
हाम्रो गाउँ सहरदेखि
दिन प्रतिदिन
चेलीबेटीहरू हराउन थालेका छन्,
नराम्रीहरूलाई नलगेर
राम्री राम्रीलाई
छानी छानी लगेका छन्,लुकाई लुकाई लगेका छन्,
स्कुल धाउँदै गरेकी
बालिकालाई लगेका छन्,
बिहे भएकी
विवाहितालाई लगेका छन्,
नानीको आमालाई लगेका छन्
सुकेका दाउरीहरूलाई छोडेर
फुकेका मौरीहरूलाई लगेका छन्,
स्यालले कुखुरा लैजान पल्के जस्तो
देह व्यापारीहरूले
दिनप्रतिदिन
हाम्रो चेलीबेटीहरूलाई लैजान पल्केका छन्।
हाम्रा चेलीबेटीहरू
कोही बाठी भएर हराएका छन,
कोही अज्ञानी लाटी भएर हराएका छन्,
कोही भ्रम जालमा हराएका छन्,
कोही माया जालमा हराएका छन्,
कोही नकल पारेर हराएका छन्,
कोही अक्कल नभएर हराएका छन्,
कोही फुर्ती देखाएर हराएका छन्,
कोही घुर्की देखाएर हराएका छन्,
कोही चेटिङले हराएका छन्,
कोही डेटिङले गरेर हराएका छन्,
हाम्रो गाउँघरदेखि
अचेल चेलीबेटीहरू हराउन थालेका छन्।
हराएर
कोही दिल्ली र मुम्बई पुगेकी छन्,
कोही कतार र कुवेत पुगेकी छन्
कोही लखनऊको गल्लीमा घुमेकी छन्
कोही पहलवानको सुसारे भएकी छन्,
कोही धम्मरधुसेको मुसारे भएकी छन्
कोही चोटामा भुलेकी छन्,
कोही कोठामा पुगेकी छन्,
कोही घुँघुरुको तालमा नाँचेकी छन्,
कोही बन्दुकको नालमा बाँचेकी छन् ।
हाम्रो गाउँ सहरदेखि
दिन प्रतिदिन
चेलीबेटीहरू हराउन थालेका छन्।
मिल्टन कनाडा
फेब्रुअरी १६,२०२१
