क्या राम्रो आवरण तस्विरमा लीला रानाको हातमा एक मुठ्ठी बुकी फूलको दृश्यले निकै आकर्षित पार्दछ र कृतिलाई हेरौं हेरौं लाग्छ अनि पढौं पढौं लाग्छ । ‘साहित्यिक यात्रामा लीला’ कृतिबाट कृतिकारको रूपमा चिनिएकी लीला, ‘मेरो फूलबारी’मा सुन्दर फूलका बिरुवा रोप्दै, आजआएर ‘एक मुठ्ठी बुकी फूल’मा रमाएकी छन् ।

तीन कृतिकी धनी लीलाको जीवन कथा रोचक छ, संघर्षकी प्रतिमूर्ति, दयामायाकी सागर, समाज सेवाकी खम्बा, राजनीतिमा प्रजातान्त्रिक समाजवादमा आस्थावान, संघर्षमय जीवनमा जुट्दै एउटा गोठाले जीवनबाट माथि उठ्दै, केन्द्रीय तहदेखि ग्रामिण तहका विभिन्न संघ संस्थामा आवद्ध हुँदै आगाडि बढिरहेकी छन् । उनी एउटी भारतीय सेनाका कर्णेल धनबहादुर मास्की रानाकी पत्नी हुन् । उनी पतिसँग भारतमा छँदा त्यहाँ भएका भारतीय सेनाका परिवारको कल्याणको लागि लीलाले धेरै सहयोग गरेको देखिन्छ । एक दर्जन साहित्यिक तथा सााजिक संस्थामा सदस्यदेखि अध्यक्ष समेतको भूमिका निभाउनु भएको छ । दुई दर्जन संस्थाबाट सम्मान पाउनु भएको छ । करिब दुई दर्जन संस्थामा आजीवन सदस्य हुनुहुन्छ ।

शिक्षाप्रेमी लीला राना शेर शान्ति थापा स्मृति छात्रबृत्ति अक्षयकोष २०६९, कुमारवर्ती बहुमुखी क्याम्पस नवलपरासी स्व. लेफ्टीनेन्ट गौतम गुरुङ सेना मेडल स्मृति छात्रवृत्तिकोष २०७३ लुम्बिनी आदर्श डिग्रीकलेज, नवलपरासी र स्व. सुमित्रा मास्की राना स्मृति तथा कप्तान खड्गबहादुर मास्की राना छात्रवृत्ति अक्षय कोषहरू लीलाजीकै संरक्षकत्वमा सन्चालन भएका छन् । लीला मास्की राना मानिस एक भए पनि सेवाहरू र सम्लग्नता भने अनेक र वहुआयामिक छन् । सादा जीवन उच्च विचार लीलाजीको एउटा छोटो मीठो परिचय हो यो ।

कृतिको संरचना – स्वय म लीला रानाबाट प्रकाशित यस कृतिको मूल्य रु ३५१।– राखिएको छ । आवरण पृष्ठ बाहेक १२० पृष्ठमा सजिएको यस कृतिमा ४२ कविताहरू र एक शीर्षकमा तस्विरमा लीला भनी ५२ वटा तस्विरहरू (विभिन्न कार्यक्रममा सहभागी हुँदा र सम्मानित हुँदाका) समावेश गरिएका छन् । धेरै जसो कविताहरूमा पनि तस्विरले सजाइएको छ । अग्र आवरण पृष्ठ लीलाले लिएको एकमुठी बुकी फूल सहितको चित्र र पछिको आवरण पृष्ठ लीला रानाको छोटो परिचयको साथमा लीलाका प्रकाशित कृतिहरूको विवरणले सजिएको छ । यो कृतिलाई समाजसेवी स्व. सुमित्रा मास्की राना(निमा) र समाजसेवी कप्तान खड्कबहादुर मास्की राना (निबा)मा समर्पित गरिएको छ । वरिष्ठ साहित्यकार इन्दिरा प्रसाई (भूमिका), भारतीय राजदूत महामहिम संजीव सिंह पुरी (शुभ कामना), वरिष्ठ साहित्यकार भूपेन्द्र गण्डर्षि भट्टराई (भूमिका), सामाजिक व्यक्तित्व पूर्वकर्णेल धनबहादुर मास्कीका (शुभ कामना) शब्दसुमन प्राप्त गरेको छ कृतिले ।

कृतिभित्र प्रवेश गर्दा–कविताहरू विविधताले सजिएका छन् । सबै कविताहरू अति सरल र सामाजिक यथार्थको धारणालाई समेटेर पस्किएका छन् । हेरौं कविताहरूको सार भाव –

एक मुठी बुकी फूल– यस कवितामा ग्रामिण जीवन बालक अवस्था चौपाए चराउन जाँदा बाख्राको पाठोले बाली खाँदा पारिको महारेले बाख्राको पाठो समातेर कपालमा सिउरेको बुकी फूल दिए मात्र बाख्राको पाठो दिने नत्र भने पाठोसँगै तिमीलाई पनि लाने भनेपछि वारिकी महारेले बुकीफूल दिएर पाठो लिने काम हुन्छ । बातबातमै वारिकी महारेको आकर्षण बढ्छ तर पारिको महारे लाहुर जान्छ पुनः भेट हुँदैन । वारिकी महारेले उसको प्रतिक्षा गर्दागर्दै ऊ मरेपछि एकमुठी बुकी फूल उसको चिहानमा राखिदिनु भन्दै अन्तिम सास फेर्दछिन् । एकतर्पिm अमिट प्रेमले सजिएको छ कविता । खुसीले हाँस्दै– लीलाजीको आमाको गर्भदेखि लिएर जीवन भरका सुख दुःखलाई आत्मसात गर्दै जेठी पुस्तकको न्वारानपछि खुसीको आँसु झरेको धारणा आएको छ ।

मरेसरह बाँच्नु भन्दा– यस कवितामा महिलाले भोग्न परेका पीडामा कवयित्री आक्रोस पोख्दै भन्दछिन् –

मिश्रीजस्तो बोली, भाषण सबै पुरुषले सिके
महिलाहरूलाई गोरुको झै जोत्ने जुक्ति रोजे
वर्षौंदेखि वर्षैपिच्छे मनाइने नारी दिवसले के गरे ?
नारीहित, संरक्षण हक अधिकार बारे संविधानमा खै के लेखे ?
(लाई पृष्ठ २०)

पाल्पालीलाई छाडेर –यस कवितामा कवयित्रीले आजको वैवाहिक यथार्थतालाई समेटेकी छन् । आजका दुलहीले राख्ने उच्च आकांक्षालाई यस कविताले समेटेको छ ।

मुगाको माला, चाँदीको बाला, पसकी गुनियो म लाउँदिनँ
हीराको औंठी नौलाखा हारबिना आऊ भन्दै भन्दिनँ
भात पकाउने, भाँडा माझ्ने, घर सोहर्न काम गर्दिनँ
लुगा धुने स्वचालित मेसिन छ छैन, मैले औंलीका नङ घिसाउँदिनँ
पृष्ठ २१,

यस कवितामा राष्ट्रिय भावनालाई पनि समाइएको छ । दाइजोसँग छोरी साट्ने हैन, छोरीलाई बुहारीको रूपमा लानु पर्ने र पत्नी नामको नोकर्नीको नाममा लान नहुने, विवाहमा नेपाली बाजा, नेपाली राष्ट्रिय पोसाकको पहिरन पहिरिनु पर्ने जस्ता धारणा पनि आएका छन् । मेरो त सर्वस्व जल्यो – यस कविताले आजको नेपालको विविध जटिलतालाई समाएको छ । नेपालमा आपसमा देखिएको वैरभाव तथा द्वन्द्वलाई समेटेको छ र सर्वस्व जलेको धारणा पस्केको र शान्तिको खोजी गरेको छ –

चारजात छत्तीस वर्ण भन्ने फूलबारी जल्यो
तराइर्, पहाड, हिमाल वनजङ्गल, गाउँ–सहर सबै जल्यो
झुप्राझाप्री, गरिब सुकुम्बासीहरूको सर्वस्व जल्यो
अँझ अरु क–कस्को के–के, के जल्यो
पृष्ठ २३

भन्नै छाडिदिएँ – यस देशको विथितिलाई सुनाउँदा कसैले सुनेर व्यवहारमा नल्याएको हुँदा कवयित्रीले भन्नै छाडिदिएँ जस्ता अभिव्यक्ति यसरी पस्कनु भएको छ –

मेरो आफ्नै गाउँघरको टोल सहर बजारको
छुवाछुत बार्ने–टार्ने कुलत–सुलत भनेको
महाविकृति दुव्र्यसनी सिध्याउन नसकेको
भन्ने छाडिदिएँ, सावधान, विधानबिना साँढे देशको
पृष्ठ २५

यस कवितामा धेरै विकृतिलाई समेटिएको छ । खडेरीले बाली बिगारेको, बाबुले आफ्नै छोरी बलत्कार गरेको, चेलीबेटी बेचबिखन, बालश्रम, कमलरी, सरकारी विद्यालयको भताभुङ्ग अवस्था, गर्भपतन, आदि देखिएका विकृतिलाईभन्दा कसैले नसुनेपछि भन्नै छाडि दिएको धारणा आएको छ कवितामा । आँखामा आँसु बिना म रोएकी छु – एक चिम्टी सिन्दुरले सिउँदो भरेपछि एउटी नारीले भोग्न परेका दुख दर्द, दैवी प्रकोपबाट माइती मासिँदा, औचित्य बिना र अस्तित्व विना बाँचनु पर्दा, रोग शोक, भोकले मकै पिस्दा झै पिसिँदा, विना दोष दोषी बन्दा, नारीलाई लागेको दाइजो प्रथा आदि कारणमा नारी रोएको देख्दा आाखामा आँसु बिना म र्राकी छु भन्ने धारणा आएको छ । सौभाग्य तिलहरीको– यस कवितामा पनि नारीले भोग्न परेका दुःख र कष्टको वर्णन गरिएको छ । हेरौं कवयित्रीकै शब्दबाट –

ल्याउँछौं छोडपत्र, कहिले सौता, कहिले रोग एड्सको
दिएको अंश लिएर जाँदै छन् छोरा छोरी शरण यमराजको
अन्तिम दर्शन इच्छा, सन्देश सुन्नु धेरै भो विदेशिएको
सम्पत्ति के छ र ? जिम्मा दिनु छ चुरापोते सौभागी तिलहरीको
(पृष्ठ २९)

म लाचार महिला– एउटा बधशालामा बध गर्न लागेका ती पाठाको म्याँम्याँ आवाजमा सूर्यको पूजा गर्न लागेकी कवयित्री झस्किँदै भन्छिन्

मैले पनि म्याँम्याँ भनें, सबैले गुहारे झै म्याँम्याँ भने
हात जोडी सूर्यदेव एक÷दुई दिन त नआऊ न भने
अज्ञात मृत्यु, भोक, तिर्खाले उनीहरू गुहार मागिरहे
म लाचार महिला सधैं ‘हे भगवान’ मात्र भनिरहेँ
(पृष्ठ ३१)

यस कविताले बोलेको मार्मिक भावनाले सबैको मन छुन्छ । एउटा सिकारीको जालमा जेलिएको मर्ने अवस्थाको परेवालाई उपचार गरेर उड्ने अवस्थामा पुगेको वेलाको परेवा सहितको लीलाजीको तस्विरले लीलाजीमा पशुपंक्षीमा रहेको अतुलनीय प्रेमको उदाहरण हो भन्न सकिन्छ । लीलाजीको एउटा उद्गार ‘मार्नभन्दा बचाउन गाह्रो हुँदोरहेछ’ मनन योग्य छ ।

तमसुक –यस कवितामा पनि मार्मिक धारणा आएको छ । गरिबीले ढाकेको एउटा गरिबको छोराले अंश लिएर हिेड्छ र छोरीहरू पनि विवाह गरेर हिड्छन् । ऊसँग भएको एकहल गोरु पनि साहुले आएर लान्छ र उसलाई कसैले हेर्दैनन् । विवश भएर रामदीमा गइ हाम फालेर मर्छ । ऊ बस्ने झुप्रो लिलाम हुन्छ र उसले मर्नुभन्दा पहिला ऋण तिर्न पर्ने साहुलाई तमसुक लेखेर छाड्छ । भेन्टिलेटर – आजको परीवेशको यथार्थतालाई समाएको छ कविताले । देशमा शासन व्यवस्था परिवर्तन् भए पनि नयाँ नेपालको भाषण आए पनि देशको अवस्था भने मरेको मानिसलाई भेन्टिलेटरमा राखेर बाँचेको छ भन्नु सरह छ । ऐना हेर्न डर लाग्छ –ऐनाले जे जस्तो छ सोही देखाउँछ त्यसो हुँदा कुरूपले ऐना हेर्दा डराउनु पर्छ भन्ने् धारणा आएको छ । खै बुद्धको लुम्बिनी– बुद्धको लुम्बिनी जुन रूपमा थियो त्यो रूपमा आज छैन भन्ने धारणा राखिएको छ । मोबाइल बनाउने–आजको समयमा मोबाइल (राम्रो नराम्रो) सबै काममा प्रयोग हुने, आवश्यक पनि भएको र सबैले मन पराएको हुँदा यस्तो मोबाइल बनाउने तीब्र बुद्धिको मानिसलाई धन्यवाद दिइएको छ । धोका नदिनु–महिलाले भोग्न परेको कष्टलाई कवितामा बुलन्दरूपमा उठाइएको छ । जातीय विभेद हुनुहुन्न भनिएको छ । पीडित महिलाहरूलाई धोका दिन हुँदैन, धोक पीडादायी हुन्छ भन्ने धारणा आएको छ कवितामा । मागेर लगिदियो– जनसंघर्षले मानिसलाई पीडादायी बनाएको लाखौ विधवा, टुहुरा, टुहुरी, शहीद शब्द नै सस्तो पारिएको, गाउँमा लास लाने मानिस समेत नभएको र संविधान एनकेन ल्याइए पनि चुनावमा जाँदा भोटमाग्दा भोट किनेर होस् या मागेर होस् उनीहरूले नै लगिदिएको धारणा आएको छ । म मर्न डर लाग्छ –मृत्यु कुनै न कुनै रूपमा आउँछ र जान्छ तर प्राणी सबैलाई मर्न डर लाग्छ भन्दै कवयित्री भन्नुहुन्छ –

जीवनपछि मृत्यु अनिवार्य रहेछ भन्ने बुझ्दा
अनिवार्य रूपमा सबै मर्नुपर्छभन्दा
फेरि पनि किन हो किन म मर्न डर लाग्छ
(पृष्ठ ४५)

श्रद्धाञ्जली भनेर –यस कवितामा कवयित्रीले मिलिजुली अघि बढौं हात मिलाई, अ.ग्रेजसँग खुकुरी लिएर लड्ने पूर्खा जस्ले पूर्वमा टिष्टा र पश्चिममा काँगडा आफ्नो बनाउने, प्रथम युद्धलाई जितेर गर्जने मित्रसेन युवक, गायकले रेकर्ड गराएका यस्ता मनवीर सेनका कान्छा छोरा मित्रसेन थापा सिंजाली मगरलाई फूलपाती चढाएर श्रद्धाञ्जली दिइएको छ । वृद्धाश्रम–घरयासी परीवेशका विविध कष्टदाइ पक्षभन्दा वृद्धाश्रम सुरक्षित भएको धारणा आएको छ । कोइली करायो– यस कवितामा पनि बुहारीको दुःखलाई कवियित्रीले टपक्कै समाएर लपक्कै टाँसेकी छन् । हिजोको परीवेशमा बुहारीले गर्नु पर्ने ढिकी जाँतो र डोको नाम्लो घाँस पानी भोको पेटलाई कोइलीको काफल पाक्यो शब्दमा भोक मेट्न आऊ काफल खाऊ भन्ने अनुभूतिलाई दर्शाइएको छ । कलियुगे कवयित्री–प्रयोगमा ल्याउन सके सबैलाई ईश्वरले ज्ञान बुद्धि दिएकै छ । त्यसो हुँदा यस कलियुगमा फेसबुक प्रयोग गर्नुछ र केही न केही लेखेर कलियुगे कवि बन्नु छ भन्ने धारणा आएको छ ।ग्यारेन्टीका कुराहरू–यस कवितामा चेलीबेटी बेच बिखन तथा छोरी माथि गरिने कुव्यवहारलाई कवयित्रीले प्रष्ट्याउने प्रयास गर्दै भन्दछिन् –

बचाउनेभन्दा बलत्कार हत्या गर्ने अनगिन्ती छन्
रुनुभन्दा हाँस्न कठीन्, यहाँ हत्या अनेक थरि छन् ।
मूल्य दिन्छ दाइजो एटिएम कार्डभन्दा नगदै ठिक छन्
ग्यारेन्टीका कुराहरू, ग्यारेन्टीका साथ आफन्तहरू भन्दछन् ।
(पृष्ठ ५४)

मर्ने छु म त हुतिहारा भएर –यस कवितामा पनि छोरीप्रति समाजले गर्दै आएको विभेदलाई प्रष्ट्याउने प्रयास गरिएको छ । गर्भमा छोरी भए गर्भपतन गराउने, जन्मेपछि छोरालाई पढाउने र छोरीलाई घरको काम र वनको काम गराउने आदि विविध खाले मार्मिक वेदनालाई केलाउँदै छोरीले हालसम्म पाएका अधिकारलाई कवयित्रीले यसरी पस्केकी छन् –

अधिकार आमाले दिए भाइबहिनीको धरेलो
अधिकार बाबाले दिए पोत्न अर्काको घरदैलो
अधिकार श्रीमानले दिए सेवा गर्नु सासू ससुराको
सबैले कर्तव्यको गहु्रङ्गो भारी दिए के खाँचो अधिकारको
(पृष्ठ ५६)

देउरालीको लावारिसे लाश–यस कवितामा पनि कवयित्रीले छोरीले नै भोग्न परेका यथार्थतालाई पस्कने प्रयास गरेकी छन् । पीडादायी कर्मलाई देउरालीको लासको रूपमा लिइएको छ तलका मार्मिक भावनालाई यसरी पस्किएको छ –

दशधारा दूधको भारा तिर्ने तिमी छोराछोरी जन्मिएनछ
सिउँदो भर्ने सौभागी तिलहरीलाई दिने हुतिहारा तिमी पोइरहेनछ
मायाममता मायाप्रीति भन्ने झुटो सञ्जालको संसार रहेछ
लावारिसे लाश भन्नेलाई गङ्गाजल र दागबत्ती दिने मर्द जन्मेकै रहेनछ
(पृष्ठ ५८)

महाभूकम्प–२०७२–एउटा महारेले वनमा गाईबाख्रा चरउन जाँदा आएको भूकम्पको कारुणिक वेदनालाई पस्कने कोसिस गरिएको छ । वनबाट घरमा आउँदा घर भत्केको र घरमा भएका कसैलाई पनि बचाउन नसकेको कारुणिक व्यथालाई यस कविताले समेटेको छ । पढ्दा आँखाबाट आँसु झर्दछ । भानु तिम्रो यादमा –यस कवितामा भानुभक्तले गजाधर सोतीको घरमा बास नपाएकोमा गजाधर सोतीकी घरबूढी अलछिन्किरहिछन् भन्ने श्लोकलाई समावेश गरिएको र नारीमात्र भएको घरमा बास नपाएकोमा नारीलाई दोष दिएर लेखिएको यस कविताबाट झस्किएको भन्ने धारणा आएको छ । मलामी जान – यसकवितामा प्राकृति प्रकोपमा परेकाहरूको कष्टदायी अवस्थालाई समेट्दै राहत घरघर पुगेको भनिन्छ तर मानिस पुरिएकोमा उद्धार भएको छैन । मलामी जान को को आएका छौ भनिप्रश्न राखिएको छ । भानु तिम्रो गुरु को हो ?– भानुभक्तलाई गुरुको हो भनी प्रश्न राख्दै घाँसीको स्मरण गरिएको छ । भानुभक्तले घाँसीलाई भेटेपछि लेखिएको कविता पनि यस कवितामा समावेश गरिएको छ । सानदाइ–यस कवितामा सानदाइलाई स्मरण गर्दै देश र देशवासीले भोग्न परेको मार्मिक यथार्थतालाई यसरी पस्किइएको छ–

कहीँ माओवादीले कहीँ भूकम्पले सखापै पार्यो
आफ्नै घरले कसैलाई पुर्यो कसैलाई अधमरो पार्यो
काली गण्डकीले पनि धेरैलाई जिउँदै लतार्यो
हे ! सानदाइ खाली पेटसँग बाँच्न गाह्रो पर्यो
पृष्ठ ६६

भाइटीकामा आउनु –यस कवितामा कवि दीपक सोतीको ‘समालोचक’ स्मरण काव्यप्रति धारणा राख्दै कविलाई भनिएको छ स्वर्ग जानेलाई नखोजी घरकोलाई माया गर, यो संसार माया जालको पोको भएको र संघर्ष नै जीवनको मूल सिद्धान्त भएकोले आखिरमा जाँदा सफलताको कोसेली साथ जाने हो भन्दै कवि दीपक सोती र उनकी पत्नी सीतालाई तीजमा लिन नआउनु तर तीहारको टीका लगाउन आउनु भनिएको छ । पुरुष पीडित भए – आज नारीमात्र पीडित नभएर पुरुष पनि पत्नी पीडित छन् भन्ने शब्दलाई समाउँदै कवयित्रीले प्रतिप्रश्न गर्दै लेख्छिन्– घरेलु हिंसा, द्वन्द्वमा पर्ने नारी, बेचिने पनि नारी, बलात्किृत पनि नारी, झुण्डिने पनि नारी, सेरिने पनि नारी, कसरी पुरुष पीडित भए ? बाँच्न संघर्ष–यस कवितामा महाभूकम्पले निम्त्याएको कष्टदाइ जीवनको वर्णन गर्दै ‘राहतमा पाएको त्रिपालमा बस्र्दै भूकम्प पीडितहरू बाँच्न सङ्घर्ष गर्दै छन्’भन्ने भावना पोखिएको छ । मेरो चल्ला– यो कवितामा अटेर गरी आफ्नो सुरमा हिडने चल्ला हराएकोले सूचना जारी गरेर चल्लाको खोजी गरिएको छ । बुद्धि ठुलो कि भैंसी – बलियो हुन संगष्ठित भएर बस्नु पर्छ नत्र दुर्बल भइन्छ भन्ने सन्देश आएको छ । दिदीबहिनी रोइरहेछ – चाडबाडमा आमाबाबुरहित चेलीबेटीको विलौना समेटिएको छ कवितामा । म त बन्धनमा पर्यो– यस कवितामा कवयित्रीले नारीका विविधरूपको वर्णन र नारीले भोग्न परेका पीडा र बन्धनको बारेमा धारणा राखिएको छ । मायाको पुष्प – आदिकवि भानुभक्तले गरेका कामको वर्णन सहित मायाको पुष्पले भावपूर्ण श्रद्धाञ्जली प्रदान गरिएको छ । कपासको सिरानी– यस कवितामा पनि नेपाल बन्द, गरिबी, बेरोजगारी आदिेले सत्तिएको मानव जीवनको वर्णन गरिएको छ ।मेरो उद्देश्य– कवयित्रीले यस कवितामा राष्ट्रियताले भरिएका धारणा पस्कनु भएको छ । हेरौं उहाँकै शब्दमा राष्ट्रियताले भरिएका धारणाहरू–

मेरो श्रम सन्धि गर्नेहरूलाई समर्पण हुनेछ
मेरो वलिदान मेरो कर्मभूमिलाई हुनेछ
देशले दिएको पदक मात्र मेरो हुनेछ
इज्जतले बाँच्छु, इज्जतले मर्छु यही मेरो उद्देश्य हुनेछ
(पृष्ठ ८५)

उही बार्दलीमै –यस कवितामा लाहुरेहरूको कष्टदाइ जीवन एव म र घरमा आउँदा छोरीले बाबाप्रति गर्ने आदरभाव एव म लाहुरेले युद्धमा भोग्न परेका कष्टदायी जीवन र घरमा आउँदा आमले बाबुका जुता मोजा बार्दलीमा सुकाउँदाको विवरण आएको छ कवितामा । फुलेको मखमली– यस कवितामा कवयित्रीले नेपाली जनजीवनको यथार्थ चित्रण उतार्ने प्रयत्न गरेकी छन् । नेपाललाई आजको परीवेशमा सात भागमा बाँडिएको, नेपाली जनजीवन कष्टदायी, कङ्गाल, अशिक्षित, प्राण धान्न एक मुठी अन्नको अभाव, दिनभरि श्रम गरे पनि आधापेट खानु पर्ने र बाँच्न पर्ने अवस्थालाई कवितामा बडो मार्मिक रूपमा प्रस्तुत गरिएको छ ।

पर्खेछु–कवयित्रीले मानव जीवनको बालक कालदेखि लिएर बृद्ध अवस्थासम्मको मानिसले भोग्न पर्ने, गर्न पर्ने यावत कामको वर्णन गर्दै, बृद्ध अवस्थामा मानिसले प्रयोग गर्ने नैरास्य पूर्ण शब्द अब काललाई पर्खेर बसेको छु, आएर चाँडै लैजा भन्दै कविता समाप्त भएको छ ।

माथि सबै कविताको सारभाव पस्कने प्रयास गरेको छु । लीला राना मास्कीका कविता अति सरल छन् । यी कविताले नेपाली समाजका एक एक बीम्बलाई प्रदर्शन गरेका छन् भन्न अपठ्यारो मान्न पर्ने छैन। सरलभन्दा सरल शब्दमा यथार्थभन्दा यथार्थ घटना क्रमलाई लीलाले समाएकी छन् । हिजोका वातावरणलाई आजको परिवेशसँग जोडेकी छन् । लीलाका यी कवितामा नारी वेदना बोल्छन् । ठोकेर नै भन्ने हो भने यो नारीवादी चिन्तनको एउटा दस्तावेज हो । हिजोको समाजमा छोरीलाई शिक्षा प्रदान गरिदैनथ्यो भने आज पनि नारीको अवस्था दयनीय छ ।

दाइजो प्रथाले कति महिलाहरूले अल्पायुमै मृत्युवरण गर्न वाध्य भएका धारणा, नारी हिंसाका कुरा, पशुपंछीप्रति लीलाको प्रेमभाव गरिबी, वेरोजगारी, महगाई, जातीय विभेद, जीवनजगत, राष्ट्रप्रतिको माया, भूकम्पले ल्याएको क्षती, माओवादी द्वन्द्व जस्ता समसामयिक घटनालाई नेपालको परिवेशमात्र नभएर भारतीय परिवेशसँग पनि परिचित लीलाका कवितामा दुवै देशमा घट्ने घटनालाई केन्द्रविन्दु बनाएर लेखिएका छन् । यस कृतिमा लीलाले शब्दमामात्र नभएर ठाउँ ठाउँमा तस्विर समेत प्रयोग गरेर आफ्नो भावनालाई सप्रमाण प्रस्तुत गरेकी छन् । आदिकवि भानुभक्तलाई रामायण लेख्न प्रेरक गर्ने घाँसीको बारेमा आवाज उठाएकी छन् । घाँसीको बारेमा अध्ययन हुनुपर्छ भन्ने उनको माग छ । ‘मेरो गन्थन’मा छोरी भएर जन्मदा सुत्केरी महिलालाई गरिने हेलत्व र बच्चीले पाउने कष्ट र कुपोषणको धारणालाई अध्ययन गर्दा सबैका आँखा रसाउँछन् । कवयित्रीको बाल्यजीवन अति कष्टदायी भएको जानकारी उनको लेखबाट प्रष्टिन्छ । उनले नारीलाई गरिने भेदभावलाई मध्यनजर राख्दै आज उनी महिलाहरूको वेदनालाई आत्मसात गर्न थाल्छिन् । समाजसेवामा निरन्तर लागिरहन्छिन् । उनको साहित्यको मूलमन्त्र पनि नारीवादी चिन्तन, नारी उत्थान र समाजमा नारीको गहन भूमिका हुनु पर्छ भन्ने नै हो । उनी अहिंसालाई पुकार्छिन् । हिंसा र दुष्कर्मसँग टाढिनको लागि ललकार्छिन् ।वास्तवमा उनको सादा जीवन र सेवामूलक भावनाको जति वर्णन गरे पनि सकिदैन ।

उनको साहित्यिक लगानी र समाजसेवाप्रतिको लगाव स्तुत्व छ भन्दै बिदा चाहन्छु ।

सदानन्द अभागी

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

1 thought on “एक मुठ्ठी बुकी फूल”

  1. कवि लायन लीलारानाको एकमुठी
    कवि लायन लीलारानाको एकमुठी बुकी फूल अति नै पठन योग्य कृति हो । यस कृतिमाथि सदानन्द अभागीको अथक मिहेनत ले यो विवेचना भएको पाउँदा निकै खुसी लागेको छ । साहित्य प्रतिको यस्तै माया र ममता निरन्तर बढ्दै जावोस । मेरो यही शुभकमना ।
    गोर्खेसाइँलो (ऋषिप्रसाद लामिछाने)
    संस्थापक अध्यक्ष: लायन्स क्लब अफ चितवन वाङमय,
    संस्थापक अध्यक्ष: पल्लव साहित्य प्रतिष्ठान
    पल्लव साहित्यिक ई–पत्रिका http://www.pallawa.com.np
    नारायणगढ, चितवन ।हालः एरिजोना, फोनिक्स, अमेरिका
    [email protected]
    ९८५५०५५३५१, ९८०४२५५३५१ नेपाल
    4805627334 अमेरिका ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *