चोरी चकारी नगरी चतुर्याईँ हुन्न,
दंगा फसाद नगरे इज्जतै रहन्न
सोझा र सज्जन कवै नलिनु दलैमा,
पार्टी चलाउनु सधैं छल औ बलैमा

माथि भैरव अर्यालले आफ्नो कृतिमा चोरीबारे भनेको रोचक उक्तिका साथै विश्वमा धेरै चोरीबारे चलचित्र बने, गीत लेखिए, गजल अलापिए । तसर्थ मैले पनि चोरीबारे केही लेख्ने जमर्को गर्दैछु ।

चोरी शब्द आफैंमा गहकिलो र स्वपरिभाषित छ । सिधा कुरा गर्ने हो भने बिना पूर्वसूचना पीडकले निशुल्क पीडितको सम्पति सफाया गर्दिनु र पीडितले सशुल्क आफ्नो सम्पति गुमाउनु नै चोरीको मुलकर्म हो । यसमा चोर कर्ता हो, चोरी कर्म हो र पीडित नाटकको हरुवा पात्र । इतिहास केलाउदै जाने हो भने ‘चोरी’ शब्द हिंदी भाषाको चोर शब्दबाट उत्पति भई आगन्तुक शब्दको रुपमा नेपाली भाषामा प्रयोग भएको देखिन्छ । अंग्रेजी भाषामा चोरी शब्दलाई थेफ्ट भनिन्छ र यो शब्द प्रोटो-जर्मनी शब्दको थेउबाबाट परिस्कृत भएर बनेको हो । चोरी कर्मको नाता केलाउने हो भने चोरी डकैतीको नाति र लुटपाटको छोरो हो । यो कर्ममा चोरीका बाबु र बाजेबाट डर र धम्कीको आडमा खुल्लेआम अरुको सम्पत्ति सफाचट हुन्छ भने नातिमा लुकीछिपी र बिना अनुमान । जे होस,यो कर्ममा कर्ता कहिले पनि नाटकको नायक हुदैन फगत खलनायक, कहिले प्रख्यात हुदैन सदा कुख्यात । नटवरलाल, बिरप्पन,फूलनदेवी र हान्ना लामार्क जस्ता कुख्यात चोरहरू विश्वमा ऐतिहासिक चोरीका सामान्य रुपमा बिर्सिनै नसकिने खलपात्रहरू हुन् ।

मुलत चोरी दुई प्रकारका हुन्छन्,भौतिक र अभौतिक चोरी । अरूका स्वामित्वका गरगहना, रुपैँयापैसा लगायत देख्न र छुन सकिने सम्पत्तिको निःशुल्क बिनासूचना आफ्नो भण्डारमा भर्ने कुकार्यलाई भौतिक चोरी भनिन्छ । अर्काको घरमा सुटुक्क पसेर नगद र जिन्सी हजम पार्ने अबिख्यात कार्यसिद्धिहरू भौतिक चोरीका दृश्टान्त हुन् । पुल,हवाईजहाज, ठुलो इमारतको झ्यालढोका आदि चोरीहरू विश्वमा सुनिएका आश्चर्यजनक चोरीकर्ममा पर्छन् र गाडी, भटभटे, साइकल आदि चोरी हुनु आजकल सामान्य भौतिक चोरीका उदाहरणहरू हुन् । त्यस्तै, लोकप्रिय हुनको लागि अथवा चिनिनको लागि सर्जकका मौलिक रचनालाई जस्ताको त्यस्तै अथवा थपघट गरेर आफ्नो सृजना भन्नु अथवा आफ्नो पोल्टामा पार्ने दुष्कार्यलाई बौद्विक चोरी भनिन्छ । अरु सर्जकका धुन र लय चोरेर आफ्नो रचना भन्नु, अग्रज साहित्यकारको सृजना चोरेर अथवा उल्था गरेर आफ्नो नाममा कृति प्रकाशित गर्नु जस्ता कार्यहरू बौद्विक चोरीका ज्वलन्त उदाहरणहरू हुन् । त्यस्तै चित्ताकर्षणको अस्त्र प्रयोग गरेर बिपरीतलिंगीलाई आफ्नो बनाउनको लागि वा मायाजालमा फँसाउनको लागि दिल चोरिने प्रेमकार्यलाई दिलचोरी भनिन्छ र यो चोरीकर्म पनि अभौतिक चोरी भित्र वर्गीकरण गर्न सकिन्छ । कलेज, स्कुल, गाईबस्तु चरागाह आदि दिलचोरी हुने उर्वरभूमि मानिन्छन् । अभौतिक चोरीको अर्को उदहारण हो दिलचोरी अथवा चित्तचोरी जुन पौराणिक काल देखिनै चलिआएका चलन हुन् । भगवान श्रीकृष्णले चिरहरण गरेपश्चात सोह्रसय गोपिनीको चित्तचोरी गरेर रासलीला मच्चाएको उदहारण सर्वविदितै छ । अर्को पौराणिक उदहारण, रावणले श्रीरामकी अर्धाङ्गिनी सीताको दिल चोर्न सकेन बरु रामकी स्वास्नीनै चोरेर लग्यो र सिङ्गै मानवसरीर चोरी भएकाले यसलाई भौतिक र अभौतिक चोरीको दुवै वर्गमा बिभाजन गर्न सकिन्छ; अण्डा शाकाहारी हो कि मांशाहारी वर्गमा पर्छ भनेर खानेकुराका सौखीन मानिसहरुले वर्गीकरण गरेझैं अहिलेको समाजमा पनि अर्काकी स्वास्नी भगाउने, अर्काको बुढो खोस्ने, भेनाले साली उडाउने, गुरुले छात्रालाई लिएर सुइँकुच्चा ठोक्ने आदि जस्ता अभौतिक चोरीका थुप्रै उदाहरणहरू पाइन्छन् । पहिला अभौतिक दिल चोरेर ती भौतिक दिलवालाहरुलाई पछि चोरकोमा र चोरीको उद्देश्य कामवाशना भएकोले यस्तो प्रकारको चोरीलाई रतीचोरी पनि भन्न सकिन्छ ।

अतःचोरीकर्म जस्तोसुकै प्रकृतिको भएपनि यसका खलनायक, खलनायिका र यी कुकर्मका मतियारहरू अपराधी मानिन्छन् । चोरी एउटा संगीन अपराध हो र चोरहरू करवाहीका हकदार हुन्छन् तर अपवाद स्वरुप दिलचोरहरुलाई सुरुवातमै कारवाहीको दायरामा ल्याउने कुनै सम्यन्त्र बन्नसकेको छैन । तर दिलचोरीको असरको पराकाष्ठामा उदाहरणार्थ केही कुमार बाबु र कुमारी आमाहरू पनि यो संसारमा भेटिन्छन् ।

चोरी जस्तोसुकै भए पनि यसलाई अपराध नै मानिन्छ र यसको कर्तालाई नियमकानून अनुसार दण्डसजायको भागिदार बनाइन्छ । तर यो चोरीको संसारमा यस्ता नायक पनि छन् जसले अरुको खातिर यो दुष्कर्म गर्छन् जस्तै विश्वबिख्यात चोरीकी रानी फुलन देवी । डाकुबाट सांसदसम्म बनेकी भारतकी एक राजनीतिज्ञ थिइन् फुलन देवी । उनको जन्म एक निम्न जातीय परिवारमा उत्तर प्रदेशको एक सानो गाउँ गोरहा पूर्वामा भएको थियो । फूलनको विवाह एघार वर्षको उमेरमा भएको थियो तर उनको पति र पतिको परिवारले उसलाई त्यागेको थियो । धेरै किसिमका प्रताडना र कष्ट झेलेपछि फूलन डकैती पेशामा लागेकी थिइन् । बिस्तारै बिस्तारै फूलनले आफ्नो डाकूको एक गिरोह खडा गरिन् र आफू त्यसको नाइके बनिन् । उनी आफ्नो बाल्यकालको पीडा,अत्याचार आदिको बदला लिन उनी चोर बनिन् र चोरीका सम्पतीहरू भण्डारन गर्ने एउटा गुठी नै खोलीन् र त्यही गुठीको माध्यमबाट गरीव, असहाय र पीडित जनतालाई सहयोग गरिन् । पछि फुलन देवीको कारागारमै हत्या गरियो ।

माथि उल्लेखित प्रमुख चोरीका प्रकारहरू जे भएता पनि मसलन्द चोरीका अरु प्रकार पनि हुन्छन् । चोरी कर्मका नाइके चोर भएकाले अब चोर महात्मयको बर्णन नगरे चोरमाथि अन्याय हुन जान्छ । मसलन्द चोरहरुमा परीक्षामा चिट चोर्ने विद्यार्थी- चिटचोर, सेलीब्रेटीका हाउभाउ र फेसनको नक्कल गर्ने -आदतचोर र त्यस्तै दुलेचोर, बसिभाते चोर इत्यादि । यस्ता मसलन्द चोरहरुमा चिटचोर बाहेक अरु चोरहरुलाई संगीन अपराधी मान्न सकिन्न । गरिबी र भोकमरीले पीडित दुलेचोर र बसिभाते चोरहरू चोरनै भएपनि दयाका चोरपात्र हुन् । त्यस्तै गौंडेचोर, खल्तीकटुवा, इँधनको बोक्ने बाहनमा तेल चोर्ने तेलचोर आदि पनि चोर साम्राज्यका दाजुभाइ नै पर्छन् ।

अर्को प्रकारको चोर हो कामचोर जुन अभौतिक चोर अन्तर्गत नै वर्गीकृत छ । कामचोरहरू हाटा (हाजिर बजाएर टाप कस्ने) प्रणाली अन्तर्गत पर्दछन् । विशेष गरी कामचोरहरू कार्यालयका कर्मचारी हुन्छन् । तलवभत्ता चाहिं पुरै लिने त्यतिले पनि नपुगेर टेबलमुनिबाट पनि पाएजति हसुर्ने अनि एघार बजे कार्यालय आउने र सेवाग्राहीको काम थाँती राखेर भोलि आउनुहोस भन्दै घाम नअस्ताउँदै कार्यालयबाट निस्केर भट्टीमा सोमरस तन्काउन जाने खालका कर्मचारीहरू कामचोर वर्गमा पर्दछन् । यस्ता चोरहरू हाम्रै देशमा बग्रेल्ती भेटिन्छन् । अर्को प्रकारको चोर हो बहुउल्लू चोर जसको चोरीकर्मलाई सौभाग्यबस भनौँ या संयोगवस मैले पनि देख्ने मौका पाएको थिएँ । फर्नीचर उद्योगहरू बग्रेल्ती पाइने हाम्रो गाउँमा प्रायजसो गाउँलेहरू नयाँ घर बनाइरहन्छन् जसले गर्दा हाम्रो गाउँमा काठको सधैँ अभाव भैरहन्थ्यो । फलस्वरूप काठको मूल्य आकाशिएको थियो । हाम्रो पनि घर चाँडै बनाउनु परकाले हामी पनि पाएजति काठका बट्टम, पटाई र मुढा किन्थ्यौँ र चिन्नो लगाएर लुकाएर राख्थियौं चाँडै निकट भविष्यमा प्रयोग गर्नको लागि । गाउँलेहरू पनि आफूले किनेको काठमा चिन्नो लगाएरै भण्डारण गर्थे । त्यो हाम्रो गाउँको चोरले पनि कुखुरा, बाख्राका पाठा, भाँडावर्तन जस्ता चोरीकर्म छोडेर काठ चोरीमा फाइदा देखेछ । काठको हाहाकार भएको समयमा एकदिन त्यही चोरले हाम्रोमा पटाई बेच्न ल्यायो जुन हामीद्वारा सहजै किनियो । जब हामीले घर बनाउन सुरु गर्यौं भन्डारबाट काठ निकाल्नु पर्ने भयो । काठभण्डारमा सातवटा पटाई जाँच गर्दा त एउटै पटाईमा नौवटा चिन्ह भेटियो र पछि बुझ्दै जाँदा त त्यो चोरले हाम्रोबाट काठ चोरेर अर्काकोमा त्यहाँबाट त्यही काठ चोरेर तेस्रोकोमा गर्दा गर्दै फेरि घुमाई फिराई हामीले राखेको काठ चोरको हातबाट हामीले नै किन्यौं । पहिला त ऊ चोर भन्ने हामीलाई थाह थिएन र पछि थाहा भयो कि उसले हामीजस्तै नौ जनालाई उल्लू बनाएछ । यस्तै प्रकारको चोरलाई बहुउल्लू चोर भनिन्छ ।

यो लेख पढिसकेपछि तपाईंहरुले मेरो लेखलाई पनि बौद्विक चोरीमा वर्गीकरण गर्ने जमर्को गर्नुहोला तर म प्रष्ट्याउन चाहन्छु कि म चोर होइन किनकि यो मेरो मौलिक रचना हो ।

इति

राजेश अधिकारी

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *