Skip to content

स्रष्टाहरु गुमाउँदाको पीडा

  • by


पोहोर चैत १० गते तेस्रो आयामका त्रिमूर्तिमध्येका एक अर्थात् एउटा आयाम ईश्वरवल्लभलाई गुमाएपछि लागेको थियो अब नयाँ वर्ष २०६५ मा हामीले यस्ताखाले पीडा क्रमै व्यहोर्नु पर्ला । लाग्नु-नलाग्नुको अर्थ हुँदो रहेनछ, हिँड्दा हिँड्दैको मान्छे पनि जाँदो रहेछ, उमेर नपुग्दै पनि जाँदो रहेछ, दुर्घटनामा परेर पनि जाँदो रहेछ । मानौँ २०६५ सालमा साहित्यिक क्षेत्रमा पहिरो गएको गए नै भयो । २०६५ सालको पहिलो महिना नै साहित्यकार भरतराज पन्तलाई गुमायौँ हामीले । रमेश विकल, रत्नाकर देवकोटा, अग्निशिखा, श्रीभद्र शर्मा, कुमार ज्ञवाली, कुन्तीदेवी भट्टराई, शारदा अधिकारी (ढकाल), रूद्र खरेलजस्ता स्रष्टाहरू गुमाउनु परेको वर्ष रहृयो । २०६५ ।

त्यसो त यो मुलुकका स्रष्टा-साधकहरूको निधन प्रायः समाचार बन्दैन । स्रष्टा-साधकको खोजी गरेर समाचार बन्नेभन्दा स्रष्टा-साधकले खोजी गरेपछि समाचार बन्ने गरेको छ हामीकहाँ । यसबीचमा, यो वर्षमा अरू कतिपय स्रष्टाहरू पनि गुमायौँ हामीले ।

‘जीवनको अर्को नाम दुःख’ भने जस्तै जीवन बाँच्दाबाँच्दै २०६५ सालको वैशाख १८ गते पढ्दापढ्दैको मान्छे अचानक जानुभयो- वरिष्ठ कवि भरतराज पन्त । ८० वर्षको उमेर पनि नटेक्दै कसैले मेसोसमेत नपाउने गरी जानुभयो उहाँ । नेपाली आख्यान क्षेत्रमा चर्चित र सक्रिय स्रष्टा रमेश विकलको निधन भएपछि नेपाली साहित्यले गद्य साहित्यमा एउटा बेजोड व्यक्तित्व गुमाउनु पर्‍यो । काव्य फाँटका बेजोड व्यक्तित्व भरतराज पन्तको निधनबाट भोगेको पीडा जस्तै पीडा भोग्नुपर्‍यो- पुस २ गते । लामो समयदेखि रोगसँगै लड्दै भिड्दै आउनुभएका रमेश विकल अन्ततः ८० वर्षको उमेर पार गरेर बित्नुभयो । ‘अविरल बग्दछ इन्द्रावती, ‘नयाँ सडकको गीत’, सात सूर्य एक फन्को, मेरो अविरल जीवन गीतजस्ता उपन्यास, कथा, यात्रा संस्मरण, आत्मजीवनीबाट ख्याति कमाउनुभएका रमेश विकल नाटक र बालसाहित्यमा पनि त्यत्तिकै प्रसिद्ध हुनुभयो । हास्यव्यङ्ग्य, अनुवाद, अखबारी लेखन, सम्पादन उहाँका अर्को परिचय हो ।

वि.सं. १९८५ को भाइटीकामा काठमाडौँको गोकर्ण, आरूबारीमा जन्मिनुभएका रमेश विकल साहित्यिक क्षेत्रमा निकै सक्रिय र सफल स्रष्टाको रूपमा चिनिनुहुन्छ । वि.सं. २००५ मा ‘सन्देश’ हस्तलिखितमा पहिलो रचना छपाउने रमेश विकलको कलम अविरल २०६५ सम्म चलिरहृयो । साहित्यमा विशिष्ट स्थान हासिल गर्ने रमेश विकलले राजनीति, सङ्गीत र कला क्षेत्रमा पनि आफूलाई उत्तिकै सक्रिय राख्नुभयो, मदन पुरस्कार, महेन्द्र प्रज्ञा पुरस्कार, नूरगङ्गा पुरस्कार, कृष्णमणि पुरस्कार आदिबाट सम्मानित रमेश विकलका बिरानो देशमा, एउटा बूढो भ्वाइलिन आशावरीको धूनमा, उर्मिला भाउजु, शव सालिक र सहस्र बुद्ध, हराएका कथाहरूजस्ता कथा सङ्ग्रहहरू प्रकाशित भए । सुनौली, सागर उर्लन्छ सगरमाथा छुन जस्ता उपन्यासका कृति प्रकाशमा आए ।

मान्छेको बलको आगो ताप्छ… यसै भनिएको होइन । परराष्ट्र मन्त्रालयको जागिर विभिन्न मुलुकको राजदूत भएर हिँड्दा कुमार ज्ञवालीको नाम पत्रपत्रिकामा आउँथे । अवकाशप्राप्त जीवन बिताएको कुमार ज्ञवालीबारे उल्लेख गर्न पत्रकारिताले आवश्यक ठानेन । कुमार ज्ञवाली यो मुलुकको एउटा नाम चलेको साहित्यकार पनि हो भन्ने नजानेरै त होला, कुमार ज्ञवालीको निधनबारे धेरैले थाहासमेत पाएनन् । कथा, उपन्यास, संस्मरण गरी डेढ दर्जन कृति प्रकाशित भए । १९९३ सालको कात्तिक १८ गते काठमाडौँको मखनटोलमा जन्मिनुभएका ज्ञवालीको २०६५ भदौ १४ गते निधन भयो । २०१६ सालमा ‘शारदा’मा कथा छपाएर देखा पर्ने कुमार ज्ञवालीले ५० वर्षसम्म साहित्य साधना गर्नुभयो । ५० वर्षे साधनाको सानो कदरसमेत नगर्ने हामीले उहाँको निधन भएको दुई महिनासम्म पत्तोसमेत पाएनौँ ।

२०६५ सालमै गुमाउनु परेको अर्को स्रष्टाको नाम हो- रुद्र खरेल । पाँचथर च्याङथापुमा वि.सं. २००४ मा जन्मिनुभएका खरेल रोगका कारण ६ दशकको उमेर नटेक्दै बित्नुभयो । लेख्न थालेको धेरै पछि मात्र कृति प्रकाशन गर्ने रूद्र खरेलको ‘तपाईंको नाम के हो ? निबन्ध सङ्ग्रह पहिलो कृतिको रूपमा २०४९ सालमा प्रकाशमा आयो । यसपछि ‘तोरी लाहुरे’ चोकमा एकछिन, बिर्सिस्यो कि आदि गरी एक दर्जन कृति प्रकाशमा आए । राजनीतिमा पनि त्यत्तिकै सक्रिय रूद्र खरेलको २०६५ भदौ ८ गते निधन भयो ।

अग्निशिखा पत्रकारिता र साहित्यमा उत्तिकै सफल र सक्रिय नाम । वि.सं. २०१२ असार १८ गते काठमाडौँमा जन्मिनुभएका अग्निशिखाको २०६५ को असोज ६ गते ५३ वर्षको उमेरमा निधन भयो । ५३ वर्षको उमेरमै मृत्युवरण गर्न पुग्नुभएका अग्निशिखाका रक्तवीज -कवितासङ्ग्रह) इज्जत -नाटक), सहिदको आमा -गीति नाटक) भोल्गाले बिर्सने छैन, रोजाहरूले रोजेको जीवन, देश तपाईंहरूको जिम्मा, अल अमेरिकाको चिहान, ऊ फेरि आउनेछ, बधशालाविरुद्ध, सलाम मुक्ति योद्धा आदि कृति प्रकाशित छन् ।

छलफल, दृष्टि, प्रतिपक्ष, सम्बोधन -साप्ताहिक), नयाँ पत्रिका -दैनिक) एक्काइसौँ शताब्दी -मासिक) आदिको सम्पादनमा संलग्न पत्रकार अग्निशिखाले ‘लहर’ साहित्यिक पत्रिकाको सम्पादन गरेर साहित्यिक पत्रकारको रूपमा पनि आफूलाई चिनाउनुभयो । कम उमेरमै साहित्य, पत्रकारिता, राजनीतिमा सक्दो योगदान दिने अग्निशिखाले पत्रकारिता क्षेत्रमा हृदयचन्द्रसिंह प्रधान पत्रकारिता पुरस्कार, छलफल सिर्जनशील पत्रकारिता पुरस्कार पाउनुभयो ।

देशको सुदूर क्षेत्रलाई कर्मथलो बनाएर रत्नाकर देवकोटाले नेपाली लोकसाहित्य र संस्कृतिको क्षेत्रमा आˆनो अलग परिचय स्थापित गर्नुभयो । जीवनमा धेरै उतार-चढाव भोग्दाभोग्दै, सिर्जना र साधनामा लाग्दालाग्दै, जुम्ला, दाङ, काठमाडौँ गर्दागर्दै ३० वर्षसम्म राष्ट्रिय समाचार समितिमा पत्रकारको रूपमा जागिर खाने रत्नाकर देवकोटा ६६ वर्षको उमेरमा २०६५ पुस १५ मा बित्नुभयो । उपेक्षित जीवन बाँच्ने देवकोटाको निधनपछि पनि उहाँलाई उपेक्षा गरियो ।

जुम्लेली शब्द र उखान सङ्ग्रह, जुम्लाको सामाजिक रूपरेखा कणर्ालीको अथइति, कणर्ालीको खोजी र खबरी आदि कृतिका स्रष्टा रत्नाकर देवकोटाले कणर्ालीका लागि धेरै गर्नुभयो । २०६५ मा गुमाउनु परेको स्रष्टामा सबभन्दा कान्छो स्रष्टा शारदा अधिकारी । २०६५ सालको कात्तिक २४ गते बिहान काठमाडौँको चाबहिलमा मोटरसाइकल दुर्घटनामा परी उहाँको निधन भयो । २०२२ सालमा काठमाडौँमा जन्मिनुभएकी शारदा अधिकारीका कथाको किताब, हराएकी छोरी, ओहो मैले त भन्नै बिर्सेछु, चिनजान हामीलाई, केही अमर मानिसजस्ता कृतिहरू प्रकाशित छन् । श्रीभद्र शर्मा, कुन्तिदेवी भट्टराई, अरुणप्रकाश मिश्र आदिजस्ता स्रष्टाहरूलाई पनि हामीले २०६५ मै गुमायौँ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *