नेपाली साहित्यमा हरिभक्त कटुवालको जीवनसँग ठ्याक्कै मिल्ने वोदलेरको जीवन पनि रक्सीसँग मितेरी गाँसेरै बित्यो । संसारका कतिपय स्रष्टाहरूको जीवनमा अनौठा–अनौठा तादाम्यताहरू गाँसिएको पाउँछौँ । चाहे भारतीय कवि गोरख पाण्डेको आत्महत्या होस् या नेपाली भैरव अर्यालको आत्महत्या होस् या मायाकोब्स्कीको आत्महत्या होस् ।
अर्को अनौठो साम्यता अमेरीकी स्रष्टा एडगर एलेन पो र वोदलेरको जीवनमा पनि भेट्टाउन सक्छौँ । एलेन पोलाई अत्यन्त रुचाउने बोदलर दुवै असाध्य ठुला प्रतिभाशाली भए पनि गरिबीको दलदलमा नराम्ररी भासिएका व्यक्तिहरू थिए । आफ्ना अनन्त दुःख भुल्न दुवैले यसरी रक्सी पिएका छन् । रक्सीकै अनौठो लतमा बगेर आखिरमा दुवै जना सडकको ढलनेर बेवारिसे मृत्युसँग साक्षत्कार गरे । कसैले जुराइदिएको संयोगजस्तो अनौठो मृत्यु भोगे ।
समाजका नीच तथा पापकर्महरूको काव्यको मूल कथ्य बताउने बोदलेर पापकर्ममा चुर्लुम्म डुबेको पेरिसलाई इँगित गरेर सुन्दर काव्यहरू रचना गरेका छन् ।
पापका फूलहरू शीर्षकको यस काव्यांशले हाम्रो हृदय छुने गर्छ –
मैले त्यस किल्लाबाट सम्पूर्ण नगर अवलोकन गरेँ
औषधालय, कारागार, वेश्यालय
अनि त्यस्तै अरु नारकीय स्थान
जहाँबाट कुनै फूलकै पापले बिस्तारै शीर उठाउँछ ।
उनी पापलाई पनि जीवनको महत्वपूर्ण चीज ठान्दथे । विचारमा निर्जीव रहनुभन्दा पापकर्म गरेर भए पनि आफू अस्तीत्वशाली हुनुलाई महत्वपूर्ण काम ठान्थे । मानिस माटो निर्मित कमजोर प्राणी भएकोले पाप नगरी कहाँ रहन सक्छ र ? पाप गर्नुभन्दा पाप लुकाउनु महापाप हो । मैले पाप गरेको हुँ भनेर संसारसामु उभिन ठुलो नैतिक बल चाहिन्छ । निष्कपट हृदय चाहिन्छ । उनी निष्कपटतामा पापबाट मोक्षको बाटो रोज्थे । यी कुरालाई हामी पनि जीवनका सम्बलनहरू बनाउन सक्छौँ ।
सन् १८२१मा फ्रान्सको पेरिसमा जन्मेका बोदलेर एक सामान्य सरकारी कर्मचारीका छोरा थिए, ६ वर्षमा पिताको निधन भएपछि आमाले अर्को एक सैनिकसँग विवाह गरेपछि यिनको जीवनको दुःखान्त शृङ्खला सुरु भयो । अतीशय गरिबीको कारण जीवनमा विवाह गर्न सकेनन् ।
कलिलो उमेरमा आफ्नो पिताको निधन हुनु, सौतेनी बाबुसँग तिक्ततापूर्ण सम्बन्ध हुनु, जीवनका दुःख भुल्न दुव्र्यसनयुक्त जीवन अपनाउनु, अत्यधिक शरावी र अधिमची बन्नु, लठ्याउने औषधी सेवन गर्नु बोदलेरका जीवनका अङ्गहरू थिए । त्यति हुँदा पनि उनको काव्यप्रेम यति घनिभूत थियो कि कविता लेखेरै जगतमा ठुलो हल्लीखल्ली मच्चाइदिए । आखिरमा यिनै रक्सी र दुव्र्यसनीको कारण पक्षघातको शिकार भै पचास वर्षको छोटो उमेरमा आफ्नो इहलिला विसर्नन गरे ।
उनका मुटु छुने कविताका पङ्क्तिहरू छन्–
प्रकृति एउटै मन्दिर हो जसका सजीव गजूरहरू
बेलावखतमा हावा मिश्रित सन्देशहरू फिँजाउँछन्
त्यहाँ मानिस प्रतीकहरूको जङ्गल हुँदै यात्रा गर्दछ
जून ऊ जाँदा जाँदै मैत्रीपूर्ण वह्नीले प्रज्वलित हुन्छन् ।
जस्तो कि टाढाको पहरोमा दीर्घ–निःसृत प्रतिध्वनिहरू
एक गहन तथा आभासमय एकतामा विलीन हुन्छन् ।
