Skip to content


महा–सागरको अपार छाल छुन
जहाज अड्डाउने निलो तट हुन
टाढा रहिरह्यो प्रिय सेतो नून
वीर पुर्खाको साहसिलो गर्जन
विशाल नेपालको अभियान
समयको बेगसँगै बढ्दै जाँदा
मौकामा चौका हान्न चुक्यो मेरो देश !

समुद्री छालसँग बयली खेल्न नपाउँदा
सधैं छटपटाइरहन्छु
ज्वारभाटालाई बादलु घुम्टोमा लुकाउन नपाउँदा
कति घोचाई सहन्छु
अधिकार कड्केर उछाल्न नसक्दा
सीमानामा सधैं रोइरहन्छु
सहिष्णु नजरमा होइन पर–पीडाको तातो लु:मा
बेला बेलमा ठोक्किन्छ मेरो देश !

भिमसेन थापाले ठडाएको धरहरा
पुन: उठाउन हम्मे हम्मे छ
सीमानाको जंगे पिलर
यथास्थानमा कायम राखिराख्न हम्मे हम्मे छ
शताब्दीयौंको बलिदानी पूर्ण क्रान्तिको
उपलब्धि संरक्षणमा कनिकुथि छ
आखिर वीर नेपालीको नश्ल कहाँ
लुक्यो किन निरीह बन्दैछ मेरो देश !

सायद पृथ्वीनारायण शाहको अभियानलाई
भक्ति थापाको साहसलाई
बलभद्र कुँवरको स्वाभिमानलाई
जीवित राख्न सकेको भए
बैरीले छुट्टाउन सक्ने थिएन
कसैले हल्लाउन आँट गर्ने थिएन हामीलाई
समुद्रको छालबाट टाढा हुनु पर्ने थिएन मेरो देश !

छिया छिया पारिएको नेपाली मन
थिलो थिलो भएको संघर्षशील तन
समृद्धिको मिठो बुन्दै सपना
छरिएर संसारको कुना कुनामा
राईफल बोक्दै
मेशिन चलाउँदै
खेती गोडमेल गर्दै
महल सजाउँदै
पसिनासँग साटेको रेमिटेन्स
बालुवामा सिञ्चित गर्दैछ मेरो देश
आखिर पछि पारिंदैछ मेरो देश !

Leave a Reply

Your email address will not be published. Required fields are marked *