म आउने बाटोमा निलकाँडा रोपिदिनु

AcharyaPrabha-06


हो,
यसपालीको दशैंमा पनि
यो निधार रित्तो हुने भो
बुढी आमा जमरा उमार्दै
सन्तानको आगमनको आशमा
बाटो हेर्दै होलिन्,
बुढा बा, मक्किन लागेको टोपी
टक्टक्याउँदै, बार्दलीबाट
चियाउँदा हुन्,
यता म भने उही बुढा बा-आमाको
बुढेसकालको झिनो सपना पुरा गर्न
हरेक सेकेण्ड, मिनेटलाई घण्टामा
परिभाषित गर्न बिवश छु ।
म सम्झन्छु ती दिनहरू
बा साहुको खेतको हलो जोत्न जाँदा
आमा साहुनीको फरिया धुन जाँदा
म टुलु टुलु हेर्ने गर्दथें,
र हिण्ड्ने बेलामा बा-आमा भन्ने गर्नु हुन्थ्यो
कैले छोरो ठुलो होला र
पालो पाइएला ?
हो बा, आमा म हजुरहरुलाई पालो दिन
प्रवास पसेको छु,
भोको पेटमा पेटारो कसेर
पैसाको कमारो बनी बसेको छु
कहाँ सजिलो हुन्छ र हजुर
अभावको सामना गर्न
अनि सन्तानको साथ
एकैसाथ पाउन ?
त्यसैले बा-आमा त्यो झिनो आशालाई
यथार्थमा बदलेर
मन दह्रो बनाउनु होस्
र म आउने बाटोमा
निलकाँढा बिछ्याई दिनुहोस्
मलाई तँपाईहरुको केवल दशैङ्को
क्षणिक आशिष मात्र होइन
दीर्घकालीन आशीर्वाद चाहिन्छ
जो म पुरा गर्न बिदेशिएको छु
हजुरहरुको बुढो शरीरमा
बिझाउने ओछ्यान होइन
मुलायम डस्ना ओछ्याई दिन
अनि ती मासुले छोडिसकेका
खपटे टाउकाहरुमा मल्मलको
सिरानी लगाई दिन ।
सपना कहाँ बा-आमाका मात्र हुन्छन् र ?
सपना त सन्तानको पनि त हुन्छ
त्यसैले मपनि आफ्नो सपना पुरा गर्न
पसिना बेच्दैछु,
यो भाग्यमा बा-आमाको आशीर्वाद पाउने
मिठो सपना देख्दैछु
अनि त म भन्दैछु
यस्पालीको दशैंमा मलाई नपर्खिनु
बरु मनलाई कठोर बनाएर
म आउने गोरेटोमा निलकाँढा रोपिदिनु
र सक्नुहुन्छ भने अक्षेता र आशीर्वाद
सपनीमा पोको पारी पठाई दिनु ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *