Skip to content


नेपाल भाषा नेवार समुदायको मातृभाषा हो । यो भाषाको उत्पत्ति भारतीय विद्वान सुनीतिकुमार चटर्जीका अनुसार १९०० वर्ष पहिले भएको मानिन्छ (प्रा. माणिकलाल श्रेष्ठ, मूल्याङ्कन, १ भदौ, २०७२) । प्रा. श्रेष्ठले आफ्नो लेखमा नेपाल भाषाको दमन र उपेक्षा कसरी र कहिलेदेखि भयो भन्नेबारे सविस्तार वर्णन गरेका छन् ।

नेपाल भाषा जुन काल र परिस्थितिमा बन्यो र प्रयोगमा आयो, त्यसले प्राचीन नेपालको मौलिकता र विशिष्टतालाई जनाउँछ । अहिले यो भाषा संकटमा छ । नेवार युवा पुस्ताले नेपाल भाषा क्रमिक रूपमा बोल्न छाडेका छन् । हामी भाषाविज्ञ होइनौं, नेपाल भाषाको त झनै होइनौं । तथापि हामी दुवैजना घरमा नेपाल भाषा नै बोल्छौं । यो लेख नेपाल भाषाबारे अध्ययन, विश्लेषणका लागि होइन, यस भाषाका केही विशिष्टताबारे गैरनेवार र नेपाल भाषाबारे थाहा नहुनेलाई अवगत गराउनमा लक्षित छ । यसमा प्रयोग गरिएका भाषा काठमाडौंमा बोलिने लवजमा आधारित छ । यसमा प्रस्तुत कुनै शब्द र व्याकरण अशुद्घ लेखिएको हुनसक्छ । त्यसका लागि क्षमाप्रार्थी छौं ।

वस्त्र पहिरन
वस्त्र पहिरन मानव सभ्यता र विकासको अभिन्न अंग हो । पृथ्वीमा भएका अरु जीवहरूले वस्त्रको प्रयोग गर्दैनन् । त्यसैले होला, नेपाल भाषामा वस्त्र पहिरनलाई विशिष्ट स्थान दिइएको छ । शरीरको भाग– घाँटीदेखि माथि टाउको, घाँटीभन्दा मुनि कम्मरसम्म र कम्मरभन्दा मुनि पाउसम्मको भाग अनुसार तिनका पहिरनका लागि छुट्टाछुट्टै क्रियापदहरू प्रयोग हुन्छन् । यसमा तलमाथि भयो भने हाँसोको पात्र होइन्छ । नेपाली भाषामा सामान्यतया शिरदेखि पाउसम्मका कुनै पनि वस्त्र अर्थात टोपीदेखि जुत्तालाई ‘लगाउने/लाउने’ भनिन्छ । जस्तै– टोपी लाउनु, जुत्ता लाउनु । अंग्रेजीमा पनि सबै वस्त्रलाई ‘पुट अन’ वा ‘ओयर’ भनिन्छ ।

नेपाल भाषामा शिरमा लाउने ‘तपुली/त्वःपुलि’ (टोपी)लाई ‘पुइगु’ (त्वःपु भनेको माथिबाट छोप्ने), चस्मालाई ‘तयगु’, टाउकोमा फूल सिउरिनेलाई ‘छुइगु’, जिउमा लाउने ‘लं’ (लुगा), ‘प्वाकलं’ (भोटो), ‘पुतुलं’ (चोलो), ‘तपालं’ (दौरा), कमिज, गन्जी आदिलाई ‘फिइगु’ र कम्मरदेखि तल लाउनेलाई ‘न्ह्यायगु’ वा ‘सिनिगु’ भनिन्छ । ‘न्ह्यायगु’ र ‘सिनिगु’को प्रयोगमा पनि फरक छ । कम्मरदेखि तल लुगा लगाउँदा खुट्टा वा हातखुट्टाका औंलाहरूको आकार अनुसार बनेका वस्त्रहरू जस्तै– सुरुवाः (सुरुवाल), पाइन्ट, कट्टु, ‘लाकां’ (जुत्ता), मोजा, पञ्जा आदिलाई ‘न्ह्यायगु’ भनिन्छ । त्यस्तै कम्मरमुनिको भागलाई एकमुष्ट ढाक्ने जस्तै– ‘पर्सी/पटासी’ (फरिया), पेटीकोट, लुंगीलाई ‘सिनिगु’ भनिन्छ । अरु विशेष पहिरन र ओढ्ने जस्तै– ‘जनी’ (पटुका)लाई चिइगु, ‘गा’ (खास्तो) र दोलाइँलाई ‘नेयगु’, ‘सिल’ (सिरक)लाई फायगु भनिन्छ । ओढ्ने (खास्तो, दोलाइँ, सिरक)लाई सुत्दाखेरि ‘फायगु’ र अरु बेला ‘नेयगु’ हुन्छ । अहिले दोलाइँ हरायो । पहिले–पहिले जाडोमा खास्टोभन्दा अलि चाक्लो र बाक्लो, अनि सिरकभन्दा सानो र पातलोलाई दोलाइँ भनिन्थ्यो र हिउँदमा बाहिर हिँड्दा पनि दोलाइँ ओढ्ने चलन थियो ।

गहना पहिरन
गहना (तिसा)लाई समग्रमा ‘तिसा तिइगु’ भनिन्छ । तर गहनाको प्रकार अनुसार क्रियापद फरक छन् । अंग छेडेर लाउने गहनालाई ‘तिइगु’ नै भनिन्छ, जस्तै– कानमा लाउने टप– ‘टप तिइगु’ । एउटा अपवाद, ‘सिन्ह’ (टीका) तिइगु हुन्छ, अंग नछेडिने भए पनि । ‘सिखः’ (सिक्री), ‘माः’ (माला) ‘कोखायेगु’ हुन्छ । चुरा, ‘अंगु’ (औंठी) र कल्लीचाहिँ माथि कम्मरमुनिको भागमा झैं ‘न्ह्यायगु’ नै हुन्छ । शरीरको स्वरुप अनुसार चुरा लगाउने नाडी र औंठी लगाउने औंलाहरू कम्मरमुनिकै भाग हुन् । त्यसर्थ यो माथि वस्त्र परिहनसँग पनि मिल्छ ।

खाना पकाउने/बनाउने
खाना पकाउनेमा पनि क्रिया पदहरू फरक–फरक छन् । ‘जा’ (भात) थुइगु, ‘कें’ (दाल) खुनेगु, तरकारी, ‘ला’ (मासु), अचार दयकेगु हुन्छ । ‘तरकारी थुइगु’ वा ‘जा खुनेगु’ गल्तीले पनि भनिँदैन । बिहानको नास्तालाई ‘कौला’ बिहानको खानालाई ‘ज्योंना’, दिउँसोको खाजालाई ‘बजी’ (बजी भनेको खासमा चिउरा हो), बेलुकीको खानालाई ‘बेली’ भनिन्छ । पाहुना आउँदा मुख्य खाना ख्वाउनुअघि हल्का नास्ता गराउनेलाई पनि ‘कौला/तुच्चा’ (जलपान) भनिन्छ ।

काट्ने/टुक्राउने
चुलेसी, चक्कुको प्रयोग गरी (जसमा सामान्यतया दुवै हात प्रयोग हुन्छ) खानेकुरा काट्नेलाई ‘तायगु’ जस्तै– तरकारी, ‘ला’ (मासु) तायगु, खुकुरी प्रयोग गरी काट्ने जस्तै– ‘ला’ (मासु), ‘क्वयं’ (हड्डी) ‘पालेगु’, बञ्चरो वा खुकरी प्रयोग गरी काठ चिर्ने जस्तै– ‘सिं’ (काठ/दाउरा) फायगु’ ‘कापः’ (कपडा), ‘भों’ (कागज) चायगु’ ‘सं’ (कपाल), दाह्री खायगु, ‘लुसी’ (नङ) धेनेगु हुन्छ । सामान्यतया काटेर फाल्नेलाई धेनेगु/खायगु भनिन्छ । बोटबाट फलफूल टिप्नेलाई पनि खायगु भनिन्छ । गल्तीले पनि ‘सा, दाह्री, ग्वाय् (जुंगा) धेनेगु’ भनिन्न । बरु ‘लुसी, सं, दार्‍ही, ग्वाय् चायगु’ भनिन्छ ।

सर्वनाम पद
सर्वनाम पद सामान्यतः ‘छ’ (तिमी), ‘छि’ (तपाईं), ‘व’ (ऊ/उनी), ‘वय्क’ (उहाँ) मात्र छन्, ‘ता’ जनाउने छुट्टै छैन । बरु ‘वसपोल’ छ, जसले खासगरी देवीदेवतालाई जनाउँछ । यो शब्द राजारानी र पुरोहितलाई सम्बोधन गर्दा प्रयोग हुन्छन् । वसपोलको तहमा प्रयोग हुने क्रियापदहरू हुन्, ‘बिज्यात’ (आउनुभयो, दरबारीया भाषामा आइबक्स्यो), ‘बिज्याहुं’ (बस्नुस्, दरबारीया भाषामा बसिबक्स्योस्) ।

शब्द एक, अर्थ अनेक
नेपाल भाषामा केही शब्दहरू जस्तै– ‘व’, ‘वा’, ‘सा’, ‘प्वा’, ‘स्या’, ‘गा’ आदि छन्, जसले भिन्न–भिन्न अवस्थामा फरक–फरक अर्थ बुझाउँछन् । जस्तै– ‘व’ को अर्थ– ऊ/उनी, बारा । व वल– ऊ आयो, माय् व– मासको बारा । त्यस्तै ‘वा’ को अर्थ– आउ, दाँत, धान, वर्षा, साता आदि । थन वा – यहाा आउ, वा स्यात – दाात दुख्यो, वा सल – धान फल्यो, वा वल – पानी पर्‍यो, छ वा – एक साता । ‘सा’ले मिठो, साल, मल, गाई जनाउँछ । कें सा– दाल मिठो छ, चिकं सा– तेलको साल, सा मगात– मल पुगेन, सा वल– गाई आयो । ‘प्वाः’ भनेको पेट पनि हो र प्वाल पनि । प्वाः स्यात– पेट दुख्यो, प्वाः गन– प्वाल पर्‍यो । ‘स्या’ले दुख्छ र मार भन्ने जनाउँछ । जं स्या– कम्मर दुख्छ, कि स्या– किरा मार । ‘गा’को अर्थ– खास्टो, खाल्टो, पुग्छ । गा हिं– खास्तो ल्याउ, गा ग – खाल्टो पर्‍यो, गा त– पुग्यो । ‘पुसा’ भनेको बिर्को र बिउ हो । वा पुसा– धानको बीउ, पुसा ति– बिर्को राख ।

दुइटा दुर्लभ शब्दहरू
नेपाल भाषामा ‘माकु’ एउटा यस्तो शब्द हो, सायद त्यो अरु कुनै भाषामा छैन । जस्तै– स्वाद जनाउने ‘चाकु’ (गुलियो), ‘पाउँ’ (अमिलो), ‘पालु’ (पिरो), ‘फाकु’ (टर्रो), ‘सा’ (मिठो/स्वादिलो)भन्दा फरक तर गुलियो, मिठो र स्वादिलोको विशिष्ट समिश्रण जनाउने शब्द हो– ‘माकु’ । जस्तै– काजु, खुवाको स्वादलाई कसरी वर्णन गर्ने ? यसलाई स्वादिलो वा मिठो भन्ने बाहेक अरु शब्द छैन ।

नेपाल भाषाको ‘माकु’ (माकुसे चों)ले यही विशिष्ट स्वादलाई जनाउँछ । ‘इस्सु’ एउटा अर्को शब्द हो, जसले शरीर खासगरी खुट्टाको नलीभागमा आउने एक प्रकारको असजिलो र गलेको अवस्था (दुख्ने वा झम्झमाउने, निदाउने होइन)लाई व्यक्त गर्छ– ‘तुति (खुट्टो) इस्सुसे च्वन’ ।

नेपाल भाषामा नभएका तर अत्यधिक प्रयोग हुने शब्द दैनिक प्रयोगमा आउने सरसामान, भाँडाकुँडा, खानेकुरा, वनस्पति, फूल, पशुपन्छी, जलचर, शरीरका अंग–प्रत्यंग आदि–इत्यादि तथा मानिसले गर्ने क्रियाकर्म, प्रकट गर्ने र भावभंगी जनाउने शब्दहरू नेपाल भाषामा आफ्नैछन् । अत्यधिक दैनिक प्रयोगमा आउने केही वस्तु– विशेषको चाहिँ नेपाल भाषामा आफ्नै शब्द सायद छैनन् । जस्तै– खानेकुरामा तरकारी, अचार, आलु, प्याज, केरा आदि । प्याज जातिकै लसुनलाई ‘लाभा’ र छ्यापीलाई ‘छा’ भनिन्छ । सायद प्याजपछि भित्रिएको होला । आलु र मकै नेपालमा पछि भित्रिएका हुन्, तापनि मकैलाई‘कःनि’ भनिन्छ ।

‘त’ र ‘ट’को उच्चारण हामी नेवारको अक्सर छुटिन्न । यो हाम्रो विशेषता हो । त्यसलाई लिएर मजाक पनि गर्छन् । अहिले नेपाल भाषा हराउँदै गएपछि यो पनि हराउँदै गएको छ ।

नेपाल भाषामा एउटा यस्तो शब्द छ, जुन फ्रेन्च भाषासँग मिल्छ । यसबारे मदनकृष्ण र हरिवंशको एउटा प्रस्तुति छ, त्यो उहाँहरूको अनुमतिबिनै यहाँ संक्षिप्तमा प्रस्तुत गर्ने अनुमति चाह्यौं । उहाँहरू फ्रान्स जाँदा एउटा पसलमा गएछन्, साबुन किन्न । पसलेलाई ‘सोप’ भनेर अंग्रेजीमा मागेछन्, तर पसलेले ज्यान गए बुझेनन् । झोंक चलेर ‘छिम्माया छ्यों, साबुं’ (तिम्रो आमाको टाउको, साबुं) भनेछ । पसलेले ‘एस्–एस्’ भनेर साबुन ल्याएर दिएछन् । नेपाल भाषा र फ्रेन्च भाषा दुवैमा साबुनलाई साबुं भन्छन् ।

अन्त्यमा, हाम्रो परिवारमा नेपाल भाषामा स्वस्थानी कथाको १२१ वर्ष पुरानो हस्तलिखित पुस्तक छ, जुन हाम्रो बा (सुभद्राको ससुरा) को हजुरबाले नेपाल मण्डल (अहिलेको काठमाडौं उपत्यका) को झोछें टोलका गुरुज्यूबाट लेखाउनुभएको थियो । त्यसमा लेखिएका केही शब्दहरू, जुन दैनिक बोलीचालीमा प्रयोग भएका पाइन्नन्, तिनलाई यहाँ राख्न चाहेँ । ती हुन्– छलपोल (तपाईं), ननानं (अविलम्ब), समधाल (सल्लाह), संभोक (दण्डवत), माथनं (प्रकारले), मोचकाव (मार्ने) आदि ।

प्रकाशित : भाद्र १४, २०७६ ०८:३०

https://ekantipur.com/bibidha/2019/08/31/156721953726196895.html

Leave a Reply

Your email address will not be published. Required fields are marked *