प्रकृतिलाई हिरा ठान्ने वर्डस्वर्थ


दैवी कृपा छिपेको छ अहा ! यो भद्र वायुमा
आकाशबाट जो चल्छ, चल्छ बादलबाट जो
हरिया धर्तीका फाँटबाट जो चल्छ मस्तले
गालामा सुम्सुम्याएर भित्री आनन्द दिन्छ यो

प्रख्यात कवि वर्डस्वर्थ धर्ती, वादल, आकाशलाई महान् बरदान ठान्छन् । त्यहाँबाट चल्ने मन्दमन्द पवनमा मृदुल आनन्दको अनुभूति गर्छन् । उनका कवितामा प्रकृतिका जाग्रत विम्बहरूको अनुपम तरेली खुलेको हुन्छ । भनिन्छ, अङ्ग्रेजी कविहरूमा शेली आँखाका कवि हुन् । उनका काव्यमा रङको जुलुश मडारिएको हुन्छ अनि वर्डस्वर्थ चाहिं कानका कवि हुन्, उनका कवितामा अनाहत ध्वनिलाई ब्यूँझाइदिने शक्ति छिपेको हुन्छ ।

युरोपमा जसै सोह्रौं/सत्रौं शताब्दीमा निरङ्कुश राजतन्त्रका किल्लाहरू भकाभक ढले । त्यसको जगमा उदार लोकतन्त्रका महलहरू उभिन थाले । राजनीतिमा आएको परिवर्तनको यो लहरसँगसँगै साहित्यमा पनि, काव्यलेखनमा पनि पुरानो शास्त्रीयतावादी तानाशाही युगको अन्त्य हुन्छ अनि स्वच्छन्दतावादको रुमानी प्रजातन्त्र झलमल्ल उज्यालो चारैतिर छाउँछ, त्यो स्वच्छन्दतावादलाई श्रीगणेश गर्ने काव्यमसिहा थिए वर्डस्वर्थ ।

उनले काव्यलेखनमा अतितको विम्बलाई भत्काइदिए । जहिले पनि मानवसम्भयताको विकासमा राजामहाराजाको, शासकप्रशासक, धनप्रति धनाढ्य पुँजीपति शोषकवर्गको, भाइभारदार र सेनापतिहरूको, पण्डित–पुरोहित र पादरीहरूको, मुखिया, मौजावाल र वीरवहादुरहरूको कथा, चरित्र, योगदान, महत्त्व, गरिमा बढाइचढाइको मूखर्तापूर्ण प्रलाप फिजाउँने काम हुँदै आएको थियो तर उनले स्रष्टालाई सबैभन्दा शक्तिशाली आदिपुरुषको रूपमा महिमावान गरिदिए । स्रष्टा शक्तिशाली कलमजीवी प्राणी हो, स्वयम्को कथा एक अद्भूत तिलस्मीभावले भरिएको हुन्छ । आफ्नो गरिमापूर्ण ओजले भरिएको चरित्रवल र कथालाई छोडेर तथाकथित नाटकेचटकेहरूको कथा लेख्नु बेकार छ भनेर उनले स्रष्टाहरूले अरुको जीवनचरित् उचाल्नेभन्दा पनि आफ्नै जीवनचरित्रमा गहिरिनुपर्छ भनेर बाटो देखाइदिए ।

अङ्ग्रेजी साहित्यका यी महान् स्रष्टाको जीवन आफैंमा प्रेरणादायी छ । सन् १७७०मा बेलायतको कम्बरल्याण्डको ककरमाउथ गाउँमा जन्मिएका यिनको बाल्यकाल सिधासाधा सपाट गाउँलेहरू, खोँच र उपत्यकावासीहरू, गँवार, अनपढ र गोठालाहरूसँग बितेको थियो । यसले उनके अन्तसचेतनामा यसरी प्रभाव जमाएको थियो कि साहित्यको परिवेश र पात्रचयन गर्दा हामीले जहिले पनि सुदुर ग्रामीण परिवेश र पात्रलाई टिप्नुपर्छ भने ।

असंस्कृत असम्य र विशुद्ध गँवार जनजीवनमा छलकपटरहित विशुद्ध मानवतावादका विजनहरू वर्डस्वर्थले ठम्याइदिए । आठ वर्षको हुँदा आमा र तेह्र वर्षको हुँदा पिताको निधन भएपछि एउटा धनी परिवारमा आश्रित भएर पालिँदा र हुर्किदाँ उनलाई धनीमानी र अभिजस्य वर्गको हृदयहीनता, निष्ठुरता, क्रुरता, अपमान र हेलाहोचो कतिसम्म निचदर्जाको हुनेरहेछ, प्रत्येक्ष देख्न पाए, आफ्नै मुटुले भोग्न पाए । क्याम्ब्रीजबाट स्नातकको उपाधि लिएपछि किताबका बोझिला तथा पाण्डित्यपूर्ण पढाई, रुखो अनुशासन, कानूनका शुष्क नियमहरूले अरु औपचारिक अध्ययन गर्न विरक्ती जगाइदियो ।

उनी यात्रामा औधी ठुलो चाख राख्थे । उनको रुचि र काव्यलेखनलाई बल पुर्याउन उनकी बहिनी डोरोथी र कवि कलरिजको ठुलो हात रहेको छ । कवि कलरिज पनि स्वयंमा एक अद्भूत काव्यचेतले सम्पन्न व्यक्ति थिए । यिनै कलरिज र वर्डेस्वर्थ मिलेर निकालेको काव्यकृति लिरिकल ब्यालेडको भूमिकाले स्वच्छन्दतावादको घोषणापत्रको काम गरेको कुरा साहित्यका विद्यार्थीले कहिले पनि भुल्दैनन् । यिनले फ्रान्स जाँदा त्यहीङ्का एक सर्जनकी छोरी आफूभन्दा चार वर्ष जेठी अनि भ्यालोसँग प्रेमपासमा बेरिएर उनीसँगै विवाह गरेका थिए ।

उनी वालकलाई सर्वाधिक महत्त्व दिन्थे । बच्चामा नै पूर्ण मानवताको बिज हुन्छ । यो बिजलाई जति राम्रो मलजल गर्यो, त्यति नै सुन्दर मनुष्यको गाछी तयार हुन्छ । साथै सबै चीजको प्रेरक तत्त्व र आदिश्रोत प्रकृति हो भन्थे । प्रकृतिबाटै उत्तम कवि, उत्तम लेखक, उत्तम विचारक, उत्तम साधक बन्न सक्छ भन्ने उनको ठहर थियो । वास्तवमा सबै चीजको जननी प्रकृतिको विपरित गएर कोही पनि केही गर्न सक्तैन । विकास र प्रगतिको त कुरै छाडूँ प्रकृतिविरुद्ध चलेर त जीवित हुन पनि सक्तैन । कवि वर्डस्वर्थका शिक्षाहरू अनमोल छन् ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *