क्षतिपूर्ति


सप्तरीको पुरानो कलेज तल्तिर गोरगामा नामको गाउँमा छ । त्यस गाउँमा लालुप्रसाद डाक्टरको रूपमा चिनिन्छ । उसले गाउँमा एउटा उपचार केन्द्र खोलेको छ । केन्द्रको वोर्डमा लेखिएको छ– यहाँ उपचारार्थ रू ५००।– शुल्क लिई ग्यारेन्टीका साथ उपचार गरिन्छ । बिरामी निको नभएमा रु. १०००।– क्षतिपूर्तिस्वरूप दिइने छ ।

उसकहाँ धेरै थरिका बिरामी आउँछन् । निको भएर जान्छन् । कसैकसैलाई निको नभए पनि बीसको उन्नाइस् भने अवश्य हुन्छ । आएका जति सन्तुष्ट नै हुने गरेका छन् ।

डाक्टरलाई छक्याएर रु. १०००।– हत्याउने सुरले एकपटक वीरमान केन्द्रमा आयो । नियमानुसार रु. ५००।– तिर्यो । डाक्टरले सोधेको प्रश्नको जवाफ दिँदै उसले भन्यो, “मेरो जीव्रोले स्वाद नै पाउँदैन ।”

डाक्टरको निर्देशनमा सहयोगीले एक बिर्को गुलियो दबाई खुवाए । उसले स्वाद पाइनँ भन्यो । क्रमशः तीतो, टर्रो र अमिलो दवाई एक÷एक बिक्रो खुवाउँदा समेत उसले स्वाद पाउँदै पाइन भनिरह्यो । र, रु. १०००।– क्षतिपूर्तिस्वरूप दिन जिकिर पनि गरिरह्यो ।

डाक्टरले उसको बठ्याइँ बुझिहाले । र, बिमार निको नभए क्षतिपूर्ति दिने आश्वासन दिँदै भने, “अन्तिम पटकको दवाई एक खुराक पियाउन दिनुस् । निको नभए आफ्नो रकम लिएर जानुहोला ।”

वीरमान खुशी भयो र चाँडो दबाई दिन कर गर्न थाल्यो । डाक्टरको निर्देशनमा सहयोगीले दबाईको बोतल नै ल्याएर वीरमानको मुखमा खन्याइदियो । ऊ पीरोले पीडित भएर हा हा… र हु हु.. गर्दै उठेर दगुर्यो ।

वीरमान गइसकेपछि जाँचेको त त्यो अकबरे खोर्सानीको झोलवाला दबाई पो रहेछ ।

–नन्दलाल आचार्य
शिक्षक, श्रीजनता मावि, गोलबजार–४, सिरहा ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *