलन-२०६२’ सम्पादन गरेका उनले जापान बसाइका क्रममा ‘नेपाली हाइकु-३ -२०६५) समेत सम्पादन गरे भने जापानबाटै ‘हाइकुमाला’ नामक पत्रिका प्रकाशन गर्ने तयारी गरिरहेका छन् अहिले । उनले हाइकुका अलावा फाटफुट रूपमा गजल पनि लेख्छन् । २०६२ सालमा संयुक्त गजल संग्रह ‘गजल बिम्ब’ प्रकाशित गरेका उनले ‘मुखिया सहयोगी-२०६१’ ‘स्कुल स्तरीय सामान्य ज्ञान -२०६२’ र ‘खरिदार दिग्दर्शन-२०६२’ लगायतका केही व्यावसायिक पुस्तक लेखेका छन् ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *