कुकुरको बुद्धि


धनराजले भोटे कुकुर पालेको थियो । सधैँ कुकुरलाई बाँध्थ्यो । कुकुर फुत्केर वरपर चहार्न चाहन्थ्यो । एक पटक त्यसले साङ्लो खुस्काएर बन्धनमुक्त हुन पायो ।

त्यो बाहिर आयो र चारैतिर दगुर्न थाल्यो । झुन्ड्याएका लुगापाटा र बारीका स–साना बोटबिरूवा चिथोर्न थाल्यो । सारा दृष्य धनराजले देख्यो । र, कुकुरलाई बोलाउँदै पक्रन दौडियो । कुकुर भाग्दै गयो ।

भाग्दा–भाग्दै कुकुर एउटा पुरानो इनारमा खस्यो । इनारभित्र कुकुर चिच्याउँदो भयो । बाहिर धनराज आँखाभरि आँसु पारेर झोक्राउँदो भयो ।

श्रीमती गोमा आइन् । छक्क परिन् । सन्नाटा चिर्दै भनिन्, “जे हुनु थ्यो । भइछाड्यो । चिन्ता नलिस्योस् । यत्तिका बर्ख पालियो । माया त लाग्छ नै । संसार मायामै अडेको त छ नि । अतिशय मायाले बर्वादी गर्छ ।”

धनराजले आँखामा डिलमा टलपल भएका आँसुलाई पुछ्यो । र, ठूल्ठूला आँखा पारेर गोमातिर हेर्न थाल्यो ।

गोमा डराई यद्यपि हिम्मत गरेर भनी, “कुकुर बुढो थियो । एकदिन अवश्य मर्थ्यो । पुरानो इनारमै खसेछ । मृत्युसँग जुद्धै छ । न म न हजुर नै त्यसलाई बचाउन सक्छौँ । कसैलाई इनारमा पसाऊँ भने पनि विषालु किरा र सर्पहरूले डस्ला भन्ने पिरलो छ ।”

अन्तमा गोमाले सक्दो चाँडो कुकुरको प्राण जाने काम गर्न सुझाव दिई । धनेले दुइटा फरूवा ल्याउन लगायो र दुवै पतिपत्नीले आँसु खसाल्दै इनारमा माटो खसाल्न थाले । सुरुसुरुमा कुकुर चिच्यायो । आँखा चिम्लेर र मनलाई बाँधेर दुवैले एकोहोरो माटो फ्याकिरहे ।

कुकुरको आवाज नै बन्द भयो । दम्पतीले अब चाहिँ कुकुरको प्राणपखेरु उडेछ भन्ठाने । निक्कैबेर माटो फ्यालेपछि थाके र ढाड सोझ्याए । इनार पनि माटाले भरिएन आँटेको रहेछ । दुवैले आँखाका आँसुसँगै निधारका पसिना स्याट्टै पारे ।

फेरि खन्न फरूवा उचाल्न लाग्दा देखेको दृष्यले उनीहरूको खुशीको सीमा रहेन– उनीहरूको कुकुर त आङमा लागेको माटो झार्दै छेउमै उभिएको पो रहेछ ।

उनीहरूले कुकुरलाई अंकमाल गरिरहे । यद्यपि उनीहरूले इनार पुरिँदै जाँदा कुकुर माटो माथि माथि चढ्दै बाहिर आउन सक्यो भन्ने कुरा पत्तै पाएनन् ।

–नन्दलाल आचार्य
शिक्षक, श्रीजनता मावि, गोलबजार–४, सिरहा ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *