वेदान्त


आठ कक्षामा नयाँ विद्यार्थी पसेपछि सबैले मुखामुख गरेर हेरे । नयाँ विद्यार्थी पछिल्लो बेन्चमा गई टुसुक्क बसे ।

कक्षाकै हुल्यहाँ विद्यार्थी रघुले हकार्दै भने–“यो बेन्च हाम्रो हो । अर्को बेन्चमा गएर बस् ।”

नयाँ विद्यार्थी अर्को बेन्चमा गएर बसे । रघुले फेरि भने–“यो पनि मेरो साथीको बेन्च हो, अर्कोमा बस् ।”

रघुले बस्न नदिएपछि नयाँ विद्यार्थी आँखाभरि आँसु पारेर उभिरहे । सक्षमले रिसाउँदै भने–“चुप लाग रघु, मजाक गर्नुको पनि हद हुन्छ नि ! हामीलाई पो थाहा छ । उनलाई के थाहा तिम्रो बानी यस्तै हो भनेर ?”

कक्षामा पस्दै देवराज सरले भन्नुभयो–“होइन, किन हल्ला मच्चिएको हँ ?”

रघुले भने–“सर ! जीउ सुकेको खुट्टा फुकेको कार्टुन देखेर हाँसो लाग्यो ।”

“कार्टुन भनेकै मनोरञ्जनका लागि त हो नि ! यसमा हल्ला गर्नुपर्ने के नै छ र ?” देवराज सरको सोझो कुरा सुनेर विद्यार्थीहरू फेरि हाँसे ।

सक्षमले उठेर भने–“सर ! यिनीहरूले नयाँ साथीलाई जिस्क्याएका हुन् ।”

सरले नयाँ विद्यार्थीतिर हेर्दै भन्नुभयो–“ए त्यसो पो, पीर नगर बाबु, यिनीहरू आफ्नो जीउको भैँसी देख्दैनन्, अरूको जीउको जुम्रा देख्छन् । नाम के हो तिम्रो ? कहाँबाट आयौ ?”

सर ! मेरो नाम वेदान्त हो । बाबाको सरुवा भएकोले नेपालगञ्जबाट यहाँ आएको हुँ ।

ठिक छ राम्रोसँग पढ तर नडराऊ, यहाँ सक्षमजस्ता विद्यार्थी पनि छन् । तिमी उनीसँगै बस ।”

रघुले बिस्तारै भने–“सर पनि कुन ड्याङको मूला हो र ?” रघुको कुरा सुन्ने जति फेरि हाँसे तर सरले सुन्नुभएन ।

सर गएपछि रघुले फेरि भने–“ओ, डेरा जिन्दावाद ! तिमी अर्कै स्कुलमा सर । यो तिमीजस्ता झारपातले पढ्ने स्कुल नै होइन । यो त काठमाडौँकै टप स्कुल हो, बुझ्यौ ?” कक्षाका धेरै विद्यार्थीले ठुलो स्वरमा समर्थन जनाए ।

सक्षमले बेन्च ठटाउँदै भने–“चुप लाग ! ‘कुकुरको पुच्छर बाह्र वर्ष ढुङ्ग्रोमा राख्यो बाङ्गाको बाङ्गै’ भनेको यही हो । सरले सबैको भलो सोच्नू, कसैलाई द:ुख नदिनू भन्नुभएको बिस्र्यौ तिमीहरूले ?”

रघुले भने–“यार, तिमी रिसायौ कि क्या हो ? यस्सो हाँसौँ भनेर ठट्टा गरेको । तिमी त पुरानो साथी । तिमी रिसायौ भने त बोर हुन्छ, ल माफ गर, अब जिस्क्याउन्नौँ ल, भो ।”

सक्षमले ल ल, भनेपछि रघु खुसी भए । यसरी दिन बित्दै गए । सक्षम र वेदान्तको मित्रता पनि गहिरिँदै गयो । सर–मिसले असल साथीको उदाहरण दिनुपरे उनीहरूकै नाम लिन थाल्नुभयो । उनीहरू दुवै पनि साह्रै खुसी थिए ।

प्रथम त्रैमासिक परीक्षा भयो । सधैँ प्रथम हुने सक्षम द्वितीय भए । सक्षमलाई आफू द्वितीय हुँदा केही नराम्रो लाग्यो तर वेदान्तको प्रगति देखेर खुसी पनि भए । दिन बित्दै गयो । एक दिन सक्षमले वेदान्त नजिक बस्दै भने–“वेदान्त के भयो ? किन अँध्यारो मुख लाएको ? मेरो पीर गरेका हौ ? ल, हेर म तन्दुरुस्त छु । हिजो एक दिन स्कुल नआउँदैमा निराश हुनुपर्छ त ? त्यस्तो केही भएको पनि होइन, अलि–अलि टाउको दुखेको त हो नि !”

रघुले हाँस्दै भने–“तिम्रो पीरले निराश भएको होइन । हामीले तिमीलाई कुरा लाइदिन्छौँ भनेर नून खाएको कुखुराजस्तै झोक्राएको हो पाजी ! हिजो त भन्दै थियो म त स्कुल नै टप गर्न सक्छु ।’’

गेहेन्द्रले कुरा थपे–“यो मुसुमुन्द्रे देख्दा मात्र सोझो हो । भित्र भने हँसिया जस्तो पो रहेछ ।”

निशानले पनि रघु र गेहेन्द्रको कुरामा सहमत हुँदै भने–‘‘सङ्गत गर्दा आफू सुहाउँदो साथीको मात्र सङ्गत गर्नुपर्छ भनेको मानेनौ । ल जे होस्, समयमै पाखेको आनीबानी थाहा पायौ, राम्रै भयो ।”

सक्षमले वेदान्तको हात समात्दै भने–“आऊ वेदान्त खेल्न जाऔँ । हेर, तिमीहरू जस्तो खराब साथीले गर्दा असल साथी छुट्टिएका धेरै कथा पढिएको छ, बुझ्यौ ? वेदान्त खराब छन् भन्ने कुरा त म सपनामा पनि सोच्न सक्दिनँ । तिमीहरूले त के स्वय म भगवान्ले आएर वेदान्त खराब हुन् भन्नुभए पनि म पत्याउँदिनँ बुझ्यौ ?’’

रघुले फेरि भने–“तिमीले जे सोच तिम्रो खुसी । यदि ऊ दोषी होइन भने खोइ तिमीले भनेको मानेको ? हेर त घोसेमुन्टो लाएर बसेको ।”

वेदान्त चुपचाप बसेपछि सबैले उनलाई नै नराम्रो ठाने, घमण्डी उपनाम दिए । कति गर्दा पनि वेदान्त नबोलेपछि भने सक्षमलाई पनि अरू साथीहरूको कुरा पत्याउन करै लाग्यो ।

सक्षमले साथ छाडेपछि सबैले वेदान्तलाई हेप्नु हेपे । रघु, गेहेन्द्रले त यतिसम्म हेपे कि वेदान्तले बीचमै पढाइ छोडेर घर जाने निश्चित गरे । बाबुले केही समय बस भन्नुभएकोले मात्र उनी स्कुल आउँदै थिए । रघुहरू कहिले वेदान्तको सर्टमा मसी छर्केर रङ्गाइदिन्थे । कहिले पुच्छर हालेर बाँदर भन्दै थप्पडी पिट्थे । कहिले मार्करले घमण्डी धोकेबाज भनेर सर्टमा लेखिदिन्थे । कहिले कागजको टुक्राटुक्रा पारेर वेदान्तको टाउकोमा हाल्थे । जसले जे भने, जे गरे पनि वेदान्त मूर्तिलेजस्तै चुपचाप सहन्थे ।

सक्षम र वेदान्त बोल्न छाडेको केही दिनपछि कक्षामा बसिरहेका वेदान्तको टुप्पी समात्दै रघुले भने–“हेर, यो धोकेबाजको टुप्पी काट्नुपर्छ, कपाल चारपाटा मुडेर मुग्लान कटाउनुपर्छ । ल, टाउको समाऊ गेहेन्द्र ।’’ भन्दै कैँची निकालेर कपाल काट्नै कस्सिएका के थिए ।

सक्षमले कैँची खोस्दै रघुको गालामा दुई थप्पड लाए । त्यसपछि कक्षाका विद्यार्थीहरू अचम्म मान्दै एक ठाउँमा जम्मा भए । वेदान्तले सक्षमको हात समात्दै भने–“बिन्ती !
नकुट फेरि …. ।”

सक्षमले रघुतिर मुड्की देखाउँदै भने–“फेरि के गर्छ यो पाजीले ? वेदान्त ! तिमी मलाई यत्ति धेरै माया नगर यार ! देवराज सरले सबै कुरा …. ।”

सक्षमको कुरा सुनेर सबै जना अलमल्ल परे । सक्षमले पुन: आँखाभरि आँसु पार्दै भने–“सुन साथी हो ! यी नालीका कीराहरूले वेदान्तलाई बाटोमा एक्लो पारेर–“तँ सक्षमसँग बोलिस् भने दाइहरू लगाएर सक्षमको हाड भाँचिदिन्छौं । तैंले सक्षमलाई साँच्चै माया गर्छस् भने उसँग टाढा हो, भनेछन् । त्यसैले सक्षम मसँग टाढा भएका रहेछन्, सत्य कुरा यही हो । वेदान्त मलाई बचाउन यिनीहरूले गरेको घृणा र दिएको पीडा सहँदै आएका छन् ।”

निशानले डराउँदै भने–“हेर रघु ! मलाई माफ गर । सक्षमले सबै कुरा देखे जस्तै गरी सोधेपछि मैले ढाँट्न नै सकिनँ । अर्को कुरा वेदान्तले त सक्षम नै प्रथम होऊन् भनेर नेपालीको ठ्याक्कै दस नम्बरको प्रश्न छोडिदिएका रहेछन् । सरलाई वेदान्तले प्रश्न छोड्नुमो केही सहस्य छ भन्ने शङ्का लागे छ । जाँच सिद्धिएपछि सरले कक्षामा हामीलाई अरू प्रश्न वेदान्लाई झुक्याएर त्यही प्रश्न सोध्नुभएछ । वेदान्तलाई कुन प्रश्न छोडेँ भन्ने पनि पत्तो भएन छ । उनले खुरुक्क उत्तर दिएछन् । त्यसपछि सरले अड्कल काट्नुभएछ उनले सक्षमलाई प्रथम गराउन चाहेको कुरा । नत्र त उनले नै स्कुल टप गर्ने रहेछन् । देवराज सरले सक्षमसँग त्यसै भन्नुभाथ्यो, हैन सक्षम ?”

सक्षमले आँखाभरि आँसु पार्दै भने–“मैले वेदान्तको बारेमा र रघुले गरेका कुरा सुनाउँदा सरले भन्नुभयो ‘कौवाले कान लग्यो भन्दैमा कौवाको पछि दौड्नु हुँदैन । पहिला आफ्नो कान छाम्नुपर्छ’ । मैले आजसम्म वेदान्त जस्तो गुणी मान्छे देखेकै छैन । उनले तिम्रो खुसीका लागि दु:ख सहेका हुन् । नपत्याए सबै देखेजस्तै गरी कुरा धुत सत्य तिम्रोसामु आउँछ । त्यसपछि तिमीले केही दिन वेदान्त र रघुहरू बीचको अन्तर हेर ।

हो, त्यसैले मैले सबै कुरा थाहा पाएर पनि वेदान्तको पीडा चुपचाप हेरिरहेको थिएँ । वास्तवमै वेदान्त र रघु बीच आकाश पातलकै अन्तर छ । ‘हीरा सानो भए पनि बहुमूल्य हुन्छ’ सरले भनेको कुरा सत्य हो । वेदान्त हीरा नै हुन् ।

सक्षमको कुरा सुनेर विद्यार्थीहरूका आँखा रसाए । सबैले रघु र गेहेन्द्रलाई स्कुलबाटै निकाल्ने कुरा गरे ।

वेदान्तले भने–“हामीले कहिल्यै पनि अरूको नराम्रो सोच्नु हुँदैन । जसले अरूको नराम्रो सोच्छ त्यही खाल्डोमा पर्छ रे आमाले त्यसै भन्नुहुन्छ ।’’

सक्षमले भने–“तिम्रो कुरा त ठीकै हो तर धेरै आदर्श बने पनि दु:ख नै हुन्छ नि ! सबैले थाहा पायौ होइन रघु र वेदान्तमा कति अन्तर छ ?’’

सक्षमको कुरा सुनेपछि सबैले एकै स्वरमा भने–“साह्रै असल मान्छे र जेहेनदार विद्यार्थी त वेदान्त पो रहेछन् ।’’

रघु र गेहेन्द्रले वेदान्तसँग माफ माग्दै भने–“अब हामी पनि तिमीजस्तै असल बन्छौँ । यस्ता गल्ती कहिल्यै गर्दैनौँ । हामीलाई आज राम्रोसँग थाहा भयो जति ढाँटे पनि वास्तवमा सत्यकै जित हुनेरहेछ ।”

सक्षमले कुरा थपे–“हेर, साथी हो, हामीले के भुल्नु हुँदैन भने रघुजस्ता साथीहरूले पछुताउनुपर्छ । रघुहरूले भनेझैँ ढिलो हुन्छ तर जित सत्यकै हुन्छ ।”

हो–हो, भन्दै सबैले सक्षको कुरामा सही थापे । टिनिनी घण्टी बज्यो, सबै जना वेदान्तको तारिफ गर्दै घरतिर लागे । वेदान्त र सक्षम पनि मीठा–मीठा कुरा गर्दै घरतिर लागे ।

शिक्षा : ढिलो हुन्छ तर जित सत्यकै हुन्छ ।

ललिता ‘दोषी’
बुद्धनगर काठमाडौँ

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *