Skip to content

तिमी किन आएनौ छोरा ?


छोरा….
उ त्यो सानो पाठोलाई हेर त…
ऊ जन्मदा मैले
बाख्रीको टोकाइ सहेर
र मुखभरि उस्को गाली खाएर
मैले उस्की आमाभन्दा पनि पहिले
कि ती बाच्छाहरुलाई छलेर
उसलाई गाइको दूध चुसाएकी थिएँ…
त्यसैले त अहिले म चाहन्छु कि
डोकोको बन्धनमा दूध चुसाउन
उस्की आमालाई लिएर आउदा
सबैभन्दा पहिला,
वा
मैदानमा उस्लाई चराउन लैजाँदा
किलाहरू बाधेर
म घर फर्कन लागेको बेलामा….
अन्तिममा एकपटक,
मेरो मुखमा फर्किएर
उसले मलाई मायाले म्याआ भनेर बोलाओस ।

छोरा…
मैले पैले उस्का दुई वटै कानका लोतीहरू मिलाएकी थिएँ
त्यसैले त अहिले म चाहन्छु कि,
मैले उस्लाई मुन्ने भनेर बोलाउदा
सबैभन्दा पहिले
आज उसका ती कानहरुले मेरा यी ओठका आवाजहरुलाई सुनून
र गोठ फर्किएर आउन।

छोरा..
मैले पैले तिम्रो उपचार गर्न,
सुनको चुरा र चाँदीको हार बेचेकी थिएँ
मैले आफ्नो निधारको अलिकति रङ्ग पनि बेचिदिएकी थिएँ
सपना साकार होस,
त्यसैले त अहिले म चाहन्छु कि
तिम्रो रहरहरू पूरा होस
त्यसैले त अहिले म चाहन्छु कि
तिम्रो कैले पनि हार नहोस
छोरा…
मैले तिम्रा ती अक्षरहरू किन्न
त्यो भुडे भकुण्डे साहुकोमा घरमा रातभर काम गरेर
अनिदो जुन जस्तै जागरम बसेकी थिएँ
त्यसैले त अहिले म चाहन्छु कि
तिम्रो जिन्दगीमा सदैव सुनौलो बिहानी होस
तिम्रो त्यो भविष्य कैले पनि अन्धकार नहोस।

छोरा……
मैले पैले हाम्रा यी घर-आगन र खेतगराका
डिलहरुमा ती रुखबिरुवाहरू रोप्दा
मैले सकी-नसकी मुस्किलले नालापानी र कुवाबाट
भारी बाल्टिनहरू बोकेकी थिएँ
त्यसैले त अहिले म चाहन्छु छोरा
ती रुखबिरुवाहरू मभन्दा पनि अग्ला हुन ।

छोरा…….
मैले तिमीलाई सानोमा आफ्नो काँधमा राखेर
पाकेका अम्बा र आपका बोटहरुमा चडाएकी थिएँ
त्यसैले त अहिले म चाहन्छु छोरा
तिम्रा तिनै हातहरुले आकाशका जुनताराहरू टिपुन ।

छोरा……
बिचरा
त्यो बचेरो सानो छँदा
उस्की माउले आफ्ना पखेटाहरू काटेर
उस्लाई गुडबाट परदेशको चम्किलो निलो क्षितिज पारी पठाएकी थिई
त्यसैले त अहिले त्यो चरी चाहन्छे कि
चुडिएका आफ्ना ती पखेटाहरू
उसैका तिनै पखेटाहरुले सिलाओस।

छोरा……
मैले तिम्रा ती हातका हत्कडीहरू खोल्नलाई
जिन्दगीभर आफूले जेलजीवन बिताएकी थिएँ
त्यसैले त म चाहन्छु छोरा
तिमी अहिले आजाद चराहरू झै गरेर
सदैव मुक्ताकासमा उढ…!

तिमी सङ्गै गगनमा उढेर गएका ती चराहरू
अँझै पनि आएर
मेरो बिस्कुनको अन्न धान खान्छन
तर तिमी किन आएनौ छोरा?
यो बुढी आमाले पकाएको चारो किन खाएनौ छोरा?
तिमीसँगै आशमान उढेर गएको त्यो चरा
अँझै पनि आएर….
मेरो आगनमा बिस्कुनको अन्न धान खान्छ

नपत्याए अँझै पनि हाम्रो यो घरागनमा हेर,
छोरा…..
कि अँझै पनि त्यहाँ उसका पञ्जाका छापहरू छन्
सायद एकदिनलाई उस्ले छोडेर गएका
ती उस्का
यादहरू हुन…
नपत्याए मेरो यो मनमा हेर
छोरा…..
कि अँझै पनि यो छातीभरि
तिम्रा ती कलिला पैतालाका डामहरू छन्
ती कैले पनि नमेटिने तिम्रा यादहरू हुन

तर तिमी किन यादहरुमा मात्र आउछौ छोरा?
तिमीलाई किन याद आएन
छोरा… ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *